काठमाडौं । मुक्तिनाथ विकास बैंक र पुतलिसडक स्थित कफी सोलुसनबीच सम्झौत भएको छ । बैंक र कफी सोलुसनबीच कफी व्यवसाय संचालन गर्न चाहने व्यक्तिहरुलाई व्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौता अनुसार कफी सोलुसनले व्यक्तिहरु छनोट गरी तालिम प्रदान गरेपछि सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ जसमा बैंकले कफी मेसिन किन्नको लागि ५० प्रतिशत सम्मको लागत विना धितो ऋण स्वरुप उपलब्ध गराउनेछ ।
ऋण लिएर व्यवसाय सुरु गरि त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ ।
यस समझौताबाट साना वर्गका व्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनुको साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।
मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामिण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तीहरुलाई प्राथमिकतामा राखि घरघरमा कर्जा वचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको छ ।
कफी सोलुसनले कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका व्यक्तिहरुलाई कफी व्य वसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको छ ।