काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए ।
गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताए । उनले उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति फिर्ता भने हुन नसक्ने संकेत गरे । गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्नका लागि राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए ।
उनले चालु पुँजी कर्जा नीतिका विषयमा सबै सरोकाबारवालाहरु वहस गर्न तयार रहेको भन्दै सरोकारवालाहरु भने अनुशासनमा बस्नुपर्ने बताए । उनले राष्ट्र बैंकले लामो छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएको बताए । उनले संविधानमा व्यवस्था भएका नीति समेत संशोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने विषय नभएको बताए । त्यस्तै, अर्थतन्त्र कहाँ गइरहेको छ ? भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको बताउँदै गभर्नर अधिकारीले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने जनाए । उनले आयात रोक्दा राजश्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैँ रोकेर साध्य पनि नहुने बताए ।
गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रुपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए । उनले पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको बताए । तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजिरहेको बताउँदै गभर्नर अधिकारीले अर्थतन्त्रमा अझै केही समस्या रहेको स्वीकार गरे । उनले मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणले अर्थतन्त्रमा दबाब रहेको बताए । गभर्नर अधिकारीले दक्षिण एशियाली मुलुक भारत बाहेक अन्य मुलुकहरु भन्दा नेपालको अर्थतन्त्र राम्रो रहेको बताए । राष्ट्र बैंकलाई करिब अडाई खर्बको विदेशी मुद्रा सञ्चिति गर्न ५५ वर्ष लागेकोमा पछिल्लो एक वर्षमा नै २.३४ अर्बको विदेशी मुद्रा गुमाउनुपरेको बताउँदै उनले राष्ट्र बैंकले लिएका नीतिका कारण पछिल्लो ३ महिनामा गत वर्षको तुलनामा १ खर्ब शोधनान्तर स्थितिमा सुधार भएको बताए । उनले बजारमा देखिएको तरलता अभाव बिस्तारै सुधार हुँदै जाँदा उच्च रुपमा वृद्धि भएको ब्याजदरमा करेक्शन हुने विश्वास लिएको बताए ।
‘नेपालको अर्थतन्त्र राष्ट्र बैंकको तथ्याङ्कबाट देख्दैनौं । नेपालको मूल्यवृद्धि ८.५ प्रतिशत रहेको छ । दक्षिण एशियाली मुलुकहरु मध्येमा राम्रो अर्थतन्त्र रहेको मुलुकमा रहेका छौं । भारतभन्दा अन्य देशहरुको अर्थतन्त्रमा समस्या देखिएका छौं । भारतको अर्थतन्त्रमा देखिएको स्थायीत्व राजनीतिक स्थायीत्व पनि हो । नेपालमा राजनीतिक अस्थिरता नहुँदा हुँदै पनि अर्थतन्त्र नराम्रो छैन । तर अर्थतन्त्रमा केही नराम्रा पक्षहरु छन् । पछिल्लो एक वर्षदेखि वाह्य क्षेको दबाबमा रहेका छौं । हरु अपनाइयो । केही वस्तुहरुको आयातमा प्रतिवन्ध पनि लगाइयो । राष्ट्र बैंकले आयात गर्न मार्जिनकोसमेत व्यवस्था गर्यो । त्यसको असर स्वरुप पछिल्लो ३ महिनाको तथ्याङ्क हेर्दा १२ अर्बको शोधानान्तर स्थितिमा वचत हुन गयो । गत वर्षको यही अवधि हेर्दा ८८ अर्ब रुपैयाँ शोधानान्तर घाटा थियो । अहिले १२ अर्ब वचत हुँदा तीन महिनाको उपलब्धी हेर्दा १ खर्ब गत वर्षको तुलनामा सुधार भएको अवस्था छ । यो सुधारले बजारमा तरलताको चरम अभाव थियो । त्यो तरलता कम गर्न राष्ट्र बैंकले ९७ खर्ब बजारमा पठायौं । यो वर्ष शोधनान्तर वचत सुधार भएमा गत वर्षको जति बजारमा पैसा दिन नपर्ने हुनसक्छ । बिस्तारै अहिले बजारमा देखिएको तरलता सहज हुँदै ब्याजदरमा भएको वृद्धिलाई बजारले नै करेक्शन गर्ने आशामा छौं ।’ उनले भने ।
कोरोना महामारीको क्रममा दिइएको सहुलियतका साइट इफेक्टहरु अहिले अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको भनाई छ ।