प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि
काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ । बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४१ हजार चार सय ६१, बागमतीमा १६ लाख ८२ हजार चार सय ४४, गण्डकीमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा सात लाख ७८ हजार तीन सय चार मत गणना भएको छ । प्रदेश नं १ मा एमालेले पाँच लाख ९९ हजार नौ सय ५९, कांग्रेसले पाँच लाख तीन हजार एक सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८२ हजार नौ सय नौ र नेकपा माओवादी केन्द्रले एक लाख ६८ हजार सात सय ३४ मत ल्याएको छ । मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी तीन लाख ५७ हजार नौ सय २२, एमालेले तीन लाख २१ हजार दुई सय १०, जनमत पार्टीले दुई लाख ६६ हजार आठ सय ३२, जनता समाजवादी पार्टीले दुई लाख ६२ हजार सात सय ४४ र माओवादी केन्द्रले एक लाख ६७ हजार ६७ मत ल्याएको छ । बागमती प्रदेशमा एमालेले पाँच लाख दुई हजार नौ सय २३, कांग्रेसले चार लाख २७ हजार दुई सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५७ हजार आठ सय ५७ र माओवादी केन्द्रले दुई लाख ३६ हजार पाँच सय ५९ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ । कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय ३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ३३ हजार पाँच सय २०, कांग्रेसले दुई लाख २६ हजार एक सय ७० र माओवादी केन्द्रले एक लाख १३ हजार आठ सय ६३ मत पाएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार आठ सय ३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख सात हजार चार सय ७२ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७० हजार दुई सय ३४, माओवादी केन्द्रले ११ लाख नौ हजार सात सय ७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले पाँच लाख ५४ हजार सात सय ५७, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार सात सय ७३ र जनमत पार्टीले तीन लाख १६ लाख छ सय ५३ मत प्राप्त गरेका छन् ।
नेको इन्स्योरेन्सले १५ सय बढी बीमितलाई कोरोनाको पैसा दिने, दैनिक सय जनाले पाउने
काठमाडौं । नेको इन्स्योरेन्सले एकैदिन एक सय जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । इन्स्योरेन्सले व्यक्तिगत बीमितहरुमध्ये मंगलबार मात्र क्रम संख्या १ देखि १०० सम्मका बीमितलाई दावी भुक्तानी गर्ने भएको हो । कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको पैसा वितरण गर्न लागेको छ । कम्पनीका अनुसार मंसिर १३ गतेदेखि मंसिर २९ गतेसम्म दैनिक एक सय जनाले र पुस १ गते १०५ जनाले कोरोना बीमाको पैसा पाउने भएका छन् । इन्स्योरेन्सले नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीमा कोरोना बीमा गरी बीमा दावी गरी दावी भुक्तानी लिन बाँकी भएका बीमितहरुमध्ये ब्यक्तिगत रुपमा बीमाशुल्क तिरेर बीमा गर्ने बीमितहरुलाई पीसीआर पोजेटिभ भई बीमा दावी गर्ने मध्ये पहिला दावी गर्नेलाई पहिलो प्राथमिकता दिई क्रमशः भुक्तानी गर्ने छ । कम्पनीले बीमितहरुलाई क्रम संख्या अनुसार दावी भुक्तानी दिने भएको छ । हालको व्यवस्था अनुसार कोरोना बीमाको पैसा पाउन योग्य ब्यक्तिहरुको नामावली कम्पनीले वेबसाइट र कम्पनीको सूचना पाटीबाट जानकारी गराएको छ । बीमितहरुले क्रम संख्याअनुसार तोकिएको मितिमा आफ्नो दावी वापतको रकम पाउने छन् । बीमितहरुले काठमाडौं उपत्यकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सक्नेछन् । त्यस्तै, उपत्यका बाहिरको हकमा आफूले बीमा गरेको यस कम्पनीको सम्बन्धित शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्र सहित भुक्तानी लिन सक्ने कम्पनीले जानकारी गराएको छ । कसले कहिले पाउँछन् ?
समानुपातिकतर्फ ९६ लाख मत गनियो
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ । आज बिहान १०।३० बजेसम्मको गणन अनुसार नेकपा एमालेले २५ लाख ९३ हजार चार सय ६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार तीन सय तीन मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ११ लाख चार हजार आठ सय ३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत प्राप्त गरेको छ । आयोगका अनुसार जनमत पार्टीले तीन लाख एक हजार छ सय २० मत, नेकपा९ एकीकृत समाजवादी०ले दुई लाख ६५ हजार पाँच सय ४७ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार तीन सय पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार चार सय आठ, नेपाल मजदूर किसान पार्टीले ७३ हजार एक सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ५२ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार पाँच सय एक र राष्ट्रिय जनमोर्चाले ४५ हजार तीन सय पाँच मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।
एनसीसी बैंकबाट तीन डेपुटी सीईओसहित १ दर्जन कर्मचारी बाहिरिए, उच्च व्यवस्थापनमा तीन जना बाँकी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसीसी) बाट एक दर्जन कर्मचारी बाहिरिएका छन् । कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको एनसीसी बैंकबाट तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतसहित एक दर्जन कर्मचारीहरु बैंकबाट बाहिरिएका हुन् । बैंक स्रोतका अनुसार १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिएका हुन् । बैंकले कुमारीसँग मर्जरको सम्झौता गरेपछि १३ जनाले स्वेच्छिक अवकाश लिएको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए । उनका अनुसार बैंकका तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरु बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीपप्रसाद पाण्डेले अवकाश लिएका छन् भने नायब महाप्रबन्धक विनोदकुमार शर्मा, वरिष्ठ प्रबन्धक नगेन्द्रप्रसाद बिमली, व्यवस्थापक (म्यानेजर) युरेशमान कायस्थ, विनयप्रसाद अधिकारी, सरिना पाण्डे र अमित श्रेष्ठले अवकाश लिएका छन् । यस्तै, डेपुटी म्यानेजर मीनराजजंग शाह, अनिल पराजुली, प्रीतमकुमार दास श्रेष्ठ र एसिस्टेन्ट म्यानेजर दुर्गाप्रसाद पाण्डेले पनि अवकाश रोजेका लिएका छन् । अवकाश लिनेहरुलाई न्यूनतम २८ महिनादेखि अधितम् ४२ महिनाको तलब सुविधा दिएर अवकाश दिएको बताइएको छ । उनीहरुले करिब ९ करोड रुपैयाँ लिएका छन् । वरिष्ठ पदमा रहेका १३ जनाले स्वेच्छिक अवकाश लिएपछि अहिले एनसीसी बैंकको उच्च व्यवस्थापनको दोस्रो वरियतामा डेपुटी जनरल म्यानेजर मुकुन्द सुवेदी र कार्यवाहक एसिस्टेन्ट जनरल म्यानेजर लक्ष्मी प्रसाद दुवाल तेस्रो वरियतामा छन् । अब एनसीसी बैंकको उच्च व्यवस्थापनमा तीन जना मात्रै बाँकी रहेका छन् । दुवै बैकले मंसिर २५ गते विशेष साधारणसभा बाेलाएका छन् । दुवैले अन्तिम स्वीकृति चाँडै पाएमा पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । कुमारी बैंक र एनसीसी बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ । तर, बैंकको डीडीए रिपोर्टमा भने १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । मर्जरपछि बैंकको सीईओ एनसीसी बैंकका रमेश अर्याल र वरिष्ठ डेपुटी सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल बन्नेछन् । बैंकको अध्यक्षको विषय भने टुङ्ग्याउन बाँकी छ । यस्तै, बैंकका सीईओ रमेश कुमार अर्यालले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ३२ लाख रुपैयाँ तलब सुविधा बुझेका छन् । अन्य पदाधिकारी तथा कर्मचारीले ३ करोड २४ हजार रुपैयाँ बुझेका छन् ।
प्रशासकीय अधिकृत हुँ भनी ठगी गर्ने पक्राउ
ढोरपाटन । जिल्ला प्रहरी कार्यालय बागलुङले प्रशासकीय अधिकृत हुँ भनी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । प्रहरीले निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू र आकाशचन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्र, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद ६३ हजार, पेनड्राइभलगायतका दसीका सामान फेला पारेको उनको भनाइ छ ।
‘एयर सेफ्टी’ को स्थलगत परीक्षणका लागि नेपाल आउँदै ईयुको टोली
काठमाडौं । नेपालको उडड्यन क्षेत्रको स्थलगत अध्ययन गर्न युरोपेली युनियन (ईयु) का प्रतिनिधि नेपाल आउने भएका छन् । सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीलाई कालोसूचिमा राख्दै आएको छ । नेपाली वायुसेवालाई २०७० मंसिरदेखि लगाएको निषेध (कालोसूची) को ‘अन–साइट’ मूल्यांकन गर्न युरोपियन कमिसनको टोली पुनः नेपाल आउन लागेका हुन । नेपालको हवाई सेवा प्रदायक तथा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै निकट भविष्यमै युरोपियन युनियनको टोली नेपाल भम्रण आउने जनाएका छन् । यसअघि असोज २० देखि २२ सम्म युरोपियन युनियन अन्र्तगतको असिस्टेन्ट मिसनले प्राधिकरण र केही वायुसेवामा भ्रमण तथा मूल्यांकन गरेको थियो । उक्त भ्रमणपछि लामो समयदेखि राखिएको कालोसूचि हट्ने विश्वास गरिएको थियो । तर कात्तिक २४ र २५ गते बेल्जियमको ब्रसेल्समा सम्पन्न सेफ्टी कमिटीको बैठक र उक्त बैठकपश्चात बुधबार सार्वजनिक गरिएको ईयू एयर सेफ्टी लिस्टबाट नेपाल अझै हटेको छैन । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार केही महिनामै काठमाडौंमा आउने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक डीजी मूभको नेतृत्व ईयुको टोली नेपाल आउनेछ् । उक्त टोलीले हवाई क्षेत्रको मूल्यांकन गर्ने प्रधिकरणले जनाएको छ । सन् २०१३ को जुलाईमा आइकाओकै अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेकोलगायत अन्य सुरक्षाका विषय न्युन रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । आइकाओको रिपोर्टलाई आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । इयुले नेपाललाई कालोसूचीमा राखेका कारण नेपालका कुनै पनि विमानले युरोपेली परिषद् सदस्य रहेका मुलुकमा सिधा उडान गर्न पाएका छैनन् । सन् २०१७ मा आइकाओको अडिटले कालोसूचीबाट हटाएपनि युरोपियन युनियनले अझै नेपाललाई उक्त सूचीबाट हटाएको छैन । आइकाओको रिपोर्टलाई आधार बनाएर नेपालले इयु उड्डयन सुरक्षा समिति बैठकमा नेपाललाई कालोसूचीबाट हटाउन आग्रह गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा २८ विद्यार्थीले पदक प्राप्त गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा २८ जना विद्यार्थीले दीक्षान्त पदक प्राप्त गर्ने भएका छन् । साथै ती विद्यार्थीहरुले विभिन्न प्रकृतिका पुरस्कार प्राप्त गर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले मंगलबार एक सूचना जारी गदैं एमफिल उत्तिण गरेको एक जना, स्नातकोत्तर उत्तिण गरेका १९ जना र स्नातक तह उत्तिण गरेका ८ जना विद्यार्थी दीक्षान्त प्रमाणपत्र तथा पुरस्कार प्राप्त गर्ने जनाएको छ । मंसिर २३ गते हुने दिक्षान्त समारोहमामार्फत दिक्षित हुन तथा आफ्नो पुरस्कार ग्रहण गर्नको लागि सम्बन्धित विद्यार्थीले मंसिर १८ गतेभित्र आफ्नो सक्कल ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी सहित परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राख्नुपर्ने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । दीक्षान्त प्रमाणपत्र तथा विस्तृत जानकारी सहितको सूचना मंगलबारको गोरखापत्रमा प्रकाशित गरिएको छ ।
उदयपुर–१ मतगणना पुन : सुरु
उदयपुर । उदयपुर (१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो । नेकपा एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।