काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन् ।
मंगलवार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन ।
झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्माले विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि आएको बताए ।
महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने बताए ।
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने समेत आश्वासन व्यक्त गरे । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको भन्दै शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रश्तावक बनेर भएपनि अगाडी बढाउने आश्वासन दिए ।