विकासन्युज

निर्वाचनपछि पनि भित्रिएन बैंकहरुमा निक्षेप, ६ अर्बले घट्दा सीडी रेसियो कति ?

काठमाडौं । निर्वाचन सम्पन्न भएपछि बैंकहरुमा निक्षेप संकलन ह्वात्तै घटेको छ । निर्वाचन अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा आउने अपेक्षा गरिएको भएपनि यो अवधिमा निक्षेप घटेको हो । कात्तिक मसान्तसम्म बैंकहरुले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । मंसिर ८ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका थिए । यो ८ दिनको अवधिमा बैंकहरुको निक्षेप संकलन ५.४७ अर्ब रुपैयाँ घटेको हो । यस्तै, बैंकहरुले कर्जा लगानी पनि घटाएका छन् । बैंकहरुको कर्जा २.२० अर्ब रुपैयाँ घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा मात्रै प्रवाह गरेका छन् । यसअघि गत कात्तिक मसान्तसम्ममा बैंकहरुको कर्जा ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो । बैंकहरुको सीडी रेसियो भने ८६.९१ प्रतिशत रहेको संघले बताएको छ ।

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् । पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमालेले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए । यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गरे । रासस

नयाँ चुनावी नतिजाले चितवनमा विकासको गति र जग्गाको मूल्य घट्न सक्ने

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचनले चितवन जिल्लाको राजनीतिक समिकरणलाई नै बदलिदिएको छ । चितवन जिल्लामा सिर्जना हुँदै गरेको नयाँ राजनीतिक समिकरणले आगामी दिनमा चितवनको विकासको गति नै घट्ने अनुमान गरिएको छ । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनको निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका सुरेन्द्र पाण्डे, २ बाट एमालेका कृष्णभक्त पोखरेल र ३ बाट माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । आजसम्मको मतगणनामा आएका नतिजा र अग्रताको अवस्थालाई हेर्दा फेरि पनि मुलुकमा पुरानै ठूला राजनीतिक दलहरुको दब्दबा रहने निश्चित प्रायः छ । तर, चितवन जिल्लाका मतदाताले आगामी संसदमा कमजोर उपस्थिति रहने पार्टीलाई विजयी गराएका छन् । विगत ५ वर्षमा संघीय सरकारको तहबाट भएको बजेट विनियोजनको प्रवृत्तिलाई हेर्दा विशेषगरी राज्यसत्तामा पहुँच भएको क्षेत्रमा बढी बजेट विनियोजन भएको देखिन्छ । केपी ओली र शेरबहादुर देउवा दुबै सरकारले झापा, चितवन र डडेलधुरालाई बजेट विनियोजनमा प्राथमिकतामा राख्ने प्रयास गरेका थिए । जसमा केही सांसदहरुले संसदमा नै पहुँच बमोजिम बजेट विनियोजन गर्ने प्रवृत्तिको विरोध गर्ने प्रयास गरेका थिए । पछिल्लो ५ वर्षमा प्रचण्ड, सुरेन्द्र पाण्डे र रेणु दाहालको चितवनमा भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो विकास भएको छ । प्रचण्डले चितवनलाई मुलुककै आर्थिक राजधानी साथै विकासको मोडेल नै बनाउने घोषणा गरेका थिए । भरतपुर महानगरको विकासमा काम गरेकै कारणले गत बैशाखमा भएको निर्वाचनमा रेणुले लोकप्रिय मत बढी ल्याएको धेरैको तर्क छ । मंसिर ४ गते भएको निर्वाचनमा चितवन जिल्लामा भएका ३ वटा निर्वाचन क्षेत्र मध्ये बिहीबार साँझसम्म निर्वाचन क्षेत्र नम्बर २ र १ को नतिजा आएको छ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेल र एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका छन् । त्यस्तै पछिल्लो मतगणना परिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राप्रपाका बिक्रम पाण्डे विजयको नजिक पुगेका छन् । मतदानमार्फत मतदाताहरुले शुसासनको विषयलाई सचेत गराएको भएपनि केन्द्रीय राजनीतिमा पुरानै राजनीतिक दल र सदस्य समूह दोहोरिने भएकाले अर्थतन्त्रको सञ्चालन गर्दा शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमा ठूलो परिवर्तन नआउन सक्छ । त्यसैले अनुमान गर्न सकिन्छ की त्यसको प्रत्यक्ष प्रभाव चितवनको आगामी विकासमा पर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले पुरानै दलहरुको नेतृत्वमा सरकारमा सहभागी नहुने संकेत गरेका छन् । यदी त्यसो हुन पुग्यो भने चितवनका २ वटा निर्वाचन क्षेत्रमा नियमित बाहेक नयाँ आवश्यकता र चाहनाको विकास क्षेत्रमा बजेटको पैरवी गर्ने नेतृत्वको नै अभाव हुन पुग्छ । त्यस्तै चितवन क्षेत्र नम्बर ३ बाट संसदमा प्रतिनिधित्व गर्ने बिक्रम पाण्डेको सत्तामा स्वभाविक हिसाबले पहुँच नै कम हुन पुग्छ । जसले गर्दा सो क्षेत्रमा पनि विकासको पैरवी गर्ने पहुँच सम्पन्न व्यक्ति आगामी संसदमा हुँदैन । पछिल्लो समयमा विकासको ‘भाइब’ पैदा हुन खोजिरहेको चितवनमा अहिलेको चुनावसँगै सत्ता पहुँचको कमी हुन जाने हुँदा त्यसको प्रभाव सम्पूर्ण चितवन क्षेत्रमा पर्ने देखिन्छ । सडक विस्तार, सार्वजनिक क्षेत्रहरुको विकास र संस्थागत विकासको गतिमा कमि आउनसक्छ । जसले गर्दा विकासको हबका रुपमा जोडेर वृद्धि हुँदै गरेको चितवन क्षेत्रको जग्गाको मूल्यमा पनि स्थिरता पैदा हुन सक्छ ।

झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देन विजयी

झापा । झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी भएका झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गरेका थिए । झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी भएका थिए । झापा क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार छ सय ३७ मत खसेको थियो । झापा क्षेत्र नं ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२)मा नेकपा एमालेका छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

काठमाडौंबाट चोरी तथा डकैती गर्ने १५ जना पक्राउ, ‍‌औसत २५ वर्षका

काठमाडौं ।  जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीवार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो । कार्तिक २८ गते काठमाडौं महानगरपालिका वडा नं. ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरुलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेहरुमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २४ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय कालिकोटका धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही र २७ वर्षीय पञ्चबहादुर सिंह रहेका छन् । त्यस्तै सुर्खेतकी १९ वर्षीया कविता बुढा र २१ वर्षीय दीपिका मल्ल शाही रहेका छन् भने रामेछापका २४ वर्षीय सुर्वण मगर रहेको वरिष्ठ प्रहरी उपरिक्षक बोहराले जानकारी दिए । उनीहरुको साथबाट तौल ३८.५ तोला लेखिएको सुनको गिलास १ थान, सुनको तिलहरी १ थान, सुनको नौगेडी २ थान, हिरा जस्तो देखिने विभिन्न धातु जडित हार ३ थान, वारदातमा प्रयोग भएको हतौडा १ थान, चक्कु २ थान र २ लाख १३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरिएको उनले बताए । पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान भइरहेको जनाइएको छ । त्यस्तैगरी, काठमाडौं महानगरपालिका वडा नं. १८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटी भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कार्तिक २९ गते गहना लुटी भाग्ने व्यक्तिहरुलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनकुटाका २६ वर्षीय सुमन राई र २८ वर्षिय देविराज राई, धादिङका ३० वर्षिय कुमार विश्वकर्मा, ४० वर्षिय बेगबहादुर बि.क. र ३८ वर्षीया मनिला तामाङ रहेकाे प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बारदातमा देखाइएको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, ७.६२ एमएम लेखिएको ४ राउन्ड गोली, गालेको सुन २६ ग्राम, दुई मोटरसाइकल, जर्सी र ज्याकेटसहितको १ जोर प्रहरी पोशाक, फेनारगन, डाइजेपाम र नुफिन गरी जम्मा ५९१ एम्पुल लागू औषध बरामद गरिएको वरिष्ठ प्रहरी उपरिक्षक बोहराले बताए । उनीहरुलाई पनि चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

विजयी भएकाहरुले यसरी बाँडे खुशीयाली (फोटोफिचर)

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ । बिहीबार साँझसम्म १६५ वटा निर्वाचन क्षेत्रमध्ये ६३ वटाको नतिजा सार्वजनिक भइसकेको छ । नतिजा सार्वजनिक भएपछि धेरैले विजय जुलुस र धन्यवाद सभा गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा विजयी भएका नेकपा (एमाले)का राजकुमार लेखी । उनले १४ हजार २९१ मत ल्याएर निर्वाचित भएको छ । ताप्लेजुङको निर्वाचन क्षेत्र नं (१)बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नव निर्वाचित प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबोलाई बधाई तथा शुभकामना दिँदै मतदाता । नेकपा (एमाले) कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएकी विद्या भट्टराई बिहीबार पोखरा १७बःउस मा मतदाता एवम शुभचिन्तकबीच खुशी साटदै । प्रदेशसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ (१) मा विजयी नेकपा (एमाले)का कृष्णप्रसाद सिलवाल । म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी भएपछि बाम लोकतान्त्रिक गठबनधनले आज बेनीमा निकालेको विजयी उत्सव ¥यालीमा सहभागीहरु । म्याग्दीबाट प्रतिनिधिसभामा खमबहादुर गर्वुजा, प्रदेशसभा (१) मा हरि भण्डारी र (२) मा रेशम जुग्जाली निर्वाचित हुनुभएको छ । डडेल्धुराको प्रदेशसभा २ मा विजयी भएका स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी । पर्वतवाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले) तर्फबाट उम्मेदवार पदम गिरी, प्रदेशसभा १ मा निर्वाचित भक्त कुँवर र प्रदेशसभा २ मा निर्वाचित मित्रलाल बस्याल । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिँदै मतदाता । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी र क्षेत्र नं १ प्रदेशसभा (१) का अशोककुमार र तनहुँ क्षेत्र नं २ प्रदेशसभा (२) का हरिबहादुर चुमान । कालीकोट निर्वाचन क्षेत्र १ को प्रदेशसभा १’ मा विजयी भएका दुर्गबहादुर रावत । चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेश (१) बाट विजयी हुनुभएका किरण थापा मतदातालाई धन्यवाद दिने क्रममा । दाङ निर्वाचन क्षेत्र नं २ को गठबन्धन दलका उम्मेदवारहरु निर्वाचितपछि विजय ¥यालीमा सहभागि हुँदै । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का माओवादी केन्द्रकी रेखा शर्मा, सोही क्षेत्र नं २ प्रदेशसभा (१) का नेपाली कांग्रेसका राजु खनाल र क्षेत्र नं २ प्रदेशसभा (२) का प्रचण्ड विक्रम न्यौपाने गठबन्धनद्वारा आयोजित विजय ¥यालीमा ।  

धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

धादिङ । धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा एमालेका गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार नौ सय तीन मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार चार सय ७८ मत प्राप्त गरेका छन् । जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन् ।

बीमा एजेन्टको परीक्षा इन्स्योरेन्स कम्पनीले नै लिने, पाए ७ शर्तसहितको जिम्मेवारी

काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) को परीक्षा अब बीमा कम्पनीहरुले नै लिने भएका छन् । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरुलाई एक पत्राचार गर्दै एजेन्टको परीक्षा लिने जिम्मेवारी प्रदान गरेको हो । २०७९ कार्त्तिक २२ गतेदेखि लागू भएको बीमा ऐन, २०७९ अनुसार प्राधिकरणले बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार प्राधिकरणले अर्को निर्णय नभएसम्मको लागि कम्पनीहरुलाई बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएको हो । जसको लागि प्राधिकरणले विभिन्न शर्त समेत तोकेको छ । यससँगै कम्पनीहरुले उक्त शर्तको अधिनमा रही परीक्षा सञ्चालन गर्नुपर्ने छ । यस्ता छन् शर्तहरु क. परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नु पर्नेछ । ख. परीक्षाको अङ्कभार १०० तथा उतिर्णाङ्क ५० हुनेछ । ग. प्रश्नहरु वस्तुगत हुनुपर्ने छ र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्नेछ । घ. परीक्षा उत्तीर्ण गरेको प्राप्तङ्क सहितको प्रमाणपत्र जारी गर्नु पर्नेछ । ङ. परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्नेछ । च. परीक्षा सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्नु पर्नेछ । छ. परीक्षाको पाठ्यक्रम यसैसाथ संलग्न छ । साथै, कार्त्तिक २२ गतेभन्दा अघि बीमा अभिकर्ताको तालिम लिई लाइसेन्स नलिएका व्यक्तिले समेत लाइसेन्सको लागि परीक्षा उत्तीर्ण गर्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए ।