विकासन्युज

लक्ष्मी लघुवित्त १३ औं वर्षमा प्रवेश, ९० शाखामार्फत सेवा प्रवाह

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था बाह्रौं बर्ष पुुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । लघुवित्त आज मंसिर १४ गतेदेखि १३ औं वर्षमा प्रवेश गरेको लघुवित्तले जनाएको छ । लक्ष्मी लघुवित्तले १२औँ बार्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । राष्ट्र बैंकले बैंकहरुलाई सहायक कम्पनी खोल्न दिने प्रावधान ल्याएपछि २०६७ सालमा लक्ष्मी लघुवित्त सञ्चलानमा आएको थियो । लक्ष्मी लघुवित्त २३ नम्बरमा खोलिएको लघुवित्तीय संस्था हो । ग्राहकहरुलाई कमर्सियल बैंकको स्वाद चखाउने गरी स्थापना भएको लक्ष्मी लघुवित्तले आफ्ना सबै सेवा डिजिटलाइजेशन गरेर ग्राहकहरुलाई सेवा दिइरहेको छ । लक्ष्मी लघुवित्तले नेपालको लघुवित्त क्षेत्रमा पहिलो पटक सेन्ट्रलाइज कोर बैंकिङ सिस्टम सुरु गरेको हो । पहिला शाखा–शाखामा आफ्नो डाटाराखेर सिस्टम चलाइन्थ्यो तर लक्ष्मीले केन्द्रबाट नै शाखालाई मोनिटरिङ गरेको हो । मोबाइल एप चलाउने लक्ष्मी लघुवित्त पहिलो हो । कनेक्ट आइपीएसबाट इसेवा, खल्ति लगायत कारोबार लक्ष्मी लघुवित्तले गरिरहेको छ । लक्ष्मी लघुवित्तले ५६ जिल्लामा ९० वटा शाखा सञ्जाल मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी लघुवित्तका ग्राहक सदस्य संख्या १ लाख ५ हजार ८८६ रहेका छन् । लघुवित्तको निक्षेप २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने लगानीमा रहेको कर्जा ७ अर्ब ५७ करोड रुपैयाँ रहेको लघुवित्तले जनाएको छ । ससँगै संस्थाले हालसम्म सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । र, आगामी दिनहरुमा पनि सबैबाट थप सहयोगको अपेक्षा गरेको संस्थाले जनाएको छ ।

एनसीसी बैंकले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश, तपाईको खातामा आयो ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको ७.६३३७ प्रतिशत नगद लाभांश आईपीएसमार्फत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नगद लाभांश वापतको रकम सेयरधनीहरुको बैंक खातामा नै रकमान्तर गरिने हुँदा हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गरिएका खातामा मंसिर ६ गतेदेखि जम्मा गरेको बैंकले बताएको छ । बैकको खाता अध्यावधिक नगरेका सेयरधनीहरुको हकमा भने बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउनुहुन बैंकले आग्रह गरेको छ । बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेको सेयरधनीहरुको अध्यावधिक भए पश्चात् मात्रै जम्मा गर्ने व्यवस्था मिलाएको छ । बैंक खातामा नगद लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भए सो शुल्क सेयरधनीले नै व्यहोर्नु पर्ने बैंकले जनाएको छ । भौतिक सेयर कायम भएको सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण पश्चात् मात्र लाभांश वितरण गरिने भएकाले अभौतिकीकरण गर्न हुन बैंकले अनुरोध गरेको छ । साथै, बैंकको सेयर कात्तिक १५ गते सम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको नगद लाभांश नो अब्जेक्सन लेटर प्राप्त भएपश्चात् जम्मा गरिने छ ।

उमेशलाललाई ४० वर्षदेखि एउटै प्रश्न- ‘राजनीतिमा किन नलागेको ?’

उमेशलाल श्रेष्ठका ठूला बुवा गंगालाल श्रेष्ठ हुन्, जसलाई प्रजातन्त्र स्थापनाका लागि राजनीति गरेको भन्दै राणा शासकले गोली हानी हत्या गरेका थिए । प्रजातन्त्र स्थापनासँगै उनलाई सहिद घोषणा गरियो । उमेशलालका बुवा पुष्पलाल श्रेष्ठ हुन्, जो नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव हुन् । उनले राणा र पञ्चायत शासन ढाल्न र प्रजातन्त्र स्थापना गर्न आजीवन संघर्ष गरे, राजनीतिक तहमा नेतृत्व गरे । उमेशलालकी आमा साहाना प्रधान राणा विरुद्ध बोल्ने, पञ्चायत विरुद्धको संघर्षमा नेतृत्व गर्ने एक साहसिक महिला हुन् । उनी विभिन्न पटक मन्त्री पनि भइन् । नेपालको राजनीतिक इतिहासमा यी तीन जनाले गरेको योगदान बारे धेरै अध्याय लेखिएका छन्, पढ्न पाइन्छ । त्यहि परिवारमा २०१३ सालमा जन्मिएका थिए उमेशलाल श्रेष्ठ । यति उच्च राजनीतिक पृष्ठभूमिकामा जन्मे हुर्केका उमेशलाल भने राजनीतिमा लागेनन् । राजनीतिमा किन नलागेको भनेर उमेशलालाई धेरैले प्रश्न गर्छन । उनी भन्दा सिनियरहरुले पनि यहि प्रश्न गर्छन्, जुनियरहरुले पनि यहि प्रश्न गर्छन् । ४० वर्ष अघिदेखि यहि प्रश्नको सामाना गरिरहेका छन् उनले । उनलाई भेट्ने हरेक पत्रकारले नछुटाउने प्रश्न पनि यहि हो । र, हामीले पनि यहि प्रश्न गर्यौं, तपाई राजनीतिमा किन लाग्नु भएन ? उनले लामो सन्दर्भ र प्रसंगहरु व्याख्या गरे । निष्कर्षमा हामी पुग्यौ-बाध्यता, समझदारी र चेतना । ‘ठूला नेताहरुले मलाई भन्नुहुन्छ-तिमी राजनीतिमा आउँछौं भने हामी राम्रो स्थान दिन्छौं, नेकपा एमालेको नेतृत्वले पनि भनेको हो, अरु ठूला पार्टीका नेतृत्वले पनि भनेका हुन्,’ उनले भने, ‘यस्तो प्रस्तावमा मैले विनम्रतापूर्वक जवाफ दिन्छु, म जहाँ छु, त्यहि ठिक छु, म राजनीति नगरी बाहिरबाटै देशको सेवा गर्छु ।’ पुष्पलालको निधनपछि छोरा उमेशलाललाई राजनीतिमा ल्याउनुपर्छ भनेर नेपाल कम्यूनिष्ट पार्टीमा आवाज उठेको थियो । ‘राजनीतिमा मेरो चाहाना भएन, आमा अगाडी बढ्नु भयो’ उनले भने । ‘राजनीतिमा जान मलाई केही समस्या थिएन तर म गइन’ उमेशलालले स्मरण गरे-‘आमा राजनीतिमा सक्रिय हुँदा म २३ वर्षको थिएँ, त्यो बेलामा मेरो दिमाग परिपक्व पनि थिएन होला ।’ २०३६ सालको आन्दोलनसँगै साहाना प्रधानकोनेतृत्वदायी भूमिकामा उदाईन् । उमेशलाल बाहिरै बसे । ‘राजनीति’ पारिवारिक विरासतमा हुनु हुँदैन भन्ने उनको स्पष्ट मान्यता छ । ‘मेरो बुवा र आमाले जे गर्नु भयो उहाँहरुको आफ्नो राजनीतिक चेत र राजनीतिक ज्ञान अनुसार राम्रै गर्नु भयो, तर मैले पनि राजनीति नै गर्नुपर्छ भन्ने हुँदैन ।’ राजनीतिक परिवारमा जन्मेको व्यक्तिले किन राजनीति नगरेको भनिरहँदा अचेल उमेशलाललाई ‘रिस’ उठ्ने गरेको छ । ‘हाम्रो परिवेशमा डाक्टरका छोरा डाक्टर, इन्जिनियरका छोरा इन्जिनियर, कर्मचारीका छोरा कर्मचारी बन्ने भन्छन्, बनेका पनि छन्, ल त्यो ठिकै हो’ उनले पुरक प्रश्न गरे, ‘के डाकाका छोरा डाका नै बन्ने हो त ? त्यो त हुँदैन ।’ सरकारले जागिर खोसिएपछि … साहाना त्रिभुवन विश्व विद्यालयमा पढाउथिन् । पञ्चायत विरुद्ध राजनीति गरेको आरोपमा तत्कालिन सरकारले साहानालाई जागिरबाट निकाल्यो । उक्त घट्ना उमेशलालको जीवनको ठूलो टर्निङ प्वाइन्ट भयो । त्यतिबेला उमेशलाल बिएससी पढ्दै थिए । मास्टर्स डिग्री र पिएचडी हासिल गर्न विदेश जाने योजनामा थिए । अस्ट्रेलिया जान उमेशले स्कलरसिप, पासपोर्ट, भिजा लगायत तयारी गरिसकेका थिए । आमाको जागिर खोसिएपछि उमेशलालको परिवार आर्थिक मारमा पर्यो । परिवार चलाउन कमाईको काम गर्नै पर्ने बाध्यता उनको काँधमा आयो । उच्च शिक्षाको लागि विदेश जाने उनको इच्छामा पूर्णविराम लाग्यो । कामको खोजीको क्रममा उनले संसारको नम्बर वान औषधि कम्पनी हेक्सल फर्मासियूटिकल्समा जागिर पाए । त्यतिबेला जागिर खानुको विकल्प आफूसँग नभएको उनले सुनाए । तीन वर्षपछि उनी जागिर छोडेर आफ्नै विजनेश गर्ने सोचमा पुगेका थिए । दिमाग यताउता चल्न थालिसकेको थियो । त्यहिबेला उनको प्रमोशन भयो । अब प्रमोशन खाने कि छोडेर ब्यापार गर्ने भन्ने दुविधामा परे उनी । ‘लोभ लागेर प्रमोशन खाएँ’ उनले सम्झिदै भने- ‘व्यापारमा पनि तनाव हुन्छ, जोखिम हुन्छ भनेर मैले सजिलो बाटो रोजेँ ।’ अन्ततः २०४४ मा उनले जागिर छोडे र साझेदारीमा नयाँ फर्मासियूटिकल्स कम्पनी चलाए । पछि अर्काे कम्पनी खोले क्वेष्ट फार्मास्यूटिकल्स । र, पुरानो कम्पनीबाट बाहिरीए । विशेषगरी डाइबेटिज, ब्लडप्रेसर, कोलेस्टरल, मष्तिस्कघात जस्ता जटिल रोक निरोधका औषधिहरु बनाउँदै क्वेष्ट फार्मास्यूटिकल्स कम्पनी अहिले औषधि उद्योगको क्षेत्रमा अब्बल उद्योगको रूपमा स्थापित भएको छ । परिवेश जनताको लागि राजनीति गर्दा परिवारमा आर्थिक संकट निम्तन्छ । उमेशलालको परिवारमा यस्तै संकट थियो । परिवारमा एक जनाले मात्र राजनीति गर्नुपर्छ, अरुले आय आर्जनको काम गर्नुपर्छ भन्ने समझदारी र अभ्यास पुष्पलालको पालामा नै परिवारभित्र थियो । पुष्पलाल राजनीतिमा हुँदा साहाना अध्यापन पेशामा थिइन् । पुष्पलालको निधनपछि सहाना राजनीतिमा लागिन, उमेशलाल आय आर्जनमा । बुबाले थालेको अभ्यासलाई उमेशलालले निरन्तरता दिए । उमेशलालले आफ्नो बुवासँग धेरै समय बिताउन पाएनन् । जतिबेला उमेशलाल कुरा बुझ्ने, गफ गर्न सक्ने उमेरमा थिए त्यतिबेला पुष्पलाल निर्वासित जीवन बिताइरहेका थिए । ‘मेरो बुवा पुष्पलाल आदर्शपूर्ण नेता हुनुहुँदो रहेछ भन्ने जानकारी पछि कितावहरु पढेर मात्रै जानकारी पाएको हुँ’ उमेशलालले भने । राजनीतिक चेतना उमेशलालमा राजनीतिक चेतना नभएको होइन र उनलाई राजनीतिप्रति रुची नै नभएको पनि होइन । ‘म राजनीतिबाट टाढा छैन, राजनीतिक विषयमा अनविज्ञ पनि छैन, राजनीतिमा चाख राख्छु, विशेषगरी नेपाली राजनीति र अन्तर्राष्ट्रिय राजनीति नजिकसँग नियाली रहेको छु’ उनले भने । नीति निर्माण र नेतृत्व गर्ने काम राजनीतिबाट मात्र सम्भव हुने कुरामा पनि उनी जानकार छन् । राजनीतिशास्त्र, समाजशास्त्र, कम्युनिज्म, प्रजातन्त्र, दर्शन, पौराणिक किताहरुको अध्ययन गरेको उनले सुनाए । उनले निर्वाचनको बेलामा आफ्नो मत फेरबदल गर्ने गरेको पनि खुलाए । भोट दिँदा चिन्ह भन्दापनि राम्रो मान्छेलाई छान्ने गरेको पनि खुलस्त बताए । तर, राम्रा मान्छेले पनि राजनीतिमा लागेर राम्रो गर्न नसकेको उनको बुझाइ छ । ‘राजनीति स्वच्छ, सरल र जनतामुखी भएन । स्वार्थमुखी भयो । यस्तो किसिमको राजनीति भइरहेको बेलामा एक्लो व्यक्तिले केही पनि गर्न सक्दैन, म राजनीतिमा लागे भने पनि काम गर्न गाह्रो छ’ उनले भने- ‘मैले राम्रो गरे भने पनि त्यो मेरो बुबा र आमाले गरेको कामसँग तुलना हुन्छ । ‘पुष्पलाल भएको भए यस्तो हुनसक्थ्यो, साहानाले भए यस्तो गर्ने थिइन’ भनिन्छ । ‘मेरो तुलना पुष्पलाल श्रेष्ठ र साहाना प्रधानसँग हुन्थ्यो, उहाँहरुको अगाडि म जहिल्यै पनि बच्चा नै हुन्छु, अमिता बच्चनको अघि अभिसेक बच्चनको जस्तै’ उनले सटिक उदाहरण दिए । धेरै मान्छे राजनीतिमा लाग्नु र राजनीतिलाई पेशा बनाएकोमा पनि उनी बेचैन छन् । ‘एउटै पार्टीको १५ लाख सदस्य छन्, १० लाखभन्दा बढी सदस्य भएको ठूला पार्टी नै तीन छन् । सबैले राजनीति गर्न जरुरी छैन नि’ उनले भने । राजनीति डोरीको गुजुल्टो जस्तो भएको र त्यो फुक्नुको साटो झन कसिलो बन्दै गएको उनको विश्लेषण छ । आर्थिक विकासमा जोड ‘आमाबुवाले राजनीतिमा जोड दिनुभयो, राजनीति चेतना फैलाउनुभयो, मैले आर्थिक विकासमा जोड दिए, मेरो मान्यता आर्थिक विकास नभएसम्म देश विकास गर्न सकिन्न भन्ने हो,’ उनले भने । आर्थिक विकासको लागि नीजि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए । ‘अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगटेको नीजि क्षेत्रसँग सरकारले जहिले पनि हातेमालो गरेर हिड्नुपर्छ, निजी क्षेत्रले राम्रोसँग काम गर्न पायो भने आर्थिक वृद्धिदर उच्च हुन्छ’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिकसकेका उमेशलाल महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् । महासंघको अध्यक्ष नेतृत्वमा गएर पुराना, असान्दर्भिक कानुनहरुको खारेजी गराउने, संशोधन गराउने, नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नयाँ कानुनहरु निर्माणमा सरकारलाई सघाउने उनको चाहाना छ । मुलधारको राजनीतिमा सहभागी नभएपनि सरकारको ध्यान आर्थिक विकासमा केन्द्रीत गराउने र निजी क्षेत्रलाई प्रोत्साहित गर्दै यस क्षेत्रको नेतृत्व गर्ने उनको अठौट मुलधारका राजनीतिकर्मीले गर्ने राजनीतिभन्दा कम महत्वपूर्ण छैन ।

माया खोलाले मंसिर २३ देखि स्थानीय र विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गर्ने

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले मंसिर २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ धर्मदेवी नगरपालिकाको ३, ४ र ५, मादी नगरपालिकाको ४ र ६ का वासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिका माथिका वडा बाहेक स्थानीयका लागि ४ लाख कित्ता छुट्याइएको छ । यस्तै, १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयभित्र पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सुपरमाई हाइड्रोले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमध्ये ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानियलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । कालिञ्चोक दर्शनको आईपीओ आहज मंसिर १४ गते, बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १२ करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला रेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको १८ प्रतिशत अर्थात् १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८ सय कित्तासम्म आवेदन दिन पाउनेछ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेकाहरु नेपाली तथा स्थानिय बासिन्दाहरुले मंसिर २८ गतेभित्र आवेदन दिनसक्नेछन् । यदि सो दिनभित्र पूर्ण आवेदन नपरेमा स्थानिय बासिन्दाहरुले पुस १४ गतेसम्म आवेदन दिन पाउने छैनन् । वैदेशिक रोजगारमा रहेकाहरु नेपालीहरुका लागि भने आवेदन दिने समय थप हुने छैन । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।

ओलीलाई बालेनको जवाफ : सुकुम्वासी तपाईंका लागि भोट बैंक मात्रै रहे

काठमाडौं  । काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् । मंगलबार सामाजकि सञ्जालमार्फत् उनले केपी ओलीले सुकुम्वासीलाई भोट बैंकको रुपमा लिएको बताएका हुन् । ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए । सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताए । बालेनले लेखेका छन्, ‘सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपार्इंबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो ।’ उनले थप अगाडि लेखेका छन्, ‘त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

हेराल्डले गर्याे ३९६ विद्यार्थी दीक्षित, विदेशी कलेजमध्येकै उत्कृष्ट भएको दाबी

काठमाडौं । हेराल्ड कलेज काठमाडौले दीक्षान्त समारोह २०२२ सम्पन्न गरेको छ । स्नातक (ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जना विद्याथीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसमध्ये ३६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् । ती बिद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति ( प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका हुन । दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको जनाईएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय एमबिए अध्ययन गर्न समेत छात्रवृतिको व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने दाबी गरे । विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौका सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ,’प्रो भाइस चान्सलर टिमले भने । विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने उनको भनाई थियो । हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान पुगेको उनले बताए । सो विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन्, यो कलेज यसैको उहाहरण हो रहेको उनको भनाई थियो । हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफ इन्टरनेशल विजनेश म्यानेजमेन्ट , तीनवर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तराष्ट्रिय एमबिए कक्षा संचालन गरिरहेको छ । सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये उत्कृष्ट मानिन्छ । उल्भरहेम्टन विश्वविद्यालयले विराटनगर इन्टरनेशनल कलेजलाई समेत सम्बन्धन दिएको छ । कलेजका अध्यक्ष शुलभ बुढाथोकीले हेराल्डमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको दाबी गरे । उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा व्यक्त गरे ।