विकासन्युज

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि बोलायो साधारणसभा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले संस्थापक सेयरधनी निर्वाचनको लागि साधारणसभा बोलाएको हो । कम्पनीले मंसिर १५ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।      

एसइइ परीक्षा दिनका लागि पुस १० गतेभित्र आवेदन फारम भरिसक्नुपर्ने

काठमाडौं । एसइइ परीक्षा दिनका लागि विद्यार्थीहरुले आगामी पुस १० गतेभित्र आवेदन फाराम भर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले मंसिर ८ गतेदेखि पुस १० गतेसम्म विद्यालयहरुले फारम भराउन र विद्यार्थीहरुलाई भर्न सूचित गरेको छ । फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा पढ्ने विद्यार्थीहरुले रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, कक्षा ८ पास भएको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो समावेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै खुला, बैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुले फाराम भर्दा दुर शिक्षा/खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका, २०६३ अनुसार सर्तहरु पूरा गरेको सिफारिस सहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात र पासपोर्ट साईजको फोटो संलग्न गर्नुपर्ने छ । सूचनाअनुसार विद्यालय र खुला दुबैतर्फका विद्यार्थीले परीक्षा फाराम भर्दा ५ सय शुल्क बुझाउनुपर्नेछ । सूचना :

सप्तरी क्षेत्र नं १ को (१) मा एमालेका राजकुमार लेखी विजयी

सप्तरी । सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा एमालेका राजकुमार लेखी विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याए । लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका सुरेन्द्रराज गोसाइँ विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उनी २९ हजार सात सय चार मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गरे । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

सेन्साईको टेलिभिजन किन्दा ३० हजार रुपैयाँसम्म छुट पाइने

काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले विश्वकपलाई लक्षित गर्दै ‘विश्वकप च्याम्पियन अफर’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १०० रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथसाथै, १ जना ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन । कम्पनीको अनुसार ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ । यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागु हुने कम्पनीले जनाएको छ । नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन । कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्रि डेलिभरी, फ्रि इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ ।

मेरो किरानाबाट सामान खरिद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा ६०० रुपैयाँसम्म छुट

काठमाडौं । आइएमई पे र मेरो किरानाबीच सम्झौता भएको छ । आइएमई पे र मेरो किरानाबीच ग्राहकलाई विभिन्न सामान खरिद गर्दा छुट दिने सम्झौता भएको हो । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट सामानहरु खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । ग्राहकले छुट पाउनको लागिस्मार्ट क्युआर स्क्यान गरी रकम भुक्तानी गर्नुपर्नेछ । ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल ६०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।  

भक्तपुर-१ मा ३० हजार बढी मतान्तरले नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उनी ४२ हजार सात सय ६१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार नौ सय ६८ मत ल्याएका छन् । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार सात सय ९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि प्रवेश गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन मत प्राप्त गर्नुभयो भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठे बासुले पाँच हजार दुई सय ८३ मत ल्याएका मुख्य निर्वाचनत अधिकृत बाँस्तोलाले जानकारी दिए । समानुपातिकतर्फको मतगणना भने जारी छ ।