सप्तरी–२ मा हरेक निर्वाचनमा देखिन्छ नयाँ अनुहार, यसपटक डा. सिके राउत
सप्तरी । मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यसपटक पनि जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित गरेको छ । अहिलेसम्मका निर्वाचनमा जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित हुँदै आएको यो निर्वाचन क्षेत्रमा यसपटक पनि जनमत पार्टीका अध्यक्ष डा सीके राउत निर्वाचित भए । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छने । डा राउतको ३५ हजार ४२ मत र यादवको १६ हजार नौ सय ७९ मत रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । गत २०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा एकपटक निर्वाचित भएका जनप्रतिनिधि पुनःदोहोरिएका छैनन् । पुनःनिर्वाचित भएर सो क्षेत्रमा नयाँ इतिहास कायम गर्ने योजनामा रहेका यादवलाई पनि यस क्षेत्रका मतदाताले छानेनन् । विसं २०४८ को राजनीतिक परिवर्तनयता भएका सात वटा निर्वाचनमा यस क्षेत्रले फरकफरक पार्टीका फरकफरक व्यक्तिलाई जनप्रतिनिधि चुनेको छ । विसं २०४८ को निर्वाचनमा नेपाली कांग्रेसबाट हरिप्रसाद राय विजयी भएका थिए । २०५१ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रेणुकुमारी यादव, २०५६ मा तत्कालीन नेपाल सद्भावना पार्टीका अनिस अन्सारी निर्वाचित भएका थिए । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले संविधानसभा सदस्य बन्ने अवसर यसै क्षेत्रबाट पाएका थिए । त्यसैगरी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जसपा अध्यक्ष यादव विजयी हुनुभएको थियो । यस निर्वाचनमा भने जनमत पार्टीका अध्यक्ष डा राउतले पहिलो पटक प्रतिनिधिसभा सदस्यका रुपमा संसद्को यात्रा तय गरेका हुन् । राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका गरी चार पालिका रहेको सो क्षेत्रमा ९५ हजार तीन सय ९४ मतदाता छन् । गत आइतबार सम्पन्न निर्वाचनमा कूल ६४ हजार पाँच सय ६० मत खसेको थियो । संयुक्त राज्य अमेरिकाको नासाको जागिर छाडेर नेपाल फर्केका ४३ वर्षीय डा राउत एक दशकअघि नेपालको राजनीतिमा प्रवेश गरेका हुन् । दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल डा राउतसँग मतदाताको ठूलो अपेक्षा रहेको राजनीतिक विश्लेषक देवनारायाण यादवले बताए । ‘जुन परिवेश र पृष्ठभूमिमा डा राउतले चुनाव जित्नुभएको छ पक्कै पनि उहाँका लागि यात्रा तय गर्न सहज छैन’, उनले भने, ‘निर्वाचनका बेला लोकप्रिय नाराप्रति मतदाताको आकर्षण धेरै बढेको छ, त्यसलाई सहीरुपमा सम्बोधन गर्नु चुनौती छ ।’ नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले मतदाताको चाहना, भावनाअनुसार इमान्दारितापूर्वक काम गर्नुपर्ने उनको काँधमा जिम्मेवारी आएको बताए । यसका साथै सप्तरीको विकासका लागि सञ्चालन भएका रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नरसिंह कलेज, इञ्जिनियरिङ कलेज सञ्चालन, कृषि विश्वविद्यालय जस्ता योजनालाई मूर्तरुप दिनुपर्ने यादवको सुझाव छ । डा राउतले मतदाताले आफूमाथि गरेको भरोसा टुट्न नदिने बताउँछन् । ‘मलाई सप्तरीका जनताले ठूलो आशा र भरोसा गरेर जिताएका छन्’, उनले भने, ‘जनताको विश्वास र भरोसालाई टुट्न दिन्न, जनादेशलाई शिरमा राखेर काम गर्नेछु ।’ आफ्नो पहिलो कार्ययोजना सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने उनले बताए । सप्तरीलाई शतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई हल गर्दै शतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाए । रासस
विश्वकप फुटबल प्रतियोगिता : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । रोनाल्डो सहभागी भएको यो पाँचौँ विश्वकप हो । उनी लगातार पाँचवटा विश्वकप खेल्दै गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि सन् २००६, २०१९, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता पनि खेलेका थिए । यस्तै खेलको ७३औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए । लगत्तै खेलको ७७औँ मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । खेलको ७९औंँ मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई ३–१ को अवस्थामा पुर्याए । यसैगरी खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गरे । घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो । पोर्चुगलले ३–२ गोलका साथ खेल आफ्नो पक्षमा पा¥यो । जीतसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।
लाभांश पारित गर्न माउन्टेन इनर्जी नेपालले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । माउन्टेन इनर्जी नेपालले पुस ८ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको संचालक समितीले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसको लागि कम्पनीले मंसिर २८ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
गुल्मी–१ मा कांग्रेसका डा. चन्द्र भण्डारी विजयी
गुल्मी । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा एमालेका प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे । आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यहाँ कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्दछन् । यो विजयसँगे कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छन् । उनले २०७० मा पनि यसै क्षेत्रमा विजयी हासिल गरेका थिए । २०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई/दुई पटक चुनाव जिते । विसं २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए । रासस
कास्की निर्वाचन क्षेत्र नं १ (१) मा पूर्वगृहमन्त्री खगराज अधिकारी विजयी
लेखनाथ । नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गरे । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसकेका उनी यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लडेका हुन् । विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसकेका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए ।
सुरु भयो रोयल इनफिल्डको काठमाडौंदेखि कालिन्चोक सम्मको राईड
काठमाडौं । मोटरसाइकल कम्पनी रोयल इनफिल्डको विन्डी राईड सुरु भएको छ । ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्ड विन्डी राईड आयोजना गरेको हो । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका हुन् । विहान ८ बजे गैरीधाराबाट सुरु भएको राइड कालिन्चोक पुगेर बास बसेर मंसिर १० बेलुका ६ बजे गैरीधारानै पुगेर समापन गरिने कम्पनीले जनाएको छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेलहरुसमेत हुनेछ । अल्फा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर रहेको नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्डको आन्तरीक पर्यटन प्रवर्धनको मान्यता अनुरुप पहिलो पटक यस्तो किसिमको राईड आयोजना गरेको हो । राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५० मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका छन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३१ हजार पाँच सय २० रहेको छ । नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार एक सय पाँच, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार आठ सय १०, नेकपा (एकीकृत समाजवादी) को ८० हजार तीन सय दुई, जनमत पार्टीको ८० हजार दुई सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार सात सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार सात सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार चार सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।
काभ्रे–२ बाट गोकुल बाँस्कोटा निर्वाचित
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरेका छन् । यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत भएका थिए । विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गरेका थिए । उनी पार्टीको पोलिटब्युरो सदस्य हुन् ।