काठमाडौं । तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई ट्राफिक प्रहरीले अनिवार्य रुपमा सचेतना कक्षा दिने भएको छ ।
ट्राफिक प्रहरीले तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई मंसिर १५ गतेदेखि अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षा दिने भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार पत्रकार भेटघाट कार्यक्रम गर्दै सो कुराको जानकारी दिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले तिब्र गतिमा सवारी साधन चलाउनेहरुलाई ट्राफिक नियम अनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षामा सहभागि भएपछि मात्रै छोडिने बताए ।
उनले उपत्यकामा हुने धेरै सवारी दुर्घटनाहरु तीब्र गतिका कारण हुने गरेको भन्दै सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सचेतना कक्षा दिनुपर्ने आवश्यकता रहेको बताए । उनले यसअघि मादक पदार्थ सेवन गरेर चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्नेहरुलाई मात्रै सचेतना कक्षा दिइँदै आएको उल्लेख गरे ।
उनले भने, ‘हामीले अहिलेसम्म मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्ने (रातो बत्तिको पालना नगर्ने) चालकहरुलाई जरिवाना गर्नुको साथै अनिवार्य रुपमा सचेतना कक्षामा समेत सहभागि गराउँदै आएका छौँ भने अब मंसिर १५ गतेदेखि तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई पनि हामी अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षामा सहभागि भएपश्चात उनीहरुलाई कारबाही गरेर छोड्ने सूचना प्रकाशित गरिसकेका छौँ ।’
उनले थपे, ‘काठमाडौं उपत्यकामा दुर्घटनाको कारण तीब्र गति छ, २०७८/७९ सालमा जम्मा १० हजार ७३३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये ३ हजार ५४३ सवारी दुर्घटना तिब्र गतिको कारणले भएका छन् । लगभग ३५ प्रतिशत सवारी दुर्घटना तीब्र गतिको कारणले भएको हुनाले यो दुर्घटनाको मुख्य कारण हो ।’
प्रवक्ता भट्टले गत साउन महिनादेखि हालसम्म सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठिक नभएका ३५२ वटा सवारी साधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताए । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको उनले जानकारी दिए । उनले कुनैपनि सवारी साधनमा ‘बम्पर गार्ड’ नराख्न अनुरोध गरे ।
राखिएको भएपनि मंसिर १५ गतेसम्ममा हटाउन आग्रह गरेका छन् । सो अवधिसम्म नहटाएमा कारबाही प्रक्रिया अगाडी बढाइने पनि उनले जानकारी दिए । उनले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउनेलाई १७० जना चालकहरुलाई कारबाही गरिएको जानकारी दिए ।
जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक परेको उनको भनाइ छ । १२ वटा स्कुलबसहरु भने मापदण्ड अनुरुपको स्वरुपमा नचलेकाले नियन्त्रणमा लिई मापदण्ड अनुरुपको स्वरुप बनाउन लगाइएको उनले बताए ।
त्यस्तै दर्ता बिना चलाइएको विद्युतीय मोटरसाइकललाई पनि कारबाही गरिएको उनले जानकारी दिए ।