विकासन्युज

उपमहासचिव पुन उपचारका लागि आज चीन जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । नेता पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ साल मङ्सिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो । चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वाञ्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जण्डिसको मात्रा (बिलरुविन) नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ । नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् । काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् । चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् । पछिल्लो समय उनी काठमाडौंमा बसी आराम गरिरहेका छन् ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, गत वर्षको भन्दा कम

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा भएको छ । कम्पनीले गत वर्षको लाभांशबाट सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट हाल कायम रहको चुक्ता पूँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजारको ८ प्रतिशत बोनस र ०‌.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश गत वर्षकाे भन्दा कम हाे । कम्पनीले गत वर्ष १०.५२६ लाभांश प्रस्ताव गरेकाे थियाे । प्रस्तावित लाभांश विद्युत नियमन सेवा आयोगको स्वीकृत र कम्पनीको २५ ‌औं वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउनेछन् ।

राष्ट्र बैंकको दबाबपछि बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा, ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीति

काठमाडौं । गत साता एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री गर्ने सूचना जारी गर्यो । मंसिर ८ गते विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै बैंकले देशभरका ७२ ठाउँको गैर-बैकिङ्ग सम्पत्ति (घरजग्गा) बिक्री गर्ने जानकारी गरायो । बैंकले घरजग्गा बिक्रीको सूचनामा १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेका गैर-बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले सूचनामा उल्लेख गरेको छ । यस्तै, बुधबार मात्रै माछापुच्छ्रे बैंकले १६ जिल्लाका २० ठाउँको घरजग्गा बिक्री गर्ने भन्दै सूचना प्रकाशन गरेको छ । माछापुच्छ्रे बैंकले आफ्नो स्वामित्वमा रहेको गैर-बैंकिङ्ग सम्पत्ति बिक्री गर्न १५ दिने सूचना नै जारी गरेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न स्थानको सम्पत्ति (घररजग्गा) जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भनेको छ । यस्तै, नबिल बैंकले पनि बुधबार नै आफ्नो स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्ने भन्दै सूचना सार्वजनिक गरेको छ । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेका काठमाडौं महानगरपालिका वडा २० को दुइटा घरजग्गा बिक्री गर्ने बताएको छ । घरजग्गा बिक्रीका लागि सूचना जारी गर्ने यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलताको समस्या भइरहेको बेला र घरजग्गा कारोबारमा पनि मन्दी आइरहेको बेला बैंकहरु आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री गर्न किन लालायित भए ? भन्ने विषय सबैले चासोका रुपमा हेरेका छन् । घरजग्गा कारोबार सुस्ताएको बेलामा बैंकहरुले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गरेर अन्य समस्या टार्न खोजेको पनि धेरैको बुझाइ छ । तर, पछिल्लो समय नेपाल राष्ट्र बैंकले प्रोभिजनमा कडाइ गर्दा र गैर-बैंकिङ सम्पत्तिलाई बिक्री गर्न बैंकहरुलाई सर्कुलर नै जारी गरेपछि बैंकहरु धमाधम गैर-बैंकिङ सम्पत्ति बिक्री गर्न लागेका हुन् । बैंकको ब्यापार व्यवसाय पनि खुम्चिएको हुँदा गैर-बैंकिङ सम्पत्ति बिक्री गरेर बैंकलाई दिगो बनाउन खोजिरहेको स्वयम् बैंकर बताउँछन् । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले अहिले अर्थतन्त्र नाजुक अवस्था छ भनेर बिक्री नगरे आगामी दिनमा थप खराब स्थिती आउन सक्ने भन्दै आफ्नो स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्न थालेको बताए । बैंकले आफ्नो रिकभरी उठाउनु पर्ने भएकाले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बिक्री गर्नु परेको उनको भनाइ छ । नबिल बैंकको गैर बैंकिङ्ग सम्पत्ति धेरै नभएको बताउँदै उनले प्रक्रिया पुर्याएर सबै गैर-सम्पत्ति लिलाम गर्ने गरेको बताए । ‘गैर-बैंकिङ्ग सम्पत्ति बिक्री गर्नु स्वभाविक हो, जति ढिला गर्याे झन् ढिलो हुँदै जान्छ, अहिले अवस्था नाजुक छ भनेर बिक्री नै नगर्ने भन्ने हुँदैन, भोलिका दिनमा यो भन्दा खराब स्थिती आयो भने झनै गाह्रो हुन्छ,’ उनले भने । ‘सेयर बजार घट्दा पछि बजार बढेपछि मात्रै बिक्री गरौंला भन्ने सोच लगानीकर्ताको हुन्छ तर घट्दै-घट्दै जान्छ, त्यसले प्रत्यक्ष असर लगानीकर्तामै हुन्छ, त्यसैले समयको पखाईभन्दा पनि समयमै उचित निर्णय लिन सक्नु पर्छ, उनले भने, ‘आफूले खोजेको मूल्य पाएन भने बिक्री प्रक्रिया नै रद्द गर्न पनि सकिन्छ ।’ गैर-बैंकिङ्ग सम्पत्ति बैंकले आफै खरिद गरेर नहुने उनको भनाइ छ । बैंकको सम्पत्ति कति छ, सोही अनुसार बैंकलाई नाफा हुने अध्यक्ष पौड्यालले बताए । ऋणीले लिएको कर्जाको आधारमा धितो बिक्री गर्दा बैंकले आफ्नो लागत अनुसारको रकम राखेर बाँकी रकम ऋणीलाई फिर्ता गर्ने गरेको उनको भनाइ छ । बैंकले कर्जा असुल गर्न नसकेर धितो सकारेमा बैंकको कर्जा घट्ने र गैर सम्पत्ति मात्रै देखिने उनको भनाइ छ । जसले गर्दा बैंकको खराव कर्जा पनि कम हुने उनको तर्क छ । बैंकको नियतवश वा ग्राहकको नियतवश यस्ता गैर बैंकिङ्ग सम्पत्ति बढ्ने उनको भनाइ छ । बैंकिङ्ग क्षेत्र पारदर्शी, अफिसियल्ली र प्रक्रिया अनुसार चल्नु पर्ने भएकाले कहिलेकाँही मात्रै यस्ता घट्ना हुने गरेको उनले बताए । कतिपय ग्राहकहरु समयमा कर्जा नतिरेर पनि बैंकलाई दोष लगाउने गरेको उनको भनाइ छ । ‘समस्यामा परेपछि मर्ता क्या नकर्ता भने जस्तै हुन्छ, बैंक भलादमी तरिकाले काम गर्दैन, कुनै ग्राहकको बैंकलाई दुख दिने नियत हुन्छ, बैंकले अन्तिम समयमा केही विकल्प नदेखेपछि लिलाम गर्छ,’ उनले भने । बैंकको एनपीएल बढ्दै गएपछि रिकभरी एक्सन लिने गरेको उनको भनाइ छ । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकले सबैलाई लेभलमा राख्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । यस्तै, माछापुच्छ्रे बैंकका डीसीईओ सर्जु कुमार थापा अहिले घरजग्गा कारोबार सुस्ताएको बेला बैंकको कर्जा लगानी असुल नभएपछि आफ्नो नाममा राखेर लिलामी बिक्री गर्नु पर्ने अवस्था आएको बताउँछन् । उनले राष्ट्र बैंकको सर्कलुरले प्रक्रिया पुरा गर्नका लागि भएपनि सम्पत्ति बिक्री गर्नुपर्न बाध्यता आएको बताए । बैंकले आफ्नो हिसावले अवस्था हेरेर गैर-बैंकिङ सम्पत्ति बिक्री गर्ने भएपनि अहिले राष्ट्र बैंकको सर्कुलरका कारण बिक्री गर्नै पर्ने बाध्यता आएको धारणा राखे । ‘अहिले घरजग्गा कारोबार सुस्ताएको छ, पहिला बैंक आफ्नै तरिकाले बिक्री गर्थे, अहिले प्रोभिजन पुगेन भनेपछि बिक्री गर्नु परेको हो, यही बीचमा राष्ट्र बैंकको सर्कुलर जारी गरेर नै गैर सम्पत्ति बिक्री गर्न रोकिएपछि अहिले बढेका हुन्,’ उनले भने, ‘एक वर्ष भित्रमा शतप्रतिशत प्रोभिजन राख्नुपर्ने भएकाले बीचमा रोकियो, बैंकहरु रिकभरीलाई होल्ड गरेर बस्दैनन्, त्यसैले अहिले प्रक्रियामा जानको लागि बिक्रीमा राखिएको हो ।’ अहिले बिक्रीमा राखिएको सम्पत्ति तुरुन्तै बिक्री भएर पुरै पैसा आउन सक्ने सम्भावना कम रहेको उनको भनाइ छ । तरलता सहज नभएकाले बैंकहरु रिकभरीमा जोड दिन थालेको उनले बताए । ‘रिकभरी एक्सन लिँदा समय पुगेपछि पैसा उठेन भने त्यसलाई ‘राइट अप’ गर्नुपर्ने हुन्छ, डाइरेक्ट रिकभरी अफ ट्याक्स डेप्टस् (डीआरडी) राख्नु पर्ने हुन्छ, यदि त्यो प्रक्रिया पुरा गरेन भने नियम पुरा गर्न सकिँदैन, ग्राहकहरु नै सम्पर्कमा नबस्ने धेरै छन्,’ उनले भने । पछिल्लो समय अर्थतन्त्र सुस्ताएको हुँदा अहिले घरजग्गा सस्तो पाइने बुझाइ रहेको उनको भनाइ छ । अहिले घरजग्गा कारोबार रोकिएकाले भनेको जति मूल्य पाउन गाह्रो रहेको पनि उनी बताउँछन् । माछापुच्छ्रे बैंकले भने सम्पर्कमा नआएका ग्राहकहरुको मात्रै रिकभरी राखेको उनको भनाइ छ । अहिले बिक्रीमा राखिएको सम्पत्तिले नाफामा भने ठूलो प्रभाव नपार्ने उनको बुझाइ छ । अहिले बिक्री गर्न लागेको सम्पत्तिको २०/२५ प्रतिशत पनि रिकभरी पनि नहुने उनले बताए । राष्ट्र बैंकले प्रोभिजन बढाएको हिसावले रिकभरीले केही सहयोग गर्ने उनको भनाइ छ । पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुसँग कुल ६ अर्ब ७७ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रका वाणिज्य बैंकहरुसँग ६ अर्ब ३२ करोड ९० लाखरुपैयाँको नन बैंकिङ एसेट छ भने सरकारको स्वामित्व रहेको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ५४ करोड ९० लाख रुपैयाँ र सरकारी स्वामित्वको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट थियो ।

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छिन् । उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरिन् । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वभाविक मान्न नहुने बताइन् । उनले प्रधानमन्त्रीको विषय बाहिर चर्चा गर्नुभन्दा पार्टीभित्र र गठबन्धन दलभित्र छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अहिले ठूलो दलको हैसियतमा कांग्रेसले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन, तर बाहिरभन्दा पार्टी र गठबन्धनभित्रबाट आउनुपर्ने पर्छ ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीमा दाबी रहने जनाइन् । पूर्वमन्त्रीसमेत रहेकी उनले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाको जबर्जस्ती हस्तक्षेपभन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने उनको भनाइ थियो ।

डिम्याट खाता खोल्दा एनआईबिएल एस क्यापिटलले दिन्छ म्युचल फण्डको सेयर

काठमाडौं । एनआईबिएल एस क्यापिटलले डिम्याट तथा मेरोसेयरको खाता निशुल्क खोल्न मिल्ने योजना ल्याएको छ । कुनैपनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन नपरोस् भन्ने,उद्देश्यका साथ यस विशेष योजना ल्याएको कम्पनीले जनाएकाे छ । यसका साथै यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले, एनआइबिएल एस क्यापिटलबाट नि:शुल्क डिम्याट तथा मेरोसेयरको खाता खोल्न सक्ने कुरा क्यपिटलले जनाएको छ । क्यापिटलकाे अनुसार उक्त योजना मंसिर १६ गतेदेखि मंसिर १८ गते (३दिन) सम्मको लागि लागु हुने छ । उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटलमा डिम्याट तथा मेरोसेयरको खाता खोल्नुहुने फरक क्षमता भएका ग्राहकवर्गमध्येबाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली विजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाई उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ । एनअईबिएल एस क्यापिटलमा नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको छ ।

गाडीहरु प्रदूषण परीक्षणमा दोस्रो पटक फेल भए १ लाख जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ । शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो । आज विभागले गरेको ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षणमा ३८ वटा वारीसाधन फेल भएको पाइएको छ भने १६ वटा सवारीसाधन मात्रै पास भएको पाएको विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको बताए । ‘प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराइ पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउनेछन्, परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्मको कारबाही गर्नेछाैं,’ उनले भने । महानिर्देशक घिमिरेले आगामी दिनमा सवारीसाधनहरु प्रदूषण फेल भएर चलाएको पाएमा विभाग कारबाही गर्ने कुरामा पछि नहट्ने बताए । उनले विगतमा हालै मात्र प्रदूषण परीक्षण गराएको हो भनेर चालकहरु पन्छिने गरेको भन्दै यसपटक लापरवाही नगर्न आग्रह गरे । सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ । यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ । यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । जसको अर्थ अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६/६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ । त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ । परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्वन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पु¥याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ ।

फर्ष्ट माइक्रोफाइनान्सको लाभांश हालसम्म कै उच्च, यस्तो छ ११ वर्षको इतिहास

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले घोषणा गरेको उक्त लाभांश हालसम्म कै उच्च रहेको छ । यसअघि लघुवित्तले सो भन्दा धेरै लाभांश वितरण गरेको थिएन । लघुवित्तले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरुलाई १५.७९ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १५.७९ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा १२.६३१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ मा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ९.५ प्रतिशत बोनस सेयर र ४.१८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट उत्कृष्ट, छैठौं पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबिएल) उत्कृष्ट बैंक बन्न सफल भएको छ । एनआईबिएल सन् २०२२ को लागि नेपालकै ‘उत्कृष्ट बैंक’ छनोट भएको हो । बेलायतस्थित फाइनान्सियल टाइम्सले बैंकले उत्कृष्ट बैंक घोषणा गरी ‘बैंक अफ द इयर २०२२’ अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले ग्रहण गरेका हुन् । डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा सो अवार्ड वितरण गरिएको थियो । योसहित बैंकले दुई दशकमा छैटौं पटक ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको छ । बैंकले अन्तर्राष्ट्रिय प्रकाशन-युरोमनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को लागि युरोमनी अवार्डहरू पनि प्राप्त गरेको छ । यससँगै नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जित्नेमा बैंकमा एनआईबिएल चिनिएको छ । एनआइबिएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण हो । यसले विकास र दिगोपनतर्फ लाग्ने बैंकहरूको समर्पणलाई पनि हाइलाइट गर्दछ जसले हामीलाई यो प्रतिष्ठित पुरस्कार बारम्बार प्राप्त गर्न मद्दत गरेको बैंकले जनाएको छ । बैंकको स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणाम हो जसले बैंकलाई आफ्ना प्रतिस्पर्धीहरू भन्दा प्रतिस्पर्धात्मक लाभ दिएको छ । बैंकले आफ्ना बृहत् ग्राहकलाई बजारमा माथि उठाउनको लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराएको छ । बैंकले ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार गर्दै न्यून ब्याजबाट वञ्चित क्षेत्र कर्जा उत्पादनहरू उपलब्ध गराई समाजका पिछडिएका वर्गहरूलाई वित्तीय पहुँच र समावेशीकरणमा निरन्तर ध्यान केन्द्रित गरेको छ । त्यस्तै, बैंकले विभिन्न ग्रामीण जनसंख्यालाई बैंकिङ सेवाहरूमा पहुँच सशक्तिकरण गर्दै वित्तीय सचेतना र तालिम कार्यक्रमहरू पनि प्रदान गरेको छ। एनआईबिएलले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।