रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी
रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी भएका छन् । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका जानकारी दिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरेका छन् । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताए ।
देशभरको यातायात कार्यालयको सेवा ३ दिन बन्द हुने
काठमाडौं । देशभरको यातयात कार्यालयको सेवा तीन दिनको लागि बन्द हुने भएको छ । यातयात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागको अनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीको सर्भरहरुको विद्युत आपुर्ति प्रणाली युपिएस मर्मत गर्नुपर्ने भएकाले तीन दिनको लागि यातयात कार्यलयहरुको सेवा बन्द हुने भएको हो । विभागले मंसिर ९ गतेदेखि ११ गतेसम्म अनलाइन आवेदन तथा यातयात कार्यलयहरुबाट प्रदान गर्ने सेवाहरु बन्द रहने जनाएको छ ।
इन्स्योरेन्सको सेयर कारोबार गर्न पुलिस रिपोर्ट चाहिने, बीमालेखमा समेत प्राधिकरणको कडाई
काठमाडौं । अबदेखि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबार गर्दा प्रहरी प्रतिवेदन (पुलिस क्लियरेन्स रिपोर्ट) अनिवार्य चाहिने भएको छ । उक्त सेयर कारोबार गर्न नेपाल बीमा प्राधिकरणको स्वीकृति लिँदा खरिदकर्ताको प्रहरी प्रतिवेदन प्राधिकरणमा पेश गर्नुपर्ने भएको हो । प्राधिकरणले सञ्चालित सबै जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुलाई एक पत्राचार गर्दै सो उक्त निर्देशन दिएको हो । निर्देशनमा ‘एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने’ उल्लेख छ । यससँगै, प्राधिकरणले जीवन बीमालेखमा समेत कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले २५ लाखभन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छ्याईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने प्राधिकरणको निर्देशन छ । बीमालेखमा हितग्राही तथा मनोनित उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात (नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्ने प्राधिकरणको नयाँ व्यवस्था छ । त्यसैगरी, बीमा कम्पनीहरुले बीमालेखमा हितग्राही तथा मनोनित उल्लेख गर्दा उक्त व्यक्ति उच्च राजनैतिक व्यक्ति (पीईपीएस) भए तथा नभएको एकीन गर्नुपर्ने छ । नयाँ व्यवस्था अनुसार कम्पनीका सञ्चालक तथा कार्यकारी प्रमुखको नियक्ति सम्बन्धी उपयुक्तताको परीक्षण (फीट एण्ड प्रपर टेष्ट) गर्दा निजको अपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने छ । त्यस्तै, प्राधिकरणले बीमकका कर्मचारी तथा बीमा अभिकर्ताका लागि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम तथा अभिमुखीकरणको संख्या बढाउन समेत निर्देशन दिएको छ । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन सो निर्देशन दिएको हो । यसले बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्नेमा प्राधिकरण विश्वस्त छ ।
२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहेका खमबहादुर गर्वुजा खमवीर तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका र्थिए । गर्वुजा यसअघि विसं २०७० को आमनिर्वाचनमा नेकपा एमालेका नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित भएका थिए । त्यसैगरी विसं २०६४ मा समानुपातिकतर्फ नाम सिफारिस भएका पनि सांसद हुन भने पाएनन् । तर आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वामगठबन्धनको तर्फदेखि उम्मेदवार बन्नुभएका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गरेका हुन् । गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९ मत प्राप्त गरे । जिल्लामा ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो । निर्वाचित भएसँगै गर्बुजाले आफ्नो जीतलाई म्याग्दीवासीको जित भएको बताए । ‘म जनताको सेवक भएर काम गर्ने छु, मेरो सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको फल चखाउने प्रयास गर्ने छु’, उनले भने । गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई विसं २०५४ मा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा राजनीति गर्दै आएका छन् । विसं २०५४ मा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिएका गर्बुजाको २०२२ सालमा रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दग्नाम गाउँमा जन्मिएका थिए । गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौंँ जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौंँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
रविले भने : खादा र मालाभन्दा भ्रष्टचारीको सूचना लिएर आउनुहोला
काठमाडौं । बिहीबार निर्वाचन जितेसँगै रवि लामिछानेले चितवनको ३ स्थानमा धन्यवाद सभा गर्ने बताएका छन् । निर्वाचित भएको केही समयमै सामाजिक संजालमार्फत उनले तीन स्थानमा धन्यवाद सभा गर्ने बताएका हुन् । लामिछानेले बिहीबार दिउँसो ३ बजे भरतपुर १० को गेष्ट हाउस चौर, शुक्रबार बिहान इच्छाकामना गाउँपालिकाको कार्यालय अगाडी र ३ बजे सहिद स्मृति क्याम्पस चौरमा धन्यवाद सभा गर्ने जनाएका छन् । रविले आजैबाट काम सुरु गर्ने बताउँदै सभामा उपस्थित हुँदा फुलमाला, खादा र अबिरको साटो भ्रष्टचारीको सुचना लिएर आउन आग्रह गरेका छन् । ‘एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला, म आजबाटै काम थाल्दैछु, मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन, एउटा बाकसमा ुसमस्या पेटिका लेखिएको हुनेछ, त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला, अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुनेछ, त्यसमा, भ्रस्टाचारीका सूचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला,’ उनले लेखेका छन् । उनले भोट माग्न र र्याली गर्न आउन नभ्याएका ठाउँमा काम गर्न आउने बताएका छन् ।
सशस्त्रबाट अवकाशपछि मौरीपालनमा मख्ख महेश
काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ७ का महेश कुमार श्रेष्ठ अवकाश प्राप्त सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् । उनीले लगभग १९ वर्ष निरन्तर देशको लागि सेवा गरे । लामो समय प्रहरी बलमा काम गरेका श्रेष्ठले सेवाबाट अवकाश पाएपछि अब के गर्ने भन्ने हुटहुटीले उनलाई सतायो । त्यो समयमा उनी घरायसी काममा व्यस्त भए । खेतबारीमा काम गर्ने । गाईवस्तु हेर्न । यस्तै–यस्तै कामहरुमा उनीको दैनिकी बित्थ्यो । ‘घरको काम गरेर मात्र भएन, अब केही गर्नु पर्छ भने सोच आयो, आफ्नै व्यापार गर्न मन लाग्यो तर के गर्ने भन्ने योजना नै बनेन, उनले आफ्नो विगत स्मरण गर्दै भने, ‘घरमा एक/दुई घार मौरी थियो अब मौरी व्यवसाय नै गर्नु पर्छ भन्ने लागे पछि सुरु गरेको हुँ ।’ उनी अब मौरी व्यवसायतर्फ लागे । घरमा रहेको १/२ घार मौरीलाई विस्तार गरे । आधुनिक मौरी ल्याएर पालन गर्ने भन्दा पनि रैथाने मौरीलाई विस्तार गर्नतर्फ उनको ध्यान गयो । सुरु–सुरुमा मौरी पालनवाट राम्रै आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै नलागेको उनी बताउँछन् । सुरुमा मौरीका ४/५ घार बनाए । त्यसबाट मह बेचे । मह बेचेको पैसाबाट घारहरु थपे । पछि विस्तारै आम्दानी हुन थालेपछि श्रेष्ठ झन् उत्साहित भए । त्यस पश्चात् झन् सक्रियताका साथ मौरी पालनमा लागे । मौरीको बारेमा आफुलाई खासै जानकारी नभएको उनी बताउँछन् । तर, समयक्रमसँगै मौरी पालन गर्न थालेपछि बुझ्दै गएको श्रेष्ठ सुनाउँछन् । अहिले उनलाई मौरी पालन गर्न थालेको ६ वर्ष भइसकेको छ । श्रेष्ठका अनुसार अहिले उनको घरमा मौरीका ३० घार छन् । उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन आवाज सुनिन्छ । श्रेष्ठको घर, र बारीभरिका माहुरी घार देख्ने जोकोही अहिले छक्क पर्छन् । ‘म सँग आधुनिक मौरी छैन, यहाँका रैथाने मौरी भएको कारण अन्य मौरीको जस्तो डुलाएर हिँड्नु पर्दैन, धेरै हेरबिचार पनि चाहिँदैन, मौरीको लागि चरन यहाँ समय अनुसार हुने गरेको छ, यहाँ सिजनमा मात्र मह काढिन्छ,’ उनले बिकासन्युजसँग भने । उनी वर्षको तीन पटक घारबाट मह निकाल्छन् । ‘हाम्रो ठाउँमा तीन पटक मह घारबाट निकालिन्छ, फूल फुल्ने समय वा बालीनाली लगाएको सिजनमा, प्रत्येक मौरीको चरन गर्न ठाउँ नभएको कारण पटक–पटक मह निकाली रहन मिल्दैन, यो ठाउँ अनुसार फरक–फरक पनि हुन सक्छ,’ उनले भने । विभिन्न ठाउँबाट फूलको रस संकलन गरेर मौरीले बनाएको मह औषधिको रूपमा पनि प्रयोग गरिएको पाइन्छ । श्रेष्ठले उत्पादन गरेको मह स्थानीय बजारमा नै खपत हुदै आएको छ । ‘महको माग उच्च छ, उत्पादन कम छ, खपत गर्ने भन्दा पनि कसरी महको बढी उत्पादन गर्ने भन्ने चिन्ता हुन्छ,’ उनले भने । श्रेष्ठले प्रति बोतल १२ सय रुपैयाँका दरले महको बिक्री गर्दै आएका छन् । मौरी घारको संख्या कमी भएसँगै महको उत्पादन सोचे अनुरूपको नहुने पनि श्रेष्ठ बताउँछन् । समय समयमा मात्र घारबाट मह निकालेर स्थानीय बजारमा नै बिक्री गर्दै आएका श्रेष्ठले वषिर्क डेढ लाख रुपैयाँ बराबरको मह बिक्री गर्दै आएको बताउँछन् । ‘यो रकमबाट घर खर्च चल्दैन तर आफूलाई खर्च भने हुन्छ, पहिला मौरी पाल्ने रहर थियो अहिले दैनिकी भइसक्यो,’ उनी हाँस्दै भन्छन् । उनले छिट्टै डेढ सय मौरीको घारको संख्या पुर्याउन लक्ष्यमा छन् । उनी सरकारी नियकायबाट तालिम पाउन सके अझैँ व्यवसाय बढाउनमा सहयोग पुग्ने बताउँछन् । ‘पहाडी क्षेत्रमा विकासे मौरी हुँदैन, रैथाने मौरी नै यहाँको लागि उपयुक्त हुन्छ, बिस्तारै यहाँको संख्यालाई बढाउँदै जाने हो, डेढ सय घार पुर्याएपछि आम्दानी पनि राम्रो हुने सोचको छु,’ उनले भने ।
सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका रामप्रकाश चौधरी विजयी
सर्लाही । सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्कालाई पराजित गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षकसमेत रहेका चौधरीले २४ हजार आठ सय ३८ मत पाउँदा खड्काले १८ हजार चार सय चार मत प्राप्त गरेका थिए । चौधरीले खड्काभन्दा छ हजार चार सय ३४ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सर्लाही–१ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावी मैदानमा रहेका थिए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपाल जसपाका नेता सोही क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रमोद साहले १४ हजार दुई सय ५५ मत प्राप्त गरेका छन् । चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा अन्य क्षेत्रको मतगणना जारी रहेको छ । रासस
फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै
काठमाडौं । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा स्वराङ्कन गरिएको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्र भारतको हलमा नभइ ओएसआर इन्टरनेसनल नामक युट्यब च्यानलमार्फत प्रदर्शन हुँदैछ । सञ्चालक ओम प्रकाश अग्रवालले डिजिटल माध्यमबाट दर्शक खोज्ने प्रयास थालिएको जानकारी दिए । ‘युट्युबमा रिलिज गरेर हिन्दी भाषी दर्शकलाई आकर्षित गर्न सकिन्छ भनेर सुरू गर्दैछौँ । यस चलचित्रलाई लिएर आइरहेको प्रतिक्रिया सकारात्मक छन्’, सञ्चालक अग्रवालले भने,’साउथ इन्डियन फिल्म पनि स्वराङ्कन गरेर युट्युबकै माध्यमले नर्थ इन्डियामा बजार विस्तार गरिएको हो । हामीले पनि बजार विस्तारकै लागि यो माध्यम अपनाएका हौँ ।’ उनले डिसेम्बर १ मा ‘वीरविक्रम २’ प्रदर्शन भएपश्चात् ‘सुश्री सम्पति’ पनि तयारमा रहेको बताए । एक हप्तादेखि पन्ध्र दिनभित्रमा दोस्रो चलचित्र दर्शकमाँझ पुर्याउने सञ्चालक अग्रवालको तयारी छ । ‘अन्य पाँच फिल्म स्वराङ्कनको लागि तयार छन् । यी दुई फिल्मको प्रतिक्रियाले हामीलाई अगाडि बढ्ने बाटो देखाउने छ’, उनले भने । आफ्नो चलचित्र हिन्दीमा आउँदा खुसी लागेको निर्देशक चाम्सले बताए । ‘हाम्रो काम हिन्दी भाषीकहाँ पनि पुग्दैछ । खुसी लागेको छ । हिन्दी स्वराङ्कन निकै राम्रो गरिएको छ’, उनले भने । विसं २०७६ मा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुवेदी खत्रीलगायतको अभिनय छ ।