हिमालयन रिको डीसीईओमा उपासना पौडेल नियुक्त, बीमा क्षेत्रमा एक दशकभन्दा बढी अनुभव
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई डीसीईओ पदमा नियुक्त गरेको हो । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । यससँगै उनले युनाईटेडमा डीसीईओ र सीईओ पदमा गरी करिब तीन वर्ष काम गरिन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् । यो पनि पढ्नुहोस् : युनाइटेडमा उपासनाको डेढ वर्ष : पुरा नभएको त्यो इच्छा र सेयरधनीले पाएको खुसी
अजोड इन्स्योरेन्सले १२९८ जना बीमितलाई कोरोना बीमाको पैसा दिने
काठमाडौं । अजोड इन्स्योरेन्सले पहिलो लटमा १ हजार २ सय ९८ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिन शुरु गरेको छ । मंगलबारदेखि इन्स्योरेन्सले एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरुमध्ये दावी भुक्तानी पाउन बाँकी रहेका १२९८ जनालाई कोरोना बीमाको रकम वितरण गर्न शुरु गरेको हो । कोरोना बीमालेख अन्तर्गत कम्पनीमा दावी गरी भुक्तानी पाउन १ हजार ८ सय ८२ जना एकल र पारिवारिक बीमितहरु रहेका छन् । जसमध्ये पहिलो चरणमा १२९८ जनालाई भुक्तानी गर्न लागेको कम्पनीले जानकारी गराएको छ । कम्पनीले दावी भुक्तानी गर्ने दावीकर्ताहरुको विवरण आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ । त्यस्तै, यो बाहेक भुक्तानी हुन बाँकी रहेका अन्य भुक्तानी भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्णय बमोजिम हुने कम्पनीले जानकारी गराएको छ । यस्तो छ कम्पनीले सार्वजनिक गरेको दावीकर्ताहरुको विवरण [pdf id=368530] [pdf id=368527]
नागरिकको भरोसा जोगाउन प्रधानमन्त्रीमा मेरो दाबीः महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यक्ता रहेको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन । नेपाली काँग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाई थियो । मंगलवार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली काँग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताएका हुन । उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताए । उनले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको बताउँदै अधिकांश काँग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको बताए । अबको देशको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने र काँग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने उनको भनाई थियो । उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए । महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । निर्वाचन अघिबाट नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताको लागि तयारी थाल्ने बताएका थिए । पार्टीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोईराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन त्यत्ति सहज भने छैन ।
गगनलाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्छु : महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन् । मंगलवार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्माले विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि आएको बताए । महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने बताए । महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने समेत आश्वासन व्यक्त गरे । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको भन्दै शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रश्तावक बनेर भएपनि अगाडी बढाउने आश्वासन दिए ।
वैदेशिक रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन । मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउँने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताएका थिए । मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यस्को जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको जानकारी गराएका थिए । मन्त्री कुँवरले व्यवसायीलाई भने, ‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लार्खौ रकम तिर्न बाध्य छ, यो विषयमा हामी पनि अनुगममा कडाई गछौं, तपाईहरुले पनि विशेष ध्यान दिनु होला ।’ साथै उनले वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले म म भनेर लाग्नु पर्ने र सुधारको बटोमा अगाडी बढ्नु पर्ने बताए । यस्तै, उनले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफुहरु सधै तयार रहेको पनि जानकारी गराए । मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको उनले आश्वासन दिए । छलफल कार्यक्रममा मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसियाको रोजगारीलाई व्यवस्थित बनाउनका लागि सबै मिलेर अगाडी बढ्नु पर्ने बताए । उनले पछिल्लो समय मलेसियामा कामदार ठगिने समस्या धेरै आएकाले यसलाई व्यवस्थापन गर्नका लागि व्यवसायीलाई अनुरोध समेत गरे । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागमा आउने गरेका पिडितका उजुरी र म्यानपावर कम्पनिको बारेमा जानकारी गराएका थिए । म्यानपावर व्यवसायीले भने, मलेसियामा कामदार आफुहरुले फ्रि भिसा फ्रि टिकटमै पठाउने गरेको र बीचमा कामदारलाई ल्याउने एजेण्डका कारण व्यवसायीको बदनाम हुने गरेको बताएका छन् । उनीहरुले बीचको एजेण्डलाई रोक्नका लागि नीति नियम बनाउन सरकारलाई आग्रह गरे । त्यस्तै म्यानपावर व्यवसायीले मलेसियाबाट कामदारको माग ल्याउने बेला नै पैसा तिर्नु पर्ने भएकाले आफुहरुले बाध्य भएर कहिँ कतै पैसा लिने गरेको बताएका छन् । सरकारले २०७५ कार्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् ।
डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न
काठमाडौं । डिजिटल स्वास्थ्य सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यही मंसिर १२ र १३ गते गरी दुई दिनसम्म आयोजन भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको हो । वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै, उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याएका थिए । नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस्ता खालका सम्मेलनले सिकाई आदनप्रदानसँगै भावी कार्ययोजना निर्माणका लागि दिशा निर्देश गर्ने बताए । सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको थियो । सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सहि मार्गनिर्देश गर्न सहयोग पु¥याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. नरेन्द्र भट्टले दावी गरे ।
पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुख विरुद्ध मुद्दा दायर
काठमाडौं । सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुखलगायत विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७७र०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखलगायतले भ्रष्टाचार गरिएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उल्लेख गरिएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरु विरुद्ध आयोगले सात लाख १४ हजार ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाई बनाइको पाइएकाले आरोपीसँग बिगोबमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ । आयोगले सुन्दरडाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।
इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्न आग्रह
काठमाडौं । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुनसक्ने भन्दै विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेका छन । जाम्बिया तथा इन्डोनेसियालगायत देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसिएको औषधि बालबालिकामा प्रयोग गर्दा उनीहरूको मिर्गौलामा गम्भीर असर परी मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा समेत उल्लेख गरिएको विभागले जनाएको छ । विज्ञप्तिमा विभागले ती दुवै रसायन मिसिएका औषधि भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ र मागरिप एन कोल्ड सिरफ उत्पादन भइरहेको र ती उत्पादन गरिएका औषधि नेपालमा दर्ता नभएको समेत विज्ञप्तिमा विभागले स्पष्ट पारेको छ । विभागले औषधि उत्पादक कम्पनीलाई प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिनरग्लासिरोलजस्ता सहायक कच्चा पदार्थ प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने विशेष गरी झोल बनावटका औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायनको मिसावट नभएको भनी यकिन गरी मात्र झोल औषधि बिक्री वितरण गर्न आग्रह गरेको छ ।