दुई इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकैदिन दुई कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले बिहीबार मात्रै प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को रोक्का रहेको सेयर कारोबार फुकुवा गरिदिएको हो । दुई वटै कम्पनीको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको हो । यससँगै सर्वसाधारण लगानीकर्ताले अब आइतबार (मंसिर १८ गते) देखि यी कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् । दुई वटै कम्पनी मर्जर प्रक्रियामा गएसँगै नेप्सले यी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । प्रिमियर इन्स्योरेन्स सिद्धार्थ इन्स्योरेन्ससँग र प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँग मर्ज हुने भएका छन् ।
म्याग्दीमा टिमुर टिप्न जर्मन प्रविधि भित्रियो
म्याग्दी । म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको थियो । बेनी नगरपालिका ९ को भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर टिप्ने मिल्ने सिकेचर र करौटी वितरण गरिएको छ । समूहका अध्यक्ष सागर बाँनियाले आधुनिक औजारले टिमुर टिप्न र काँटछाँट गर्न किसानलाई सहज, छिटो भएको र बिरुवा संरक्षणमा सहयोग पुग्ने बताए । ‘फल टिप्दा काँडाले घोचेर घाउ बनाउने समस्या थियो,’ उनले भने, ‘हाँगा काट्ने र बोटनै ढलाउँदा बिरुवा मासिने जोखिम बढेको थियो । यो औजार भएपछि काँडाबाट बच्न र बिरुवा जोगाउन सहज हुनेभएको छ ।’ जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेका ४० थान सिकेचर र करौटी लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालमार्फत् निःशुल्क उपलब्ध गराएको हो । इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराइएको बताए । ‘म्याग्दीमा टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सघाएका थियौँ,’ उनले भने, ‘अहिले ल्याएका औजार प्रभावकारी भयो भने थप ल्याउन पहल गर्छौँ ।’ इको हिमाल अस्ट्रियाका अध्यक्ष कुर्ट, इको हिमाल नेपालका कार्यकारी प्रमुख ढकाल, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बेनपा–९ का वडा सदस्य झलक विक र सारदा विकमार्फत् औजार वितरण गरेका थिए । बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत सापकोटाका अनुसार हाल वार्षिक करिब ६ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुन्छ । केही वर्षअघि वन डिभिजन कार्यालयले भूमेसिद्ध किसान समूहलाई टिमुर प्रशोधनका लागि दश लाख रुपैयाँँ मूल्य बराबरको औजार उपलब्ध गराएको थियो । फूल खेल्ने समयमा परेको असिनाले यसपाली टिमुर उत्पादनमा कमी आएको किसानले बताएका छन् । म्यादीमा उत्पादन भएको टिमुर बेनी, पोखरा, काठमाडौँ, नारायणघाटलगायत बजारका साथै तिब्बत, जापान, बेल्जियम र कोरियामा निकासी हुन्छ । टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र वास्नादार टिमुर प्रतिकिलो दुई हजार पाँच सयदेखि चार हजार रुपैयाँका दरले बिक्री हुन्छ । बेनी नगरपालिका–९ धुपीबोटकी रसिला परियारले गत वर्ष १४ केजी टिमुर दुई हजार पाँच सय रुपैयाँका दरले बिक्री गरेको बताए । विगतमा असोज कात्तिकमा टिमुर टिप्ने उनले यसपाली पकाएर मङ्सिर लागेपछि मात्रै टिप्न थालेको बताए । वार्षिक २० केजीको हाराहारीमा टिमुर उत्पादन गर्ने धुपीबोटकी रैमति परियारले पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारको रुपमा लगाएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको बताए । रासस
ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । बिहीवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने जोड दिए । कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयात शुल्क छुट गर्नुपर्ने उनले माग राखे । त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाई छ । त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्नेमा उनले जोड दिए । कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयहरुको व्यवस्था हुनुपर्ने उल्लेख गरे । उनले भने – ‘हामीले केही नीतिगत कुराहरु अघि सारेका थियौँ । निर्यातजन्य ललितकलासँग सम्बन्धित बस्तुहरुको निर्यातमा सुविधामा सुधार गर्ने । कला, सिर्जनाका लागि आवश्यक रङ, ब्रस, यन्त्र तथा अन्य सामानहरुको आयातमा भन्सार शुल्क र कर छुट दिने । नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद विक्रीमा बजार व्यवस्था लिलामी प्रणाली अपनाउन र प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्ने । सातै प्रदेशमा कला गतिविधि हुनु र क्षेत्रिय कला प्रदर्शनी र प्रतियोगिता गराई छनौट भएका कलाकृतिहरु राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउने व्यवस्था गर्न र क्षेत्रहरुमा प्रतिष्ठानका शाखाहरुको व्यवस्था हुनुपर्ने । अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रिय गतिविधि हुनुपर्ने । संग्रहालय, ग्यालरी, संस्था, प्रतिष्ठान आदीको अध्ययन, अनुसन्धान हुनुपर्ने । राष्ट्रिय, अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा उच्च योगदान दिने कलाकारहरुलाई उच्च मूल्यांकन गरी उच्चस्तरको पदक तथा पुरस्कारको व्यवस्था हुनुपर्ने । ललितकला र पर्यटकीय विकासका निमित्त एउटा वृहत कलाग्रामको स्थापना हुनुपर्ने । यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताए । उनले ललितकला र पर्यटकीय विकासका निम्ति वृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिए ।
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिए । ‘कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो’, उनले भने । नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताए । छ/सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसङ्ग पनि उनले स्मरण गरे । प्रधानमन्त्री देउवाले भने, ‘अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।’ प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे । यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उनले जोड दिएका थिए । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिए । यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउँदै उनले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस
काठमाडौंको भृकुटीमण्डपमा चार दिने ‘फिन इलेक्ट्रो टेक’ हुँदै, ७५ वटा स्टल राखिने
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना गर्ने भएको छ । महासंघले मंसिर २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा उक्त टेकको आयोजना गर्न लागेको हो । फिन इलेक्ट्रो टेक २०२२ मा हल भित्र ४९ वटा ब्लकहरु र हल बहिर २६ वटा स्टलहरु गरि जम्मा ७५ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामा वायर केबल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरु, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामाग्रीको प्रदर्शन गरिनेछ । इलेक्ट्रो टेकको यस संस्करणमा राठी स्विच एण्ड केबल टाइटल स्पोन्सर रहेको छ। यसै गरी प्लाटिनम स्पोन्सरमा महालक्ष्मी बायर एण्ड केवुल प्रा. लि. (महालक्ष्मी केबुल) रहेको छ भने डाइमण्ड स्पोन्सरमा मित्तल ओभरसिज प्रा. लि. (ग्रेट ह्वाइट) र उग्रतारा मल्टी सोलुसन प्रा. लि. (एच.पि.एल) रहेका छन् । त्यस्तै, गोल्ड स्पोन्सरमा एन. जि. इलेक्ट्रिकल्स प्रा.लि. (इलेक्ट्रा इलेक्ट्रिक), जानकी केबल इन्डस्ट्रिज प्रा. लि. (जानकी केवल), वेलकम टेक्नोल प्रा.लि. (लिशा स्विच) र ट्रान्सवेल्ड नेपाल प्रा. लि. (ट्रान्सवेल्ड ट्रान्सर्फमर) रहेका छन् । यसै गरी बैंकिङ्ग पार्टनरमा एनआईसी एशिया बैंक, अफिसिएल इन्सुरेन्समा सिद्धार्थ इन्स्योरेन्स लि, अफिसिएल कार्गोमा एस के बी कार्गो सर्भिसेज रहेका छन् । त्यस्तै कार्ड स्पोन्सरमा स्टारसिड टेक्नोलोजी प्रा.लि. रहेको छ । उक्त कार्यक्रम इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तराष्ट्रिय स्तरको वृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण राठी स्वीच एण्ड केवलद्वारा प्रायोजित हो । मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान उक्त इलेक्ट्रो टेक आयोजना हुन लागेको हो । त्यस्तै, ‘नेपालको समृद्धि उर्जा खपत अभिवृद्धि’को नारासाथ हुन लागेको उक्त कार्यक्रमले उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रबर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरु बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ । उद्योगी, व्यवसायी एवम् उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधि भर सञ्चालन गरिने नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यालले बताए । फिन इलेक्ट्रो टेक प्रदर्शनी २/२ वर्षमा हुँदै आएको छ । तर, कोभिड-१९ लगायतका विभिन्न कारणले गर्दा समय प्रदर्शनी गर्न नसकेको पनि संघले बताएको छ । देशमा उत्पादन भएको जलविद्युतलाई आफैले उपयोग गर्नुपर्ने पौड्यालले जोड दिए । यस प्रदर्शनीको अवलोकन गर्न चाहनेहरुको लागि भोलिबाट अग्रिम बुकिङ खुल्ला हुँदै छ । महासंघका अनुसार टिकट खल्ती एकबाट काट्न सकिनेछ । सो एक्सपो अवलोकन गर्नको लागि एक सय रुपैयाँ शुल्क लाग्ने पनि पौड्यालले बताए । उनका अनुसार विद्यार्थीको लागि भने ५० रुपैयाँ लाग्ने छ । खल्ती एपबाट टिकट काट्दा २० रुपैयाँ क्यासब्याक आउँछ । महासंघले उक्त प्रदर्शनी अवधिभर ६० हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास पनि महासंघले लिएको छ । ‘पेट्रोलियम पदार्थको आयतलाई बिस्तारै कम गर्नु पर्छ, हामीले इन्डक्सन चुलो पनि सरकारसँग सहुलियत दरमा उपलब्ध गराउनु पर्छ, बाहिरबाट ल्याए भन्सारमा छुट, नेपालमा नै बन्ने भयो भने पनि उद्योगहरूलाई सहुलियत दिएर भए पनि यसलाई प्रमोट गर्नुपर्छ भनेर भनी रहेका छौं,’ उनले भने । प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रको पनि उपस्थित रहने छ । अहिले इलेक्ट्रिकल मार्केट एक खर्ब ५० अर्ब रहेको पनि पौड्यालले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभाको तथ्याङ्क अनुसार एक खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।
समानुपातिक मतमा एमालेको अग्रता , दोस्रो कांग्रेस
काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि छ । हालसम्मको एक करोड दुई लाख ८२ हजार सात सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार आठ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख सात हजार आठ सय ३१, नेकपा माओवादी केन्द्रले ११ लाख ५७ हजार चार सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार सात सय ६३ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८२ हजार आठ सय ७५, जनता समाजवादी पार्टी नेपालले चार लाख १९ हजार चार सय ५७, जनमत पार्टीले तीन लाख ९३ हजार एक सय ७४, नेकपा ९एकीकृत समाजवादी० ले दुई लाख ९३ हजार छ सय २९, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६९ हजार एक सय ७० मत प्राप्त गरेको छ । प्रदेशसभाअन्तर्गत प्रदेश नं १ मा एमालेले छ लाख ३२ हजार सात सय चार, कांग्रेसले पाँच लाख ३२ हजार आठ सय ४५, राप्रपाले एक लाख ९१ हजार सात सय ७१ र माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१ मत प्राप्त गरेको छ । मधेसमा कांग्रेसले तीन लाख ९९ हजार पाँच सय ८९, एमाले तीन लाख ५१ हजार दुई सय ८४, जनमत पार्टीले तीन लाख २४ हजार तीन सय ३३, जसपा नेपाल एक लाख ९६ हजार तीन सय ४०, माओवादी केन्द्रले एक लाख ८० हजार एक सय चार, एकीकृत समाजवादीले एक लाख १३ हजार पाँच सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १२ हजार तीन सय ४४ मत प्राप्त गरेको छ । बागमतीमा एमालेले पाँच लाख ५४ हजार छ सय ६२, कांग्रेसले चार लाख ६३ हजार पाँच सय २८, माओवादी केन्द्रले दुई लाख ६९ हजार दुई सय ५४ र राप्रपाले दुई लाख ६६ हजार सात सय ४२ तथा गण्डकीमा एमालेले तीन लाख ४२ हजार आठ सय ७२, कांग्रेसले तीन लाख १९ हजार चार सय नौ र माओवादी केन्द्रले एक लाख १५ हजार चार सय आठ मत प्राप्त गरेको छ । लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ । कर्णालीमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, कांग्रेसले दुई लाख ४३ हजार ३९ र माओवादी केन्द्रले एक लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेको छ । रासस
आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छु : मन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने जानकारी दिए । उनले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताए । मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताए । जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ । त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु । र उहाँहरुको विश्वासलाई म घात गर्नेछैन । यहाँका आदरणीय दिदीबहिनी, दाजुभाइहरू जसले मलाई दोस्रो पटक निर्वाचित गरेका छन् । उनीहरुसँग पनि म प्रत्यक्ष संवाद गरेर भएका समस्याहरुलाई निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु । म पाँच वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु’, उनले भने । मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे । मन्त्री कार्कीले कुसियैतलाई ११२ मतान्तरले पराजित गरे । सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गरे छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १८१ मत प्राप्त गरे ।
नोभेम्बर महिनामा ७० हजार भन्दा धेरै पर्यटक नेपाल आए
काठमाडौं । गत नोभेम्बर महिनामा ७० हजार भन्दा धेरै पर्यटक नेपाल आए । हवाइजहाजको माध्यम प्रयोग गरी नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । विगतका वर्षहरुको तुलनामा चालु आर्थिक वर्षमा नेपालमा बाह्य पर्यटकको आगमनमा सुधार हुँदै गएको बोर्डको तथ्यांकले देखाएको छ । बोर्डका सूचना अधिकारी मणिराज लामिछानेका अनुसार पर्यटकको आगमनमा सन् २०१९ को तुलनामा ५५ प्रतिशत सुधार भएको छ । उनका अनुसार सन् २०२१ को नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक आएका थिए भने सन् २०२० मा जम्मा १ हजार ९ सय ५६ जना आएका थिए । सन् २०२२ को जनवरीदेखि नोभेम्बर महिनासम्ममा ५ लाख ४६ हजार २ सय १६ जना पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ । नेपालमा आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् ।