काठमाडौंका मेयर र उपमेयरले नर्भिकलाई सोधे- ३ घण्टामा ३१ घाइतेको उपचार कसरी सम्भव भयो ?

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगे । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टा छुट्टै समयमा नर्भिक पुगेका थिए । करिब ७ः४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरुको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगे । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टा छुट्टै समयमा नर्भिक पुगेका थिए ।

करिब ७ः४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाको बिषयमा चिकित्सकसँग ब्रिफिङ लिए । सो क्रममा नर्भिक अस्पतालका इमेरजेन्सी इञ्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा. ओमर प्रधानले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको बताए ।

नर्भिकले ३४ जना घाइतेहरुको छोटो अवधिमै उपचार व्यवस्थापन कसरी मिलाउनुभयो भनेर बालेनले डा. प्रधानसँग चासो राखे । उनले नर्भिकको इमेरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरुको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरुको अवस्थाको आधारमा रेड, ग्रीन र एल्लो जोनमा उनीहरुलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको बताए । सोही अनुसार ३ घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर फर्काउन सम्भव भएको उनले बताए ।

मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगर प्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । करिब ३ मिनेट जति अस्पताल बसेर मेयर शाह फर्किएका थिए ।

उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन् । उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेकी थिइन् । सो क्रममा उनले नर्भिकको उपचार पद्धति तथा आकस्मिक अवस्थामा गरेको कुशल व्यवस्थापनको खुलेरै प्रशंसा गरेकी थिइन् । उनले सो क्रममा नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Share News