धादिङ क्षेत्र नं २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी
धादिङ । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरे । दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए । रासस
दाङ–१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी
दाङ । दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गरेका हृन् । विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार एक सय ७० मत पाएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले पाँच हजार एक सय ३९ मत पाए । निर्वाचित खड्काले रासससँग कुरा गर्दै जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफूले खटेर काम गर्ने बताए । उनले भने, ‘एउटा कलिलो युवकलाई यति धेरै विश्वास गर्दिए, म यो विश्वासलाई आत्मसात् गरेर अगाडि बढ्ने छु ।’ दाङ–१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश (१) मा ४० हजार एक सय छ र प्रदेश (२) मा ३८ हजार पाँच सय ९२ गरी कुल ७८ हजार छ सय ९८ मत खसेको थियो । रासस
सेयर लगानीकर्ता ढकाल चितवन-१ बाट निर्वाचित
चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे । सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ । उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाउनुभएको थियो । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो । यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका थिए । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ । रासस
सनराइज बैंकका ग्राहकले अब क्युआरमार्फत भुक्तानी गर्न पाउने
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र सनराइज बैंकबीच सम्झाैता भएकाे छ । टेक्नोलोजिज र बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हाे । उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् । सम्झाैतापश्चात सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्न सक्नेछन् ।
बिहीबार नेप्से दोहोरो अंकले बढ्यो
काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर १८ हजार ४९५ पटक किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार अधिकांश समूहमा हरियाली छाउँदा निर्जीवन बीमा समूह भने घटेको छ । बैंकिङ्ग समूह ०.४४ प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत, फाइनान्स समूह १.१४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०८ प्रतिशत, हाइड्रोपावर समूह ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.०८ प्रतिशत, जीवन बीमा समूह ०.३० प्रतिशत, म्यानुफ्याक्चरिङ् एण्ड प्रोसेसिङ समूह १.१८ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३८ प्रतिशत, अन्य समूह १.६९ प्रतिशत र ट्रेडिङ्ग समूह १.२७ प्रतिशत बढेको छ । बिहीबार घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ६.८३ प्रतिशत बढेको हो । यस्तै, आरएमडिसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ । आज किशान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले घटेको हो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ७ करोड ६२ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
विवाहकै सिजनमा सुनको अभाव हुँदा ग्राहक मर्कामा, दैनिक ४० केजी माग
काठमाडौं । यो विवाहको सिजन हो । मंसिर महिनामा अधिकांश मानिसहरुले विवाह गर्छन् । विवाहका लागि भन्दै सुनचाँदीका गरगहना बनाउन तथा खरिद गर्नेको यो समयमा पसलहरुमा भीड हुन्छ । मंसिरको महिनामा विवाहका लागि धेरै साइत जुर्ने भएकाले पनि बजारमा विवाहको रौनकसँगै सुनचाँदीको व्यापार पनि चम्किन्छ । तर, यस पटक भने अवस्था त्यस्तो छैन । विश्व महामारीका रुपमा फैलिएको कोरोना महमारीपछि धेरै व्यापार व्यवसायमा मन्दी आएसँगै सुनचाँदीको व्यापारमा पनि त्यस्तै मन्दी छ । अहिले बजारमा सुनको अभाव छ । अहिले विावहको सिजन सुरु भएपनि सुनको अभाव हुन थालेको हो । व्यापारीहरुका अनुसार बजारमा सुनचाँदीको मागमा वृद्धि भएपनि सुनको अभाव भएकोले माग परिपुर्ति गर्न सकिएको छैन । नेपालीको रितिरिवाज अनुसार बिहेमा सुनचाँदी बनाउने चलन छ, तर सुन अभाव हुँदा ग्राहकले खोजे अनुसार आपुर्ति गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य बिहेकै सिजनमा बजारमा सुनको अभाव भएको बताए । ‘पछिल्लो समय सुनको मागमा दैनिक वृद्धि हुन थालेको छ तर हामीले मागे अनुसारको सुन बैंकले नदिँदा ग्राहकलाई रितो हाल फर्काउनु परेको छ’, उनले भने, ‘दैनिक ४० किलो बढीको माग छ, अहिले बजारमा सुनको अभाव छ, बिहेको सिजन सुरु भएको छ, तर सुनको कोटा दैनकि १० किलोमै सीमित छ, तुरुन्तै कोटा बढाउन हामीले सम्बन्धित निकायलाई भन्दै आएका छौँ, आशा छ अब छिट्टै हाम्रो मागको सुनुवाई हुनेछ ।’ उनले तरलता अभाव र विदेशी मुद्रा सञ्चितीका कारण सुन आयातमा कोटा राखेको भन्दै पछिल्लो समय अवस्था सहज भएसँगै कोटा बढाउने तयारी भएको जानकारीमा आएको बताए । ‘माग धेरै हुँदा हामीले म्यानेज गर्न असहज भएको छ, आएका सबै अर्डर लिन सकेका छैनौं, पहिला जुन ग्राहक आउँछन्, उसकै अर्डर लिने र पछि आउनेलाई फर्काउनु पर्ने बाध्यता छ, सुन नै नभएपछि फर्काउनु बाहेक विकल्प छैन’, उनले भने, ‘हाम्रो धर्म संस्कृतिमा बिहे, व्रतबन्धमा गहना लगाउनुपर्ने चलन छ, आफ्नोे आवश्यकता अनुसार सुन नपाएपछि ग्राहकलाई असहज भयो, सुन नै नभएपछि रोजगारी समेत असर गर्ने नै भयो ।’ नेपाल राष्ट्र बैंकले गत फागुनमा एक परिपत्र जारी गर्दै सुनको कोटा घटाएको थियो । फागुन अघि दैनिक २० किलो सुन आयातको अनुमति दिइएकोमा तरलता अभाव तथा विदेशी मुद्राको सञ्चितीलाई देखाउँदै दैनिक १० किलोको कोटा तोकेको थियो । व्यवसायीहरुले दैनिक २० किलोबाट बढाएर ४० बनाउनु पर्ने माग राखेको समयमा राष्ट्र बैंकले झन कोटा घटाएको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।
मेरो विजय हाम्रो देशमा परिवर्तन चाहनेहरुको लागि हो : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताए । ‘हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा दिदीबहिनीको हो’, उनले भने । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रुपमा अगाडि बढाउने उनको भनाइ छ । ‘मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ’, उनले भने, ‘अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षाकामा खरो उत्रनेछौँ ।’ उनले अहिलेनै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुङ्गो नलागेको बताए । ‘पार्टीको बैठकबाट यसबारे निर्णय गर्छौ’, उनले भने, ‘एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेण्डा कार्यान्वयनमा ल्याउने छौँ ।’ उनले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताए । ‘मैले कहिँकतै बाटो बिराए भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु’, उनले भने ।
धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी
धनकुटा । यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका हुन् । राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत ल्याएका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गरेका छन् । प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली विजयी भएका छन् । पराजुली १५ हजार सात सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गरेका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१०) मा चार र प्रदेश (२) मा सात उम्मेदवार प्रतिस्पर्धामा थिए । कूल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।