एनसीसी बैंकको कारोबार फुकुवा, मंगलबारबाट कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) को कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कारोबार फुकुवा भएसँगै बैंकको सेयर कारोबार मंगलबारदेखि दोश्रो बजारमा हुनेछ । कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज १० गते, सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । मर्जर सम्झौता भएको दोस्रो दिनदेखि बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।
समानुपातिक : ९४ लाख ९१ हजार मतगणना सम्पन्न, कुन पार्टीले कति मत ल्याए ?
काठमाडौं । गत मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ । समानुपातिक तर्फको पनि मतपरिणाम मंगलबार बिहान ६ बजेसम्म कूल ९४ लाख ९१ हजार ६२२ मत गणना सम्पन्न भएको छ । जसमा हालसम्म नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यस्तै, तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १० लाख ९२ हजार ५३६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ४३ हजार ९६३ मत ल्याएका छन् । ३ लाख भन्दा बढी मत ल्याएका दर राष्ट्रि पार्टी बन्न सफल भएका छन् । जनमत पार्टीले २ लाख ८७ हजार ५०५ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ६२ हजार ७५७ मत प्राप्त गरेका छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गरेका छन् ।
कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन्। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका हुन्। दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ। तीन दलका शीर्ष नेताहरूले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल आंशिक रूपमा सफल भएको निष्कर्ष पनि निकालेको निकट सहयोगीहरूको दाबी छ। निर्वाचनको सम्पूर्ण परिणाम आएसँगै संघ र प्रदेशको सरकार गठनका साथै अन्य विषयमा पनि छलफल गर्दै समझदारीमै अघि बढ्नेमा नेताहरू एकमत रहेको स्रोतको दाबी छ। अहिलेककै गठबन्धनको निरन्तरतासहित सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने र उनी नै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रबल सम्भावना रहेको आकलन गरिएको छ। तर कांग्रेस नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाले मात्र होइन, महामन्त्री गगनकुमार थापाले पनि निर्वाचनअघि नै आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्। निर्वाचनको अन्तिम परिणाम आएपछि हुने पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन्। यो समाचार नागरिक दैनिकममा छ ।
बाराही हाइड्रोको सेयर स्थानीयले किन्न मानेन्, मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । स्थानीय बासिन्दाहरुका लागि छुट्याएको सेयरमा आवेदन नपरेको बाँकी १ लाख ४ हजार कित्ता र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार सेयर गरी कूल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट सम्पन्न गरिसकेको छ । बाँकी १ लाख ४ हजार कित्ता सेयरमा आवेदन परेको थिएन । सोही १ लाख ४ हजार कित्ता र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार सेयर गरी कूल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । जसमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि, २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि र बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर र अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमालाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
सुपर मादीको आईपीओ मंसिर २० गतेदेखि खुल्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ बराबरको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गर्नेछ । यस्तै, कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लख कित्ता मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पुस ५ गते र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने पुस ५ गतेसम्म मात्रै आईपीओमा ावेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हुन्डाईको गाडी खरिद गर्न नबिल बैंकले कम ब्याजमा कर्जा दिने
काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सजिलो रुपमा कर्जा प्रवाह गर्नेछ । बैंकले विद्युतिय गाडी खरिद गर्न व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । यस्तै, पेट्रोलियम पदार्थबाट चल्ने गाडी खरिद गर्न व्यक्तिगतलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । बैंकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको अनुसार यो सुविधा नबिल बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।
एभरेष्ट बैंकले टाटा मोटर्सको विद्युतिय गाडी किन्न सस्तोमा कर्जा दिने
काठमाडौं । एभरेष्ट बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार बैंकले सिप्रदी ट्रेडिङ तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने टाटा मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक हाे । बैंकले गाडी खरिद गर्न इच्छा भएका ग्राहकलाई १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा दिनेछ । बैंकको अनुसार यो सुविधा एभरेष्ट बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ । एभरेष्ट बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
कोरोना बीमाको भुक्तानीमा विवाद चर्किएपछि अध्यक्ष घिमिरेको राजीनामा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) का अध्यक्ष डा. रविन्द्र घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार नै अर्थमन्त्रालय पुगेर पदबाट राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनको राजीनामा स्वीकृत पनि भइसकेको छ । लामो समयदेखि नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र अर्थमन्त्रालयबीच काेराेना बीमाको दावी भुक्तानीको विषयमा विवाद भइरहेको थियो । एकले अर्कालाई दोषारोपण गर्दै आएकोमा अन्ततः घिमिरेले पदबाट राजीनामा दिनुपर्ने बाध्यता आएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माले नै अध्यक्ष घिमिरेसँग राजीनामा माग गरेपछि उनी पदबाट राजीनामा दिन बाध्य भएका हुन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दावी भुक्तानीमा घिमिरेले साथ नदिने भन्ने ब्रिफिङ अर्थमन्त्री शर्मासमक्ष गरेपछि शर्माले घिमिरेको राजीनामा मागेको बुझिएको हो । ‘प्राधिकरणका अध्यक्षज्यूले नेपाल रिले बीमा प्राधिकरणको निर्देशन पालना नगरेको र कोरोना बीमाको भुक्तानीमा समस्या सिर्जना गरेको भन्दै अर्थमन्त्री शर्मासँग ब्रिफिङ गर्नु भएको थियो, अर्थमन्त्रीज्यू पनि कोरोना बीमाको पैसा निकासा गर्ने पक्षमा हुनुहन्थ्यो, उहाँले त्यसमा सहयोग गर्न घिमिरेसँग आग्रह गर्नु भएको थियो तर उहाँ त्यसमा सहमत नभएपछि अर्थमन्त्रीले राजीनामा माग्नु भएको हो,’ स्रोतले विकासन्युजसँग भन्यो । उसो त यसअघि नै विकासन्युजसँग कुरा गर्दै अध्यक्ष डा. घिमिरेले बीमा प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमा दावी भुक्तानीको लागि करोडौं रुपैयाँ भुक्तानी गर्न नसकिने बताएका थिए । उनले पुनर्बीमा कम्पनी व्यवसायिक संस्था भएकोले व्यवसायिक लाभहानी हेरेर जिम्मेवारी पूर्वक निर्णय लिने र कसैको दवावमा परेर गलत निर्णय नलिने उनले उनको भनाइ थियो । कारबाही भोग्न तयार छु, करोडौं रुपैयाँ डोनेशन गर्न सक्दिन – डा. रविन्द्र घिमिरे उनले गलत काम गरेको भए बीमा प्राधिकरणको कारबाही भोग्न पनि आफू तयार भएको सार्वजनिक रुपमै बताउँदै आएका थिए । ‘अध्यक्षको शपथ लिने बेलामा सेयरधनीको सम्पत्तिको सुरक्षा गर्ने प्रतिवद्धता जनाएको छु, म त्यसको पालना गर्छु, सेयरधनीको सम्पत्ति जोगाउने काम गर्दा नियामकले कारवाही गर्छ भने म कारवाही भोग्न पनि तयार छु, तर भविष्यमा मेरो हातमा हतकडी लाग्न सक्ने जोखिम लिएर गलत निर्णयमा सहि गर्दिन,’ उनले विकासन्युजसँग बोल्दै भनेका थिए । सरकारले कोरोना बीमा दावी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेपछि बीमा प्राधिकरणले त्यसको ४५ प्रतिशत रकम थप गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । त्यसमा ८ प्रतिशत प्राधिकरणले आफैले थप्ने, १२ प्रतिशत पुनर्बीमा कम्पनीले थप्नुपर्ने र २५ प्रतिशत निर्जीवन बीमा कम्पनीहरुले थप्नु पर्ने मापदण्ड प्राधिकरणले बनाएर सोही अनुसार कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो । बीमा प्राधिकरणका अध्यक्ष सिलवालले यसअघि पनि सरकारको निर्णय विपरित पुनर्बीमा कम्पनीको सञ्चालक समितिले निर्णय गर्नु गलत भएको बताउँदै आएका थिए । पुनर्बीमा कम्पनीले सरकारको निर्णय मान्दिन भन्न नपाउने र अटेर गरे कारवाही भोग्न पनि तयार हुनु पर्ने उनको धारणा छ । अन्ततः उनकै ब्रिफिङमा अध्यक्ष घिमिरेले पदबाट राजीनामा दिनु पर्ने अवस्था सिर्जना भएको हो ।