सुरु हुँदै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव
काठमाडौं । आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवकोआज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उदघाटन हुँदैछ । भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु लागेको हो । त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरुमाझ सम्बोधन गर्नेछन् । १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन्। महोत्सवलेसिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेकोछ । महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन्। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।
मर्जरलाई अन्तिम स्वीकृति दिन एनसीसी बैंकको विशेष साधारण सभा आह्वान
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले मंसिर २५ गते अनमोल ब्याङक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे विशेष साधारण सभा बोलाएको हो । बैंकको सभाले कुमारी बैंकसँगको मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, दुई बैंकबीच मर्जरका लागि तय भएको १ः१ सेयर अनुपातलाई पारित गर्नेछ । साथै, मर्जर प्रकृया पुरा गर्न आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
अर्बपति चौधरीले प्रचार-प्रसारमा अपनाएका ‘टेक्निक’ र संसद यात्रा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद भइसकेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्ने भएका हुन् । बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरे । चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे । विसं २०१२ वैशाख १ गते जन्मेका चौधरी काठमाडौँ महानगरपालिका–१४ का बासिन्दा हुन् । करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहेका उनी विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा छन् । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले) मा प्रवेश गरेका थिए । दल प्रवेश गरेसँगै उनी संविधानसभा सदस्य बनेका थिए । नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकांक्षी रहेपनि उनले चुनाव लडेनन् । विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र समानुपातिकतर्फको सांसद बने । यो अवधिमा उनले संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गरे । गतवर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिए । ‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढेका छन् । चुनावी प्रचार–प्रसारका क्रममा उनले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिएका थिए । त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउनका लागि आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उनले बताउँदै आएका छन् । संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिभावकीय भूमिका रहँदै आएको छ । उनी सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासंघ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बनेका थिए । त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उनी रहेका थिए । सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गरेका थिए । व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बनेका छन् । विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुन् । फोब्र्सको अर्बपति सूचीमा अहिले उनी एक हजार नौ सय २९औँ स्थानमा छन् । विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहेका छन् । सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन् । खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ । उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई परिचित गराउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय छन् । परोपकारी कार्यका लागि चौधरी फाउन्डेशन सञ्चालनमा छ । ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित गरेको थियो । उनी शास्वत धाम नवलपरासीका संस्थापक पनि हुन् । चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् भने उनका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन् । चौधरी गल्फ र स्क्वास खेलका सौखिन छन् । निर्वाचनको प्रचार प्रसारमा मतदातालाई विश्वास दिलाउनका लागि उनले आफु निर्वाचित भएकै क्षेत्रमा उद्योग खोल्ने भनेर उद्योग दर्ता गरे भने नागरिकका सामू एक सामान्य जीवनशैली अपनाएर प्रस्तुत भए । उनले सर्वसाधारणको घरमा खाना खाएर र मोटरसाइकलमा यात्रा गरेर प्रचारप्रसार गरे । जसको परिणाम स्वरुप उनलाई पश्चिम नवलपरासी–१ का जनताले प्रत्यक्षतर्फ संसद भवन छिर्ने अवसर प्रदान गरे । ।
धनुषा–३ मा जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा
धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उनी ३३ हजार तीन सय ८८ मतसहित विजयी भएकी छिन् । पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनी तेस्रोपटक निर्वाचित भएकी हुन् । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन् । तीन दशकदेखि राजनीतिमा क्रियाशील उनले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित भएका थिए । २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित भए । जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकी उनले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आएकी छिन् । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बनेकी थिइन् । रासस
सेयर बजारमा १७ बीमा कम्पनीको लगानी : अजोडले ३२९ प्रतिशतले बढाउँदा अन्यले कति ?
काठमाडौं । चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले पौने ३ अर्ब रुपैयाँ बढी सेयर बजारमा लगानी गरेका छन् । गत साउनदेखि असोज मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीले कूल २ अर्ब ८० करोड रुपैयाँ दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका हुन् । जुन २०७९ असारसम्मको तुलनामा १६.२० प्रतिशतले बढी हो । सञ्चालनमा रहेका दी ओरियन्टल र नेशनल इन्स्योरेन्सबाहेक अन्य कम्पनीले गत असारसम्ममा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए । समीक्षा अवधिमा रकमका आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेकोे छ । कम्पनीले तीन महिनाको अवधिमा ८३ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । जुन गत असारको तुलनामा भने २.३० प्रतिशतले घटी हो । कम्पनीले २०७९ असारसम्ममा ८५ करोड ९५ लाख रुपैयाँ दोश्रो बजारमा लगानी गरेको थियो । प्रतिशतको आधारमा हेर्दा अजोड इन्स्योरेन्स आक्रामक बनेको छ । कम्पनीले गत असारको तुलनामा असोजसम्ममा ३२९.९१ प्रतिशतले सेयर बजारको लगानी बढाएको छ । गत असारमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेको अजोडले असोजसम्ममा १० करोड ७५ लाख रुपैयाँ बराबरको लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । त्यस्तै, प्रिमियरले पनि १५५.८४ प्रतिशत लगानी सेयर बजारमा बढाएको छ । असारमा १२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको कम्पनीले असोजसम्ममा ३१ करोड ६४ लाख रुपैयाँ गरेको छ । जुन राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य कम्पनीको तुलनामा बढी हो । समीक्षा अवधिमा चार कम्पनीले भने सेयर बजारको लगानी घटाएका छन् । गत असारको तुलनामा प्रुडेन्सियल इन्स्योरेन्सले ७३.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सले १५.५९ प्रतिशत, सगरमाथाले ४.२६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीले २.३० प्रतिशतले सूचीकृत कम्पनीको सेयरमा लगानी घटाएका छन् । त्यस्तै, शिखर, नेको, युनाइटेड, आइएमई जनरल, साविकको जनरल र सानिमा जनरलको भने स्थिर लगानी रहेको छ । यीमध्ये साविकको जनरल र सानिमा जनरल मर्जर प्रकृयामा थिए । हाल मर्जर प्रकृया सम्पन्न भई सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार समेत शुरु भइसकेको छ । बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार उनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् । कुन कम्पनीले कति बढाए/घटाए ?
मोरङ ४ बाट माओवादीका अमनलाल मोदी निर्वाचित
मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा माओवादीका अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गरेका हुन् । त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार मोरङ ४ (२) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए । रासस
हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताएका छन् । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर पमुख शान्तिरत्न शाक्यले बताए । प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीनदोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उनले बताए । मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समय अघि नै काठमाडौंस्थित राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको सूचना पाए पनि अहिले ल्याउने तयारी थालिएको भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताए । पुरातत्व विभागको सक्रियतामा मन्दिरको पुनः निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापन गर्न लागिएको उनको भनाइ छ । मूर्ति हराउनु पूर्व मन्दिरको अवस्था र व्यवस्थापन प्रभावकारी नभएकाले मूर्ति हराएको स्थानीयवासीको भनाइ छ । पुरातत्व विभागले एक करोड रुपैयाँको लगानीमा मन्दिरको पुनः निर्माण गरेको छ । आगामी दिनमा मूर्ति र मन्दिरको सुरक्षाका लागि सीसी क्यामरा, मजबुत संरचनालगायतको व्यवस्थापन गरिएको श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा एमाले का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोक–२ को प्रदेशसभा १ मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा ९२० मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् । रासस