विकासन्युज

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन प्राधिकरणको आग्रह

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ । प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।

आकर्षणको केन्द्र बन्यो बागलुङको बञ्जीजम्प, दैनिक चार सय पर्यटक

ढोरपाटन । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन् । दुईपटक त उनले बञ्जीजम्प गरिसके । परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन् । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउँँछन् । हेटौँडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उनको भनाइ छ । घिमिरे भन्छन्, ‘म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटौँडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ ।’ चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताइन् । टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताउँछिन् । ढकालले भनिन्, ‘बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ ।’ उनले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताइन् । ‘यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडि पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो’, उनले भनिन् । बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताए । उनी यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउँँछन् । उनले यो क्षेत्र घुम्नका लागि निकै उपयोगी रहेको बताए । ‘यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जीजम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धवलागिरि हिमाल देखिँदोरहेछ, यो ठाउँ साँच्चिकै स्वर्गजस्तै छ’, उनले भने, ‘यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरू त झन् लोभिन्छन् होला ।’ पोखराबाट घुम्न आएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताइन् । घिमिरे भन्छिन्, ‘नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, म त बूढी मान्छे आज हो कि भोलि, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यवाद छ ।’ बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताए । उनले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताए । पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ । ‘बिदाको दिन बढी पर्यटक आउँछन्, अहिले दैनिक तीन–चार सय पर्यटक यहाँ घुम्न आउँछन्, तर थोरैले मात्रै बञ्जीजम्प गर्छन्, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ’, प्रधानले भने । बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन् । ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ । अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । उनका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन् । बञ्जीजम्प निर्माण गर्दा सुरुमा २० करोड रुपैयाँको लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म ५० करोड रुपैयाँको हाराहारीमा खर्च भइसकेको उनको भनाइ छ । यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उनी बताउँछन् । विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । यसको लम्बाइ पाँच सय २५ मिटर छ । खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ ।

वीरगञ्ज भन्सार : चार महिनादेखि राजस्व संकलन घट्दै

वीरगञ्ज । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनमा १५ अर्ब २० करोड सात लाख रुपैयाँको लक्ष्य लिएकामा कार्यालयले एक अर्ब २१ करोड सात लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ सङ्कलन गरेको छ । भदौमा १९ अर्ब २९ करोड ४५ लाख रुपैयाँ राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले पाँच अर्ब १५ करोड २० लाख रुपैयाँ कम अर्थात् १४ अर्ब १४ करोड २५ लाख रुपैयाँ मात्र सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए । असोजमा २१ अर्ब ८८ करोड ३३ लाख रुपैयााँको लक्ष्य राखेकामा नौ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ४९ करोड ३८ लाख रुपैयाँराजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चुकेको कार्यालयले कात्तिकमा लक्ष्यभन्दा न्यून सङ्कलन गरेको छ । कात्तिकमा २१ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य थियो । तर कार्यालयले आठ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कम अर्थात् १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ मात्र सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ४० प्रतिशत कम हो । वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वाहन, इन्धनलगायत १० वस्तुको आयातमा सरकारले लगाएको प्रतिबन्धका कारण राजस्व सङ्कलनमा ह्रास आएको सूचना अधिकारी गुप्ताको भनाइ छ । गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा इन्धन आयातमा ७४ प्रतिशत र वाहन अयातमा ७९ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको छ ।

धान–गहुँ फल्ने खेतमा बेसारखेती गरेर मनग्य आम्दानी लिदै तुलसीपुरका किसान

तुलसीपुर । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे । तर अहिले उनले बेसारखेती गरेका छन् । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसारखेती गरेका छन् । उनीहरुमात्रै होइन दाङमै बेसार उद्योग खुलेपछि धेरै किसान बेसारखेतीमा आकर्षित भएका छन् । तुलसीपुर–७ मिलनचोकमा बिटी ब्राण्डको नेपाल मसला उद्योग सञ्चालनमा आएपछि किसान बेसारखेतीमा आकर्षित भएका हुन् । ‘पहिले धान, गहुँ लगाउँथ्यौँ, कहिलेकाहीँ तरकारी पनि लगाउथ्यौँ’, कृषक अधिकारीले भने, ‘तर त्यो उत्पादन बजारीकरण हुन सक्दैनथ्यो, तरकारीबाट पनि त्यति आम्दानी लिन नसकेपछि बेसार नै लगाउन थालेका हौँ ।’ त्यो उद्योगले किसानलाई बेसार उत्पादन गर्न प्रोत्साहनस्वरुप तालिम पनि प्रदान गर्यो र बीउ पनि उपलब्ध गराएपछि किसानले बेसारखेती गर्न थालेका हुन् । उत्पादित सबै बेसारलाई त्यही उद्योगले खरिद गर्छ र प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको छ । काँचो बेसार प्रतिकिलो ४० रुपैयाँमा खरिद गर्ने गरेको छ । अधिकारीले मात्रै चार बिघा जग्गामा वार्षिक छ मेट्रिक टन जति बेसार उत्पादन गरेर उद्योगलाई उपलब्ध गराउने गराएमा छन् । अधिकारी र भण्डारीजस्तै तुलसीपुरका एक सय २० किसानले अहिले बेसारखेती गर्ने गरेका छन् । ती सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधनपछि बजारीकरण गर्ने गरेको छ । यसरी बेसार खरिद गरेर बजारीकरण गरिदिएपछि आफूहरूलाई घर चलाउन सहज भएको भण्डारीले बताए । ‘हामीलाई अहिले बेसारखेती गरेर घर चलाउन सहज भएको छ’, उनले भने । तुलसीपुरको मोतीपुर, अम्बापुर, अम्वासलगायतका किसानले यसरी खेती गर्ने गरेका छन् । उद्योगले बेसारलाई प्रशोधन गरेर धुलो बनाई ३२ जिल्लामा पु¥याउने गरेको उद्योगका सञ्चालक जगदीश भण्डारीले बताए । ‘किसानले उत्पादन गरेको वस्तु बजारमा नपुग्ने र खेतमै कुहिने अवस्था थियो’, उनले भने, ‘यसैलाई मध्यनजर गरी हामीले यो उद्योग सञ्चालनमा ल्याएका हौँ, यसले किसानको जीवनस्तर पनि माथि उठाएको छ ।’ विसं २०७३ मा स्थापना भएको उक्त उद्योग सुरुआतमा एक करोड २५ लाख रुपैयाँ खर्च भए पनि अहिलेसम्म करिब डेढ करोड लगानी भइसकेको उनको भनाइ छ । जिल्लामा बेसारखेती नहुने र बेसार बाहिरबाट आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘बेसारमा रोग प्रतिरोधात्मक शक्ति पनि हुन्छ, पौष्टिक कुरा पनि हुन्छ’, उनले भने, ‘त्यसैले पनि बेसारलाई जिल्लामा उत्पादन गर्नुपर्छ भन्ने हेतुले कृषकलाई प्रोत्साहन गर्यौँ भने बजारीकरणका लागि हामीले उद्योग सञ्चालनमा ल्यायौँ ।’ अहिले उद्योग बजारीकरणका लागि चार र उद्योगमा काम गर्न अन्य १० कर्मचारीले काम गरिरहेको उनको भनाइ छ । बेसार उद्योगबाट वार्षिक चार करोड रुपैयाँँसम्मको कारोबार हुने गरेको छ । जसबाट पाँचदेखि सात प्रतिशत फाइदा हुने गरेको उनी बताउँछन् । अहिले वार्षिक तीन सय मेट्रिक टन बेसारलाई प्रशोधन गर्ने गरिएको भए पनि यसलाई बढाएर करिब एक हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । ‘अहिले धेरै जिल्लामा माग भइ पनि आएको छ’, उनले भने, ‘त्यसैले उत्पादन र प्रशोधन पनि त्यत्तिकै बढाउनुपर्ने अबस्था छ ।’ अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ । उद्योगले बेसारसँगै चिल्ली पाउडर, अदुवा पाउडर, मरिच पाउडर, सिस्नो पाउडर, मासु मसला, गरम मसलालगायत गरी ४२ थरि मसलासमेत उत्पादन हुने गरेको छ । अब केही समयमा रामपुर कम्पोजिट मकै तथा तोरीको बीउ उत्पादन गर्नेसमेत उनले बताए । रासस

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

    पर्वत । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उनले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । ‘अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन’, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए । पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उनलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाए । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गरेका छन् । बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुगेका छन् । उनले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गरेका छन् । साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।

स्याङ्जामा एक अर्ब रुपैयाँको सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

वालिङ । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष एक अर्ब रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड रुपैयाँ भित्रिएको उनले बताए । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उनले भने । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । “यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भने । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैँचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ । कात्तिकको दोस्रो सातामा प्रतिकिलो ५० रुपैयाँ तथा अहिले ६५ रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ । अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट ५० लाख रुपैयाँसम्म आम्दानीको दाबी गर्छन् । गत वर्ष उनले २५ लाख रुपैयाँ आम्दानी गरेका थिए । “अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ”, उनले भने । उनको बगैँचामा अहिले दुई हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आएका छन् । गत वर्ष सुन्तला बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गरेका वालिङ–२ फुटेढुङ्गाका लेखनाथ काफ्लेले चार लाख रुपैयाँ आम्दानी हुने बताए । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उनले भने, “गत वर्ष दुई लाख रुपैयाँमा ठेक्का दिएको थिएँ, यस वर्ष चार लाख रुपैयाँमा ठेक्का दिइसकेको छु ।” ठेकेदारले सुन्तला बगैँचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उनले बताए । काफ्लेको सुन्तला बगैंँचामा अहिले एक सय बोटमा फल लागेको छ । गत वर्ष २२ लाख रुपैयाँको सुन्तला बिक्री गर्नुभएका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताए । गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर २२ लाख रुपैयाँ आम्दानी गरेका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उनको बगैँचामा अहिले आठ सय सुन्तलाका बोट छन् । जिल्लाभर बाइस हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्रीबाट एक अर्ब २५ रुपैयाँ करोड आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख हमाल बताउँछन् । २५ करोड रुपैयाँ मूल्य बराबरको सुन्तला घरमै खाने, कोसेली पठाउने तथा कुहिने उनको भनाइ छ । गत वर्ष सुन्तला उत्पादनमा कमी आए पनि बजार मूल्य राम्रो पाइएको हमालले बताए । गत वर्ष १३ हजार आठ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा स्याङ्जामा कुल एक हजार छ सय ५५ हेक्टर क्षेत्रफलमध्ये कुल एक हजार एक सय ६० हेक्टरमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार छ सय ३२ टन सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा अघिल्लो आवमा सुन्तला उत्पादन धेरै भए पनि किसानले उचित मूल्य पाउन सकेका थिएनन् । आव २०७७÷७८ जिल्लामा ७९ करोड ३४ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि जम्मा ५५ करोड रुपैयाँको बिक्री भएको थियो । स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत बजारमा खपत हुने गरेको छ । सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्ने व्यावसायिक कृषक पनि स्याङ्जामा प्रशस्तै छन् । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा कृषकले यसबाट बर्सेनि पर्याप्त आम्दानी गर्दै आएका छन् । रासस

राष्ट्र बैंकले परिमार्जन गरेर पठायो मेगा बैंकको लाभांश

काठमाडौं । मेगा बैंकले घोषणा गरेको लाभांश परिमार्जन भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् ६४ करोड ४८ लाख १८ हजार ४५८.१३ रुपैयाँको बोनस सेयर र ३.८३ प्रतिशत अर्थात् ६१ करोड ७४ लाख १३ हजार ६७३.६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले ६१ करोड २ लाख ४३ हजार २८०..६६ रुपैयाँ स्वीकृत गरेर पठाएको हुँदा साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिने बताएको छ । अब बैंकले ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

विश्वकप फुटबल प्रतियोगिता : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।