प्रभु क्यापिटलमा वैदेशिक रोजगारमा रहेकाले नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोल्न सक्ने
काठमाडाैं । प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने उदेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले आइपिओ जारी गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले यो योजना ल्याएको जनाएको छ । क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ । यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोल्न सक्ने क्यापिटलले जनाएकाे छ । व्यक्तिले अनलाइन रिक्वेष्ट गर्दा भिडियो केवाइसी छनौट गरी आफू अनुकूल समयमा अपोइन्टमेन्ट लिई सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ ।
जाजरकोटवासीले झोलुङ्गे पुल माग्दा बित्यो १५ वर्ष
जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन । तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशमबहादुर खड्काले बताए । लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ । खोला पार गर्न खोज्दा २०७५ सालमा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईंको मृत्यु भएको थियो । यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काको भनाइ छ । ‘विसं २०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो । त्यसपछि सांसदहरुलाई पनि पुलका लागि जानकारी गराएका थियौँ’, उनले भने, ‘गाउँपालिकाले छ वर्षदेखि निरन्तर नीति कार्यक्रमयसलाई समेटेको छ तर कार्यान्वयन भने भएको छैन ।’ खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोदकुमार शाहीले बताए । उनले भने, ‘पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै एक घण्टा बढी हिँड्नुपर्छ । बाटो अप्ठ्यारो भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन् ।’ व्यापारी पदमबहादुर बुढाले पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको बताउँछन् । खोलामा पानीको वहाव बढी भएको समयमा सामान नै ढुवानी गर्न नसकिने उनको भनाइ छ ।
संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?
काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षेत्र नं १ मा मतगणना जारी छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार हालसम्म नेपाली कांग्रेस ५५ स्थानमा विजयी भई ठूलो दल बनेको छ । नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात र लोकतान्त्रिक समाजवादी पार्टी चार स्थानमा विजयी भएका छन् । यस निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक स्थान तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । मतगणना चलिरहेको स्याङ्जा र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् । आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट विश्वप्रकाश शर्मा, दीपक खड्का, सीता गुरुङ, डिगबहादुर लिम्बु, सुनीलकुमार शर्मा, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, पूर्णबहादुर तामाङ र श्याम घिमिरे निर्वाचित भएका छन् । मोहन आचार्य, रामनाथ अधिकारी, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, उदयशम्शेर राणा, मोहनबहादुर बस्नेत, राजेन्द्र बजगाइँ, टेकबहादुर गुरुङ, रामचन्द्र पौडेल, शङ्कर भण्डारी, राजु थापा र शशाङ्क कोइराला विजयी भएका छन् । यस्तै विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, दिक्पालकुमार शाही, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर साह, वीरबहादुर बलायर, डिल्लीराज पन्त, दीलेन्द्रप्रसाद बडू, शेरबहादुर देउवा, नारायणप्रकाश साउद र रमेश लेखक निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत, सुवासचन्द्र नेम्वाङ, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, केपी शर्मा ओली, राजेन्द्रकुुमार राई, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), रघुवीर महासेठ, लक्ष्मी महतो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र राजकुमार गुप्ता निर्वाचित भएका छन् । यसैगरी कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, महेशकुमार बर्र्तौला, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल वैरागी, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, वासुदेव घिमिरे, बलराम अधिकारी मङ्गलप्रसाद गुप्ता, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, दामोदर भण्डारी र तारा लामा तामाङ विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट सुदन किराँती, अमनलाल मोदी, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, हितबहादुर तामाङ, सूर्यमान तामाङ (दोङ), माधव सापकोटा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, रेखा शर्मा, महेन्द्रबहादुर शाही, छिरिङ डम्डुल लामा (भोटे), शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा छन् । एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले, जसपाबाट अशोककुमार राई, नवलकिशोर साह सुँडी, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव र प्रदीप यादव निर्वाचित भएका छन् । राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, दीपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवलशम्मशेर राणा, ध्रुवबहादुर प्रधान र ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, हरि ढकाल र रवि लामिछाने, लोसपाबाट शरतसिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुनकुमार चौधरी र गङ्गाराम चौधरी, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्द्रकान्त राउत तथा स्वतन्त्ररुपमा योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी निर्वाचित भएका छन् ।
आगामी दिनमा मूल्यवृद्धि झन् चर्किने, कसिलो मौद्रिक नीतिले राहत
काठमाडौं । नेपाल राष्ट्र बैंकले अझै मूल्यवृद्धि बढ्ने बताएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण अनुसार अझै मुद्रास्फिति बढ्ने देखिएको हो । राष्ट्र बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म ५७ सहरका ६० बजार क्षेत्रका २ हजार ४० जनासँग अन्तर्वार्ता मार्फत् सर्वेक्षण गरेकोमा अधिकांशले अझै मूल्यवृद्धि बढ्न सक्ने जवाफ दिएका छन् । ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ । खाद्य वस्तुको सबै उपसमूह, गैर-खाद्य वस्तु तथा सेवा र सबै उपसमूह; तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ । खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर-खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । यस्तै, तीन महिना पछिको मध्ये र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको सर्वेक्षणको निश्कर्ष छ ।
मंसिर २२ गतेदेखि सरकारविरुद्ध आन्दोलन गर्दै नाडा, सीडी रेसियो पुनरावलोकनदेखि आयात खोल्नसम्मको माग
काठमाडाैं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सरकारकाे विरुद्धमा आन्दाेलन सुरु गर्ने भएकाे छ । शुक्रबार काठमाडाैंमा कार्यक्रम आयाेजना गर्दै विज्ञप्ती जारी गरी नाडाले सरकारलेविरुद्ध चरणवद्ध रुपमा आन्दाेलन आयाेजना गर्ने जानकारी दिएकाे हाे । नाडाले यसकाे सुरुवात मंसिर २२ गते काठमाडाैंकाे माइतीघर मण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म कालाे लुगा लगाई धर्ना दिएर सुरु गर्ने जनाएकाे छ । ‘आन्दोलनको सुरुवात आजबाट नै भएको छ, हामीले २२ गते गर्ने भनिएता पनि हाम्रो विरोध आजैबाट कायम छ, हामीले तयार पारेका नाराको पोष्टर आफ्नो लगायत अन्य गाडीमा टास्ने हो, आशा छ, हाम्रो हाम्रो मागको सम्बोधन छिटै हुन्छ,’ अध्यक्ष ध्रुव थापाले भने । ८ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका आयातमा प्रतिबन्ध लगाएकोमाथि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु ल्याएकाे विराेधमा आन्दाेलन गर्न लागेकाे नाडाले जनाएकाे छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा वढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरेकाे कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका उनीहरुले बताएका छन् । ‘हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ, सयौं अटोमोवाइल शोरुमहरु बन्द भईसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन, यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौ कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका छन्,’ विज्ञप्तीमा भनिएकाे छ । यस्ताे छ नाडाकाे माग र सुझावहरु : विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने । नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने । सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने । नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण, व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने । अटोलोन / हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने । बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियाेलाई पूनरावलोकन गर्नु पर्ने । बैकहरुबाट सवारी साधनको हायर पर्चेज लाेन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर वापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने । त्यस्तै वैकहरुवाट निजी सवारी साधनको हायर पर्चेज लाेन प्रवाह गर्ने प्रकियामा लाेन भ्यालु टु रेसियाेको हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने । पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने । भिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।
ग्यापुको जिङ्गलमा टिकटक बनाउँदा साढे ३ लाख रुपैयाँ जित्न सकिने
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ । ‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए । ‘वाइल्डकार्ड एन्ट्रि’का लागि सहभागीहरूले ग्यापुको जिङ्गलमा टिकटक बनाइ ग्यापुको टिकटक अकाउन्टमा ‘ट्याग’ गर्नुका साथै नियम बमोजिम ह्यासट्याग समेत प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि ग्यापुको अफिसियल टिकटक अकाउन्टमा नमुना भिडियो पनि राखिएको शर्मा बताउँछन् । ग्यापुले उक्त प्रतियोगिताको लागि कत्तिक ४ देखि २५ गतेसम्म फारम खुलाएको थियो । जसमा ५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । जसमध्ये ९८ जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाइएको शर्मा बताउँछन् । भने उक्त प्रतियोगितामा विजेताहरूका लागि कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले डीसीईओसहित ७ वटा पदमा माग्यो कर्मचारी
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा पहिलो मर्ज भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सहित विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयको लागि हेल्थ असिस्टेन्टदेखि डीसीईओसम्मका कर्मचारीलाई जागिरको अवसर खुला गरेको छ । जसमध्ये डीसीईओ एक जना, डीसीएम तथा एजीएमका लागि केही, म्यानेजेरियल, अफिसर र एसिस्टेन्ट लेभलमा मार्केटिङ्, क्लेम एण्ड डिपार्टमेन्टका लागि केही, इन्जिनियर तथा ओभरसेरमा केही र हेल्थ असिस्टेन्टमा केही व्यक्तिहरुलाई कम्पनीमा जागिर खान पाउने छन् । यससँगै न्यूनतम स्नातक तहदेखि अधिकतम स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेकाहरु मात्रै उक्त विभिन्न पदको लागि योग्य हुनेछन् । इच्छुक तथा योग्यता पुगेकाले यो महिनाभित्रमा कम्पनीमा आवेदन दिन सक्नेछन् । उनले आफ्नो बायोडाटा, अपेक्षित तलब उल्लेख गरिएको कभर लेटर, नागरिकता प्रमाणपत्र र शैक्षिक/अनुभव प्रमाणपत्रहरू, रुचाइएको स्थान र फोटो सहितको इमेल मार्फत आवेदन दिन सक्ने छन् । यससँगै इच्छुकले आगामी मंसिर २९ गतेभित्रमा कम्पनीले उपलब्ध गराएको इमेल आईडीमा आवेदन दिइसक्नु पर्ने छ ।
प्रतितोला ९९ हजार एक सय रुपैयाँ पुग्याे सुनकाे मूल्य
काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार एक सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको ९९ हजार एक सय पुगेको हो । बिहीबार सुन तोलाको ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलाको १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।