अर्घाखाँचीको सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

<p>अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोड रुपैयाँको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरूले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए। [&hellip;]</p>

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोड रुपैयाँको सुन्तला फलेको छ।

सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरूले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्छन्।

यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए।

उनले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेको र यसबाट दुई सय ५० क्विन्टलभन्दा बढी फलेको बताए।

उनले यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने बताए।

आफ्नो बारीमा पाँच सय ६५ बोट सुन्तला बगैंचामा रहेको जानकारी दिँदै कृषक दधीराम गौतमले भने, ‘गत वर्ष सुन्तला बिक्रीबाट नौ लाख कमाएँ, यस वर्ष सुन्तला बढी फलेकाले  १४ लाख आम्दानी हुने अपेक्षा छ।’

विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो र ६० देखि ६५ मा बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री गर्न बाध्य बनेका कृषक यस वर्ष पाणिनीको पोखराथोकमा शीतभण्डार बनेपछि भण्डारणलाई सहज भएको छ।

अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीतभण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषक खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलको भनाइ छ।

विगतमा कुहिएर जाने समस्या भोगेका किसान अहिले सुन्तला शीतभण्डारमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने योजना रहेको कृषक पौडेलले बताए।

पाणिनी–१ मा मात्र नभई वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ। पाणिनी गाउँपालिकासँगै मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ। अर्घाखाँचीमा एक वर्षमा २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रामनाथ पाण्डेले बताए।

Share News