समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ३१ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे सम्पुर्ण बैंकिङ काराेबार नेपाल बैंकबाट हुने
काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्ड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पुर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने भएको छ । उक्त सम्झौतामा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गरेका थिए । नेपालभर २२६ शाखाहरु, १९९ ए।टि।एम। साथै ५० एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।
एससिटिको क्युआर मार्फत बीग डिजिटलमा भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाइने
काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्राप्त हुने भएकाे छ । मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्नेछन् । साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १ हजारसम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउने कम्पनीले जनाएकाे छ ।
नेपालको खेतीयोग्य जमिनको ५० प्रतिशत माटो अम्लिय
काठमाडौं । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको देखिएको छ । ‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ । यसैगरी नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागका महानिर्देशक डा रेवतीरमण पौडेलले जानकारी दिए । फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ । पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको उनले बताए । गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्यता बिग्रन्छ । रासस
एसपीए कलेज : जसले जन्माइरहेको छ बैंकर
धनगढी । पछिल्लो समय आम–युवाहरुको रोजाइको विषय बनेको छ प्रति बैंकिङ पेशा । आकर्षक तलब सुविधा र आम जनमासनप्रतिको हेर्ने दृष्ट्रिकोण पनि उच्च रहेकै कारण पनि धेरैको रोजाइको विषय बनेको छ बैंकिङ । तिनै बैंकर बन्न चाहनेहरुको सपना पुरा गर्न लागेको छ कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम एकेडमी (एसपीए) कलेज । अहिले एसपीए कलेजका विद्यार्थी नेपाली अधिकांश वाणिज्य बैंकहरुमा कार्यरत छन् । चित्रान्जन चन्द मेघा बैंक धनगढी शाखामा सिनियर असिस्टेन्टका रुपमा रिलेसनसिप अफिसर पदमा कार्यरत छन् । उनी एसपीए कलेजबाट स्नातक (२०७१) र स्नातकोत्तर (२०७५) पासआउट हुन् । आफ्नो करिअर विकासमा कलेजको भूमिका अहम रहेको उनी बताउँछन् । शिक्षकहरुको गाइडेन्स र मेहनतले आफूले बैंकिङ करिअर पूरा गर्न पाएको उनले बताए । ‘करिअर सेपअप गर्न कलेजको भूमिका महत्वपूर्ण रह्यो,’ उनले भने, ‘हामीलाई तयारी गर्ने क्रममा आवश्यक सुझाव सल्लाह देखि कलेजमा आवश्यक पर्ने सबै विषयहरुमा सरहरुले सहयोग गर्नुभयो ।’ यस्तै एसपीएका पूर्व विद्यार्थी दीपेन्द्र अवस्थी राष्ट्रिय वाणिज्य बैंकमा सहायक प्रबन्धक पदमा कार्यरत छन् । उनी जस्तै धनगढी हरेकजस्तो बैंकमा एसपीएका विद्यार्थीहरु कार्यरत छन् । धनगढीमा मात्रै दुई दर्जन बढी विद्यार्थीहरु विभिन्न बैंकमा कार्यरत रहेका छन् । ग्लोबल आईएमई बैंकमा गणेश बहादुर खडायत, नेपाल बैंक लिमिटेडमा कुशल खड्का, राष्ट्रिय वाणिज्य बैंकमा मनिषा जोशी, पूर्णसिंह ऐर सिद्धार्थ बैंकमा, कृष्णा जोशी कुमारी बैंकमा कार्यरत छन् । त्यसबाहेक चक्र कुन्जेडा र महासिंह कुन्जेडा कृषि विकास बैंक, शान्ति जोशी र महेश्वरा बोहरा नेपाल बैंक लिमिटेड, तेजु रोकाया सिभिल बैंक, हेम रोस्यारा एभरेष्ट बैंक, लक्ष्मी महतरा एनआईसी एसिया, अनिल शाही एनसीसी बैंकमा कार्यरत छन् । उनीहरुसँगै दिनेश ओझा ग्लोबल आईएमई बैंक, सुनिल पडाल सिद्धार्थ बैक, हरी बुढा कृषि विकास बैंक, श्वेता थापा एभरेष्ट बैंक, आश्मा श्वार नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत छन् । त्यसबाहेक एसपीएमा विद्यार्थीहरु दिव्या अधिकारी, हेमराज ओझा, ललित भट्ट, राहुल अहिर, सुदीप जोशी, कैलाश भण्डारी, शम्भु अवस्थी, बसन्ती भण्डारी पनि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् । एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले धनगढी तथा आसपासका बैंक तथा वित्तीय संस्थाहरुमा पाइलापिच्छे एसपीएका विद्यार्थी भेटिनु संस्थाका लागि गर्वको कुरा भएको बताए । ‘म यहाँका जुनसुकै बैंकमा गएपनि हाम्रा विद्यार्थीहरु भेटिनुहुन्छ । हार्दिकभावले प्रस्तुत बन्नुहुन्छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितताका लागि काम गरिरहेको छ । त्यसैको उदाहरण यो हो ।’ बैंक तथा वित्तीय संस्थासँगसँगै एसपीएका बीएचएमका विधार्थीहरु दुबई, बहराईन, भारतलगायत नेपाल विभिन्न फाइभस्टार होटेलहरुमा कार्यरत छन् । त्यसबाहेक यहाँका शैक्षिक संस्थाहरुमा एसपीएमै बीएड र एमएड गरेको शिक्षकहरु, सरकारी कार्यालयमा एसपीएका विद्यार्थीहरु भेटिनु संस्थाका लागि गर्वको कुरा भएको उपाध्यायले बताए । एसपीएले आफ्ना विद्यार्थीहरुलाई पढाईसँगसँगै करिअर अघि बढाउन नबिल एसईई कार्यक्रम लागू गरेको छ । नबिल बैंकसँगको सहकार्यमा विद्यार्थीहरुलाई उद्यमशील बनाउँन उक्त कार्यक्रम लागू गरिएको हो । यस्तै, विद्यार्थीहरुलाई रुचि अनुसारका क्षेत्रमा सहयोग गर्ने उदेश्यले कलेजले विभिन्न १५ वटा क्लबहरु गठन गरेको छ । भविष्यमा आफ्नो करिअर अगाडि बढाउँन चाहने विद्यार्थीहरु आफ्नो रुचिअनुसारको क्लबमा आवद्ध हुन सक्छन् । क्लबमा आवद्ध विद्यार्थीहरुका लागि कलेजले उनीहरुको प्रकृति अनुसारको प्रशिक्षण, सेमिनारको व्यवस्था गरिदिने गरेको छ । झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ ।
गोकर्णेश्वरका राजु गुरुङ चोरी मुद्दामा पाँचौंपटक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । तामाङ यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा रु २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन् । प्रहरीले पक्राउ तामाङसँग एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चास सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ । पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।
फर्ष्ट माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, बोनस कति ?
काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
‘१८ लाखमै इको प्यानलको आकर्षक घर बनाउन सकिन्छ, आरसीसीभन्दा कम छैन’
हामी करोडौं रुपैयाँ लगानी गरेर घर बनाउँछौं । तर, भने जस्तो घर भएन भनेर गुनासो गरिरन्छौं । लागत कम । हेर्नमा चिटिक्क । भूकम्प प्रतिरोधी । घर बनाउनेलाई चाहिने विषयहरु यस्ता–यस्तै हुन् । घर बनाउँदा निर्माण सामाग्री नै मजबुद चाहिन्छ । तर, लागत नै बढी भएपछि कतिपयले आकर्षक घर बनाउने सपना पनि सपनामै सीमित राख्छन् । तर, मान्छेहरुका यी र यस्तै समस्याहरुको सम्बोधन गर्ने उद्धेश्यका साथ नेपाल इको प्यानल कम्पनीको स्थापना भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णभक्त दुवाल बताउँछन् । पेशाले इञ्जिनियर समेत रहेका दुवालसँग विकासन्युजका राजिव न्यौपानेले कम्पनीले गर्दै आएको काम, इको प्यानलबाट बनेका घरको दीगोपन लगायतका विषयमा कुराकानी गरेका छन् । सुरुमा नेपाल इको प्यानलको विषयमा बुझौं, के हो इको प्यानल ? आम सर्वसाधारणले यसलाई कसरी बुझ्ने ? नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने नयाँ निर्माण सामग्री हो । यसलाई परम्परागत निर्माण सामाग्रीको वैकल्पिक उपाय पनि भन्न सकिन्छ । यस प्यानलको निर्माण गर्ने प्रक्रियामा स्वच्छ ऊर्जा प्रयोग हुने भएकाले यसलाई इको प्यानल भन्छौं । हामीले निर्माणको लागि चाहिने आवश्यक सामग्रीहरू उत्पादन गर्दै आएको छौं । यो छिटो निर्माण हुने र कम लागतमा तयार हुन्छ । हेर्दा आकर्षक र सुन्दर देखिने हुँदा प्रयोगकर्ता माझ घर बनाउन यसको माग बढ्दो छदैछ । यो प्यानलको भित्री भागमा राखेको फर्मले तातो चिसो दुवैको अग्रतालाई कायम गर्छ, जसले गर्दा जाडोयाममा न्यानो र गर्मी मौसममा व्यापक गर्मी हुनबाट रोकिन्छ, जुन थर्मल इन्सोलेशन गरेको हुन्छ । प्यानल भनेको निर्माण सामग्री हो । जुन, हलुका र भूकम्प प्रतिरोधी हुन्छ । यसको विशेषता, गुणस्तर र लागतलाई मध्यनजर गर्दै नेपाल इको प्यानललाई रोज्न सकिन्छ । इको प्यानल सर्वसाधारणको रोजाइमा कत्तिको परेको छ ? एउटा व्यक्तिले इको प्यानलको घर बनाउँछु भनेर योजना बनायो भने लागत कति पर्छ ? इको प्यान वाल मेटरियल मात्र हो । तपाईले एक करोड रुपैयाँ लगाए घर बनाउँदै हुनुहुन्छ । त्यसमा लगभग २० लाख रुपैयाँको रकम इँटा खर्च हुन्छ । ८० लाख रुपैयाँ ज्याला, रङ, सिमेन्ट लगायतमा खर्च होला । इँटा राख्ने ठाउँमा नेपाल इको प्यानल राखेर घर बनाउँनु भयो सो रकम भन्दा कम मूल्यमा आकर्षक घर बनाउन सक्नु हुन्छ । आजका दिनमा आरसीसी घर बनाउँदा एक वर्ग फिटको ४ देखि ४२ सयसम्म पर्ला । तर, हामीले नेपाल इको प्यानको प्रयोग गरी एक स्क्वायर फिट ३ हजारसम्ममा बनाउन सक्छौं । यो प्यानलको प्रयोग गरी लगभग १८ देखि १९ लाख रुपैयाँ सम्ममा एउटा घर बनाउन सकिन्छ । इको प्यानलको माग कस्तो छ ? इको प्यानको माग बढ्दो छ । कंक्रिटो संरचनामा पनि किन गह्रुङ्गो इट्टाको वाल लगाउने भन्ने सोचको विकास हुँदै गएको छ । त्यसैले माथिल्लो तलामा कोठा थप्नुपरेमा पनि आम नागरिकलाई इको प्यानको छनोट गरी प्रयोग गरेको पाइन्छ । म आफै पनि इको प्यानको व्यापारमा सन् २०१४ देखि छु । नेपाल इको प्यानलबाट गत वर्ष मात्रै प्रोडक्सन सुरु गरेका हौं । छोटो समयमा नै हामीले पूर्वको कन्यामदेखि पश्चिमा धनगढी लगायतका विभिन्न ठाउँमा पूर्याएका छौं । यस प्यानको माग पनि अहिले मेजर सिटीहरूमा बढी नै छ । सबै ठाउँको लागि यो प्यानल उपयुक्त हुने भएकाले पनि यसको माग बढेको हो । इको प्यानको भाडादर पनि कम छ । मुगुको रारासम्म एउटा इँटा पुर्याउदा प्रति केजी २५ रुपैयाँ भाडा लाग्छ । त्यो ठाउँमा इको प्यानल लाने हो भने भाडा दर कम हुनुका साथै पुर्याउन पनि सहज हुन्छ । अहिले सम्म नेपाल इको प्यानलबाट कति वटा घर बने ? एक वर्षको अवधिमा हामीले थुप्रै पार्टी प्यालेस, हल, आर्मी क्वाटर, स–साना होटल, हस्पिटल, स्कुल आदिका संरचनाहरू यस प्यानलबाट निमार्ण गरिसकेका छौं । कमलादीमा निर्माण भइरहेको स्काईवाक टावरमा पनि यस इको प्यानलको प्रयोग हुँदैछ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इको प्यानलबाट ४० वटा संरचनाहरू बनायौं । चालू आर्थिक वर्षको अहिलेसम्म १५ वटा संरचनाहरू निर्माण भइसकेका छन् । नयाँ संरचनाको कामहरू पनि अहिले विभिन्न ठाउँमा भइरहेको छ । हाम्रो इको प्यानल ५÷६ वटा बिगमार्टमा प्रयोग भइसकेको छ । केही समय अगाडिदेखि कन्याममा सञ्चालन आएकोे स्काईवाक टावरको नजिकै कम्प्लेक्स बनिरहेको छ । सो कम्प्लेक्समा पनि प्यानलको प्रयोगबाट केही संचना बन्दै छन् । प्रोजेक्ट लिँदै काम गर्दै जाने हो । काम निरन्तर छ । बजारमा इट्टा तथा कंक्रिटका घर बनाउनेहरुको संख्या बढ्दो छ, कंक्रिटबाट बनेको घर भन्दा प्यानलबाट बनेका घर पनि टिकाउ र गुणस्तर हुन्छ भनेर आम नागगिरकलाई कसरी विस्वत बनाउन सक्नु हुन्छ ? हामी कंक्रिटका घर पिलर हालेर तयार पार्छौं । २० वटा पिलर हालेर बनाएको आरसीसी घरको एउटा पिलर बिग्रिए भने, घरलाई नै असर पुर्याउन सक्छ । तर, स्टिलको संरचना राखेर प्यानल प्रयोग गरेर बनाएको घर तपाईको आँखाले यसको जडान कस्तो छ भनेर हेर्न सक्नु हुन्छ । यसलाई मजबुद बनाउनको लागि यस इन्जिनियरहरुले निकै डिजाइ गरेर नक्साहरु बनाएका हुन्छन । आवश्यक पर्यो भने घरलाई अन्य ठाउँमा पनि सार्न सकिन्छ । आरसीसी घर जस्तै प्यानलबाट बनेको घर पनि मजबुद हुन्छ । नेपाल इको प्यानले बजारमा सेवा गर्न थालेको एक वर्ष भइसकेको छ, कतिपय कम्पनीले भविष्यमा पब्लिकमा जाने पनि इच्छा देखाउँछन्, यस विषयमा केही सोच्नु भएको छ ? अहिले नै पब्लिकमा जाने सोच बनाएका छैनौं । तर, पब्लिकमा जादैनौं भन्ने पनि हैन । केही वर्षपछि जानु पर्छ । नेपाल इको प्यानलाई एउटा ठूलो कर्पोरेट हाउसको रूपमा विकास गर्ने हो । कुनै दिन पब्लिकमा गएर आइपीओ पनि निकाल्न सक्छौं । त्यसको लागि समय लाग्छ । तपाईंसँग इको प्यानलमा काम गरेको लामो अनुभव छ, तपाईं पेशाले इञ्जिनियर, इको प्यानलको घरप्रति सर्वसाधारणको बुझाइ कस्तो पाउनु भएको छ ? भूकम्प पछि प्रिफेबको घरको बेइज्जत भएको छ । त्यतिखेर सञ्चार माध्यमहरूमा २/३ लाखमा नै घर बन्छ भनेर विज्ञापन आयो । सस्तो हुने बित्तिकै प्रिफेबका घरमा लात्ताले हान्दा पनि प्वाँल पर्छ भन्ने मान्छेमा मनस्थिति भयो । अहिले हामीले त्यो मनस्थितिलाई चिर्दै आएका छौं । इको प्यानलबाट बनेको घर पनि आरसीसी भन्दा कम छैन भन्ने विश्वास आम नागरिकमा दिलाउन सफल भएका छौं । प्यानलले बनाएको घर जस्तै मजबुद हुँदो रहेछ भन्ने कुरा चाहिँ भएको छ । अहिले चाहिँ मान्छेहरूले यसको विषयमा बुझ्न थालेका छन् । आगामी दिनमा नेपाल इको प्यानल कसरी अगाडि बढ्छ, भावी योजनाहरू के-के छन् ? अहिले हामी विभिन्न ठाउँमा काम लिएर प्यानलका संरचनाहरू बनाउने काम गरिरहेका छौं । हाम्रो एउटा फ्याक्ट्रीबाट प्यानलको उत्पादन हुँदै आएको छ । डिलर भने देशका विभिन्न ठाउँमा छन् । यहाँ उत्पादन गरेर मात्र विभिन्न ठाउँमा पुर्याउन सक्दैनौं । सोही कुरालाई मध्यनजर गर्दै अर्को नयाँ फ्याक्ट्रीको स्थापना गर्ने सोच बनाएका छौं । अहिले टुङ्गो नभए पनि चितवन वा सिराहामा सो फ्याक्ट्रीको स्थापना गर्ने योजनामा छौं ।