विकासन्युज

आधुनिकताले छोएन बागलुङका पशुपालक किसानलाई

ढोरपाटन । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौंदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन। एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन्। पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरु परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन्। स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउँछन्। उनले भने, ‘नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौं, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान।’ उनले १८  भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आएका छन्। उनले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो। आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउँछन्। उनी अहिले ५१ वर्ष पुगे। ‘बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ’, उनले भने, ‘मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैं निको हुन्छन्।’ स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गर्दै आएका छन्। उनी आफ्ना पुर्खाले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अंगाल्दै आएको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ।’ उनले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिएका छैनन्, तर पनि यो व्यवसायले उनलाई सन्तुष्टि दिएको छ। परम्परागत प्रणालीबाट पशुपालन गर्दै आएका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन। गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उनी आफैं ओखतीमुलो गर्छन्। अहिले उनको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन्। ‘माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्’, उनले भने, ‘सामान्य रोगको त उपचार म आफैं पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन्।’ आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउँछन्। ‘यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौँ, कहिलेकाहीँ बाघको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ,’ उनले भने। स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गरे। सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने बताउँछिन्। सुनारले भनिन्, ‘हामीहरूलाई केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो।’ पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांश समय गोठमै बस्छन्। पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउँछिन्। अर्का पशुपालक तुलबहादुर बुढामगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउँछन्। उनले धेरै भेँडाबाख्रा हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताए। उनले भने, ‘थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु, यति धेरैलाई खोरमा बाँध्न सम्भव नै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ।’ उनीहरुजस्ता निसीखोलामा सयौं पशुपालक छन्। तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट दूरमा रहेका छन्। गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिङ्गो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो।

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो एक सय रुपैयाँँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २० देखि ३० रुपैयाँ भएको छ । सरदर प्रतिकिलो एक सय १० रुपैयाँका दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् । जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख रुपैयाँ हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८।५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए । ‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो’, उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।’ कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ । मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११।३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए । यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ । मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् । यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताए । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी/समूह/निजी फार्मका कार्यक्रम सञ्चालित छन् । कृषि केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि व्यापारी स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन् । भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन् । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ । मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ । उत्पादन भएको ८० प्रतिशत स्याउ देशका विभिन्न सहरमा निकासी हुन्छ । मुस्ताङ घुम्न जाने पर्यटक, तिर्थयात्रीले स्याउ कोशेलीका रूपमा लैजान्छन् । साना दाना भएका बजारमा बिक्री नभएको स्याउलाई कृषकले ब्रान्डी, जुस, जाम, सुकुटी बनाउँछन् । स्याउ प्रशोधन गरेर मदिरा बनाउने छवटा उद्योग छन् ।

धनुषा–४ : कांग्रेसका यादवलाई पराजित गर्दै एमालेका महासेठ विजयी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गर्दै महासेठ विजयी भएका हुन् । महासेठले यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । यद्यपी निर्वाचन अधिकृत कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि २०७४ को चुनावमा रघुवीर महासेठले महेन्द्र यादवलाई पराजित गरेका थिए । योसँगै मधेश प्रदेशमा एमालेले प्रतिनिधि सभा सदस्यमा ९ सिट जितेको छ भने प्रदेश सभामा १५ सिट जित हासिल गरेको हो ।

विश्वकप फुटबल : समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा

काठमाडौं । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ मिनेटमा बु्रण्नोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बु्रनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए । उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । पोर्चुगलले २ खेलमा छ अङ्क जोडेको छ । पराजित उरुग्वेको १ अङ्क छ । त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’ मा ब्राजिल नकआउट चरणमा पुगेका छ । कतारको स्टेडियमा ९७४ मा गए राति भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो । यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ । समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा छ । स्वीट्जरल्याण्ड दुई खेलमा तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

शिखर इन्स्योरेन्सले आजदेखि कोरोना बीमाको रकम भुक्तानी गर्ने (नामावली सहित)

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कोरोना बीमाको भुक्तानी सुरु गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीबाट कोरोना बीमा खरिद गरेका बीमितलाई मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी गर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै पीसीआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी गर्ने बताएको हो । कम्पनीका अनुसार दाबी भुक्तानी पाउन बाँकी ५ हजार २० वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्तामध्ये २ हजार ६३५ दाबीकर्तालाई मंसिर १३ गते मंगलबारदेखि कम्पनीको प्रधान कार्यालय थापाथलीको साथै देशभरको शाखा कार्यालयहरुबाट दाबी भुक्तानीको व्यवस्था मिलाइएको छ । पहिलो चरणको सूचीमा परेका बीमालेख धारक र दाबीकर्ताको नामावली कम्पनीले वेबसाइटमा प्रकाशन गरेको छ । साथै सबै शाखा कार्यालयहरूमा समेत सो सम्बन्धी विवरण उपलब्ध रहेको कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ । भुक्तानी हुन बाँकी रहने दाबीको हकमा नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम पुनः जानकारी गराउने कम्पनीले बताएको छ । [pdf id=368245]

काठमाडौंका मेयर र उपमेयरले नर्भिकलाई सोधे- ३ घण्टामा ३१ घाइतेको उपचार कसरी सम्भव भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगे । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टा छुट्टै समयमा नर्भिक पुगेका थिए । करिब ७ः४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाको बिषयमा चिकित्सकसँग ब्रिफिङ लिए । सो क्रममा नर्भिक अस्पतालका इमेरजेन्सी इञ्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा. ओमर प्रधानले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको बताए । नर्भिकले ३४ जना घाइतेहरुको छोटो अवधिमै उपचार व्यवस्थापन कसरी मिलाउनुभयो भनेर बालेनले डा. प्रधानसँग चासो राखे । उनले नर्भिकको इमेरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरुको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरुको अवस्थाको आधारमा रेड, ग्रीन र एल्लो जोनमा उनीहरुलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको बताए । सोही अनुसार ३ घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर फर्काउन सम्भव भएको उनले बताए । मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगर प्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । करिब ३ मिनेट जति अस्पताल बसेर मेयर शाह फर्किएका थिए । उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन् । उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेकी थिइन् । सो क्रममा उनले नर्भिकको उपचार पद्धति तथा आकस्मिक अवस्थामा गरेको कुशल व्यवस्थापनको खुलेरै प्रशंसा गरेकी थिइन् । उनले सो क्रममा नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

विरेन्द्र महतो सांसद भएपछि उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले डा.महतोलाई अध्यक्षमा नियुक्त गरेको हो । डा. महतो गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत हुन् । डा.महतो नेपालका एक सफल उद्यमी पनि हुन् । साथै सोही बैठकले बैंकका निर्वतमान अध्यक्ष डा.विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ । मंसिर ४ गते भएकाे निर्वाचनमा  डा.विरेन्द्र महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महताे सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद भएपछि बैंक तथा वित्तीय संस्थाकाे अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था छ । साेही कारण विरेन्द्र महताेले बैंककाे अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । डा. वीरेन्द्र प्रसाद महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उपेन्द्र र वीरेन्द्र दाजु भाइ हुन् । भाइले राजीनामा दिएपछि दाइ माछापुच्छ्रे बैंककाे अध्यक्ष भएका हुन् ।

एभरेष्ट बैंकको १३ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात् बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव सहित बैंकले मंसिर २६ गते २८ औँ वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे बोलाएको छ ।