विकासन्युज

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मंसिर २३) गते हुने भएको छ ।  दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए । उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदैछन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुने छन् । स्नातकतर्फ रु तीन हजार सात सय, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु चार हजार दुई सय तथा विद्यावारीधिमा रु चार हजार सात सय शुल्क लाग्ने छ । समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ । समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए । एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अङ्क ल्याउनेलाई पदक वितरण गरिने छ । त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मङ्सिर १५ देखि २२ गतेसम्म गाउन/स्कार्फ वितरण गरिरहेको छ । समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी लगाउनुपर्ने हुन्छ । त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ ।

नयाँ सरकार गठनका लागि ठूला दलहरु मिलेर अघि बढौं : सांसद थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरुले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतीको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाई थियो । सांसद थापाले ठूला राजनीतिक दलहरुले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरुको विकल्पको खोजी गर्न पुगेको जिकीर समेत गरे । उनले जनादेश विपरितका गतिविधि नगर्न पनि दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । सांसद थापाले भने, ‘जनादेश विपरित जाने दलहरु समाप्त हुनेछन । हामीले गल्ती गरेकाले जनताले दलहरुको विकल्प खोजेका हुन । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौं मुलुकको संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । तर, संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिवद्धता जाहेर गर्नु पर्दछ जस्तो मलाई लाग्दछ ।’ त्यस अवसरमा काँग्रेस सांसद थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गरे । उनले भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गरे ।

राष्ट्र बैंकको नीतिले ७ विकास बैंक र १२ फाइनान्सलाई झट्का, कुनलाई कति घाटा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत् उद्योगी व्यवसायीलाई राहत हुने उद्देश्यले बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारेको छ भने विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झारेको हो । ब्याजदर अन्तर घटाउँदा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन गर्ने बताएको छ । राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरुको ब्याज आम्दानी घटेर नाफा पनि घट्ने देखिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार विकास बैंकहरुको औषत स्प्रेडदर ४.५७ प्रतिशत रहेको छ । यस्तै, सोही वित्तीय विवरण अनुसार विकास बैंकहरुले ४ खर्ब २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले तोकेको ४.६० प्रतिशतभन्दा बढी स्प्रेड दर भएका ७ वटा विकास बैंक छन् । मुक्तिनाथ विकास बैंकको ४.९९ प्रतिशत, कर्पारेट डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ४.८४ प्रतिशत, सिन्धु विकास बैंकको ४.८२ प्रतिशत, ज्योति विकास बैंकको ४.७४ प्रतिशत, गरिमा विकास बैंकको ४.६९ प्रतिशत र कामना सेवा विकास बैंकको ४.६७ प्रतिशत रहेको छ । जुन राष्ट्र बैंकले तोकेको भन्दा बढी हो । अब यी बैंकहरुले स्प्रेडदर घटाएर ४.६० प्रतिशत कायम गर्नु पर्ने छ । ७ वटा बैंकहरुले स्प्रेडदर घटाउँदा कुल ५१ करोड ७९ लाख ४० हजार रुपैयाँ बढी नाफा घट्ने देखिएको छ । कर्जा लगानीका आधारमा यो हिसाव निकालिएको हो । नयाँ व्यवस्था अनुसार अब मुक्तिनाथ विकास बैंकले ०.३९ प्रतिशत स्प्रेडदर घटाउनु पर्ने देखिएको छ । जस अनुसार यस बैंकको ३४ करोड ३२ लाख रुपैयाँको हाराहारीमा नाफामा संकुचन आउने देखिएको छ । यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकले ०.३५ प्रतिशत घटाउँदा ३३ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ०.२४ प्रतिशत घटाउँदा १ करोड १३ लाख रुपैयाँ, सिन्धु विकास बैंकले ०.२२ प्रतिशत घटाउँदा ८१ लाख रुपैयाँ, ज्योति विकास बैंकले ०.१४ प्रतिशत घटाउँदा ६ करोड ८० लाख रुपैयाँ, गरिमा विकास बैंकले ०.०९ प्रतिशत घटाउँदा ५ करोड ३८ लाख रुपैयाँ र कामना सेवा विकास बैंकले ०.०७ प्रतिशत घटाउँदा २ करोड ९९ लाख रुपैयाँ नाफामा संकुचन आउने देखिन्छ । ९ वटा विकास बैंकको भने राष्ट्र बैंकले तोकेको व्यवस्था भन्दा कम स्प्रेडदर रहेको छ । महालक्ष्मी विकास बैंकको ४.५६ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.५४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५१ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.४७ प्रतिशत, सांग्रीला र एक्सेल डेभलपमेन्ट बैंकको ४.३४ प्रतिशत स्प्रेडदर रहेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.३० प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ४.०४ प्रतिशत स्प्रेडदर रहेको छ । १२ फाइनान्सलाई धक्का  राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाका कारण १२ वटा फाइनान्स कम्पनीको नाफा घट्ने देखिन्छ । १२ वटा फाइनान्स कम्पनीहरुको स्प्रेडदर ४.६ प्रतिशत भन्दा बढी रहेको छ । जसकारण फाइनान्स कम्पनीको १४ करोड २८ लाख रुपैयाँ बराबरको नाफा घट्ने देखिएको हो । सबैभन्दा धेरै आइसिएफसी फाइनान्सको नाफा घट्ने देखिएको छ । यस फाइनान्सको स्प्रेडदर ०.२९ प्रतिशत घट्दा ४ करोड ९ लाख रुपैयाँ घट्ने देखिएको हो । श्री इन्भेष्टमेन्ट फाइनान्सको ०.३८ प्रतिशत घट्दा १ करोड ९२ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको ०.३८ प्रतिशत घट्दा २ करोड ६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको ०.२९ प्रतिशत घट्दा १ करोड ४५ लाख रुपैयाँ, मन्जुश्री फाइनान्सको ०.२७ प्रतिशत घट्दा २ करोड ६३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ०.२१ प्रतिशत घट्दा २१ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ०.१९ प्रतिशत घट्दा १ करोड ९ लाख रुपैयाँ, मल्टीपर्पस फाइनान्सको ०.१६ प्रतिशत घट्दा १२ लाख रुपैयाँ, गुडविल फाइनान्सको ०.१३ प्रतिशत घट्दा ७ लाख रुपैयाँ, प्रोग्रेशिभ फाइनान्सको ०.०९ प्रतिशत घट्दा ३४ लाख रुपैयाँ, समृद्धि फाइनान्सको ०.०९ प्रतिशत घट्दा १४ लाख रुपैयाँ र पोखरा फाइनान्सको ०.०१ प्रतिशत घट्दा ९ लाख रुपैयाँ नाफामा संकुचन आउने देखिएको हो । तर, रिलायन्स फाइनान्सको ४.४२ प्रतिशत, जानकी फाइनान्सको ४.३४ प्रतिशत र बेस्ट फाइनान्स ४.१२ प्रतिशत स्प्रेडदर रहेको छ । जसका कारण यी तीनवटा फाइनान्सको नाफामा भने राष्ट्र बैंकको उक्त व्यवस्थाले कुनै असर गर्ने छैन ।

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवद्र्धनमा जोड

कमलामाई । कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको  हो । गौमती  र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन् । यहाँ पनि मन्दिर बनाइएको छ । प्राकृतिक देवीदेवताहरूको शिला छन् । कमलामाई देवीले पानी पोखेको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ । मन्दिर क्षेत्र पहाडले घेरिएको छ । चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीस्थल नजिक छ । ऐ्तिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ । ऐतिहासिक धार्मिकस्थलको संरक्षणमात्र होइन विकास र प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । उनले भने, ‘यहाँसम्म आउने बाटो कालोपत्र हुने प्रक्रियामा छ । निर्माणाधीन धर्मशाला सम्पन्न गरेर वनभोजस्थल अझ व्यवस्थित बनाउँछौँ, नमूना ठाउँ बनाएर यस क्षेत्रमा पर्यटक भित्र्याउने योजना छ ।’ हिन्दू धर्मलम्बीहरूले अतिविश्वास गर्ने धार्मिकस्थलमा पर्दछ, कमलामाई मन्दिर । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा नेपाल र भारतका भक्तजन दर्शनका लागि आउँछन् । तर मन्दिरको उत्पतिस्थल माईशीरमा धेरैजसो पुग्दैनन् । यहाँको सौन्दर्यता, ऐतिहासिकता र धार्मिकताका बारेमा प्रचार–प्रसार कमी भएको उनले सुनाए । नगरप्रमुख पोखरेलका अनुसार माईशीरमा हलुवावेद, जुनार, सुन्तला प्रशस्त पाइन्थ्यो । हलुवावेद लोप भए पनि अमिलो जातका फलफूल अझै पाइन्छ । माईशीर क्षेत्रमा जुनार, सुन्तला, कागतीलाई व्यावसायिक खेतीका रुपमा विस्तार गरी पर्यटकीयस्थलका रूपमा विकास गरिने नगरको लक्ष्य छ । यस क्षेत्रमा खानेपानी र सिँचाइको चरम समस्या भएकाले लिफ्ट खानेपानी योजनाअन्तर्गत समस्या समाधान गरिने र यहाँका नागरिकको जीवनस्तर उकास्ने उनको भनाइ छ । ‘यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गछौँ ।  त्यसपछि फलफूलको नमूना ठाउँका रूपमा विकास गदैँ लैजान्छौँ’, उनले भने, ‘विकासका हिसाबले पिछडिएको तर परिर्वतनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ ।’ इतिहासकारका अनुसार श्री ३ चन्द्रशम्शेरको पालमा विसं १९६४ मा फौदसिंहले माईशीरमा मन्दिर स्थापना गरेका थिए । सन् १९७४ मा फौदसिंहका छोरा कीर्तिमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माईस्थानमा मन्दिर निर्माण गर्न लगाउनुभएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । कमलमाई मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको स्थानीय कुमार मग्रातीले बताउनुभयो । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ । ‘हिउँद मौसममा यस ऐतिहासिक तथा धार्मिकस्थलमा वनभोज खान आउनेको भीड हुन्छ । कहिले त वनभोज खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन्’, उनले भने । कमलामाई मन्दिरमा दर्शन गर्दा मनले चिताएको पूरा हुने, शान्ति छाउने जनविश्वास रहेको पुजारी चन्द्र दासले बताए । उनले कमलामाई देवीको पवित्रस्थल शक्तिशाली भएको धारणा राखे । कमलामाई मन्दिरको उद्गमस्थल माईशीरमा भए पनि त्यसको ऐतिहासिक धार्मिकता माईस्थानमा जोडिएकाले दुवै स्थलमा सत्यता र उत्तिकै महत्व रहेको कमलामाई मन्दिरमा ४३ वर्षदेखि पुजारीका रूपमा रहेका विष्णुप्रसाद कोइरालाले बताए । उहाँका अनुसार प्रत्येक वर्ष माघे सङक्रान्तिका दिन दुवै स्थलमा  ठूलो मेला लाग्दै आएको छ । मेलामा नेपाल र भारतका भक्तजन उपस्थित बढी हुन्छन् । पहिला मन्दिरमा जाने झोलुङ्गे पुल नहुँदा बर्खायाममा भक्तजनको उपस्थित हुँदैन थियो । मन्दिरमा आवातजावत गर्न सजिलो र मन्दिर व्यवस्थित हुँदै गएपछि दर्शनार्थी बाह्रै महिना आउने गर्छन् । एकपटक दर्शन गर्न आएका दर्शनार्थी चिताएको पूरा भयो भनेर पटक–पटक आउने गरेका पनि उनले सुनाए । ‘माघ र फागुनमा कम्तीमा पनि सात–आठ हजार पशुपक्षीको काटमार हुन्थ्यो, रगतको खोलै बग्थ्यो । अहिले एक हजारको पनि काटमार हुँदैन, नरिवल फुटाउने, परेवा उडाउने गर्दछन्’, उनले भने, ‘काट्मार गरेर पशुबलि दिइन विस्तारै बन्दै गर्नुपर्छ ।’ युवापुस्ता मन्दिरमा दिइने बलि प्रथाविरुद्ध भए पनि बूढापाकाले छोड्न नसकेकाले बलिप्रथा अत्य भने भइनसकेको बताए ।

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो। उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उनलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो। कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पर्थ्यो। अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलुखेतीमा लागेकी छन् । ‘खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरैपटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ’, उनले भनिन्, ‘अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ, बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ ।’ उनले यस वर्ष करिब दुई क्विन्टल आलु लगाएकी छन्। उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलुखेती लगाइएको उनले बताइन्। रामपुर–७ बस्ने अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आएका छन् । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खाने आलु उत्पादन गर्छन् । धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ। उनले पाँच–सात वर्षदेखि व्यावसायिकरूपमा आलुखेती गरिरहेका छन् । ‘धेरै आलु उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो, समयमा नै रामपुरमा आलु नबिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो, बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपथ्र्यो, अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो’, उनले भने । किसान गौतमले नगरपालिकाको अनुदान सहयोगमा छ रोपनी जग्गामा करिब साढे छ क्विन्टल खायन आलु लगाएका छन् । बजार सहज भएमा आलु उत्पादनलाई अझै बढाउँदै जाने उनी बताउँछन् । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १५ लाख ५० हजार बराबरको रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। ‘आलुको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित आलुलाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ’, शाखा प्रमुख पाण्डेयले भने । उनका अनुसार यस कार्यक्रममा करिब तीन सय किसान आबद्ध छन्। साढे तीन सय क्विन्टल खायन आलुको बीउमा ५० प्रतिशत किसानलाई अनुदान रकम उपलब्ध गराउने कार्यक्रमअनुसार किसान आफैँले बीउ खरिद गरेर लगाएका छन् ।  रासस

निष्क्रिय भयाे चोलेन्द्रविरुद्धको महाअभियोग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै उनी आजैबाट अदालतमा हाजिर हुने समेत बताइएकाे छ ।

यी तीन मन्त्रीले भने : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्छ

काठमाडाैं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका हुन् । गृहमन्त्री खाणले यस विषयमा निकास नभए उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा मन्त्रिपरिषद् बैठकमा राखेको जानकारी दिए । मौद्रिक नीति र बैंकको ब्याजदरका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएपछि धेरै उद्योगी व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा उनीहरूले मन्त्रिपरिषद् बैठकमा राखेका हुन् । तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताएका थिए । गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीसम्बद्ध सङ्घसंस्थाले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन् । रासस

हिउँदको सुख्खा समयमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ । गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको हो । विगतका बर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो ।यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन गरी बितरण हुँदै आएको उनले बताए । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ । सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेपनि हिउँद महिनमा कम विद्युत उत्पादन हुने गरेको थियो । रासस