रविलाई सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी (निवेदनसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । वैद्य नेपाली नागरिकता नभएको व्यक्तिले राजनितिक दल सो दलको साधारण सदस्य हुन र अध्यक्ष र सभापति हुन नमिल्ने बताउँदै सोमबार उनीविरुद्ध उजुरी आयोगमा परेको हाे । उजुरी गर्ने व्यक्ति धादिङ घर भई हाल काठमाडौंमा बस्दै आएका समाजवादी केन्द्र नेपालका नेता बताउने युवराज पौडेल रहेका हुन् । यस्ताे छ उजुरी माननीय श्री प्रमुख निर्बाचन आयुक्त ज्यू, श्री निर्बाचन आयोग कान्तिपथ, काठमाडौं नेपाल । बिषय : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रबि लामिछानेको साधारण सदस्यता समेत बदर गरी पाउँ भन्ने सम्बन्धमा । महोदय, यहि २०७९/०८/०४ मा मुलुकमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको आवधिक निर्बाचन शान्तिपूर्ण र निस्पक्ष रुपमा सुसम्पन्न गर्नु भएकोमा यहाँ लगायत यहाँको सिंगो टिम र श्री निर्बाचन आयोग समेतलाई एक सचेत नागरिक र राजनैतिक दलको नेताको रुपमा म धन्यवाद दिन चाहन्छु । लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्बाचन सुसम्पन्न गर्न यहाँले खेल्नु भएको नेतृत्वदायी भूमिकाको समेत म सहर्ष प्रशंशा गर्न चाहन्छु । तथापी कुनै पनि बिदेशीले वा नेपाली नागरिकता नभएको कुनै पनि व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन् समेत नसक्ने हाम्रो कानूनी व्यवस्था बिपरित मिति २०७९/०३/१७ मा दल दर्ता नं. १८७ मा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन् पाउने अधिकार केवल नेपाली नागरिक संग मात्रै हुने कानूनी व्यवस्था बिपरित नेपाली नागरिकता नभएका श्री रबि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्बाचन आयोगबाट हुन् गएको त्रुटिबाट म स्तब्ध भएको छु । राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा मेरो कुनै पनि आपति छैन । उक्त दलमा भएका नेपाली नागरिकहरुले उक्त दल खोल्न, सो दलको नेतृत्व गर्न र राजनीतिमा संलग्न भई मुलुकको नेतृत्व लिन पाउनु पर्दछ भन्ने मान्यतामा म प्रस्ट छु । तर नेपाली नागरिकता नै नभएका श्री रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एंब सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्बाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु । १. मतदान गर्ने, उम्मेद्धार बन्ने र राजनैतिक दल खोल्ने अधिकार नेपालको संबिधान, राजनैतिक दल सम्बन्धि ऐन, प्रतिनिधि सभा सदस्य निर्बाचन ऐन तथा प्रदेश सभा सदस्य निर्बाचन ऐन अन्तर्गत केवल नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको छ । राजनैतिक दल खोल्ने स्वतन्त्रता मौलिक हक हो । तर नेपालको संबिधान, २०७२ को धारा १७(२)(क) ले सो हक प्रयोग गर्न पाउने अनुमति केवल नेपाली नागरिकलाई मात्रै प्रदान गर्दछ । त्यसरी नै संघिय संसद्को सदस्य हुन् पनि नेपालको नागरिक हुनु पर्दछ भन्ने व्यवस्था नेपालको संबिधान, २०७२ को धारा ८०(१)(क) मा गरिएको छ । त्यसरीनै सबिधानको धारा ८४(५) अन्तर्गत १८ बर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै मतदान गर्न पाउँदछ्न । उक्त व्यवस्था बाध्यात्मक हुन् । कुनै पनि व्यक्ति वा निकायले उक्त व्यवस्थाको अनादर गर्न मिल्दैन । त्यसरी नै राजनैतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६(१)(ग), १४(२), १७ र २१(ज) र राजनैतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ३(२), ६(१)(घ) बमोजिम राजनैतिक दलको सदस्यता प्राप्त गर्न र पदाधिकारी हुन् नेपाली नागरिक हुनु पर्दछ । त्यसरीनै प्रतिनिधि सभा सदस्य निर्बाचन ऐन, २०७४ को दफा १२ बमोजिम प्रतिनिधि सभाको उम्मेद्धार हुन् नेपाली नागरिक हुनु पर्दछ एंब नेपालको नागरिक नभएको व्यक्ति सोहि ऐनको दफा १३ बमोजिम उम्मेद्धार हुन् अयोग्य हुन्छन । निर्बाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा १४ ले नेपाली नागरिकता नभएको व्यक्तिलाई मतदान गर्न समेत प्रतिबन्ध लगाई गैर नेपाली नागरिकले मतदान गरेमा कसूर गरेको मान्दछ । यसै सन्दर्भमा चितवन जिल्लाको क्षेत्र नं. २ बाट उम्मेदवार हुनु भएका श्री रबि लामिछाने नेपालको नागरिक होइनन भन्ने बिषय मिडियामा आएको अवस्था छ भने श्री निर्बाचन आयोगमा समेत सो सम्बन्धमा उजुरी परेको कुरा संचार माध्यममा आएको छ । संचार माध्यममा आएका जानकारी अनुसार निज रबि लामिछानेले २०५०/११/१० मा श्री काठमाडौं जिल्ला प्रशासन कार्यालयवाट नेपालको नागरिकता लिएका, सोहि नागरिकताबाटै नेपाली पासपोर्ट लिएका र ततः पश्चात निज अमेरिका गई अमेरिकी नागरिक बनि (अमेरिकी राहादानी नं. ५१२९६६९८१) धारण गरी नेपाल आउँदा अमेरिकी नागरिकको हैसियतमा गैर पर्यटकीय भिसामा नेपाल बसेका र तत् पश्चात हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनैतिक दल खोलि सो दलको सभापतिसमेत आफै बनि सो दलले निर्बाचनमा भाग लिएको सर्बबिदितै छ । निज रबि लामिछानेले दल दर्ता गर्दा प्रयोग गरेको नागरिकता निज अमेरिकी नागरिक हुनु पूर्बको (श्री काठमाडौँ जिल्ला प्रशासन कार्यालयवाट मिति २०५०÷११÷१० मा नागरिकता नम्बर १८२२२ को रुपमा जारि भएको) हो ।निजले अमेरिकी नागरिकता त्यागी सकेका भए सो त्याग गरि सके पश्चात नागरिकता ऐन, २०६३ को दफा ११ र नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा गरी नेपाली नागरिकता लिएका छैनन् । नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले बिदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वत समाप्त हुन्छ अर्थात कायम रहन सक्दैन । यस्तो अवस्थामा निज रबि लामिछ्नेले अमेरिकी नागरिकता लिए पश्चात निजको नेपालको नागरिकता कायम नरहेको हुँदा निजले पुनः नेपालको नागरिकता प्राप्त नगरी निज नेपालको नागरिक हुन् सक्दैनन् र यस्तो अवस्थामा निज राजनैतिक दलमा संलग्न हुन्, उम्मेदवार हुन् र मतदान गर्न समेत सक्दैनन् । तसर्थ निज रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको सबै खाले आबद्धता अर्थात् सभापति र साधारण सदस्यता समेत राजनैतिक दल सम्बन्धि ऐन, २०७३ को दफा २१, ४६, ५५ र ५७ बमोजिम तत्कालै खारेज गरी पाउँ । २. निज रबि लामिछानेले नागरिकता ऐन, २०६३ को दफा ११ बमोजिम पुनः नेपाली नागरिकता नलिएको हुँदा निज अमेरिकी नागरिक हुन् पूर्वको अर्थात् २०५० सालको नागरिकता नम्बर १८२२२ को नागरिकता (नेपाल नागरिक ऐन, २०६३ को दफा १०(१) बमोजिम कायम नरहेको नागरिकता) प्रयोग गरी दल दर्ता गराउने कार्य श्री निर्बाचन आयोगको त्रुटिले भएको हो भने सो त्रुटि तत्कालै सच्चाई निज रबि लामिछानेको उक्त दलको सदस्यता तत्कालै खारेज गरियोस । यदि निज रबि लामिछानेले श्री निर्बाचन आयोगलाई कायम नभएको नागरिकतालाई सद्धे हो वा कायम हो भनि भ्रममा पारि झुक्याई गफलतमा पारि राजनैतिक पद प्राप्त गरी धोका दिएका हुन् भने मुकुकी अपराध संहिता,२०७४ को दफा २४९ र २५२ बमोजिमको अपराध एंब निर्बाचन कसूर तथा सजाय ऐन २०७४ अन्तर्गत समेत कार्यबाही गरी वा कार्यबाही गर्न कानूनी प्रक्रिया तत्कालै शुरु गरी निजको उक्त दलमा रहेको सभापति एंब साधारण सदस्य समेतका सम्पूर्ण आबद्धता खारेज गरी पाउँ । ३. श्री निर्बाचन आयोगले किन निज रबि लामिछानेलाई दल खोल्न, उम्मेदवार हुन् र मतदान गर्ने अधिकार प्रदान गरेको हो ? के निर्बाचन आयोगले नेपालको संबिधान, राजनैतिक दल सम्बन्धि ऐन र निर्बाचन संग सम्बन्धित ऐनको पालन गर्ने र गराउने जिम्मेवारी लिनु पर्दैन ? म बिश्वस्त छु कि निर्बाचन आयोगले कानूनको शासनको प्रत्याभूति गर्ने छ र निज रबि लामिछानेका बारेमा उठेका उक्त सवालका सम्बन्धमा तथ्ययुक्त र यथेष्ट छानबिन गरी कानून बमोजिम तत्कालै निर्णय लिने छ । ४. निज रबि लामिछानेले अमेरिकी नागरिक भएको अवस्थामा नै नेपाली पासपोर्ट सन् २०१५ मे २७ तारिख अर्थात् २०७२÷०२÷१३ गते लिएको देखिन्छ । यसरि निजले नेपाल सरकार र सरकारी निकायलाई पनि गुमराहमा राखेको देखिन्छ । अमेरिकी नागरिकको हैसियतमा नेपालमा बसेको बेलामा नेपाली पासपोर्ट लिन र सो को प्रयोग गर्न मिल्ने होइन । तसर्थ निज रबि लामीछानेले अमेरिकी नागरिकता त्याग गरेको प्रमाण पनि हाल सम्म पेश गर्न सकेको देखिदैन । यदि निज रबि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेका हुन् भने सो को प्रमाण समेत निज बाट पेश गर्न लागाई पाउँ । निज रबि लामिछानेको उम्मेद्धारी सम्बन्धमा परेको उजुरी निबेदनका सम्बन्धमा श्री निर्बाचन आयोगले गरेको छानबिन एंंब निर्णय र सो संग सम्बन्धित सम्पूर्ण दस्ताबेजलाई यस निबेदनमा प्रमाण लगाई सो प्रमाणको एक प्रति म निवेदक समेतलाई उपलब्ध गराई पाउँ । बिदेशी नागरिक वा नेपाली नागरिक नभएको गैर नेपाली नागरिकले उम्मेद्धार हुन, मतदान गर्न र राजनैतिक दल खोल्न कानूनले प्रतिबन्ध लगाएको छ भने नेपाली नागरिकले उक्त कार्य निर्बाध रुपमा गर्न पाउनु पर्दछ । तसर्थ निज रबि लामिछानेका बारेमा जे जुन प्रश्नहरु उठेका छन सो गम्भीर छन् । अनागरिक, गैर नागरिक वा बिदेशी नागरिकका हातमा मुलुकको राजनैतिक सत्ता, मुलुकको कानून बनाउने निकाय संसद र राजनीतिको बागडोर पुग्दा मुलुकको सार्बभौमसत्ता, राजनैतिक स्वाधीनता र राष्ट्रियता नै अन्ततः कमजोर बन्ने र समाप्त हुने खतरा उत्पन्न हुन्छ । तसर्थ, यस बिषयको गम्भीरता र कानूनको शासनको प्रत्याभूतिका लागि तत्कालै निर्णय होस् भनि सबिनायताका साथ् निबेदन पेश गर्दछु । निवेदक सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा न १ घर भई हाल काठमान्डू जिल्ला काठमाडौँ महानगरपालिका वडा न ३१ बस्ने बर्ष ३५ का नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युबराज पौडेल (नागरिकता नम्बर ४१३४५ सिन्धुली, जारी मिति २०६१/१२/३०) ।
सुकुम्वासीहरुको चेतावनी : वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य हुँदैन
काठमाडौं । वागमती नदी किनारका सुकुम्वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार सोमवार सयौँको संख्यामा उपस्थित सुकुम्वासीहरुले माईतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्यालीसहित बिरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर बिरोध जनाए । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्वासीहरुको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्वासीहरुले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनीसमेत दिए । र्यालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दा संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनी दिए । उनले वैकल्पिक बसोवास बिनाको उठिवास नागरिक अधिकारमाथिको हनन भएको बताए । उनले सुकसम्वासी बिध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्वासी भएको बताए । उनले जोखिममुक्त बसोवास गरेका सुकुम्वासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरुलाई त्यही वडाभित्र स्थानान्तरण गर्न माग गरे । उनले सरकारले सुकुम्वासीहरुको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे । उनले भने, ‘वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास हामीलाई सह्य छैन । यो नागरिकमाथिको हनन हो । नागरिक अधिकारमाथिको हनन हो । संविधान माथिको हनन हो । सुकसम्वासी बिध्वंसकारी होइनन् । देश विकास र निर्माणका शक्ति हौँ । जोखिममुक्त बसोवास गरेका सुकुम्वासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरुलाई अन्य सुरक्षित ठाउँमा त्यही वडा भित्र स्थानान्तरण गरेर भू स्वामित्व दिनुपर्छ ।’ सुकुम्वासीहरुले र्यालीका क्रममा बिना विकल्प उठिवास बन्द गर्, वार्ता र संवादको ढोका खुला गर्, भूमी अभियन्तामाथिको जाहेरी फिर्ता गर्, उठिवासको त्रास बन्द गर्, नागरिकको अधिकार सुनिश्चित गर् लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । गत मंसिर १२ गते अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जन भएको उनीहरुको आरोप छ । उनीहरुले भत्काउनु र बिगार्नु विकास नभइ दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।
दोहोरो अंकले घट्यो सेयर बजार, सर्वाधिक कारोबार गर्नेमा रिडी र शिवम्
काठमाडौं । सोमबारको सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज अनुसार सोमबार सेयर बजार २६.५२ अंकले घटेको हो । यसरी बजार घट्दा सेयर १९३६.६४ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ४० लाख ६१ हजार ६५७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६४ करोडको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै रिडी पावर कम्पनीको ३० करोड २१ लाख बढीको कारोबार भएको छ । रिडीपछि सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा सयपत्री हाइड्रोपावर रहेको छ । सयपत्रीको सेयर मूल्य आज ११ रुपैयाँले बढेको हो । यस्तै, सबैभन्दा बढी गुमाउनेमा अजोड इन्स्योरेन्स रेहको छ । आज अजोडले ३३ रुपैयाँ गुमाएको छ ।
प्रत्यक्षतर्फ प्रदेशसभा : ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो
काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा माओवादी केन्द्र समान नौरनौ स्थानमा विजयी भएका छन् । प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा एमालेले ९१, नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११र११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सातरसात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एकरएक स्थानमा जित हासिल गरेका छन् । प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी दुई तथा मधेस प्रदेशको ६४ सिटमा कांग्रेस १३, एमाले १५, जसपा नौ, लोसपा सात, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी चार/चार स्थानमा विजयी भएका छन् । मधेस प्रदेशसभामा छ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एकरएक स्थानमा तथा गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुईरदुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी नौरनौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीनरतीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
आन्तरिक पर्यटकको रोजाइमा चितवनको गाजीपुर मदनस्मृति पार्क
चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुरमा रहेको मदनस्मृति पार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दृश्यावलोकन स्तम्भ भ्यू टावर लगायतका भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् । नारायणी नदी किनारसँगै रहेको यो पार्क जननेता मदन भण्डारीको स्मृतिमा निर्माण गरिएको हो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परेका भण्डारीको शव यही ठाउँमा फेला परेको थियो । यहाँ नेता भण्डारीको अर्धकदको शालिक बनाइएको छ । पार्कमा चितवन र नवलपुरसँगै नारायणी र चितवन राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि स्तम्भ निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तामाङले जानकारी दिए । उनले नारायणीको बाढी र कटानले सधैँ दुःख दिइरहने तटीय क्षेत्रलाई अहिले पार्कका रुपमा विकास गरिएको बताए । पार्कमा भ्यू टावरसँगै तीन प्रतिक्षालय, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यूटावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिँडडुल गर्न मोज्याक टायल र आकर्षक रङ्गिन बत्ती लगायतका संरचना निर्माण गरिएको छ । पार्कमा आन्तरिक पर्यटक बढ्न थालेपछि नजिकै चार/पाँच रेष्टुरेन्ट र पसलसमेत सञ्चालनमा आएका छन् । बाटोको दुवैतिर र भ्यू टावरमा राखिएका रङ्गीन लाइटले पार्कलाई थप मनमोहक बनाएको तामाङले बताए । साँझको समयमा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने भन्दै पार्कलाई थप आकर्षक बनाउन हिँड्ने बाटोमा रेलिङ र विभिन्न प्रकारका बिरूवा रोपेर हरियाली बनाउने काम भइरहेको उनले जानकारी दिए । मदन भण्डारीको स्मृतिलाई जीवन्त बनाउन त्यहाँ त्यसबेला जुन अवस्थामा शव देखिएको थियो त्यसैको झल्को दिने गरेर संरचना बनाउने योजना रहेको अध्यक्ष तामाङले बताए । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना रहेको भन्दै उनले गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, ‘बायोडाइभर्सिटी’ अनुसन्धान केन्द्र बन्ने जानकारी दिए । यहाँ सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेर काम भइरएको छ । पार्कलाई थप विस्तार गर्ने तयारी गरिएको छ । दासढुङ्गादेखि चितवनको पश्चिमी अन्तिम बिन्दु गोलाघाटसम्म नदीकिनारको क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइएको पार्क निर्माण उपभोक्ता समितिका सदस्य टुकमान गुरूङ बताउँछन् । ‘अहिले पार्कको प्रारम्भिक चरणको विकासको काम भएको छ, अझै धेरै काम हुन बाँकी नै छ, सबै संरचना निर्माण भएपछि यो नमूना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ’, उनले भने । मझुवा सामुदायिक वन र दियालो सामुदायिक वन तथा कालाबञ्जर मध्यवर्ती क्षेत्रको नजिक रहेको यस क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना छ । यस क्षेत्रको संरक्षण गरी हिउँदमा देखिने साइबेरियन हाँस, कर्याङकुरूङलगायत धेरै किसिमका चरा, एकसिङ्गे गैँडा तथा गोहीको बासस्थानका रुपमा विकास गर्न सकिने र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना छ ।
पर्वतमा एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
पर्वत । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन् । विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी छिन् । ‘गत वर्षसम्म १०/१५ विद्यार्थी नियमित पढ्न आउँथे’, उनले भने, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’ विद्यार्थी विनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले सुनाइन् । विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरु एक घण्टा टाढाको विद्यालयमा पुग्छन् । विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीयवासी शेरबहादुर केसीले भने, ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’ गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ । ‘एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन’, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।’ रासस
५ कम्पनीलाई बीमा प्राधिकरणको पत्र : तत्काल आईपीओ जारी गर्नु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५ वटा जीवन बीमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ । आईपीओ जारी गर्न बाँकी रहेका ५ वटा जीवन बीमा कम्पनीलाई पत्राचार गर्दै प्राधिकरणले सो निर्देशन दिएको हो । प्राधिकरणले सिटिजन्स लाइफ, रिलायबल लाईफ इन्स्योरेन्स, सन नेपाल लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पत्र काटेको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । ‘आईपीओ जारी नगरेका कम्पनीलाई अब आईपीओ जारी गर्नुपर्छ भनेर हामीले परिपत्र पठाएका छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग बोल्दै भने- ‘ती कम्पनीलाई डकुमेन्टसहित स्वीकृति लिन आई सकेसम्म छिटो दोश्रो बजारमा जान आग्रह गरेका छौं ।’ प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउनका लागि २०७९ चैतसम्मको समय दिएको छ । जसअनुसार जीवन बीमा कम्पनीले सो अवधिसम्ममा न्युनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ । सो अवधि भित्रमा चुक्ता पुँजी पुर्याउनको लागि पनि प्राधिकरणले कम्पनीहरुलाई पत्र काट्दै सकेसम्म छिटो सेयर जारी गर्न दवाव दिएको बुझिन्छ । सेयर निष्काशन गर्न बाँकी रहेका कम्पनीहरुमध्ये अधिकांश कम्पनी प्रिमियममा सेयर जारी गर्नेमा मनसायमा छन् । तर बीमा प्राधिकरणले प्रिमियममा सेयर जारी गर्न स्वीकृति दिन्छ या दिँदैन भन्ने अन्यौलता उनीहरुमा परेको देखिन्छ । ‘सेयर जारी गर्ने विषय सेबोनको हो, यसमा सेबोनले हेर्छ, यसमा हाम्रो टाउको दुखाई छैन,’ अध्यक्ष सिलवालले भने । जसमध्ये रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ । जसको लागि कम्पनीले प्रिमियम मूल्य समेत तोकिसकेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँगै स्वीकृति मागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । उक्त आईपीओ जारी गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले ६० लाख कित्ता सेयर प्रिमियममा निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सको पछिल्लो वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित समेत गरिसकेको छ । यता सिटिजन लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमै सेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले चैतसम्ममा सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्याउने इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले बताए । ‘सेयर जारी गर्ने प्रकृयामा छौं, भर्खर संस्थापकबाट ५० प्रतिशत पुँजी थप्यौं, अब चैतभित्र सेयर जारी गरी पुँजी पुर्याउने गरी कम्पनी लागिरहेको छ,’ विकासन्युजसँग बोल्दै सीईओ पौडेलले भने- ‘प्रिमियममै सेयर जारी गर्न हामीले होमवर्क गरिरहेका छौं ।’ महालक्ष्मी र आईएमई लाइफ इन्स्योरेन्स पनि चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्काशन गर्ने तयारीमा छन् ।
कञ्चनपुरमा धान उत्पादन बढ्यो
कञ्चनपुर । कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ प्रतिहेक्टर छ । ‘गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो’, उनले भने, ‘तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।’ उनका अनुसार यसवर्ष कञ्चनपुरमा एक लाख ९० हजार एक सय चार मेट्रिन टन धान उत्पादन भएको छ । गतवर्ष कञ्चनपुरमा धानको उत्पादन २ दशमलव ५५ मेट्रिक टन प्रतिहेक्टर थियो । जिल्लामा ४८ हजार छ सय हेक्टरमा धानखेती हुन्छ । सूचना अधिकारी जोशीका अनुसार यहाँ उत्पादन हुने कञ्चनपुरमा खपत भइ ८६ हजार मेट्रिक टन धान बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । ‘कञ्चनपुर धान, गहुँ र मकैमा आत्मनिर्भर बनेको छ’, उनले भने । किसानले समयमै रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरु बताउँछन् । भीमदत्तनगरपालिका–१५ का विष्णु जोशीले सरकारले समयमै मल उपलब्ध गराउन सके धान,गहुँको उत्पादकत्व बढ्ने बताए । ‘समयमै मल पाउन सकेको भए अझ राम्रो उत्पादन हुन्थ्यो हामीसँग उन्नत जातको बीउको पनि कमी छ’, उनले भने, ‘पर्याप्त सिचाँइको सुविधा भए यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति गर्न सकिन्छ ।’ तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीलाई सुदूरको खाद्य भण्डारको रुपमा लिइन्छ ।