विकासन्युज

आजदेखि विद्युतीय गाडीको एक्स्पो, ५ सयभन्दा बढी ब्राण्ड एकै ठाउँमा

काठमाडौं । शुक्रबार अर्थात आजदेखि काठमाडौंको भृकुटिमण्डपमा विद्युतीय गाडीको एक्स्पो सुरुहुने भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो तीनदिन सम्म सञ्चालन हुनेछ । नेपालमा विद्धुतिय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि ब्रान्ड राखिनेछ । एक्स्पोमा विशेष गरी विद्युतिय कार, विद्युतिय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतिय बस, विद्युतिय ट्रयाक्टर, विद्युतिय कार्गो लोडर , रिक्सा तथा विद्युतिय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्धुतिय सामाग्रीहरू राखिने बताइएको छ । पछिल्ला दशकहरूमा विद्धुतिय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ भने सरकारले विद्युतीय गाडी सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

काठमाडौंसहित देशभरका सुकुम्बासीलाई नहटाउन भूमि आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन निर्देशन दिएको छ । आयोगले सूचना निकालेर काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई नहटाउन निर्देशन दिएको हो । ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न÷नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । आयोगले सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगको आचारसंहिता सकिएलगत्तै गरिने पनि बताएको छ ।

बालेनको कडा एक्सन : आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याए क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सार्वजनिक सम्पत्तिलाई क्षति हुने किसिमका गतिविधि वा आन्दोलन गरेमा कारवाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको कुनै संघ सङ्गठन निकाय, समूह, व्यक्ति वा अन्य कसैले आन्दोलनबाट नोक्सानी, क्षति, नष्ट र अतिक्रमण गरेमा कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको हो, कुनै पनि संघ सङ्गठन निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको छ, यदि कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानून बमोजिम कारबाही एवम् हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानून बमोजिम गराइनेछ,’ महानगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको छ । सोही एनेको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा संरक्षण गर्ने कानूनी दायित्व समेत स्थानीय तहलाई नै तोकिएको छ । मुलुकी देवानी संहिता, २०७४ को भाग ५ अन्तर्गतको दफा २९९, ३००र ३०१ मा सरकारी, सार्वजनिक र सामुदायिक सम्पत्तिको प्रकार र प्रकृति उल्लेख गरेको छ । उक्त संहिताको दफा ३०४ ले त्यस्ता सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय तहको समेत हुने कानूनी व्यवस्था गरेको छ ।

बैदेशिक रोजगार कल्याणकारी कोषले १२० करोड बैंकको मुद्धति निक्षेपमा लगानी गर्ने

काठमाडौं । बैदेशिक रोजगार कल्याणकारी कोषले मुद्धति निक्षेप खातामा लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकको मुद्धति खातामा निक्षेप रहेको निक्षेप पुष १ र २ गते परिपक्व हुने रकम पुनः मुद्धति निक्षेपमा लगानी गर्ने जनाएको हो । कोषले १२० करोड रुपैयाँ एक वर्षको लागि मुद्धती खातामा पुनः लगानी गर्ने जनाएको छ । वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर खुलाएर दरभाउ पत्र पेश गर्न भनेको हो । मंसिर २३ गते भित्र कोषको सचिवालयमा सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न कोषले आग्रह गरेको हो । पेश भएका सिलबन्दी मंसिर २३ गते नै खोलिने जजाएको छ । ३० दिन भन्दा कम अवधि भएको दरभाउपत्र उपर कुनै कारवाही नहुने कोषले जनाएको छ ।

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई ५३ करोड नाफा

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार पठाएको सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ । आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक बिरेन्द्र गोइतले जानकारी दिए । यस्तै, ग्यासको मूल्य भने प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको उनको भनाइ छ । नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ र डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासमा भने प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा हुन पुगेको छ । निगमले मूल्य यथावत राख्यो भने १५ दिनमा नाफा ५३ करोड हुने अनुमान रहेको गोइतले बताए ।

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदूरपश्चिम अभियान

काठमाडौं । सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको बताएको छ । डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने डिजिटल इको सिस्टमको विकास गर्नुपर्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए । दैनिक जीवनयापनको लागि आवश्यक उपभोग्य बस्तुहरुको कारोबार डिजिटलमा गर्न उनले आग्रह गरे । नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पानी पूरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजिटल रुपमा क्यूआर मार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरेकी हुन् । डेपुटी गभर्नर डा.निलम ढुंगानाले डिजिटल पेमेन्टलाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताईन् । उनले आफूले डिजिटल सुदूरपश्चिमको सुरुवात गर्न पाउँदा खुसी लागेको बताईन् । समग्र राष्ट्रमा डिजिटल पेमेन्टको अभियान चलाउन सकिए सबै कारोबारहरु पारदर्र्शी हुने उनको भनाइ छ । साथै नोट छाप्नका लागी विदेशीने रकम पनि घट्ने उनले बताईन् । महेन्द्रनगरको डिजिटल सुदूरपश्चिम कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले डिजिटल पेमेन्टलाई सर्वसुलभ बनाउन आवश्यक रहेको बताए । उनले बिभिन्न महसुल तिर्दा समयको सदुपयोग र राष्ट्रको उत्पादकत्व बढाउन सकिने उनले बताए । सिभिल बैंकले २०१९ अगस्टदेखि सुरु गरेको नगद रहित अभियान देशका दुर्गम र प्रमुख सहरहरु गरी ४० हजार भन्दा बढी क्यूआर मर्चेन्टहरु आवद्ध रहेको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले गर्याे विभिन्न संस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्यक्रमहरु सम्पन्न गरेका छन् । बैंकको थापाथली शाखाले त्रिपुरेश्वरस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुलाई ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर सहयोग गरेको छ । संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पंञ्चमुखि गणेश मुर्ती स्थापनाको लागी ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगबाट धार्मिक एवं पर्यटकीय विकासमा थप टेवा पुग्ने अपेक्षा बैंकले गरेको छ । यस्तै, बैंकको ठुटिपिपल शाखाले ओमसत्तिया गाँउपालिका १, रुपन्देहीमा रहेको श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ । मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । यस्तै, बैंकको रुकुम शाखाले जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल हस्तान्तरण गरेको छ । प्रहरी कार्यालयको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहज हुने बैंकले विश्वास लिएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बताएको छ ।

सित्तैका गाडी तजविजमा वितरण

काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ । तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ । निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका साथै आयोगकै पदाधिकारीनिकट व्यक्तिलाई कोसेलीस्वरूप उपलब्ध गराइएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको अनुरोधमा भारतीय दूतावासमार्फत प्राप्त गाडी काठमाडौंबाहिरका निर्वाचन कार्यालयसम्म पुऱ्याइएको छैन । विगतदेखि नै निर्वाचनका बेला सित्तैमा पाएका गाडी आयोगका पदाधिकारीको तजबिजमा विभिन्न कार्यालय र हाकिमलाई कोसेलीका रूपमा बाँड्ने गरिएको हो । आयोगले सरकारी मिडियालाई रिझाउन पनि गाडी उपहार पठाउन लागेको बताइएको छ । भारतीय दूतावासबाट प्राप्त गाडीमध्ये आयोगले एउटा गोरखापत्र संस्थान र एउटा राष्ट्रिय समाचार समिति ९रासस० लाई उपलब्ध गराउन लागेको बुझिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।