ब्रिजटेकले फर्निचर उद्योगमा चाहिने ७० प्रतिशत मेसिन उपलब्ध गराउँछ : राजेश थापा
ब्रिजटेक इन्टरनेशनल कम्पनीले विगत लामो समयदेखि फर्निचर उद्योगमा चाहिने नयाँ प्रविधिका मेसिनहरूको बिक्री वितरण गर्दै आइरहेको छ । उक्त कम्पनीले सन् २००६ बाट मेसिन बेच्न सुरु गरेको हो । प्रविधिको अवलम्बन गर्दै ठूला उद्योग स्थापनामा सहयोग गर्नुपर्छ भन्ने उद्देश्य बोकेको उक्त कम्पनीले अहिले उच्च गुणस्तर मेसिन उपलब्ध गराउँदै आएको छ । कम्पनीले युरोपियन देशबाट प्रत्यक्ष फर्निचर उद्योगमा चाहिने साना तथा ठूला मेसिनको निर्यात गरी सुलभ दरमा उद्योगहरूलाई बेच्दै आएका छ । कम्पनीले मेसिन बेच्नुका साथसाथै मेसिन चलाउने प्रशिक्षण समेत दिँदै आएको ब्रिजटेक इन्टरनेशनल कम्पनीका प्रबन्ध निर्देशक राजेश थापा बताउँछन् । उनै थापासँग फर्निचर उद्योगले खोज्ने नयाँ प्रविधिका मेसिन, कम्पनीको आगामी योजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । ब्रिजटेकले फर्निचर उद्योगमा चाहिने कस्तो मेसिनहरू बेच्दै आएको छ ? ब्रिजटेक इन्टरनेशनल फर्निचर उद्योगमा चाहिने आधुनिक मेसिनहरू बेच्ने कम्पनी हो । काठलाई आधुनिक प्रविधिकाको प्रयोगबाट गुणस्तर फर्निचरका सामान बनाउने मेसिनहरू बेच्दै आएको छ । यो कम्पनीको स्थापना भएदेखि नै नेपाललाई विदेशी प्रविधिसँग जोड्नको लागि धेरै मेहनत गरेको छ । हामीले फर्निचर उद्योगहरूमा पहिला मेसिन बेच्दा यो मेसिनबाट गरेको काम पनि यस्तो हुन्छ वा नेपालमा पनि यस्तो बन्छ र भन्ने प्रश्नहरू उठ्थ्यो । तर, आज त्यही मेहनत लगाव पश्चात् आजका दिनमा नेपालका ठूला उद्योगलाई एउटा प्रविधिसँग जोड्दै आएका छौं । हामीले घरमा चाहिने तथा फर्निचर उद्योगलाई ठूलो मात्रमा उत्पादन गर्न सक्ने क्षमताका मेसिन दिनको लागि सक्षम छौं । अहिले देश विकासको चरणमा छ । हामी विकासको चरणमा भए पनि कतिपय प्रविधिलाई ग्रहण गर्न सक्दैनौं । हामी मेसिन मात्र बेच्दैनौं ग्राहकहरूलाई यस प्रविधिको बारेमा जानकारी पनि दिन्छौं । काठ एउटै हो । चाहे त्यो विदेशी होस् वा स्वदेशी । काठबाट कस्तो सामाग्री बनाउने त्यो मेसिन र डिजाइनमा भर पर्छ । प्रविधिको विकास सँगसँगै अहिले डिजाइन पनि मेसिनले नै गर्न थालिसकेको छ । विदेशबाट आयात भएको काठको सामानको मात्र फर्निचरका सामाग्रीहरू राम्रो हुन्छ भन्ने छैन । नेपालीले पनि प्रविधिको प्रयोग गरेर फर्निचरका धेरै राम्रो सामाग्रीहरू बनाउन सकिन्छ । हाम्रो कम्पनीले फर्निचर उद्योगहरुलाई सुरक्षित मेसिनहरू दिइरहेका छौं । हामी युरोपका विभिन्न देशबाट मेसिनहरू ल्याएर उद्योगमा दिन्छौं । एससीएम, फ्रिउड, जिकार, बिस्से लगायतका ब्राण्डका ठूला साना मेसिन उपलब्ध गराउँदै आइरहेका छौं । सस्तो प्रविधिको लागि हामीले चीनबाट पनि मेसिनहरू ल्याइरहेका छौं । चाइनाको भन्दैमा सस्तो छ, कम गुणस्तरको हुन्छ भन्ने आमजनमानसको मानसिकता छ । तर, हामी त्यो मेसिनको पनि सम्पूर्ण पाटपुर्जाको चेक गरेर मात्र ग्राहकलाई दिन्छौं । तपाईंले प्रायः नेपालका ठूला फर्निचर उद्योगमा ब्रिजटेक कम्पनीका मेसिनहरू प्रयोग हुन्छन् भन्नु भयो, उद्योगीहरू कस्ता मेसिनहरू खोज्छन् ? फर्निचर उद्योगमा एउटा मात्र मेसिनको प्रयोग हुँदैन । त्यहाँ अनेकौं प्रविधिको प्रयोग भएका हुन्छन् भने विभिन्न कम्पनीको मेसिनहरू प्रयोग गरेको पाइन्छ । आकर्षक फर्निचरका सामाग्री निर्माण गर्नको लागि फर्निचर उद्योगिहरूले सबैभन्दा बढी कटिङ, कोल्ड प्रेस, हट प्रेस, एजिङ, मल्टी बाेरिङ्ग, सिङगल हेड लगायतका सामानहरू खोज्न अथवा खरिद गर्नको लागि आउनु हुन्छ । यी सामग्री भयो भने एउटा सानो उद्योग खोली करोडौंको कारोबार गर्न सक्छौं । यी मेसिनको आ–आफ्नै विशेषताहरू छन् । उद्योग खोल्न चाहनेहरूले ५०/६० लाख रुपैयाँ लगानी गरेर एउटा उद्योगको खोल्न सकिन्छ । नेपालमा वार्षिक ३/४ अर्बको फर्निचर आयात हुन्छ । हामीले उद्योग राखेर काम गर्ने भन्दा पनि आयातित वस्तुको व्यापार मात्र गरिरहेका छौं । त्यसले देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँदैन । न देशको पुँजी पलायन हुनबाट रोक्छ । यदि मेसिन राम्रो ल्याउने हो भने सोही मेसिन २० वर्ष प्रयोग गर्न सक्छौं । यदि तपाईंले युरोपियन मेसिन ल्याउनु भयो भने १०/१५ वर्ष सम्म एउटा पार्ट पनि फेर्नु पर्दैन । मेसिन कहिले नदेखेको मान्छेलाई पनि हामीले तालिम दिएर मेसिन चलाउन सक्ने दक्ष बनाएर पठाएका छौं । राज्यले प्रविधिको विषयमा त्यति धेरै चासो देखाएको देखिँदैन । आज प्रविधिका कारण अन्य देशहरू निकै अगाडि पुगिसकेको छन् । विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्राविधिक विषय पढाउन सकिरहेका छैनौं । त्यसले गर्दा पनि कुनै मानिसलाई पहिलो पटक मेसिनको ज्ञान दिन चाहिँ पछि समस्या हुँदो रहेछ । किन भने पहिलाबाट नै उसले सिकेर आएको थियो भने छिटो बुझाउन सिकन्थ्याे होला । मेसिनरी सामान हो कहिले काँहि समस्या नआउँला भन् सकिन्न । मेसिन कहिले काहीँ काम गर्दैगर्दा रोकिन्छ । त्यो बेला रातको १२ बजे पनि हामीलाई फोन आउँछ । मेसिन बेचेर मात्र हुँदैन । पहिलो चोटि सोही मेसिनको प्रयोग गर्दा त्यसको विषयमा उद्योगीहरूलाई थाहा नहुनु पनि सक्छ । त्यस कारणले पनि राज्यले प्राविधिक तालिम दिने ठाउँमा व्यवस्था गर्नु जरुरी छ । अहिले आधुनिक प्रविधिका मेसिन आएको कारण धेरै मानिस उद्योगको लागि आवश्यक पर्दैन । मान्छेले गर्ने काम भन्दा हजारौं गुणा मेसिनको माध्यमबाट गुणस्तर सामाग्रीको उत्पादन गर्न सकिन्छ । तपाईंको कम्पनीले फर्निचर उद्योगलाई चाहिने मेसिन बिक्री गर्न थालेको पनि एक दशक भइसक्यो, यस कम्पनीले एउटा उद्योगमा चाहिने कति प्रतिशत मेसिन उपलब्ध गराउन सक्छ ? हामी किल्ला–काँटीमा फोकस छैनौं । हामी ठूला मेसिन बेच्छौं । हामीले प्रत्यक्ष निर्यात गरेर ल्याउने भएको कारण अर्डरमा मेसिनहरु धेरै आउने गर्छ । एउटा फर्निचर उद्योगको लागि चाहिने करिब ७०/८० प्रतिशत हाम्रो कम्पनीबाट मेसिनहरू उपलब्ध गराउन सक्छौं । प्रविधिको ग्यापलाई अलिक माथि लगेर जोडौं भन्ने हाम्रो चाहना हो । फर्निचर उद्योग सञ्चालन गर्नको लागि कस्तो खालको मेसिनको आवश्यकता पर्छ ? कुनै पनि कम्पनीले एउटा मात्रै सामानको उत्पादन र बिक्री गर्दैन । एउटा कुर्सी मात्र बनाएर बस्छु भन्ने हुँदैन । एउटा उद्योगले कुर्सी नै बनाए पनि फरक फरक बनाउला । एउटा उद्योग भित्र सोफा, कुर्सी, खाट, फर्निचर लगायतका सामाग्री बन्छन् । ह्यान्डीक्राफ्ट एउटा सीमित मान्छेले मात्र बनाउँछन् । प्रविधिको विकाससँगै आजको दिनमा त्यो पनि लोप हुँदै गइसक्यो । तर, म त्यसलाई पनि जीवन्त राख्नु पर्छ भन्छु । त्यो हाम्रो इतिहास हो । फर्निचर उद्योगमा काठको काम गर्ने सबै मेसिनहरुको आवश्यकता पर्छ । आधुनिक प्रविधिको प्रयोग गरी नेपालको वनजंगललाई सुरक्षित गर्दै त्यसलाई सदुपयोग गर्न सक्यौं भने फर्निचरका सामाग्रीहरू निर्यात पनि गर्न सकिन्छ । हाम्रो मेसिनमा खराबी आयो भने कुन ठाउँमा बिग्रिएको छ त्यो मेसिनमा नै देखाउँछ । त्यो हेरेर बनाएर छिटो पुनः सञ्चालनमा ल्याउन सकिन्छ । काठमाडौंको ठूला फर्निचर उद्योगमा हाम्रो मेसिनहरू सञ्चालन भइसकेका छन् । पोखरामा अहिले ३ वटा फर्निचर उद्योग सञ्चालनमा आएका छन् । सोही उद्योगमा पनि हाम्रो कम्पनीबाट लगेको मेसिनहरू प्रयोग भएको छन् । उहाँहरू खुसी हुनु हुन्छ । हिजोका दिनमा ४०÷५० जना मान्छेले हातले काम गरिरहेको ठाउँमा आधुनिक मेसिन प्रयोग गरेर काम सुरु गर्दा मानिस छिट्टै बिग्रियो भने कसरी बनाउने भन्ने विषयले धेरै उद्योगीहरूलाई सताउँदो रहेछ । त्यसैले उहाँहरूलाई प्राविधिक सहयोग पनि गर्दै आएका छौं । अन्य कम्पनीले मेसिन दिनुहुन्छ तर चलाउन सिकाउनु हुन्न । हामी त्यसो गर्दैनौं । जबसम्म उद्योग चल्दैन तबसम्म हामीले सहयोग गरिरहेका हुन्छौं । मेसिनले राम्रोसँग काम गरेको छैन भनेर उद्योगमा नै पुगि अवलोकन पनि गरिरहेको हुन्छौं । केही मान्छेसँग थोरै पुँजी हुन्छ तर उद्योगको स्थापना गरेर बस्ने सपना हुन्छ, उनीहरूको लागि तपाईंको कम्पनीले निश्चित समय अवधि भित्र रकम तिर्ने सक्ने सर्तले मेसिन उपलब्ध गराई दिन सक्नुहुन्छ ? उद्योग सञ्चालन गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूले पनि सहयोग गरिरहेको हुन्छ । आफ्नो र सो संस्थाको सहयोगमा सहजै सानोतिनो उद्योग सञ्चालनमा ल्याउन सकिन्छ । केही समय अगाडि हामीले लगानीका लागि बैंकसँग आग्रह गरेका थियौं । आज गाडीमा लगानी गर्न सकिन्छ भने मेसिनमा किन लगानी गर्न सक्दैन ? गाडीको पुनबिक्रय मूल्य छ, मेसिनको छैन । भनेपछि उद्योग नचला भनेको हो । उद्योगले कमाउँछ, गाडीले सक्काउँछ । उद्योग सञ्चालन गर्नको लागि बैंक तथा वित्तीय संस्थाले पनि लगानी गरिदिन्छ । हामी सतप्रतिशत नै रिक्स लिन सक्दैनौं । ग्यारेन्टी दिएर पैसा किस्तामा छोटो समय अवधि भित्र नै मेसिनको रकम उपलब्ध गराउन सक्छ भने मेसिन दिन सक्छौं । गाडी बेच्न सजिलो छ तर मेसिन बेच्न चर्को छ । यस्ता मेसिन बेच्ने कम्पनी बिचमा प्रतिस्पर्धा कस्तो छ ? प्रतिस्पर्धा बिनाको बजार हुँदैन । कसले कस्तो सामान उपलब्ध गराउन सक्छ भन्ने विषय मात्र हो । यस्ता सामान बेच्ने कम्पनीहरू अन्य धेरै पनि हुन सक्छन् । प्रतिस्पर्धा समान ब्रान्डसँग हुनुपर्छ । यसमा प्रविधिले इफेक्ट गर्छ । आजको दिनमा युरोपमा निर्माण कार्य गर्दा बरु ३ वर्ष प्रोजेक्ट लम्बिन्छ, त्यहाँ मान्छेको मृत्यु हुँदैन । अनि उनीहरू भन्छन् हामीले कसैको पनि ज्यान नलिई निर्माण कार्य समय अवधि पुरा गर्यौं । तर, मेसिनमा पनि प्रविधिको काम त्यही हो । तपाईं जति सेफ्टी हुनुहुन्छ त्यति लामो समयसम्ममा काम गर्न सक्नुहुन्छ । यहाँका उद्योगमा सेफ्टिको प्रयोग नगरी काम गरिरहेका छन् । हामीले बेच्ने मोसिनमा सेफ्टी पनि छ । अन्त्यमा कम्पनीका भावी योजना के छन् ? हामीले केही समयपछि उपत्यका भित्र नै डेमो सेन्टरको स्थापना गर्ने सोच बनाएका छौं । ताकि मेसिन किन्ने ग्राहकहरूलाई मेसिनको बारेमा बुझाउँन सकौं । उद्योगमा काम गर्नेहरूलाई मेसिनको बारेमा जानकारी दिने कोसिस पनि गरी रहेका छौं । तर यसको लागि समय लाग्न सक्छ । अहिले हामी विभिन्न प्लेटफर्म मार्फत् मेसिनहरूको बेचबिखन गर्दै आएका छौं ।
विदेशमा नेपाली चलचित्रको बजार बढ्दै, नेपालमाभन्दा राम्रो व्यापार
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् । निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताए । ‘स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएको छ’, उनले भने, ‘मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।’ शत्रु गते, जात्रै जात्रापश्चात् अहिले ‘महापुरूष’ विदेशमा प्रदर्शन भइरहेका छन् । महापुरुष चलचित्रले अमेरिकामा तीन सयभन्दा बढी शो गरिसकेको छ भने अष्ट्रेलिया र युरोपका विभिन्न सहर, जापान, मध्यपूर्वी खाडीमुलुकमा समेत राम्रो व्यपार गरिरहेको छ । उल्लेखित देशमा अन्य विदेशी चलचित्र हेरिए झैँ हलमै पुगेर ‘महापुरूष’ पनि हेर्न सकिन्छ । संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताए । ‘समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी चलचित्रझैँ नेपाली चलचित्र पनि हलमा प्रदर्शन गरिरहेका छौँ’, उनले भने, ‘यहाँ स–परिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् । अहिले प्रदर्शन भइरहेको महापुरूषले नयाँ रेकर्ड बनाउँदैछ ।’ वितरक सुवेदीले नै कबड्डी ४, प्रेम गीत ३ जस्ता चलचित्रसमेत अमेरिकामा प्रदर्शन अधिकार लिएर वितरण गरेका थिए । नेपाली चलचित्रका लागि अष्ट्रेलिया, जापान, दक्षिण कोरिया पनि राम्रो मानिन्छ । अष्टेलियामा नेपाली चलचित्र प्रदर्शन गरिरहनु भएका रोशन भट्टराईले बजार बढेको बताए । ‘कोरोना भाइरसको महामारीपश्चात् नेपाली चलचित्रको बजार अष्ट्रेलियामा बढेको पाएको छु तर यो विश्वास जितिसकेका चलचित्र र निर्माताको हकमा मात्र लागू हुन्छ । विशेषत यहाँ जात्रा सिरिज, छक्का पञ्जा सिरिज र कबड्डी सिरिजको माग धेरै हुन्छ’, वितरक भट्टराईले बताए । एक समय विदेशमा प्रदर्शन अधिकार बिक्री गरेवापत पाइने रकमकै सेरोफेरोमा चलचित्र नबनेका होइनन् तर पछिल्लो समय यसमा नियन्त्रण हुन थालेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीनरूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताए । ‘विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ’, उनले भने । रासस
४८ मेगावाट बिजुली किन्दै जगदम्बा इन्टप्राइजेज बन्यो प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत लिन लागेको हो । उद्योगले अहिले करिब ४ मेगावाट विद्युत आपूर्ति लिइरहेको थियो । प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत आपूर्ति दिने छ । थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ । उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो । योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । उद्योगले अहिले ४.८ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमश: स्वीकृति लोड बमोजिम थप विद्युत दिन सुरु गरिएको छ,’उनले भने, ‘स्वीकृति लोड अनुसार विद्युत लिएमा उद्योगले मासिक रुपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ ।’
सनसिल्क दशैं भाइब्स प्रतियोगिताको ३ विजेताले पाए १-१ लाख पुरस्कार
काठमाडौं । सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा भएको छ। बुधबार सनसिल्क दशैं भाइब्स २ को होटल र्याडिसनमा आयोजना गरिएको अन्तिम चरणको कार्यक्रममा विजेता घोषणा गरिएको हो। जसअनुसार सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका छन्। प्रत्येक विजेताले १ लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् । सनसिल्क नेपालले महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट सनसिल्क दशैं भाइब्स सञ्चालन गरेको थियो, जसमा प्रतियोगीहरुर्ले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए। अभियानलाई ६० मिलियनभन्दा बढीको भ्युज प्राप्त भएको थियो भनें २८०० भन्दा बढी प्रतियोगीहरुले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानर्ले उल्लेख्य सफलता हासिल गरेको थियो। प्रतियोगिताका विजेताहरुलाई सनसिल्कको सीमित दशैं प्याक संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो। यी प्याकहरुको माध्यमबाट सनसिल्क ग्याङ्ग अफ गल्र्स हजारौं नेपाली परिवारहरूसम्म पुगेका छन्। सहभागीहरुमध्ये ३ जना विजेतालाई १-१ लाख रुपैयाँ नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासंग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो। यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरुमा १०० मिलियन भन्दा बढी भ्युज पाउन सफल भएको छ।
कसरी हुन्छ समानुपातिक तर्फको उम्मेदवार चयन ?
काठमाडाैं । प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तर्फको सम्पूर्ण परिमाण आइ नसक्दै समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित हुनेको चर्चा शुरु भएको छ । सामान्य रुपमा बुझ्दा पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेदवारहरु विजयी हुन्छन् । नेपालको निर्वाचित प्रणाली मिश्रित निर्वाचित प्रणाली हो, यसमा संघीय संसद र प्रदेश सभा (संसद) दुवैमा लागू गरिएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीबारे बुझ्न सहज भएपनि समानुपातिक निर्वाचित प्रणालीबाट निर्वाचित हुने प्रक्रियामा अलि जटिल र प्राविधिक पक्ष रहेको छ । नेपालले समानुपातिक निर्वाचित प्रणाली विश्वका धेरै देशमा लागू भएको सेन्ट लग विधिलाई प्रयोग गरेर पार्टीले पाएको मतबाट निर्वाचित उम्मेदवारको संख्या निकाल्छ । यसरी प्राप्त संख्यालाई समानुपातिक समूहको प्रतिशतको आधारमा दलले सूचिकृत गरेका उम्मेदवार प्राथमिकता अनुसार निर्वाचित हुनेछन् । समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित सिट जित्ने दल छनोट प्रक्रिया समानुपातिक तर्फको निर्वाचनमा पहिला निर्वाचित हुने विधिबाट निर्वाचित भएका उम्मेदवारले प्रभाव पारेको हुन्छ । त्यसैले समानुपातिक तर्फको निर्वाचनको लागि सबैभन्दा पहिला विधिवत निर्वाचित हुनेको मत परिणाम सहितको अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि त्यसपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ । यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइन्छ । अहिले प्रतिनिधि सभाको निर्वाचनमा ४७ वटा दलहरुले भाग लिएका छन् । ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड अंक निकालेपछि प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका ४७ वटा दलहरुले समानुपातिक तर्फको निर्वाचनमा पाएको मत र थ्रेस होल्डको अंकसँग तुलना गरिन्छ । यस्तो तुलनामा थ्रेस होल्डको सीमा पार गरेका दलहरु र सीमा काट्न नसकेका दलहरु विभाजन गरिन्छ । थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरु समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन् । बाहिरिएका दलसँगै ती दलहरुले प्राप्त गरेको मतसमेत समानुपतिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ । यसरी घटेर प्राप्त भएको मत यसपछि समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छ । यसरी योग्य दल र मतको छनोट हुन्छ । समानुपातिक तर्फको निर्वाचनमा निर्वाचित सिट निकाल्ने प्रक्रिया संघीय संसदको प्रतिनिधि सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ११० सिट निर्धारण गरिएको छ । थ्रेस होल्ड पार गरेका दलले पाएको समानुपातिकको मत अनुसार निर्वाचित सिट निकलिन्छ । यसपछि समानुपातिक तर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ । यसको लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिक तर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेस होल्ड काटेका) दलले पाएको मतलाई भाज्य मान्दै भाग गर्छ । १ टेबलमा सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो । यो भनेको १ देखि ११० वटा बिजोर भाजक २१९ सम्म हुन्छ । दलले प्राप्त गरेको सबै मत परिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ । प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलहरु मध्य जुन दलको भागफल बढी हुन्छ त्यो निर्वाचित सिट हुन्छ । यो भनेको पहिलो ठूलो भागफल दोश्रो ठूलो भागफल गर्दै क्रमश: ११० वटा ठूलो भागफल निस्कँदै जान्छ । ति सबै निर्वाचित सिट हुन् । यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ । जसको जसको भागफल हो त्यो अनुसार दलले जितेको सिट मान्दै जोडिन्छ, अनि दलको कुल विजयी सिट निस्कन्छ । यो क्रम ११० वटा सिट निर्वाचित नहुन्जेल जारी रहन्छ । स्वभावतः दलले प्राप्त गरेको मत परिणाम अनुसार सिट निर्वाचित हुन्छन् । यो भनेको धेरै मत धेरै सिट, थोरै मत थोरै सिट पनि हो । यसरी दलले समानुपातिक निर्वाचनमा विजयी सिट प्राप्त गर्दछन् । विजयी सीटमा क्लस्टर विभाजन प्रक्रिया समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले क्लस्टर भित्र प्राथमिकता क्रमका रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्दछन् । यसरी सिफारिस गर्दा त्यो दलको राष्ट्रिय सभामा रहेका र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने निर्धारण हुन्छ । तर संविधानमा भएको व्यवस्था अनुसार दलित १३.८%, आदिवासी जनजाति २८.७%, मधेशी १५.३%, थारु ६.६%, मुस्लिम ४.४% र खस आर्य ३१.२% निर्वाचित भएको हुनुपर्छ । यी सबै क्लस्टरमा ५०% महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ । यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तिमा ११ जनाको सूची बुझाएको हुनुपर्छ । यसरी सबै दलले क्लस्टर मिलाएर ११० जनाको सूची निर्वाचन आयोगमा पेस गरेका हुन्छन् । अब कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने क्लस्टर अनुसार कसरी निर्वाचित गराउँछ त ? ११ जनामा सबैको प्रतिशत अनुसार विभाजन गर्दा आदिवासी जनजाति ३ जना, खस आर्य ३ जना, थारु १ जना, दलित २ जना, मधेसी २ जना गरी ११ जना निर्वाचित हुन्छन् । यो ११ जना मध्ये ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ । तर क्लस्टरमा निर्वाचित हुनेको संख्या नघटाई त्यो दलको प्रत्यक्षतर्फ निर्वाचित र राष्ट्रिय सभामा रहेका सांसदको संख्या र प्रतिनिधित्व हुने क्लस्टरले समानुपातिकमा निर्वाचित हुने समूहमा असर गरेको हुन्छ । समानुपातिक निर्वाचनको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट पायो कति सिट जित्यो, राष्ट्रिय सभामा कति जना सांसदहरु हुनुहुन्छ ? ति मध्ये कति महिला छन् ? भन्ने हिसाव गरेर संविधानको व्यवस्था अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । यसको लागि निर्वाचन आयोगले सबै शर्त राखेर क्लस्टर अनुसार निर्वाचित भएको प्राथमिकताक्रम उपलब्ध गराउन पत्राचार गर्दछ । पत्राचारपछि प्राप्त प्राथमिकताक्रम प्रतिनिधित्वको प्रतिशत हेरेर निर्वाचन आयोगले विभिन्न दलबाट समानुपतिक प्रणालीमा निर्वाचित व्यक्तिहरुको सूचि प्रकाशित गर्दछ । यसरी संघीय संसदको प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा दलले पाएको मतबाट उम्मेदवार व्यक्ति निर्वाचित हुन्छन् । समानुपातिक तर्फको निर्वाचन प्रक्रिया संघीय संसद र प्रदेश सभा मुलभुत रुपमा संघीय संसद र प्रदेश सभामा लागू भएको निर्वाचन प्रणाली उस्तै हो । संघीय संसद २ सदनात्मक हुने भएकोले माथिल्लो सदन (राष्ट्रिय सभा) को निर्वाचन प्रक्रिया अलग छ तर प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिकतर्फ निर्वाचित हुने प्रक्रिया एकै हो । यद्यपि समानुपातिक तर्फको थ्रेश होल्ड (प्रदेश सभाको समानुपातिक निर्वाचनको थ्रेस होल्ड १.५ %) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ । तुलनात्मक रुपमा हेर्दा प्रतिनिधि सभा भन्दा प्रदेश सभा अझ बढी समावेसी देखिन्छ । साथै समावेशी क्लस्टरको प्रतिशत प्रदेश अनुसार फरकफरक छ । उदाहरणको लागि प्रदेश १ मा समानुपतिक निर्वाचनमा मधेसी समूहबाट निर्वाचित हुने प्रतिशत ७.५ % छ भने मधेस प्रदेशमा ५४.३६ % छ । यस्तै वागमती प्रदेशमा मुस्लिम ०.६७ % निर्वाचित हुने व्यवस्था छ तर मधेस प्रदेशमा ११.५८% छ । यो भनेको समानुपातिक समूहमा रहेको जनसंख्याको उपस्थिति फरक भएकाले प्रदेश अनुसार निर्वाचित संख्या घटी, बढी भएको हो । प्रदेश सभामा निर्वाचित हुने समानुपातिक समूहमा अल्पसंख्यक समूह पनि छ, यो समूह प्रतिनिधि सभामा छैन ।
सप्तरी-४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार यादव विजयी
राजविराज । सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरे । यस्तै जनमत पार्टीका केशरराज गुप्ताले भने पाँच हजार सात सय ७३ मत प्राप्त गरेका छन् ।
मुक्तिनाथ विकास बैंकले कफी मेसिन किन्न विना धितो ऋण दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक र पुतलिसडक स्थित कफी सोलुसनबीच सम्झौत भएको छ । बैंक र कफी सोलुसनबीच कफी व्यवसाय संचालन गर्न चाहने व्यक्तिहरुलाई व्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता अनुसार कफी सोलुसनले व्यक्तिहरु छनोट गरी तालिम प्रदान गरेपछि सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ जसमा बैंकले कफी मेसिन किन्नको लागि ५० प्रतिशत सम्मको लागत विना धितो ऋण स्वरुप उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरि त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ । यस समझौताबाट साना वर्गका व्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनुको साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामिण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तीहरुलाई प्राथमिकतामा राखि घरघरमा कर्जा वचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको छ । कफी सोलुसनले कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका व्यक्तिहरुलाई कफी व्य वसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको छ ।
उत्कृष्ट व्यवसाय गर्ने नेशनल लाइफका अभिकर्ताहरु सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओं) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझबढी सक्षम र व्यवसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले यो प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा धनगढीमा पनि यो कार्यक्रम आयोजना गरिएको बताए । कम्पनीका मार्केटिङ विभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसैगरी कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सीईओ खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताए । कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।