कांग्रेसबाट प्रधानमन्त्रीको आकांक्षी सबै उम्मेदवार बिजयी, कसले मार्ला बाजी ?

<p>काठमाडौं । मुलुकको आगामी प्रधानमन्त्रीको दाबी गरेका नेपाली कांग्रेसका सबै उम्मेदवारहरुले चुनावमा बिजय हासिल गर्न सफल भएका छन् । प्रधानमन्त्रीका आकांक्षी सबै उम्मेदवारहरुले बिजय हासिल गरेपछि नेपाली कांग्रेसको संसदीय दलमा को निर्वाचित होला भन्ने विषय रोचक बन्ने भएको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउबाले डडेलधुराबाट निर्वाचन जितेका छन । तर उनले अहिलेसम्म [&hellip;]</p>

काठमाडौं । मुलुकको आगामी प्रधानमन्त्रीको दाबी गरेका नेपाली कांग्रेसका सबै उम्मेदवारहरुले चुनावमा बिजय हासिल गर्न सफल भएका छन् । प्रधानमन्त्रीका आकांक्षी सबै उम्मेदवारहरुले बिजय हासिल गरेपछि नेपाली कांग्रेसको संसदीय दलमा को निर्वाचित होला भन्ने विषय रोचक बन्ने भएको छ ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउबाले डडेलधुराबाट निर्वाचन जितेका छन । तर उनले अहिलेसम्म आगामी प्रधानमन्त्रीको विषयमा कुनै अभिव्यक्ति दिएका छैनन् । पार्टीमा भएको बलियो उपस्थितिका कारण उनी आगामी प्रधानमन्त्रीको रुपमा स्वभाविक रुपमा अगाडि बढ्नसक्ने अनुमान गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आँफूलाई निरन्तर भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका छन् । निर्वाचन प्रचारको क्रममा पनि थापाले सो विषयलाई चुनावी क्याम्पिङको मुख्य प्रचार सामग्री बनाएका थिए ।

आगामी प्रधानमन्त्रीको दाबी गरेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट निर्वाचन जितेका छन् । उनले चुनावी प्रचार अभियानको क्रममा आँफूलाई आगामी प्रधानमन्त्रीको रुपमा प्रचार गरेका थिए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रकाशमान सिंहले पनि निर्वाचन प्रचारप्रसारको क्रममा मतदाताका समक्ष आँफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका थिए । त्यस्तै आगामी प्रधानमन्त्रीको रुपमा महाधिवेशनमा सभापतीको प्रतिस्पर्धा गरेर पराजित भएका शेखर कोइरालाले पनि दाबी गरेका छन् । कोइरालाले मोरङ ६ बाट दोस्रो पटकको प्रयासमा निर्वाचन जित्न सफल भएका छन् ।

कसले मार्ला बाजी ?
प्रधानमन्त्रीको उम्मेदवार बन्नको लागि नेपाली कांग्रेसको विधानअनुसार सम्बन्धित व्यक्ति संसदीय दलको नेतामा चयन हुुनुपर्छ । त्यसपछि मात्रै सो व्यक्ति संसदमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत हुने हैसियत राख्छ । मास ह्यान्डलिङमा कम क्षमता राख्ने भएपनि पार्टीको आन्तरिक डिप्लोमेसीमा देउबालाई क्षमतावान नेताको रुपमा मानिन्छ । ओली पछि प्रधानमन्त्री बन्ने प्रकृयादेखि महाधिवेशनमा सभापति निर्वार्चित हुने र निर्वाचन सम्बन्धी मोर्चा टिकाइरहेर सफलता हासिल गर्नेमा देउबा सफल देखिन्छन् ।

साथै निर्वाचनमा बिजय गरेर आउनेहरुमा पनि देउबाले टिकट बाँडेका व्यक्तिहरुको संख्या नै अधिक रहेको छ । त्यसैले पुनः प्रधानमन्त्री बन्ने विषयमा उनको भूमिका सक्रिय रह्यो भने उनी फेरि प्रधानमन्त्री बन्न सक्दैनन् भन्न सकिन्न ।

आगामी प्रधानमन्त्रीको सार्वजनिक रुपमा दाबी प्रस्तुत गरेका गगन थापाको पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सार्वजनिक रुपमा नै समर्थन गरेका छन्, त्यस्तै पार्टीका अन्य समर्थक तथा सुभचिन्तकहरुबाट पनि उनलाई समर्थन गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । तर, पार्टीको संसदीय दलमा उनको पक्षमा बहुमत हुन्छ हुँदैन भन्ने कुरा नै थापा आगामी प्रधानमन्त्री बन्ने नबन्ने विषयको पहिलो खुट्किलो हुनेछ ।

पार्टीको महाधिवेशनमा सभापतिमा जस्तै संसदीय दलको नेतामा पनि धेरै आकांक्षी हुने अवस्था देखिएमा संसदका अधिकांश सदस्यमा बलियो पकड भएकै व्यक्ति चुनिने सम्भावना रहन सक्छ ।

Share News