आइएमई लाइफका संस्थापकले मंसिर २० भित्र शतप्रतिशत रकम जम्मा गर्नुपर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको शतप्रतिशत रकम जम्मा गर्ने समयावधि थप गरिएको छ । कम्पनीले मंसिर २० गतेसम्म संस्थापक सेयरधनीहरुलाई शत प्रतिशत रकम जम्मा गर्न समयावधि थप गरेको हो । यसअघि कम्पनीले गत कात्तिक १ गते एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीहरुलाई मंसिर ५ गतेभित्र शतप्रतिशत रकम जम्मा गर्न आग्रह गरेको थियो । कम्पनीका अनुसार गत असोज २६ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले चुक्ता पूँजी १०० प्रतिशत बृद्धि गर्ने निर्णय गरेको थियो । सोहि बमोजिम कात्तिक ३१ गते बसेको सञ्चालक समितिको बैठकले साविक सेयरधनीहरूबाट सेयरमा लगानी भएको रकमको थप १०० प्रतिशत पूँजी माग गर्ने निर्णय गरेको थियो । सेयरधनीहरुलाई उक्त रकम कम्पनीको काठमाण्डौको हात्तीसारस्थित सिद्धार्थ बैंकमा रहेको खाता नं. ५५५००३५८८१४ र काठमाण्डौको तीनधारास्थित नबिल बैंकमा रहेको बैंक खाता नं. ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न आग्रह गरेको हो र
३ विकास बैंकको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यतिबेला सेयरधनीहरुले लाभांश सिजनका रुपमा लिने गर्दछन् । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत १६ वटा विकास बैंकहरुमध्ये हालसम्म ३ वटा बैंकले मात्रै सेयरधनीहरुलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हुन् । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ९ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.।७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यी तीन वटै विकास बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाइै वितरण गरिनेछ ।
मेयर शाह र नेपालका लागि अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आएका थिए । भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । शहरको जिवन्तता संरक्षण र प्रवद्र्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ छ । राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिबद्ध रहेको धारणा राखे । सम्पदा संरक्षण तथा प्रवद्र्र्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।
धनगढीमा निषेधाज्ञा जारी, ५ जनाभन्दा भेला हुन र गाडी चलाउन पनि नपाइने
धनगढी । जिल्ला प्रशासन कैलालीले धनगढीमा निशेधाज्ञा जारी गरेको छ । धनगढीमा दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए । प्रशासनले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो । निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन नपाइने बताइएको छ ।
सिके राउत पनि सरकारमा जाने, प्रधानमन्त्रीसँग के भयो कुराकानी ?
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि सरकारमा जाने संकेत देखाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै उनले सरकारमा सामेल हुने संकेत देखाएका हुन् । आज (बिहीबर) देउवा र राउतबी भेटवार्ता भएको हो। कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने । यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।
नेपाली वायुसेवालाई १६ विधामा अवार्ड दिइने, गठन भयो नोमिनेसन बोर्ड
काठमाडौं । नेपाली आकासमा उडान भरिरहेका वायुसेवालाई विभिन्न १६ विधामा अवार्ड दिईने भएको छ । सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस कार्यक्रमअन्तर्गत नेपाली वायुसेवाहरुलाई अवार्ड दिन लागिएको हो । साे कार्यक्रम डिसेम्बर १३ का दिन नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा हुने छ । यस सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् । यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रूपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरूसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप लिएको छैन भने स्वतन्त्र लब्धप्रतिष्ठित व्यक्तिहरू सम्मिलित निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिइएको छ । यसरी दिईने अवार्डलाई पारदर्शी तथा स्वच्छ बनाउनका लागि आयोजकले विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नोमिनेसन बोर्ड गठन गरेको छ । हाल ९ सदस्य रहेको सो बोर्डले आफ्नो पहिलो बोर्ड बैठक राखि कार्य शुरु गरेको छ । उल्लेखित विधामा नोमिनेसन भएका वायुसेवालाई विभिन्न माध्यमबाट सर्बसाधारण, ट्राभल एजेन्सी र वायुसेवा स्वयंले समेत गर्नसक्ने भोटिङ्गमा रहने अशुद्धि हटाई अवार्डको नोमिनेसनलाई सहजता र मर्यादित बनाउने मुल उद्देश्य लिएको नोमिनेसन बोर्डले आपासी छलफलका माध्यमबाट सबैखाले नियम तथा कार्यपद्धती बनाउन सक्ने अधिकार सम्पन्न रहेको सस्तो टिकेट्स् वेष्ट एअरलाइन्स अवार्डस्का उपाध्यक्ष्य लाल चन्द्र गौतमले बताएका छन् । नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने र नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ घोषणा गरिने भएको हो । यस अवार्डको नोमिनेसन बोर्डमा नायिका वर्षा राउत, इतिहाद एअरवेजकी पूर्व महाप्रबन्धक पावना श्रेष्ठ, नाटाकी गिता ढकाल, एक्टिभ उमन अफ नेपालकी अध्यक्ष बाबा सरकार श्रेष्ठ, खल्तीका सहसंस्थापक अमित अग्रवाल, सेलिब्रेटी फोटोग्राफर राज भाई सुवाल, इन फ्लाईट सेफ बेद अधिकारी, स्प्यारो एसएमएसका सह संस्थापक मनिस मोदी र ग्रैह आवसीय नेपाली संघकी पूर्व उपाध्यक्ष सपिला राजभण्डारी रहेका यस नोमिनेसन बोर्डमा बोर्ड सदस्यले आवश्यकता महशुष गरे थप सदस्य समेत मनोनयन गर्न सक्नेछन् ।
केपी ओलीलाई बालेनपछि प्राधिकरणको पनि झाप्पड
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलायो । पूर्व जानकारी र कुनै प्रक्रिया नपुर्याई जवरजस्त रुपमा वस्तीमा डोजर चलाएको भन्दै सुकुम्वासी र महानगर प्रहरीबीच झडप भयो । महानगरले भने पूर्व जानकारी गरेर डोजर चलाएको बताएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता विकास समितिको आग्रहमा नदी किनारमा सार्वजनिक जग्गामा रहेका संरचना हटाउन खोजेको महानगरको भनाइ छ । अहिले यो विषय सबैको चासोको रुपमा हेरिएको छ । सर्वसाधारणदेखि सरकारी उच्च निकायमा रहेका व्यक्तिहरुको ध्यान सुकुम्वासी वस्तीले तानेको छ । यसमा विषयमा धेरैको आ-आफ्नै मतभेदहरु प्रकट भएका छन्, मतहरु विभाजित भएका छन् । यही विषयमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा धारणा बाहिरियो । ओलीले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ‘लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन, तरिका प्रयोग हो’ भन्दै उनीहरूको समस्याको विषय ‘जित/हारको प्रश्न’ बन्न नहुने धारणा सार्वजनिक गरे । उनले सुकुम्बासी बस्तीमा ‘तमासा’ देखाइएको र अधिकारीहरूले ‘शत्रु देशसँग लडाइँ जित्नेजस्तो’ तरिका अपनाएको भन्दै महानगरको खुलमखुल्ला आलोचना गरे । ओलीको सो धारणा बाहिरिएपछि अधिकांशले उनको आलोचना गरे । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले समेत उनको आलोचना गर्दै सामाजिक सञ्जालमार्फत् ओलीको प्रतिकार गरे । बालेनले ओलीबाट यस्तो धारणा आउनु सामान्य भएको जवाफ फर्काए । ‘मन्त्री र पटकपटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन, सुकुम्बासी तपाईँका लागि भोट ब्याङ्क मात्रै रहे,’ उनले लेखका छन्, ‘तर अब परिस्थिति फेरिएको छ, त्यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’ विभिन्न व्यक्तिहरुबाट यसरी सवालजवाफ भएपछि बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकामा रहेका खाली जग्गा तत्काल खाली गर्न भन्यो । प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गर्यो । उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ । प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने समेत जनाएको छ । ‘हामीले उपत्यका भित्रका सबै ठाउँका लागि यो सूचना निकालेका हौं, अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना चाहे साना हुन् ठूला सबै हटाउने हो, यस विषयमा हामीले कसरी अगाडि बढ्ने भनेर पनि छलफल गरिरहेका छौं, सबै निकायबीच सहकार्य हुन जरुरी छ,’ ढकालले भनिन् । उनले पनि अनावश्यक सवालजवाफ गर्नुभन्दा पनि वास्तविक सुकुम्वासीको पहिचान गरेर अगाडि बढ्नु पर्ने धारणा राखिन् । ‘धनी मान्छे पनि सुकुम्वासी भनेर बसका छन्, उनीहरुलाई हटाउनु पर्छ, हाम्रो निकायले सुकुम्वासीको पहिचान गर्ने काम गरेको छैन, अधिकारसम्पन्न बागमती सभ्यताले यसको पहिचान गरिरहेको छ,’ हुनेखानेले म सुकुम्वासी हुँ भनेर सरकारी जग्गा अतिक्रमण गर्न पाउँदैन,’ उनले थपिन् । पूर्व प्रधानमन्त्रीबाट समेत त्यस्तो खालको अभिव्यक्ति आएपछि प्राधिकरणले त्यसको पछिल्लो दिन बिहानै सूचना जारी गरेको हो । अहिले सरकारी निकायहरुले सहकार्य र समन्वय गरेर अगाडि बढेका छन् । सुकुम्वासी र महानगर प्रहरीबीच झडप भएकै साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालेन प्रधानमन्त्री निवास बालुवाटार समेत पुगेका थिए । तर, उनीहरुबीच के कुराकानी भयो अहिलेसम्म बाहिरिएको छैन । यही बीचमा बालेनले गृहमन्त्रालयसँग पनि छलफल गरेका छन् । गृह मन्त्रालयले प्रक्रिया पूरा गरेर काम गर्दाको हकमा समर्थन रहने बताएको बुझिएको छ । मधेशी आयोगको पनि चासो महानगरविरुद्धको नाराबाजीमा उत्रिएका सुकुम्वासीहरुले बालेनप्रति प्रयोग गरेको भाषाको विषयमा मधेशी आयोगले चासो देखाएको छ । उनीविरुद्धको नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न आयोगले गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ । बालेनविरुद्धको नाराबाजीमा मधेशी समुदायलाई लक्षित गर्दै प्रयोग भएको भाषाको विषयमा आयोगले आपत्ति जनाएको हो । आयोगकी उपसचिव सविता डंगोलले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘थापाथलीस्थित सुकुम्बासी जग्गासम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ ।’
महानगरविरुद्ध आन्दोलित बागबजारका व्यवसायी भन्छन्ः परिवर्तनको नाममा जनतालाई दुःख नदिनुस्
काठमाडौं । काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ । काठमाडौं महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका सवारी साधनहरु हटाउन थालेपछि आफुहरुलाई असहज भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । बिहीवार व्यवसायीहरुले आ-आफ्नो व्यवसाय बन्द गरेर महानगरको कदमप्रति बिरोध जनाएका छन् । महानगरले बागबजारको सडकमा कालोपत्रे गरेको थियो । कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङ गर्न महानगरले रोकेको हो । व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन् । लाखौं रकम व्यवसायमा लगाएर जिविकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ । आफूहरुले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलित हुनुपरेको व्यवसायी राज कार्कीले बताए । उनले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह गरे । व्यवसायी कार्कीले महानगरले आफूहरुको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहने बताए । भिडियो पनि : भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्