विकासन्युज

विवाहकै सिजनमा सुनको अभाव हुँदा ग्राहक मर्कामा, दैनिक ४० केजी माग

काठमाडौं । यो विवाहको सिजन हो । मंसिर महिनामा अधिकांश मानिसहरुले विवाह गर्छन् । विवाहका लागि भन्दै सुनचाँदीका गरगहना बनाउन तथा खरिद गर्नेको यो समयमा पसलहरुमा भीड हुन्छ । मंसिरको महिनामा विवाहका लागि धेरै साइत जुर्ने भएकाले पनि बजारमा विवाहको रौनकसँगै सुनचाँदीको व्यापार पनि चम्किन्छ । तर, यस पटक भने अवस्था त्यस्तो छैन । विश्व महामारीका रुपमा फैलिएको कोरोना महमारीपछि धेरै व्यापार व्यवसायमा मन्दी आएसँगै सुनचाँदीको व्यापारमा पनि त्यस्तै मन्दी छ । अहिले बजारमा सुनको अभाव छ । अहिले विावहको सिजन सुरु भएपनि सुनको अभाव हुन थालेको हो । व्यापारीहरुका अनुसार बजारमा सुनचाँदीको मागमा वृद्धि भएपनि सुनको अभाव भएकोले माग परिपुर्ति गर्न सकिएको छैन । नेपालीको रितिरिवाज अनुसार बिहेमा सुनचाँदी बनाउने चलन छ, तर सुन अभाव हुँदा ग्राहकले खोजे अनुसार आपुर्ति गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य बिहेकै सिजनमा बजारमा सुनको अभाव भएको बताए । ‘पछिल्लो समय सुनको मागमा दैनिक वृद्धि हुन थालेको छ तर हामीले मागे अनुसारको सुन बैंकले नदिँदा ग्राहकलाई रितो हाल फर्काउनु परेको छ’, उनले भने, ‘दैनिक ४० किलो बढीको माग छ, अहिले बजारमा सुनको अभाव छ, बिहेको सिजन सुरु भएको छ, तर सुनको कोटा दैनकि १० किलोमै सीमित छ, तुरुन्तै कोटा बढाउन हामीले सम्बन्धित निकायलाई भन्दै आएका छौँ, आशा छ अब छिट्टै हाम्रो मागको सुनुवाई हुनेछ ।’ उनले तरलता अभाव र विदेशी मुद्रा सञ्चितीका कारण सुन आयातमा कोटा राखेको भन्दै पछिल्लो समय अवस्था सहज भएसँगै कोटा बढाउने तयारी भएको जानकारीमा आएको बताए । ‘माग धेरै हुँदा हामीले म्यानेज गर्न असहज भएको छ, आएका सबै अर्डर लिन सकेका छैनौं, पहिला जुन ग्राहक आउँछन्, उसकै अर्डर लिने र पछि आउनेलाई फर्काउनु पर्ने बाध्यता छ, सुन नै नभएपछि फर्काउनु बाहेक विकल्प छैन’, उनले भने, ‘हाम्रो धर्म संस्कृतिमा बिहे, व्रतबन्धमा गहना लगाउनुपर्ने चलन छ, आफ्नोे आवश्यकता अनुसार सुन नपाएपछि ग्राहकलाई असहज भयो, सुन नै नभएपछि रोजगारी समेत असर गर्ने नै भयो ।’ नेपाल राष्ट्र बैंकले गत फागुनमा एक परिपत्र जारी गर्दै सुनको कोटा घटाएको थियो । फागुन अघि दैनिक २० किलो सुन आयातको अनुमति दिइएकोमा तरलता अभाव तथा विदेशी मुद्राको सञ्चितीलाई देखाउँदै दैनिक १० किलोको कोटा तोकेको थियो । व्यवसायीहरुले दैनिक २० किलोबाट बढाएर ४० बनाउनु पर्ने माग राखेको समयमा राष्ट्र बैंकले झन कोटा घटाएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

मेरो विजय हाम्रो देशमा परिवर्तन चाहनेहरुको लागि हो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताए । ‘हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा दिदीबहिनीको हो’, उनले भने । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रुपमा अगाडि बढाउने उनको भनाइ छ । ‘मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ’, उनले भने, ‘अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षाकामा खरो उत्रनेछौँ ।’ उनले अहिलेनै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुङ्गो नलागेको बताए । ‘पार्टीको बैठकबाट यसबारे निर्णय गर्छौ’, उनले भने, ‘एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेण्डा कार्यान्वयनमा ल्याउने छौँ ।’ उनले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताए । ‘मैले कहिँकतै बाटो बिराए भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु’, उनले भने ।

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

धनकुटा । यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका हुन् । राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत ल्याएका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गरेका छन् । प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली विजयी भएका छन् । पराजुली १५ हजार सात सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गरेका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१०) मा चार र प्रदेश (२) मा सात उम्मेदवार प्रतिस्पर्धामा थिए । कूल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रष्ट मुद्दा ल्याउने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ– प्रदीप पौडेल

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका प्रदीप पौडेल नेपाली राजनीतिमा नौलो नाम होइन । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि नेता पौडेलको चर्चा चुलिएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै नेता पौडेलले नेपाली राजनीति परिवर्तनको दिशामा अघि बढेको प्रतिक्रिया दिएका छन् । कुराकानीमा उनले पार्टीभित्र परिवर्तनको महशुस गराउन हस्तक्षेपकारी भुमिका खेल्ने बताए । परिवर्तनको पक्षमा पार्टी भित्र र बाहिरको बसै पक्षसँग हातेमालो गरेर अगाडि बढ्ने पनि बताए । प्रस्तुत छ, नेता पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश : प्रतिकुलतामा निर्वाचनमा जित हाँसिल भयो वा अनुकुलतामा ? शुरुमा म नेपाली काँग्रेसको उम्मेदवार बनेर यहाँ आउँदा असाध्यै धेरै प्रतिकुलता छ भनेर धेरैले भनिरहनुभएको थियो । यत्रो दुःशाहस पनि किन गरेको ? किन यत्रो आँट गरेको भन्नेहरु पनि थुप्रै हुनुहुन्थ्यो । प्रतिकुलता यस अर्थमा की एउटा निर्वाचनको तयारी त्यो भन्दा अघि यो क्षेत्रमा नगरेको अवस्था, दोस्रो कुरा प्रतिष्पर्धी बलियो भएको, तेस्रो कुरा स्थानीय तहको निर्वाचनमा अरु पार्टीले बढी सिट जितेको । लगायत यी यस्तै विषयहरुले प्रतिकुलता छ भनेर भन्ने गरिन्थ्यो, तर म एउटा आँट र दृढता बोकेर नै लड्न तयार भएको हुँ । त्यसैले मलाई प्रतिकुलता छ भन्ने लागेको थिएन । मेरो आफ्नै इच्छा शक्तिले, आम नेपाली काँग्रेसका कार्यकर्ता साथीहरुले, यहाँका आदरणीइ बुद्धिजीविहरुले यहाँका धेरै मतदाता अभिभावकहरुले मलाई निरन्तर उत्साहीत बनाउनु भयो । त्यसले गर्दा बिस्तारै माहोल बन्दै गयो र आज यो परिस्थितिमा पुग्यो भन्ने मलाई लाग्छ । तपाईले प्राप्त गरेको मत केही आफ्नै मत र केही प्रतिशोधको मत हो, यसरी आएको देखिन्छ, मतदाता आफूसँग राखिराख्नको लागि तपाईले के काम गर्नुहुन्छ ? आम मतदाताहरुले निजी कुरामा सहयोग खोजिरहनुभएको छ भन्ने मलाई लाग्दैन । आफूले व्यक्तिगत रुपमा प्राप्त गर्ने अवसरका निम्ति सहयोग गरिरहेको हो भन्ने मलाई लाग्दैन । खासमा राजनीतिले नै विश्वास आर्जन गर्न सकेन । राजनीतिले विश्वास गुमायो । के कारणले भन्दा जनप्रतिनिधिहरुको व्यवहारले राजनीतिले डेलिभर गर्न नसकेको कारणले राजनीतिमा खास जनताको मुद्दाहरुका बारेमा बहस नभएको विषयले अनि सरकार बनाउँदा, सरकार चलाउँदा, संसद चल्दा, चलाउँदा, जुन घटनाहरु देखिन्छ । ती घटनाहरुले पनि कतिपय सन्दर्भमा वितृष्णा उत्पन्न गरेको हो कि, त्यसैले निजी ममिलासँग यो कुरा जोडिएको छ भन्ने लाग्दैन, तर राज्यसँग एउटा नागरिकले के अपेक्षा गर्छ ? कर तिर्ने नागरिकले राज्यसँग के अपेक्षा गरेको हुन्छ ? सुशासनको मामिलामा सरकार कति प्रभावकारी छ त ? आम दैनिक समस्याहरुका सन्दर्भमा सरकार कति प्रभावकारी छ ? महामारी भयो त्यो बेलामा सरकारले आम नागरिकलाई कसरी सहयोग गरेको छ ? यी तमाम कुराहरुसँग ती विषयहरु जोडिएका छन् भन्ने मलाई लाग्छ । तर फेरि काठमाडौंमा कस्तो छ भने बाहिर देख्दा काठमाडौं जस्तो छ, भित्र काठमाडौं असाध्यै धेरै समस्याग्रस्त छ । ढल भएको ठाउँमा ढल बग्ने ठाउँ साँघुरो भएर धेरै घरहरु बने, अब त्यसको क्षमता छैन, फोहोर बगाउने, ढल नै फेर्नुपर्ने स्थिति छ । कतिपय ठाउँमा ढल नै छैन । कतिपय घरमा गाढी लैजाने बाटो नै छैन । बाटो भएको ठाउँ असाध्यै धुलाम्मे कच्ची छ । पक्की बाटो भनिएकाहरु पनि सबै खाल्डो परेको स्थिति छ । खासमा हामीले लिइरहेको अक्सिजन पनि काठमाडौंमा अशुद्ध छ । यो प्रदुषित शहर हो भन्ने पहिचान बनाएको स्थिति छ । ट्राफिक जामको त्यस्तै समस्या छ । यी तमाम समस्या झेलिरहेका मतदाताहरुले राज्यसँग यी समस्याहरु हल गर्न सहयोग खोजिरहेको स्थिति छ । त्यसैले यो सहयोग खोजिरहेको अहिलेको अवस्थामा यी सबै काम सम्पन्न हुन्छन् भन्ने पनि होइन । सम्पन्न गर्नका निम्ति पहल कति गरिन्छ ? आफूले कोशिस गरेको देखाउन सकिन्छ कि सकिँदैन । यी विषयलाई महत्व दिएर प्राथमिकताको आधार निर्माण गरी सम्बन्धित निकायसम्म पु¥याएको भान गराउन सकिन्छ की सकिँदैन । जनतासँग केनेक्टीभिटी, यहाँ त कस्तो छ भने एउटा निर्वाचन लड्यो, त्यो जित्यो, त्यसपछि अर्को निर्वाचनमा एकैपटक भेट्न गएको भन्ने खालको टिकाटिप्पणी पनि व्यापकरुपमा सुनिएको थियो । त्यसैले जनतासँगको कनेक्टीभिटी पनि महत्वपूर्ण रहेछ । यसलाई कति प्रभावकारी ढंगले व्यवस्थित गर्न सकिन्छ ? डिजिटली, फिजिकली, कस्तो माध्यमबाट यसलाई अघि बढाउन सकिन्छ । त्यसपछि जनताका समस्याहरु विभिन्न खाले हुन्छन् । त्यसलाई सुन्ने, पैरवी गर्ने, समस्या मात्रै उठान गर्ने होइन, हल गर्ने विषयमा पनि आफूलाई सक्रिय बनाउन सकियो भने निजी मामिलामा अपेक्षा गरिएको अहिलेको अवस्थामा सार्वजनिक सरोकारका विषयहरुलाई उठाउन सकियो र आफूप्रतिको विश्वास बचाउन सकिन्छ जस्तो मलाई लाग्छ । तपाईले जितेको निर्वाचन क्षेत्रमा नेकपा एमालेको स्थानीय सरकार छ, महानगरमा स्वतन्त्र हैसियतको नेतृत्व छ, सबैसँग जुधेर काम गर्नुपर्ने स्थिति छ, त्यसमा तपाइको आफ्नै चुनौतीको पहाड छ, एउटा कामका लागि बहुसरोकारवाला निकायसँग पुग्नुपर्ने चुनौती छ, अब काम गर्ने तपाईको रणनीति के हुन्छ ? हामीसँग जोडिएका २ वटा अभिभाराहरु हुन्छन् । एउटा स्थानीय तहमा सम्पन्न गर्नुपर्ने कामहरु अर्को केन्द्रिय तहमा हामीले आफ्नो भुमिकालाई प्रभावकारी बनाउने, राष्ट्रिय सरोकारका विषयहरुलाई उठाउने, त्यसको निम्ति नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्ने । यो दुई खाले जिम्मेवारी पूरा गर्ने सन्दर्भमा जस्तै स्थानीय तहको कामहरु गर्दा स्थानीय तहसँग मिलेर नै गर्नुपर्छ । प्रदेश तहसँग पनि मिलेर नै गर्नुपर्छ । केन्द्रिय तहबाट रिसोर्स ल्याउने, स्थानीय आवश्यक्ता अनुसार त्यसलाई प्रयोग गर्ने, त्यसमा स्थानीय तहको रिसोर्स पनि मिसाउले, प्रदेश तहको रिसोर्स पनि मिसाउने, यसको निम्ति आपसी समस्याहरु के हुन् ? त्यसलाई हल गर्नका लागि कसरी पहल गर्ने ? भनेर सबै तहका जनप्रतिनिधिसँग समन्वय गरेर अघि बढ्नुपर्छ । म नेपाली काँग्रेसको भएँ, स्थानीय तहमा एमाले पार्टीको साथीहरु हुनुहुन्छ, राम्रो काम गर्ने हो भने हामीबीचमा विभाजन, पार्टीगत कित्ताबन्दी हुनुपर्ने कुनै कारण छैन, वडाध्यक्ष भएको साथीलाई पनि आफ्नो वडाको पिच गराउनु छ । त्यहाँको खानेपानी व्यवस्थित गर्नुपर्नेछ । ढललाई व्यवस्थित गर्नुपर्नेछ, रिसर्स पुगेको छैन । त्यसैले उहाँ र हामी मिलेर सँगै रिसाेर्स कहाँ छ खोज्न जाने हो । दुवै मिलेर काम सम्पन्न गर्ने हो । किनभने हमी जनप्रतिनिधि हुँदै गर्दा अब पार्टीको मात्रै होइन । म नेपाली काँग्रेसको मात्रै प्रतिनिधि होइन । आम जनताको पाँच नम्बर क्षेत्रका मतदाताको प्रतिनिधि हो । त्यसैले वडाध्यक्ष अर्कै पार्टीबाट हुनुभएको साथीहरु पनि त्यही पार्टीको मात्रै प्रतिनिधि वहाँ होइन, त्यसैले हामीले आफूलाई सफल बनाउने हो भने काँग्रेसबाट जितेको सांसदसँग किन मिल्ने ?उसले रिसाेर्स ल्यायो भनेपनि मलाई चाहिँदैन भन्ने की त्यहाँको समस्या हल गर्नको लागि मिलेर काम गर्ने ? त्यसैले हामी मिलेर नै अघि बढ्न सकिन्छ । यो जनताको विषय हो, गर्नुपर्ने कामको विषय हो । हाम्रो सफलता र असफलता यो विषयसँग निर्भर गर्छ । पार्टीगत, निजी स्वार्थका निम्ति काम गर्न खोजियो भने त कसैबाट समर्थन प्राप्त हुनेकुरा भएन । जन सरोकारका विषयमा, राष्ट्रिय सरोकारका विषयमा काम गर्न खोज्दा सबै पार्टीबाट समर्थन हुन्छ भन्ने मेरो विश्वास छ । अब संसद कस्तो बन्छ भन्ने सन्दर्भमा सिनारियो बहुपक्षीय संसद बन्ने जस्तो देखियो । धेरै दलको स्वतन्त्रको प्रतिनिधित्व संसदमा हुने अवस्था छ । त्यसलाई पनि कसरी राम्रो रुपमा लिन सकिन्छ भने स्वतन्त्रले पनि वैकल्पिक राजनीतिको वकालत गर्दै आउनुभएको छ । राजनीति सुदृढ गर्ने, सुशासन कायम गर्ने, तमाम विकृतिहरु हटाउने, हामी पनि त्यही कुरामा हाम्रो प्रतिवद्धता हो भने कुरा त मिल्यो । फरक ढंगले त्यहाँ पुगेपनि त्यहाँ पुगेर उठाउने मुद्दाहरु त मिल्यो । रणनीतिक हिसावले निर्वाचन जित्नका लागि मात्रै ति विषय उठाइएको थिए भने त्यो अर्को कुरा भयो तर साँच्चै उठाइएका विषय कार्यान्वयन गर्न खोजिएको हो भने तमाम बेथितिका बिरुद्ध लड्ने कुरा हाम्रो साभा मुद्दा हुनसक्छ । जनबिरोधी, हस्तक्षेपका कुरा, जनताको दैनिकी सरोकारमा भएका समस्याका कुरा, सुशासन नभएको वर्तमान स्थितिलाई अन्त्य गर्ने हो भने हामी मिलेर सुशासन कायम गर्नसक्छौँ । हामीले साझा परराष्ट्र नीति अख्तियार गर्नसक्छौँ । साझा शिक्षा नीति, साझा स्वास्थ्य, हामी सबै मिलेर देशको देशको मुहार फेर्न सक्छौँ । त्यसैले राम्रो काम गर्ने हो भने जसले प्रश्ताव ल्याओस्, त्यसलाई समर्थन गरेर त्यसलाई कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्छ । त्यो पार्टीको स्वार्थ भन्दा माथि हुनुपर्छ । जनमतको पृष्ठभूमि र प्राप्त नतिजालाई हेर्दा बाटो फरक फरक गरेर आएको देखियाे । भोलि संघीय संसदमा तपाईहरुले ती ब्यक्ति र मुद्दासँग लड्ने कुरामा एकाकार हुन त गाह्रो पर्छ नि ? यो बिरोधाभाषलाई कसरी मिलाएर लैजानु हुन्छ ? जस्तो छ त्यसमै जान कठिन छ । निर्वाचनको परिणामबाट पनि हामीले महशसु गर्न सक्नुपर्छ । आफूलाई सच्याएर अघि लैजान सक्नुपर्छ । पार्टीले, पार्टीको नेतृत्वले, हामी सबैले । त्रुटीहरु थुप्रै भए, त्रुटीको महशुस गरेर, त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ । त्यसो गर्न नसके यथास्थितिले झनै बढी असन्तोषको स्थिति सिर्जना हुन्छ । अब केही ठाउँमा हारियो, यही यथास्थिति कायम रहे धेरै ठाउँमा हारिन्छ । पार्टीकै अस्तित्व नरहने अवस्था आउनसक्छ । त्यसैले यो निर्वाचनबाट कम्तिमा हामीले आफूलाई बदल्ने कुरा स्वीकार्न सक्नुपर्छ । आफूलाई बदलेर परिवर्तनको अनुभुति हुनेगरी हामी पनि फेरियौँ, अब हामी फेर्नका निम्ति अघि बढीरहेका छौँ, भन्ने महशुस गराउने गरी अघि जान सक्नुपर्छ । अब प्रतिशोधको राजनीतिले कहीँ पनि पु¥याउँदैन । अब पुराना घटना सम्झिएर बदला लिने कुराले राष्ट्रले केही पनि प्राप्त गर्दैन । मेरो यति वर्ष लगानी भयो त्यस आधारमा भर्खरकोले मलाई जित्नुहुँदैन भनेर अब पार लाग्दैन । नयाँ पन कसरी दिन सकिन्छ ? परिवर्तनको महशुस कसरी गराउन सकिन्छ, खास देशका कार्यहरुलाई कसरी कार्यान्वयन गर्न सकिन्छ ? अब त एजेण्डा कसले छिटो ल्याउँछ, कसले पहिलो समात्छ, कसले पहिला सार्वजनिक गर्छ ? त्यसमा प्रतिष्पर्धा हुनुपर्छ । त्यसैले पार्टी भित्रकै मानिसले पनि यो कुरा महशुस गर्नुपर्ने स्थिति छ । पार्टी भित्रका नेतृत्व वा सबैले आफूलाई बदल्नुपर्ने स्थिति छ । यो महशुस गराउने परिस्थित पहिले भन्दा अझ बढी बनेको छ । अहिलेको एउटा उमेर समूह जबरजस्त रुपमा नेतृत्वमा आएको छ, एउटा उमेर समूहले हस्तक्षेप गरेको त पक्कै हो, अब पार्टीको राजनीतिक नेतृत्व र अहिले निर्वाचित भएर आइरहेको संख्याका हिसावले सम्भवतः काँग्रेसले नै राजनीतिलाई नेतृत्व गर्ने देखिन्छ, सरकार काँग्रेसकै नेतृत्वमा बन्नसक्छ, अब नेतृत्वलाई प्रश्न गर्ने, उत्तर खोज्ने, विकल्प दिने वा त्यसका लागि अग्रसरता लिने यी कुरामा तपाईहरुको हस्तक्षेपकारी भुमिका हुन्छ कि हुँदैन ? पहिले भन्दा अहिले के फेरिएको छ भने पहिला पछिल्लो पुस्तामा विकल्प नै छैन, विकल्प हुनेगरी योग्य नै बनेको अवस्था छैन पनि भन्ने गरिन्थ्यो, विकल्प अघिल्लो पुस्ताबाट नै खोजिनुपर्छ, जो रोजेपनि पुस्ता एउटै हुन्छ ? भन्ने एउटा परिस्थिति थियो । तर अहिले त्यो परिस्थिति छैन । सबै पुस्तामा विकल्प १ सय १ देखिएको छ । म सांसद नरहेको अवस्थामा मैले संसदभित्र हस्तक्षेप गरेर हुने विषय थिएन । अब सांसद रहेको स्थितिमा हस्तक्षेप गर्ने ल्याकत पुग्ने भयो । परिवर्तनको महशुस गराउनुपर्छ भन्दै गर्दा हस्तक्षेप गर्न तयार हुनुपर्छ । परिवर्तनको महशुस यसरी गराउन सकिन्छ भनेर विकल्प दिन तयार हुनुपर्छ । विकल्प दिन तयार नहुने हो भने त आफैँ परिवर्तनको नेतृत्व गर्न सकेको, खोजेको महशुस गराउन सकिएन । आफ्नो उपस्थिति महशुस गराउन पनि हामीले परिवर्तनको नेतृत्व गर्न सक्नुपर्छ । व्यक्तिको पोजिशन निर्माण गर्ने कुरा मात्र महत्वपूर्ण होइन, व्यक्ति किन त्यो पोजिशनमा जान चाहन्छ, हमीले गर्ने के हो ? हाम्रो प्रतिवद्धता के हो ? हामीले पहिचान गरेको समस्या के हो ? र समाधान गर्ने कसरी ? त्यो कुरा हामीसँग फेहरिस्त हुन जरुरी छ । सरकार बनाउने, सरकारको नेतृत्व गर्ने ? प्रधानमन्त्री र मन्त्री हुने तर किन हुने ? त्यो कुराको जवाफ हामीसँग प्रष्ट हुनुपर्छ । त्यसैले आजको राजनीति जवाफदेही, उत्तरदायी हुनुपर्छ । आजको राजनीतिले सुशासन दिन सक्नुपर्छ । आज आम नागरिकले खोजिरहेको जे विषय हो, त्यसको सम्बोधन गर्नेगरी अघि बढ्नुपर्छ । दुई, चार जना नयाँ मानिस हामी मिल्यौँ, त्यसैले परिवर्तन हुन्छ भन्ने होइन, हाम्रो मिलन किन हो ? हामीले के गर्न खोजेको हो ? त्यसको एउटा फेहरिस्त हामीले प्रश्तुत गर्न जरुरी छ । त्यस्तो भयो भने विश्वास बढ्नसक्छ । विश्वास बढे सार्थक बनाउन सकिन्छ । विश्वास बढ्नेगरी हामीले आधार निर्माण गर्नुपर्छ । पहिलाको जस्तो सरकार जसरी पनि बनाउने, त्यस्तो हुनुहुँदैन । जसलाई मिलाएर भएपनि मन्त्रालय ४ टुक्रा पारेर भएपनि सरकार बनाउनु हुँदैन, त्यसले म्यासेज नै राम्रो दिँदैन । सरकारमा किन जाने हो ? डेलिभर गर्न, लोकप्रिय काम गर्न, आफू पनि लोकप्रिय हुने पार्टी पनि लोकप्रिय हुने,अर्को निर्वाचन त्यही आधारमा जित्ने, आम जनताले सरकारले डेलिभर गरेको छ भन्ने महसुस गराउने, यसो गरियो भने मात्र नै सरकारमा गएको काम लाग्छ । धेरै पटक सरकारमा जाने त्यसले नेगेटिभ म्यासेज मात्रै दिइरह्यो भने सरकारमा जानुको केही अर्थ हुँदैन । सरकारमा जाँदा पनि सचेतना पूर्वक जानुपर्छ । सरकार बनाउँदा पनि स्वभाविक ढंगले बनेको देखाउन सक्नुपर्छ । राज्यले फजुल खर्च घटाउने भन्छ, सरकार नै बनाउन फजुल खर्च बढाउने, राज्यको अर्थतन्त्र ध्वस्त बनाउने, कनिका छरेजस्तो राज्यको ढुकुटी छर्ने गरी हामी अघि बढ्ने स्थितिले राम्रो हुन सक्दैन । हरेक कुरामा पोजेटिभ म्यासेज दिनेगरी हामी अघि बढ्न सक्नुपर्छ । किनभने आम सञ्चारको धेरै विकास भएको छ, मतदाताहरुमा असाध्यै धेरै चेतना बढेको छ । राजनीतिप्रति एकदमै धेरै अपेक्षा छ । त्यस अर्थमा हामीले अघि बढ्दा पोजेटिभ म्यासेज कसरी दिनसक्छौँ, जनताको पक्षमा कसरी वकालत गर्नसक्छौँ ? त्यो कुराको बेवास्ता गरेर अघि बढ्ने कुराले हामीलाई कालान्तरमा धेरै ठूलो समस्या पर्छ । नेपाली काँग्रेसमा देशको नेतृत्व गर्छु भनेर पार्टीमा हस्तक्षेपकारी भुमिका खेल्छु भनेर केही युवाहरुले उद्घोष गर्नुभएको छ, बोलिरहनुभएको छ, यसमा तपाईको भुमिका के रहन्छ ? कुनै न कुनै ढंगबाट हामीले परिवर्तनको महशुस गराउन सक्नुपर्छ । हामीले फरक मुद्दाहरु बोकेर फरक ढंगबाट अघि बढेको वा आम जनताको अपेक्षालाई सम्बोधन गर्नेगरी हामीले आफ्नो पार्टीलाई हामीले अघि बढाएको भन्नेकुराको सन्देश हामीले दिन सक्नुपर्छ । जसले नेतृत्व गरेपनि मुद्दा स्पष्ट हुनुपर्छ । प्रष्ट मुद्दा ल्याउने मान्छे नेतृत्वमा पुग्नुपर्छ । मुद्दाको प्रश्तुतीमात्रै पनि सम्पूर्ण होइन, मुद्दालाई कार्यान्वयन गर्ने हुटहुटी पनि महत्वपूर्ण हो । त्यसैले पहिलो मुद्दाहरु र दोस्रो व्यक्ति हो । दुवै कुराको समन्वय हुनुपर्छ, जोडिनुपर्छ । काँग्रेस एउटा यस्तो पार्टी हो जुन दलमा दर्जन बढी उम्मेदवारहरु संसदीय दलको नेतामा प्रतिष्पर्धाका लागि हुनुहुन्छ । यही सुविधा अन्य कुनै पार्टीमा छ भन्ने मलाई लाग्दैन । त्यसैले यो सकारात्मक पक्ष हो । त्यहाँ विषयहरुको प्रतिष्पर्धा हुन्छ । म यसकारण दलमा नेतृत्व गर्न खोजेको हुँ भनेर भन्नेकुरा आउँछ । त्यसले हाम्रो पार्टीलाई परिष्कृत गराउने, पार्टीभित्र प्रतिष्पर्धालाई स्वभाविक बनाउने, स्थिति निर्माण गर्नसक्छ । एउटा प्रष्ट खाका निर्माण गरेर सरकारमा जाने परिस्थिति बनाउन सक्छ । त्यसलाई मैले सकारात्मक ढंगले लिएको छु । अब म कसरी अघि बढ्छु, आँफै नै प्रश्तुत हुन्छु की, ति विषयहरु बाँकी नै छन् । तर हाम्रो पार्टीभित्र प्रतिष्पर्धात्मक परिस्थिति बन्दैछ, त्यो सकारात्मक कुरा हो । गठबन्धनको सरकारले निर्वाचन सफल गरायो, तर गठबन्धनसँग आवद्ध पार्टीहरु परिणाममा कमजोर भइरहेको देख्न सकिन्छ, अब अहिलेको गठबन्धन नै अघि बढ्ने वा नयाँ गठबन्धनबाट सरकार निर्माण हुने भन्ने विषयलाई कसरि हेर्नुहुन्छ ? निर्वाचनकै परिणामसँग जोडेर हेर्दा, नेपाली काँग्रेसलाई कसरी बुझ्नुपर्छ भने यो धेरै क्याडरबेस अर्गनाइजेशन भएको पार्टी होइन, यसले आफ्नो क्याडरहरुमा सम्पूर्ण कन्ट्रोल राख्न सक्दैन । यो फ्लेक्जिबल व्यवहार गर्ने, असाध्यै लुज नेटवर्क भएको, विवेकले काम गर्ने मतदातालाई मात्रै यसले समेटेको देखिन्छ । त्यस अर्थमा फेरि गठबन्धन गरेर हामी गयौँ । हामी इमान्दार थिएनौँ भन्ने होइन, नेतृत्व असाध्यै इमान्दार थियो । नेतृत्वले भनेकै हो, हाम्रो नेतृत्व नरहेको ठाउँमा गठबन्धनबाट जसले उम्मेदवारी प्राप्त गरेको छ, उसलाई हाम्रै सम्झिएर इमान्दारीपूर्वक सहयोग गर्नुस् भनेर भनेको हो । तर आम मतदाताले त्यसलाई त्यसरुपमा स्वीकार्नु भएन । भोट ट्रान्सफर गर्ने सन्दर्भमा काँग्रेसको नेटवर्क, अर्गनाइजेशन पार्टी पंक्ति अन्य कम्युनिष्ट पार्टीहरुको जस्तो सबल नदेखिएकै स्थिति हो । गठबन्धनको अर्को कुनै पार्टीको उम्मेदवार हुनुभयो, उहाँले जति मत प्राप्त गर्नुभएको छ, त्यो उहाँको पार्टीको मात्रै मत होइन, हाम्रो सबै मत नपरेको होला, तर कतिपनि नपरेको भने होइन । जोड जबरजस्ती गर्नसक्ने स्थिति पनि हुँदैन । त्यसकारण यसमा लामो विगत पनि जोडिएको हुनसक्छ । त्यसैले निर्वाचनको परिणामसँग असन्तुष्टी व्यक्त गर्ने सन्दर्भ भन्दापनि गठबन्धनलाई यसको वैचारिकी निर्माण गरी कसरी सँगै लिएर जाने ? त्यो कुरा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ । गठबन्धन अझ फराकिलो बनाउन सकिन्छ की ? अझ धेरै जोड्न सकिन्छ की ? यसलाई नटुक्र्याइ कन । यसलाई यथावत राखेर अझ थप बढाएर जान सकिन्छ की ? किनभने काँग्रेसले राष्ट्रिय राजनीतिमा अब्बल समन्वयकारी भुमिका विगतदेखि नै निर्वाह गर्दै आएको हो । अहिले पनि संसद बहुपक्षीय बन्दैछ । त्यो बहुपक्षीय संसदलाई समन्वय गर्न जरुरी छ । त्यो समन्वयकारी क्षमता नेपाली काँग्रेसले नै राख्छ । अहिले भइरहेको गठबन्धनलाई कायम गरेर किनकी गठबन्धन तोड्ने निर्णय यसकारण आउँदैन की यसले हाम्रै नेतृत्वमा सरकार बनायो । हामी सँगै निर्वाचनमा गयौँ । अब फेरि पनि खास विषयमा अन्तरबिरोध नभइकन यो गठबन्धन तोडिने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन । तर खालि गणितमुखी हुने, सरकार बनाउने, प्रधानमन्त्री एउटा पार्टीको हुने, मन्त्री अर्को पार्टीको हुने, त्यत्तिकै आधारमा मात्रै गठबन्धन सिमित हुनु हुँदैन । गठबन्धनले के भन्नुप¥यो भने ५ वर्ष संसद कायम राख्छौँ, सरकार चलाउँछौँ, त्यसमा हामीले कतैबाट पनि अस्थिरता आउन दिने छैनाै‌ । पार्टीगत स्वार्थका निम्ति, पार्टीगत व्यक्तिहरु व्यवस्थापन गर्नको निम्ति, नकारात्मक सन्देश जाने परिस्थिति हामीले बनाउने छैनौँ । हामीले सरकारमा गएपछि गर्ने यो हो । कतिवटा बुँदा बनाउन सक्छौँ ? परराष्ट्र मामिलामा यसो गर्छौं, शिक्षामा यसो गर्छौं, स्वास्थ्यमा, सुशासन कायम गर्न यसो गर्छौं, आम जनताको जनजीविकाका मुद्दाहरुका लागि यसो गर्छौं, हामीले एउटा फेहरिस्त प्रश्तुत गर्नुपर्छ । हाम्रो देशलाई समृद्धिको दिशामा लैजाने आधारहरु के—के हुन् ? त्यो आधार कसरी हामीले तय गर्छौं । हामीले पर्यटन समृद्धिको पिल्लर हो भन्ने गरेका छौँ, पर्यटन समृद्धिको आधार हो भन्ने, लाखौँ पर्यटक नेपाल भित्र्याउने भन्ने, गुगलमा काठमाडौंको पहिचान यस्तै राखेर पर्यटकहरु आउनसक्छन् ? त्यसैले, खास प्राथमिकता निर्धारण गर्ने, त्यो प्राथमिकताका आधारमा योजना बनाएर अघि बढ्ने एउटा फेहरिस्त आउनुपर्छ । वैचारिकीसँग जोडिएको गठबन्धनले मात्रै मुलुकलाई केही दिनसक्छ । गणितमा आधारित भएर मात्रै गठबन्धन गर्नेकुरा स्वभाविक हुँदैन । यो गठबन्धन कायम रहेर अरु थप पक्षहरु यसमा जोडिने स्थिति बन्छ र नेतृत्व काँग्रेसकै हुन्छ भन्ने मलाई विश्वास छ । – फाेटाे प्रदिप पाैडेलकाे फेसबुकबाट ।

निर्वाचन अपडेट : कुन दलले कति ठाउँमा जिते ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३० स्थानमा विजयी भएको छ । मुस्ताङबाट योगेश गौचन थकालीको विजयसँगै खाता खोलेको कांग्रेसले हालसम्म ३० स्थानमा विजय हासिल गरेको हो । कांग्रेसका विजयी उम्मेदवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । त्यस्तै, नेताहरु प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, दीलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, सन्तोष चालिसे, राजन केसी, उदयशम्शेर जबरा, दुर्लभ थापा क्षेत्री, ई मोहन आचार्य, रामहरि खतिवडा, अजयकुमार चौरसिया पनि विजयी भएका छन् । विजयी अन्य उम्मेदवारमा रमेश रिजाल, श्यामकुमार घिमिरे, टेकबहादुर गुरुङ, किशोरसिंह राठोर, दिक्पालकुमार शाही, हृदयराम थानी, पुष्पबहादुर शाह, नारायणप्रसाद साउद, शङ्कर भण्डारी, राजेन्द्र बजगाईं, देवप्रसाद तिमिल्सिना र खमबहादुर गर्बुजा छन्। यसैगरी नेकपा एमाले १७ स्थानमा विजयी भएको छ । एमालेका विजयी उम्मेदवारहरुमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, गोकर्णराज विष्ट, कृष्णगोपाल श्रेष्ठ, टोपबहादुर रायामाझी, राजेन्द्रकुमार राई, लालप्रसाद एलपी साँवा लिम्बू, देवराज घिमिरे, अम्बरबहादुर रायामाझी, मानवीर राई, राजकुमार गुप्ता, महेशकुमार बर्तौला, प्रेमबहादुर महर्जन, विद्या भट्टराई, पदम गिरी र वासुदेव घिमिरे विजयी भएका छन् । नेकपा माओवादी केन्द्र नौ स्थानमा विजयी भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु वर्षमान पुन, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, राजकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर विश्वकर्मा र माधव सापकोटा विजयी भएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी छ स्थानमा विजयी भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, प्रकाश ज्वाला, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ५ स्थानमा विजयी भएको छ । पार्टी अध्यक्ष रवि लामिछानेका साथै सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तीन स्थानमा जित हासिल गरेको छ । राप्रपाका धवलशम्शेर राणा, दीपकबहादुर सिंह र ज्ञानबहादुर शाही विजयी भएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाट सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी विजयी भएका छन् भने जनता समाजवादी पार्टी जसपा प्रदीप यादव विजयी भएका छन् । जनमत पार्टीका चन्द्रकान्त राउत, स्वतन्त्रतर्फ लालवीर चौधरी र नागरिक उन्मुक्तिपार्टीबाट गङ्गाराम चौधरी निर्वाचित भएका आयोगले जनाएको छ ।

गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

गण्डकी । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ । कूल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकांश स्थानमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता छ । क्षेत्र नं २ र ३ मा एमालेका क्रमशः विद्या भट्टराई र दामोदर बैरागी निर्वाचित भएका छन् । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को १ मा एमालेका खगराज अधिकारीको अग्रता छ भने २ मा एमालेका बेदबहादुर गुरुङ श्याम निर्वाचित भए । निर्वाचन क्षेत्र नं २ को (१) र (२) मा एमालेका भीम कार्की र कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं ३ को९१० मा कांग्रेसका प्रकाश बरालको अग्रता छ । प्रदेश ९२० मा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामचन्द्र पौडेल र शङ्कर भण्डारी विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः कांग्रेसका अशोक श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान विजयी भएका छन् भने क्षेत्र नं २ को (१) मा एमालेका श्यामराजा महत र कांग्रेसका जितप्रकाश आले विजयी भएका छन् । बागलुङको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । क्षेत्र नं २ को प्रदेशसभा (१) र (२) मा कांग्रेसकै जित शेरचन र दोर्ण कुँवर विजयी भएका छन् । गोरखाको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः कांग्रेसका राजेन्द्र बजगाईं र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् भने क्षेत्र नं २ को ९१० र ९२० मा क्रमशः नेपाल समाजवादीका फणिन्द्र देवकोटा र कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । नवलपुरको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभामा कांग्रेसका क्रमशः डा शशाङ्क कोइराला विजयी भएका छन् भने विष्णु कार्कीको अग्रता छ । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः कांग्रेसका महेन्द्रध्वज जिसी र एमालेका रोशनबहादुर गाहा विजयी भएका छन् । क्षेत्र नं २ को (१) र (२) मा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे विजयी भएका छन् । लमजुङमा प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा (१) मा कांग्रेसका टकराज गुरुङ र ९२० मा भेषबहादुर पौडेल विजयी भएका छन् । यस्तै पर्वतको प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा ९१ र ९२० मा एमालेका भक्त कुँवर र मित्रलाल बस्याल विजयी भएका छन् । हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन, प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ र (२) मा विकल शेरचन विजयी भएका छन् । मनाङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ, प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजङग गुरुङ र (२) मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा (१) मा माओवादीका हरि भण्डारी र (२) मा रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन् । स्याङ्जाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका राजु थापाको अग्रता छ । प्रदेशसभा (१) मा एमालेकी सीता सुन्दास विजयी हुनुभयो भने (२) मा कांग्रेसका बुद्धिबहादुर राना कुमारको अग्रता छ । रासस

कांग्रेसबाट प्रधानमन्त्रीको आकांक्षी सबै उम्मेदवार बिजयी, कसले मार्ला बाजी ?

काठमाडौं । मुलुकको आगामी प्रधानमन्त्रीको दाबी गरेका नेपाली कांग्रेसका सबै उम्मेदवारहरुले चुनावमा बिजय हासिल गर्न सफल भएका छन् । प्रधानमन्त्रीका आकांक्षी सबै उम्मेदवारहरुले बिजय हासिल गरेपछि नेपाली कांग्रेसको संसदीय दलमा को निर्वाचित होला भन्ने विषय रोचक बन्ने भएको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउबाले डडेलधुराबाट निर्वाचन जितेका छन । तर उनले अहिलेसम्म आगामी प्रधानमन्त्रीको विषयमा कुनै अभिव्यक्ति दिएका छैनन् । पार्टीमा भएको बलियो उपस्थितिका कारण उनी आगामी प्रधानमन्त्रीको रुपमा स्वभाविक रुपमा अगाडि बढ्नसक्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आँफूलाई निरन्तर भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका छन् । निर्वाचन प्रचारको क्रममा पनि थापाले सो विषयलाई चुनावी क्याम्पिङको मुख्य प्रचार सामग्री बनाएका थिए । आगामी प्रधानमन्त्रीको दाबी गरेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट निर्वाचन जितेका छन् । उनले चुनावी प्रचार अभियानको क्रममा आँफूलाई आगामी प्रधानमन्त्रीको रुपमा प्रचार गरेका थिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रकाशमान सिंहले पनि निर्वाचन प्रचारप्रसारको क्रममा मतदाताका समक्ष आँफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका थिए । त्यस्तै आगामी प्रधानमन्त्रीको रुपमा महाधिवेशनमा सभापतीको प्रतिस्पर्धा गरेर पराजित भएका शेखर कोइरालाले पनि दाबी गरेका छन् । कोइरालाले मोरङ ६ बाट दोस्रो पटकको प्रयासमा निर्वाचन जित्न सफल भएका छन् । कसले मार्ला बाजी ? प्रधानमन्त्रीको उम्मेदवार बन्नको लागि नेपाली कांग्रेसको विधानअनुसार सम्बन्धित व्यक्ति संसदीय दलको नेतामा चयन हुुनुपर्छ । त्यसपछि मात्रै सो व्यक्ति संसदमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत हुने हैसियत राख्छ । मास ह्यान्डलिङमा कम क्षमता राख्ने भएपनि पार्टीको आन्तरिक डिप्लोमेसीमा देउबालाई क्षमतावान नेताको रुपमा मानिन्छ । ओली पछि प्रधानमन्त्री बन्ने प्रकृयादेखि महाधिवेशनमा सभापति निर्वार्चित हुने र निर्वाचन सम्बन्धी मोर्चा टिकाइरहेर सफलता हासिल गर्नेमा देउबा सफल देखिन्छन् । साथै निर्वाचनमा बिजय गरेर आउनेहरुमा पनि देउबाले टिकट बाँडेका व्यक्तिहरुको संख्या नै अधिक रहेको छ । त्यसैले पुनः प्रधानमन्त्री बन्ने विषयमा उनको भूमिका सक्रिय रह्यो भने उनी फेरि प्रधानमन्त्री बन्न सक्दैनन् भन्न सकिन्न । आगामी प्रधानमन्त्रीको सार्वजनिक रुपमा दाबी प्रस्तुत गरेका गगन थापाको पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सार्वजनिक रुपमा नै समर्थन गरेका छन्, त्यस्तै पार्टीका अन्य समर्थक तथा सुभचिन्तकहरुबाट पनि उनलाई समर्थन गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । तर, पार्टीको संसदीय दलमा उनको पक्षमा बहुमत हुन्छ हुँदैन भन्ने कुरा नै थापा आगामी प्रधानमन्त्री बन्ने नबन्ने विषयको पहिलो खुट्किलो हुनेछ । पार्टीको महाधिवेशनमा सभापतिमा जस्तै संसदीय दलको नेतामा पनि धेरै आकांक्षी हुने अवस्था देखिएमा संसदका अधिकांश सदस्यमा बलियो पकड भएकै व्यक्ति चुनिने सम्भावना रहन सक्छ ।

‘पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु’

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन् । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् । उनले आफूले मतदाताहरुसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको बताइन् । उनले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् । ‘सांसद कस्तो हुनुपर्छ र संसद भवनमा वहस कस्तो हुनुपर्छ भन्ने देखाउने मेरो भुमिका रहने छ, म समस्या र समाधान बीचको परिपक्व पुल बन्ने प्रतिवद्ध हुनेछु,’ उनले भनिन् । डा. कार्कीले ललितपुरवासिले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने र जनताको विश्वासमाथि घात नगर्ने पनि बताएकी छिन् ।