उदयपुर–१ मतगणना पुन : सुरु
उदयपुर । उदयपुर (१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो । नेकपा एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।
प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले लाभांशलाई स्वीकृत गरेको छ । बैंकको मंसिर १ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको थियो । सोही लाभांश स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले मंसिर १२ गते स्वीकृत गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कूल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ । प्रभु बैंकको लाभांश घोषणा, यस्तो छ पाँच वर्षको इतिहास
संसद भवन तत्काल खालि गर्न पर्यटन बोर्डका वरिष्ठ निर्देशकको माग
काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसीसी) संसद भवन तत्काल खालि गर्न सरकारसँग माग गरेका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा मेला महोत्सवको महोत्सवमा विद्यमान चुनौती र आगामी तयारी कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा अन्तराष्ट्रिय स्तरका मेला महोत्सव गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको हलको आवश्यक रहेको भन्दै बिआइसीसी भवन संसद बस्नको लागि नभइ अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएकाले तत्काल खालि गराउनु पर्ने बताए । उनले सरकारले ठूलाठूला मेला महोत्सव आयोजना गर्न हल निर्माण गर्नुपर्ने जानकारी दिए । उनले भने, ‘काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर संसद भवन चीनले अन्तराष्ट्रिय स्तरको हलका लागि दिएको हो । त्यो संसद बस्ने स्थान होइन, बिआईसीसी हललाई जतिसक्दो खालि गराउनुपर्छ, त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन, बिआईसीसी अन्तराष्ट्रिय प्रदर्शनी हल चीन सरकारको सहयोगमा बनेको हो, मेला महोत्सव तथा प्रदर्शनी गर्न हामीलाई दिइएको सम्पती हो, जुन प्रयोजनाका लागि दिइएको हो त्यसैका लागि प्रयोगमा ल्याउनुपर्छ ।’ उनले प्रदर्शनी स्थल पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग पर्यटन बोर्डले सकरात्मक भुमिका खेल्ने बताए । उनले मेला महोत्सव गर्न पर्यटन बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।
नेपाल एसबिआई बैंकले डबल डिजिटमा घोषणा गर्याे लाभांश
काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
अनलाइनमा यी कुराप्रति सावधान हुनुहोस्, नत्र फसिएला नि
काठमाडौं । तपाइँले बेलैमा ख्याल गरेन भने सानो प्रलोभनमा पर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आइपर्न सक्छ । त्यसैले समयमै सचेत हुन केही कुराहरूमा ध्यान दिनैपर्छ । नेपाल प्रहरीको साइबर ब्यूरोले यसरी सावधानी नअपनाउँदा मानिसहरू ठगीमा परेको जनाउँदै सचेत हुन आम नागरिकलाई केही टिप्सहरू दिएको छ । ती कुरामा थोरै मात्रै ख्याल गर्न सकियो भने पनि ठूलो क्षति हुनबाट जोगिन सकिने ब्यूरोले जनाएको छ । ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायले विगत केही समयदेखि आपराधिक समूह तथा व्यक्तिले प्रविधिको दुरुपयोग गरी विभिन्न बहानामा अनलाइनबाट ठगी गरिरहेको र उक्त अपराधमा दैनिक वृद्धि भइरहेको पाइएकाले सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छ । उनले अनलाइनमा चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लियरेन्स गर्नुपर्ने बहाना बनाई रकम माग गरेमा विशेष सावधानी रहन र प्रहरीमा खबर गर्न आग्रह गरेका छन् । ब्यूरोले तपाइँको नाममा अनलाइनमा चिठ्ठा पर्यो भनी विभिन्न बहानामा रकम माग गरेमा, सामाजिक सञ्जाल ट्र्याक गरी उक्त सञ्जालका प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी रकम माग गरेमा, साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनी ओटिपी कोड माग गरी खाताबाट रकम निकाल्ने जस्ता गतिविधिबाट समेत हुन पनि अनुरोध गरेको छ । यस्तै अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिले नै रकम असुल गरी सामान आपूर्ति गर्ने, सामाजिक सञ्जालमा प्रेममा पारेर बैंकको खाता खोल्न लगाई एटिएम कार्ड र ओटिपी कोडलगायतको विवरण लिने, भिडियो भाइरल गरिदिन्छु भनी रकम माग गर्ने तथा क्रिप्टोकरेन्सी वा क्वाइनमा लगानी गरे आर्थिक लाभ हुन्छ भनी रकम माग गर्नेजस्ता गतिविधिप्रति पनि सचेत रहन ब्यूरोले सबैमा अनुरोध गरेको छ । यस्ता गतिविधिका कारण रकम ठगीमा पर्ने गरेका व्यक्तिको उजुरी प्रहरीमा आइरहेको र त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि ब्यूरोले जानकारी दिएको छ ।
चिसो मौसम सुरु भएसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र
सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेका छन् । पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका होटल व्यवसायीहरू समेत यतिखेर फुर्सदिला बनेका छन् । खुम्बु क्षेत्र भित्रिने पर्यटकको सङ्ख्या बढ्दा पर्यटकको भारी बोक्ने खच्चड र भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र यतिखेर सुनसान जस्तै बनेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताए । खचाखच पर्यटक र भरिया भेटिने साँघुरा पदमार्गहरूमा अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कलाई हेर्दा पछिल्लो एक सातामा एक हजार तीन सय ९० जना पर्यटक भित्रिएका छन् भने दुई हजार एक सय सातजना बाहिरिएका छन् । पिक सिजनमा दैनिक सात सय जनासम्म पर्यटक भित्रिने गरेको खुम्बुमा अहिले भित्रिने पर्यटकभन्दा बाहिरी पर्यटकको सङ्ख्या अधिक रहेकोे निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए । पर्यटकको अवागमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेका छन् । पर्यटकहरू फर्किएसँगै होटल व्यवसायीहरू पनि खुम्बु क्षेत्रबाट बाहिरिने क्रम बढेको छ । खुम्बु क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै चिसो छल्नकै लागि यहाँका होटल व्यवसायीहरू बेसिजनमा जिल्लाबाट बाहिरिने गरेका छन् । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमणलगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषता जस्तै बनेको छ ।
पदयात्रीको रोजाइमा पर्दै नवलपुरकै अग्लो ‘देवचुली डाँडा’
त्रिवेणी । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सहतदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ । यहाँबाट नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिने जनाइएको छ । पर्यटकीय दृष्टिले ‘देवचुली डाँडा’ निकै रमणीय रहेको स्थानीय लोक तिमिल्सिनाले बताए । प्राकृतिकरूपमा निकै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निकै रमाइलो अनुभूति भएको उनले सुनाए । ‘साँच्चै देवचुली डाँडा निकै रमाइलो ठाउँ रहेछ, पहिलोपटक आएँ, डाँडाबाट नजिकै देखिने हिमशृंखला, पहाडका टाकुरा र दक्षिणमा देखिने फाँट निकै मनमोहक लाग्ने,’ उनले भने ।पदयात्राका क्रममा बीच भागमा आवश्यक मात्रामा होटल, अघिल्लो दिन आउनेका लागि स्तरीय आवासको व्यवस्था भए अझै राम्रो हुने उनले बताए । देवचुली पूर्वपश्चिम राजमार्गको दलदलेबाट उत्तरतर्फ रहेको छ । देवचुली डाँडा जाने २ वटा मार्ग छन् । एउटा देवचुली नगरपालिकाको कीर्तिपुर हुँदै र अर्को कुसोतबाट पोखरी हुँदै देवचुली डाँडा जान सकिन्छ । कीर्तिपुर र पोखरीसम्म यातायातको सुविधा छ । पोखरी हुँदै जाँदा करीब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ । कीर्तिपुरबाट जाँदा १२ किलोमिटरको दूरी पर्छ । त्यसपछि भने पैदलमार्ग शुरू हुन्छ । करीब ३ घण्टाको पैदलयात्रापछि देवचुली डाँडा पुग्न सकिन्छ । देवचुली डाँडा जाने धेरैजसो पोखरी हुँदै जाने गरेका छन् । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले धेरैले यो मार्ग प्रयोग गर्ने गर्दछन् । यो मार्ग भएर जाने कतिपय अघिल्लो साँझ नै बोझापोखरी पुग्ने गर्दछन् । यहाँ घरबास समेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बीच भागतिर एकाध घर र साना–साना फाँट छिचोल्दै देवचुली डाँडा पुगिन्छ । देवचुली डाँडा पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको कावासोतीका बुलेट सिग्देलले बताए तर पदमार्गलाई थप व्यवस्थित बनाउने, बीचबीचमा विश्रामस्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटोको संकेत चिह्न राख्ने हो भने अझै राम्रो हुने उनले बताए । ‘केही पूर्वाधारको आवश्यकता रहेको छ, पदमार्ग राम्रो बनाउने, विश्रामस्थल, खानेपानीको व्यवस्था ठाउँठाउँमा बनाउन सके अझै राम्रो हुने थियो,’ उनले भने । रोट्रयाक्ट क्लब अफ नवलपुर सिटीका अध्यक्ष समेत रहेका सिग्देलले देवचुली डाँडाको विकासमा सरोकारवालाको ध्यान जानुपर्ने बताए । सो स्थान जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यभित्रसमेत पर्ने गर्दछ । डाँडाबाट देखिने प्राकृतिक दृश्यसहित यहाँ प्राकृतिक गुफा, तीनकन्या माईको मन्दिर, भ्यूटावरलगायतका संरचनासमेत छन् । परापूर्वकालमा यहाँ पाँच पाण्डवहरू गुप्तवास बसेको किंवदन्तीसमेत रहेको छ । थारू समुदायले प्रत्यक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ । देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा नगरकै गौरव रहेकाले यस क्षेत्रको विकासमा आफूहरु लाग्ने बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासमा देवचुली डाँडालाई प्राथमिकता दिएर समेटिएकाले आवश्यक पूर्वाधार निर्माणमा नगर लागिपर्ने उहाँले जानकारी दिए । ‘देवचुली डाँडा हाम्रो प्रमुख पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौँ, नगरमात्रै होइन आवश्यक परे निजी क्षेत्रलाई समेत समेटेर यस क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएका छौँ’, नगरप्रमुख न्यौपानेले भने । देवचुली नगरपालिकाको नामाकरणसमेत यसै डाँडाको नामबाट गरिएको हो । रासस
आधुनिकताले छोएन बागलुङका पशुपालक किसानलाई
ढोरपाटन । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो। पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौंदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्। उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन्। यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन। एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन्। पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरु परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन्। स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउँछन्। उनले भने, ‘नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौं, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान।’ उनले १८ भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आएका छन्। उनले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो। आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउँछन्। उनी अहिले ५१ वर्ष पुगे। ‘बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ’, उनले भने, ‘मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैं निको हुन्छन्।’ स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गर्दै आएका छन्। उनी आफ्ना पुर्खाले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अंगाल्दै आएको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ।’ उनले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिएका छैनन्, तर पनि यो व्यवसायले उनलाई सन्तुष्टि दिएको छ। परम्परागत प्रणालीबाट पशुपालन गर्दै आएका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन। गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उनी आफैं ओखतीमुलो गर्छन्। अहिले उनको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन्। ‘माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्’, उनले भने, ‘सामान्य रोगको त उपचार म आफैं पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन्।’ आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउँछन्। ‘यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौँ, कहिलेकाहीँ बाघको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ,’ उनले भने। स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गरे। सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने बताउँछिन्। सुनारले भनिन्, ‘हामीहरूलाई केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो।’ पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांश समय गोठमै बस्छन्। पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउँछिन्। अर्का पशुपालक तुलबहादुर बुढामगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउँछन्। उनले धेरै भेँडाबाख्रा हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताए। उनले भने, ‘थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु, यति धेरैलाई खोरमा बाँध्न सम्भव नै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ।’ उनीहरुजस्ता निसीखोलामा सयौं पशुपालक छन्। तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट दूरमा रहेका छन्। गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिङ्गो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो।