महाकाली सिँचाइ आयोजना : ‘पानी ल्याउने विषय अन्योल’
महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूलनहर बनिसकेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग कुराकानी नभएको बताए । उनले हाल निर्माणाधीन मूलनहरका केही स्थानमा प्राविधिक समस्या देखिएकाले सो विषयमा ध्याना दिइएको जानकारी दिए । ‘गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गलक्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरा भएको छैन’, उनले भने, ‘पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो छैन ।’ विसं २०६४ देखि सुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूलनहर निर्माण भएको थियो । पछिल्लो समय आयोजनाले गति लिएको इञ्जिनियर पण्डितको भनाइ छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो, उनले भने, ‘अब समस्या नभएकाले आयोजनाले गति लिएको हो ।’ एक सय ५१ किलोमिटर मूलनहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । ‘मूल नहर निर्माणको स्टिमेट बनाएर स्वीकृतिका लागि सिँचाइ विभागमा पेस गरेका छौँं’, उनले भने, ‘स्वीकृति आउनासाथ अरु प्रक्रिया अघि बढ्छ ।’ हाल तीन चरणमा निर्माण भइरहेको मूलनहरको पहिलो चरणमा साढे पाँच किलोमिटर मूलनहरको काम सकिएको छ भने दोस्रो चरणमा पाँच किलोमिटरको पनि ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । त्यसैगरी तेस्रो चरणमा पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि हाल एक अर्ब २४ करोड रुपैयाँँ रकम विनियोजित छ । त्यसैगरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इञ्जिनियर पण्डितले जानकारी दिए । ‘४८ किलोमिटर शाखा नहर बनाउन ठेक्का भइसकेको छ’, उनले भने, ‘त्यसका लागि एक अर्ब रुपैयाँ बढीको ठेक्का सम्झौता भइसकेको छ ।’ रासस
हिउँदमा जिम्मुको व्यापारबाट पाँच लाख आम्दानी, बर्खालाई घरखर्चको जोहो
बलेवा । नेपाल–चीन सीमा नजिकै उनको सानो घर छ । माटोको सहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा पुगिन्छ उनको गाउँ । बर्खाका केही महिना उनको परिवार त्यही घरमा बस्छ । तर हिउँदमा गाउँ बसिसक्न हुन्न हिउँले । अबका केही दिनपछि घरका छानो नै छोप्न थाल्छ हिउँले । त्यसैले मङ्सिर महिना नलाग्दै २८ वर्षीय कर्म भोटे परिवारसहित बेंसी झरेका छन् । मनभरि उनको घर छ, अबका केही महिना उनी घरमा हुदैनन् । लोमान्थाङ गाउँपालिका–२ मा रहेको आफ्नै दुःखले आर्जेको घर छ । तर हिउँले पुरिने गाउँमा रहेको उनको घर अब फागुन नलाग्ने बेलासम्म खाली रहन्छ । उनी र उनका गाउँले दाजुभाइ दिदीबहिनी कोही छैनन् अहिले घरमा । पछि एकैपटक फर्कन्छन् उनीहरु । गाउँमा हुँदा पनि उनको परिवारको काम अहिले केही छैन । खाने र बस्नेमात्र हो । सिँचाइ र खेतीयोग्य जमिनको अभावमा खेती किसानी गर्न मन लागे पनि उनलाई त्यो अवसर छैन । चौँरीपालन नै हो मुख्य तर हिउँदमा गाउँमा बस्नै सकिँदैन । भोटे हिउँदभरि बेंसी झरेर व्यापारमा व्यस्त छन् । उनलाई साथ दिन्छिन् उनकी श्रीमतीले । बर्खाका महिनामा त्यही हिउँदको कमाइले परिवार पाल्छन् । अहिले त्यसैका लागि उनीहरु बेंसीका गाउँ झरेका हुन । भोटेको हिउँदको व्यापार जिम्मु हो । हिमालपारीको जडीबुटी बोकेर उनको परिवार बागलुङ बजार झरेको छ । प्लाष्टिकमा प्याकिङ गरिएको जिम्मु र खुला जिम्मु बोकेर भोटे दम्पती बजार डुलिरहेको छ । त्यही जिम्मु उहाँहरुको बाँच्ने आधार हो । पुस्तौँदेखि यसैगरी चल्दै आएको छ उनीहरुको जिवनी । ‘हिउँदमा बेंसी झरेका बेला व्यापार नगरे बर्खामा छाक टर्दैन’, कर्म भन्छन् ‘पढ्ने उमेरकी सानी छोरी पोखराको एक विद्यालयमा होस्टल राखेर कान्छी छोरी बोकेर व्यापारमा हिँडेका छौँ ।’ भोटे परिवार मात्रै होइन चिसो छल्न उपल्लो मुस्ताङका अधिकांश सर्वसाधारण बेंसी झर्ने गरेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेंसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको भोटेले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंङ, माला, शिलाजितलगायत सामग्रीको व्यापार गर्दै आएका छन् । ‘हाम्रो रहर होइन, बाध्यता हो । घर छोडेर हिँडेका हुनेखानेलाई त समस्या छैन, तर हामीलाई दिनभर घुमेर व्यापार नभए, साँझ खान पाइँदैन’, भोटेले भने । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेंसी झरेपछि गाउँ नै सुनसान बन्न थालेका छन् । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेंसी झर्ने गरेको छैरो गाउँका भीम रसाइली बताउँछन् । चिसो मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छन् । उनीहरु अहिले बागलुङ पर्वत, कास्कीका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहेका छन् । अहिले उपल्लो मुस्ताङका अधिकांश नागरिक बेंसी झरेको जनाउँदै उक्त क्षेत्र सुनसान रहेको रसाइलीले जानकारी दिए । यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा दुईदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्नेगरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । यो मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दाको पुरानै प्रचलन हो । पहिले सटही व्यापार गर्ने उनीहरु आजभोलि नगदमा कारोबार गर्छन् । रासस
चितवनको भविश्यप्रति चिन्तित छु, मैले हस्तक्षेप गर्छु : विश्व पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्व पौडेलले आफू चितवनको भविश्यप्रति चिन्तित रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत अब पूर्वी चितवनको विकास कसरी हुन्छ ? भन्नेमा आफू चिन्तित रहेको बताएका हुन् । साथै, पछिल्लो समय सामाजिक सञ्जालमा आएका हल्लामा सत्यता नरहेको पनि उनले स्पष्ट पारेका छन् । पौडेलले चुनावमा हारेसँगै राजनीति छोडेको भन्दै आएका विभिन्न हल्लामा कुनै पनि सत्यता नरहेको बताउँदै उनले राजनीतिमै रहिरहने बताएका छन् । ‘सामाजिक संजालमा मैले राजनीति छोडेको भनेर आएको खबर सत्य हैन। पुर्व माननीय सुरेन्द्र पाण्डेजी प्रति मेरो धारणा मैले निर्वाचनमा अभिव्यक्त गरे अनुरुप नै छ र परिवर्तन भएको छैन, पुर्वि चितवनको बिकास अब कसरी हुन्छ भन्नेमा अन्य सर्वसाधारण जस्तै म पनि चिन्तित छु र त्यसमा आवश्यकता अनुरुप मैले हस्तक्षेप गर्ने नै छु,’ पौडेलले सामाजिक सञ्जालमार्फत भने ।
पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा, दैनिक दर्जनौँ पर्यटक आउने
ढोरपाटन । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पछिल्लो समय यो डाँडा हिमाल तथा सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरुको गन्तव्य भएको छ । चैत र वैशाखमा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य झन् खुल्छ । हिउँदमा डाँडालाई हिउँले छपक्कै छोप्दा यसको आकर्षणको बयान शब्दले पुग्दैन । सडकको सहज पहुँचले पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । यसलाई विदेशी पर्यटकसम्म पुर्याउन प्रचारप्रसारको खाँचो छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमशृङ्खला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरबिर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ । यहाँबाट बागलुङ र म्याग्दीका सयौँ गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुछ्रे, मानापाथीलगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका स्थानीय बताउँछन् । तमानखोला गाउँपालिका–४ मा पर्ने यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र सहिदको सम्मानका लागि गाउँपालिकाले पूर्वाधार निर्माणसँगै सहिदको सालिक बनाएको छ । गाउँपालिकाले यहाँ सहिद पार्कसहित विभिन्न आन्दोलनमा मृत्युवरण गरेकाको सालिक निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो जनआन्दोलनका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गङ्गबहादुर पुनको शालिक राखिएको बताए । अध्यक्ष बुढामगर भन्छन्, ‘सोलेडाँडा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, पहिलेदेखि नै निकै चर्चित सोलेडाँडा पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको थियो, हामी निर्वाचित भएर आएपछि पूर्वाधार निर्माणलाई जोड दिएका छौँ, पर्यटक आकर्षणका लागि र सहिदको सम्मानस्वरुप यहाँ सहिद पार्कसहित सहिदको सालिक बनाएका छौँ, यसले पनि पर्यटक भित्र्याउन ठूलो मद्दत गरेको छ ।’ सोलेडाँडालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएको उनको भनाइ छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष बुढामगर बताउँछन् । उनले पर्यटकको सहजताका लागि सोलेडाँडा क्षेत्रमा शौचालय र खानेपानीको धारो निर्माण भइसकेको बताए । यस क्षेत्रमा गाउँपालिकाले पाँच वर्ष अगाडि नै खानेपानीको धारा र शौचालय निर्माण गरिसकेको छ । यहाँ पार्क, सालिकसहित विभिन्न संरचना निर्माणका लागि गाउँपालिकाले हालसम्म करिब २० लाख रुपैयाँ बढी लगानी गरिसकेको अध्यक्ष बुढामगरको भनाइ छ । सोलेडाँडालाई अब राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा परिचित पर्यटकीय गन्तव्यसँग जोड्न पहल भइरहेको अध्यक्ष बुढाको भनाइ छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले सालिक निमार्णको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले दुई जिल्लाको सिमानामा रहेको सोलेडाँडामा दैनिक दर्जनौँ पर्यटक आउने गरेको बताए । सोलेडाँडामा पुग्ने सडक राम्रो हुँदा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको उपाध्यक्ष छन्त्यालको भनाइ छ । स्थानीय पूर्ण सिर्पालीले सोलेडाँडामा पर्यटक दिनदिनै आउने गरेको जनाउँदै उनीहरुका लागि बास बस्नका लागि उपयुक्त स्थान भने नभएको बताए । सिर्पालीले स्थानीयलाई घरबास होमस्टे सञ्चालनका लागि सरकारले प्रोहोत्सान गरे पर्यटकलाई सहज हुनाका साथै स्थानीयको आयआर्जनको माध्यम बन्नसक्ने बताउँछन् । उनले सोलेडाँडामा हिउँद बर्खा बाह्रै महिना पर्यटक घुम्न आउने बताए । हिउँदमा हिउँ खेल्न र बर्खाका समयमा गर्मी छल्न बजार क्षेत्रबाट बढी मान्छे आउने गरेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय पर्यटनसँग तमानखोलालाई जोड्न काठेखोलाको घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको गाउँपालिकाले जनाएको छ । रासस
चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन हुन सक्छ, तर फिर्ता हुँदैन : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए । गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताए । उनले उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गरे । गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए । उनले चालु पुँजी कर्जा नीतिका विषयमा सबै सरोकाबारवालाहरु वहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरु भने अनुशासनमा बस्नुपर्ने बताए । उनले राष्ट्र बैंकले लामो छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताए । उनले संविधानमा व्यवस्था भएका नीति समेत संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने विषय नभएको बताए । त्यस्तै, अर्थतन्त्र कहाँ गइरहेको छ ? भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको बताउँदै गभर्नर अधिकारीले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने जनाए । उनले आयात रोक्दा राजश्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैँ रोकेर साध्य पनि नहुने बताए । गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रुपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए । उनले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको बताए । तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजिरहेको बताउँदै गभर्नर अधिकारीले अर्थतन्त्रमा अझै केही समस्या रहेको स्वीकार गरे । उनले मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणले अर्थतन्त्रमा दबाब रहेको बताए । गभर्नर अधिकारीले दक्षिण एशियाली मुलुक भारत बाहेक अन्य मुलुकहरु भन्दा नेपालको अर्थतन्त्र राम्रो रहेको बताए । राष्ट्र बैंकलाई करिब अडाई खर्बको विदेशी मुद्रा सञ्चिति गर्न ५५ वर्ष लागेकोमा पछिल्लो एक वर्षमा नै २.३४ अर्बको विदेशी मुद्रा गुमाउनुपरेको बताउँदै उनले राष्ट्र बैंकले लिएका नीतिका कारण पछिल्लो ३ महिनामा गत वर्षको तुलनामा १ खर्ब शोधनान्तर स्थितिमा सुधार भएको बताए । उनले बजारमा देखिएको तरलता अभाव बिस्तारै सुधार हुँदै जाँदा उच्च रुपमा वृद्धि भएको ब्याजदरमा करेक्शन हुने विश्वास लिएको बताए । ‘नेपालको अर्थतन्त्र राष्ट्र बैंकको तथ्याङ्कबाट देख्दैनौं । नेपालको मूल्यवृद्धि ८.५ प्रतिशत रहेको छ । दक्षिण एशियाली मुलुकहरु मध्येमा राम्रो अर्थतन्त्र रहेको मुलुकमा रहेका छौं । भारतभन्दा अन्य देशहरुको अर्थतन्त्रमा समस्या देखिएका छौं । भारतको अर्थतन्त्रमा देखिएको स्थायीत्व राजनीतिक स्थायीत्व पनि हो । नेपालमा राजनीतिक अस्थिरता नहुँदा हुँदै पनि अर्थतन्त्र नराम्रो छैन । तर अर्थतन्त्रमा केही नराम्रा पक्षहरु छन् । पछिल्लो एक वर्षदेखि वाह्य क्षेको दबाबमा रहेका छौं । हरु अपनाइयो । केही वस्तुहरुको आयातमा प्रतिवन्ध पनि लगाइयो । राष्ट्र बैंकले आयात गर्न मार्जिनकोसमेत व्यवस्था गर्यो । त्यसको असर स्वरुप पछिल्लो ३ महिनाको तथ्याङ्क हेर्दा १२ अर्बको शोधानान्तर स्थितिमा वचत हुन गयो । गत वर्षको यही अवधि हेर्दा ८८ अर्ब रुपैयाँ शोधानान्तर घाटा थियो । अहिले १२ अर्ब वचत हुँदा तीन महिनाको उपलब्धी हेर्दा १ खर्ब गत वर्षको तुलनामा सुधार भएको अवस्था छ । यो सुधारले बजारमा तरलताको चरम अभाव थियो । त्यो तरलता कम गर्न राष्ट्र बैंकले ९७ खर्ब बजारमा पठायौं । यो वर्ष शोधनान्तर वचत सुधार भएमा गत वर्षको जति बजारमा पैसा दिन नपर्ने हुनसक्छ । बिस्तारै अहिले बजारमा देखिएको तरलता सहज हुँदै ब्याजदरमा भएको वृद्धिलाई बजारले नै करेक्शन गर्ने आशामा छौं ।’ उनले भने । कोरोना महामारीको क्रममा दिइएको सहुलियतका साइट इफेक्टहरु अहिले अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको भनाई छ ।
धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो, हटायो खेताला खोज्ने झन्झट
सिन्धुली । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय बन्दै गएको छ । थ्रेसरका प्रयोगकर्ता बर्सेनि बढ्दै गएका व्यवसायी विनोद दाहालले बताए । पाँच वर्षअघिसम्म धान झार्ने मेशिन हुन्छभन्दा नपत्याउने किसान अहिले आफैँ प्रयोगकर्ता भएका उनले सुनाए । खेतीको काममा पनि काम गर्ने जनशक्ति कम हुदै गएका बेला यो मेशिनको प्रयोगले किसानलाई सजिलो र छिटोसमेत हुन पुगेको उनीहरुको अनुभव छ । दुधौली नगरपालिकाको स्थानीयबासी समेत रहेका व्यवसायी दाहालसँग दुई सिजनको धान झारेको अनुभव छ । ‘दुधौलीमा मात्रै अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बरले थे्रसर मेशिनको प्रयोगकर्ता बढेका छन्’, उनले भने, ‘थ्रेसर किनेको पहिलो वर्ष ५० जना कृषकको धान झारेको थियो, यो वर्ष एक सय जना कृषकको धान झारिसकेको छु ।’ जग्गा धेरै भएका, काम गर्ने जनशक्ति कम भएका कृषकले बढी थ्रेसर मेशिनको माग गर्ने उनले बताए । उनका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली थन्काउन सकिन्छ । पराल दाइँ गर्नुपर्ने, धान केलाइरहनुपर्ने झन्झट हुँदैन । धानबाली थन्काउन छिटो र सजिलो हुन्छ । धान झार्न मात्र होइन, जोत्न, रोप्न पनि मेशिनको प्रयोग गर्दा काइदा हुने उनको बुझाइ छ । यसको व्यवसायसमेत फस्टाएको उनले बताए । ‘तीन लाख ५० हजारमा किनेको थ्रेसर मेशिनले धानबालीको सिजनमा घण्टाको तीन हजार कमाउँछ’, उनले भने, ‘उधारोमा काम गर्दिन, नगद मिलेन भने धानै लिन्छु ।’ आधुनिक प्रविधिको विकाससँगै विकसित भएको कृषि प्रविधिको प्रयोगले खेती गर्नदेखि बाली थन्क्याउनसमेत सहज भएको दुधौली नगरपालिका–३ खुट्टेपानीका किसान लालबहादुर बोगटीले बताए । गाउँगाउँमा भित्रिएको मेशिनले खेती गर्न सजिलो बनाएको उनको भनाइ छ । ‘पैसा भएपछि खेती गर्न गाह्रो छैन, रोप्नदेखि उत्पादन भित्र्याउनसम्म’, उनले भने । गत वर्षदेखि जोत्न ट्र्याक्टर, धान र गहुँबाली थन्क्याउन थ्रेसरको प्रयोग गर्दै आइरहेका छन् उनी । त्यसअघि अर्मपर्म तथा जन लगाएर खेती गर्दै आएका थिए । जनले कामको स्तरअनुसार दिनको छ सयदेखि एक हजारसम्म ज्याला लिने गर्दथे । आफूले बटयामा कमाउँदै आएको एक बिघाको धानबाली गत सोमबार थ्रेसरले नै झारेको उनले बताए । ‘गाउँमा काम गर्ने खेताला पाउनै मुश्किल पर्छ । पाइहाले पनि ज्याला महँगो भन्छन् । मजदुरी लगाउँदा समय पनि धेरै लाग्छ’, उनले भने, ‘थ्रेसर लगाउँदा बिनाझन्झट धान ढिकुटीमा भित्र्याउन पाइयो ।’ मजदुरी लगाएर धान झार्न लामो समय लाग्ने तथा जनशक्ति धेरै आवश्यकपर्ने भएकाले मेशिनप्रति सबैको आर्कषण बढेको उनले बताए । थे्रसरले धान झार्न सजिलो भए पनि किसानले अलि महँगो शुल्क तिर्नु परेको उनको गुनासो छ । व्यक्तिपिच्छे फरकफरक मूल्य तीन हजारदेखि चार हजारसम्म तिर्नुपरेको उनले सुनाए । दुधौलीमा जसरी जिल्लाको कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका र मरिण गाउँपालिकाका किसानले पनि कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । बाटो भएका फाँटमा ट्र्याक्टरले जोत्ने र ठूलो थ्रेसर मेशिनले धान झार्ने गर्दछन् । कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवासका किसान कृष्णबहादुर लामिछानेका अनुसार धान झार्ने मेशिन अघिल्लो वर्षसम्म ठूला धान फाँटमा मात्रै प्रयोग हुन्थे । अहिले ट्र्याक्टर जाने बाटो भएका पाखाभित्ताका खेतमा समेत प्रयोग हुन थालेको छ । आफूले पनि एक बिघा खेतमा लगाएको धानबाली झार्न थ्रेसर मेसिनको प्रयोग गरेको किसान लामिछानेले बताए । एक घण्टा २० मिनेटमा ४० मुरी धान झारेर भित्र्याएको उनले सुनाए । कमलामाई नगरपालिका–४ च्याउकोटका भरत थापामगर चार वर्षयता जिल्लाको विभिन्न ठाउँमा गएर थ्रेसर मेशिनले धान झार्ने काम गर्दै आएका छन् । उनले सिजनमा धान झार्न भ्याइनभ्याइ हुने बताए । उनले थ्रेसर मेशिन तीन लाखमा किनेका हुन् । ‘घण्टाको तीन हजार लिएर धान झार्ने गरेको छु । विशेषगरी कात्तिक र मङ्सिर महिना बिहान–बेलुकासम्म धान झारेर फुर्सद मिल्दैन’, उनले भने । उनका अनुसार पछिल्लो समय जिल्लाका ५० प्रतिशत कृषक थ्रेसरको प्रयोगकर्ता भएका छन् । बाँकीले परम्परागतरुपमा खेताला लगाएर तथा अर्मपर्म गरेर धान भित्र्याउने गर्दछन् । सिन्धुलीमा सिराह, उदयपुर, सर्लाही, महोत्तरीका व्यवसायीसमेत धान झार्ने, जोत्ने कृषि प्रविधि लिएर आउने गरेका स्थानीयवासी बताउँछन् । जिल्लामा कुन र कति कृषि प्रविधि प्रयोगमा छन् भन्ने यकीन विवरण कुनै निकायसँगै छैन । कृषि प्रविधिको विस्तार भएकाले सुगम क्षेत्रमा परम्परागत खेती विस्तारै लोप हुने अवस्थामा छ । ट्र्याक्टर, थ्रेसरजस्ता कृषि प्रविधिले जोत्ने गोरु पहिला जसरी पाइन छाडेको किसान गौरव कार्कीले बताए । उनले भने, ‘कृषि प्रविधिको प्रयोगले काम छिटो, खर्च कम, समयको बचत हुन्छ । खेताला खोज्नुपर्ने झन्झट हुँदैन । यसै कारण सुगम क्षेत्रमा गोरु, हलो लोप हुँदै गएको छ ।’ बाटो नभएका ग्रामीण भेगमा पनि हाते ट्र्याक्टर, तथा हाते थ्रेसरलगायतका कृषि प्रविधिको विस्तार हुँदै गएको छ । यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले कृषकलाई अनुदानमा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस
माछापुच्छ्रे बैंकले १६ जिल्लाका २० ठाउँको घरजग्गा बेच्दै
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानको सम्पत्ति (घर/जग्गा) जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आफुले कबुल गरेको रकमको १० प्रतिशत रकम धरौटी राखेर सूचना प्रकाशित भएको मितिले १५ केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकले रुपन्देही, झापा, चितवन, मोरङ, कैलाली, गोरखा, महोत्तरी, सप्तरी, पाल्पा, धनकुटा, सिराहा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, धनुषा, तनहुँ र सल्यान लगायतका जिल्लाका विभिन्न स्थानमा रहेका जग्गा र उक्त जग्गामा निर्मित घर टहरा पनि बिक्री गर्ने जनाएको छ । रितपूर्वक पेश भएका बोलपत्रहरु १६ औं दिन अर्थात् पुस १ गते साढे १ बजे खोलिने छ ।
पोखरा उद्योग वाणिज्य सङ्घ : पोखराको समृद्धिको महत्वपूर्ण साझेदार
गण्डकी । जहानियाँ राणाशासनको अन्त्य भई २००७ सालमा स्थापित प्रजातन्त्रपछि पोखरामा स्थापित यहाँको पुरानो संस्था हो पोखरा उद्योग वाणिज्य सङ्घ । उद्योग व्यवसायीको हकहितका लागि स्थापित सङ्घ स्थापनायता निरन्तर यहाँको शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा साझेदार बन्दै आएको छ । तत्कालीन समयमा यहाँका व्यापारीले आफ्ना हक तथा अधिकारको संरक्षणका लागि २००८ सालमा स्व टेकबहादुर ढेवाजुको अध्यक्षतामा ३३ जना व्यवसायी सम्मिलित संस्था खोलिएको थियो । उक्त संस्थाले निरन्तरता पाउन नसके पनि उक्त प्रयासकै जगमा २०११ माघ २५ गते स्व अमृतप्रसाद शेरचनको अध्यक्षतामा पोखरा व्यापार सङ्घ विधिवत् स्थापना भएको हो । शेरचनको अध्यक्षतामा गठित अस्थायी समितिलाई २०१२ सालमा सु अन्ङ्गमान शेरचनको प्रयासबाट विधिवत् दर्ता भएको थियो । त्यही व्यापार सङ्घ अहिले पोखरा उद्योग वाणिज्य सङ्घका रुपमा क्रियाशील छ । पोखराका हरेक समाजिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सङ्घले त्यसयता यहाँको औद्योगिक विकाससँगै शिक्षा, स्वास्थ्य, रोजगार प्रवद्र्धन आदिमा विशिष्ट भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति बताउनुहुन्छ । सङ्घकै पहलमा २०३१ सालमा पोखरामा औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण गरेपछि तत्कालीन पोखरा व्यापार सङ्घले आफूलाई परिमार्जित गर्दै पोखरा उद्योग वाणिज्य सङ्घमा रुपान्तरित भएको हो । सङ्घको स्थापनासँगै व्यवसायीले पोखरा विमानस्थल अगाडि एउटा गोदाम घर निर्माण गरेका थिए । करिब १५ हजारको लागतमा निर्मित गोदाम घरमा विमानस्थलबाट आउने सामान थन्क्याउन थालिएसँगै सङ्घका गतिविधि बढ्दै गएका हुन् । व्यापार सङ्घ गठन हुँदादेखि नै यसले उद्योग व्यवसाय क्षेत्रको विकाससँगै शिक्षा, स्वास्थ्य, आवश्यक पूर्वाधार विकासमा जोड दिएको अध्यक्ष प्रजापतिले बताए । पोखरामा २०१७ सालमा पृथ्वीनारायण कलेज चलाउन सङ्घले तत्कालीन अवस्थामा मासिक एक हजार तथा पोखरा विमानस्थलबाट सङ्कलन हुने सेवा शुल्कबाट समेत सहयोग गर्दै गरेको प्रयासको जगले अहिले पोखरा शिक्षाको केन्द्र जस्तै बनिसकेको छ । विसं २०४८ मा वाणिज्य शास्त्रमा स्नातकोत्तरको कक्षा चलाउने निर्णय गरेका अवस्थामा तत्कालीन समयमा सङ्घले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । सङ्घकै एक लाख ३२ हजार रुपैयाँ सहयोगमा २०२८ सालमा बालमन्दिरको भवन निर्माण भएको थियो । बालमन्दिरका लागि सङ्घको सहयोग अहिले पनि जारी रहेको छ । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायीकरणका माध्यमबाट समृद्ध बनाउन सङ्घले ठूलो गुन लगाएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । सङ्घले २०४४ सालमा पोखरा बहुमुखी कलेज स्थापना गर्दा आवश्यकपर्ने तीन लाख रुपैयाँ धरौटीबापतको रकम सहयोग गरेको थियो । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वध्यक्ष आनन्दराज मुल्मी सङ्घले यहाँका हरेक शैक्षिक संस्थामा केही न केही योगदान गरेको बताउँछन् । पोखरा विश्वविद्यालयको स्थापनाका लागि सङ्घले गरेको पहल महत्वपूर्ण छ । देशमा २०४० सालयता बहुविश्वविद्यालयको अवधारणा भित्रिएसँगै पोखरामा विश्वविद्यालयको आवश्यकता बोध गर्दै सङ्घका तत्कालीन अध्यक्ष हेमबहादुर प्रधानको नेतृत्वको प्रतिनिधिमण्डलले २०४१ सालमा प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ध्यानाकर्षण गराएको थियो । विसं २०४३ मा सङ्घका तत्कालीन अध्यक्ष रामचन्द्र बाँस्तोलाको संयोजकत्वमा समिति गठनका साथै त्यसयता विभिन्न चरणका छलफल र सुझाव सङ्कलनका काम बढाइएको थियो । पोखरा विश्वविद्यालय सम्पर्क समितिले सोही जगमा टेकेर २०४३ कात्तिक ११ गते स्व राजा वीरेन्द्रसामु विश्वविद्यालय स्थापनाका लागि बिन्तीपत्र प्रस्तुत गरेको थियो । सङ्घको अध्यक्षमा मुल्मी निर्वाचित भएपछि उनकै अध्यक्षतामा २०४३ सालमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४६ मा राजाको पोखरा भ्रमणपछि विश्वविद्यालय स्थापनाका निम्ति सरकारलाई निर्देशन दिइएको थियो । विसं २०४७ मा सङ्घको अध्यक्षमा फणिन्द्रमान श्रेष्ठ निर्वाचित भएपछि उनकै संयोजकत्वमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४९ मा भएको बृहत भेलाले प्रस्तावित विश्वविद्यालयको नाम पोखरा विश्वविद्यालय राख्ने निर्णय ग¥यो । सङ्घका तत्कालीन अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा एक सय ६१ सदस्यीय मूल समिति गठन गरियो भने १३ सदस्यीय व्यवस्थापन समिति पनि गठन भयो । विभिन्न प्रयाससँगै २०५३ सालमा पोखरा विश्वविद्यालय विधेयक संसद्मा दर्ता भयो । विसं २०५३ मा नै सङ्घका तत्कालीन अध्यक्ष आजाद श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय तयारी समिति गठन भयो । विसं २०५३ मा संसद्को दशौँ अधिवेशनमा पोखरा विश्वविद्यालय ऐन २०५३ पारित भयो । विश्वविद्यालयको प्रथम उपकुलपतिको रुपमा प्राडा पुरुषोत्तम बस्नेत नियुक्त भए । त्यतिबेला विश्वविद्यालयको फर्निचर खरिदका लागि सङ्घले केही रकम सहयोग गरेको थियो । पोखरामा औद्योगिक क्षेत्रको स्थापनार्थ सङ्घको अगुवाइमा २०२७ सालदेखि विभिन्न प्रयास अघि बढाइएकामा २०३१ सालमा तत्कालीन पोखरा महानगरपालिका–१२ कुँडहरमा पोखरा औद्योगिक क्षेत्रको स्थापना भयो । पोखरा औद्योगिक क्षेत्रको स्थापनापछि यहाँका व्यवसायी क्रमशः उद्योग तथा व्यापारतर्फ आकर्षित हुँदै गए । पोखराको व्यावसायिक विकासका लागि विभिन्न संस्थासँगको प्रयासमा सङ्घले गरेका साझेदारीका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । पोखराको स्वास्थ्य क्षेत्रका लागि पनि महत्वपूर्ण योगदान गरेको सङ्घले पोखरामा मुटुरोग उपचार केन्द्र स्थापनादेखि यहाँका हरेक स्वास्थ्य क्षेत्रको विकासमा योगदान गरेको छ । पोखरालाई विश्वमाझ जोड्ने दीर्घकालीन लक्ष्यका साथ सङ्घले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै पहिलादेखि अग्रसरता देखाउँदै आएको छ । विमानस्थलका लागि २०३२ सालमा जग्गा अधिग्रहण भए पनि निर्माणको काम नबढ्दा सङ्घकै अगुवाइमा विभिन्न सङ्घर्षका कार्यक्रम गरिएको थियो । सङ्घकै अगुवाइमा विमानस्थल निर्माणका लागि दबाब दिने उद्देश्यले २०६१ असोज ६ गतेका सम्बद्ध सबै पक्षको उपस्थितिमा सम्पन्न भेलाले सङ्घका तत्कालीन अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सहयोग समिति गठन गरेको थियो । त्यसयताका विभिन्न चरणका छलफल अन्तक्र्रियासँगै सङ्घर्षका कारण अन्ततः पोखरा विमानस्थल निर्माण सम्पन्न भई यान्त्रिक उडानसमेत भइसकेको छ । विमानस्थल निर्माण हुनुपर्छ भन्ने सङ्घको अगुवाईसँगै २०४७ सालयता होटेल सङ्घ पोखराको पहलमा विमानस्थल सञ्चालनका अवस्थासम्म आइपुगेको होटल सङ्घ एवं पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विश्वशङ्कर पालिखेले बताए । उद्योग एवं व्यवसायको प्रवद्र्धनका लागि मेला औद्योगिक क्षेत्रको विकाससँगै व्यवसायको प्रवद्र्धनका लागि सङ्घले गर्दै आएको औद्योगिक व्यापार मेलालाई पोखरामा मात्र नभई देशमा नै महत्वका साथ हेर्ने गरिएको छ । यस वर्षको मेला समृद्धि स्टिल्सको मुख्य प्रायोजनमा हुन लागेको र यही मङ्सिर १६ देखि २५ गतेसम्म आयोजना हुन लागेको महासचिव बलराम आचार्यले बताए । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको अध्यक्ष प्रजापतिले बताए । ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यसमेत रहेको उनको भनाइ छ । सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार यस वर्ष हुने मेलाअन्तर्गत डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा कक्ष गरी करिब २५० कक्ष रहेका छन् । मेलाको आकर्षणका रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्रीवितरण रहेका छन् । सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला सङ्घले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान गरिने कार्कीले बताए । रासस