विकासन्युज

काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् । कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन् । पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ । कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ । दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएका थिए । महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर हालसम्म चार वटा मात्र निर्माण भएको छ । महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन । हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क(भोटाहिटी, जमल, रत्नपार्क(बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ । त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चावहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ । रासस

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार खुला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बि‌ओके)को सेयर कारोबार फुकुवा भएको छ । ग्लोबल आइएमई र बि‌ओके मर्जरको लागि प्रकृियामा गएपछि उनीहरुको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेले मंगलबार सूचना जारी गर्दै दुवै बैंकको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको छ । नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर २१ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।

प्रदेशको राजधानी दाङमा सार्नुको विकल्प छैन : लुम्बिनी प्रदेशका अर्थमन्त्री खड्का

काठमाडौं । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताएका छन् । शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी सो ठाउँमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाई थियो । मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरु बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरु क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पारे । तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको उनले बताए । मन्त्री खड्काले भने, ‘सबै दलको सहमतीमा शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले प्रदेशको राजधानी सार्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लैजाने काम मात्रै वर्तमान सरकार हो । यसमा कसैले पनि आपत्ति जनाउनुपर्ने कारण छैन ।’ मन्त्री खड्काले अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले दलहरुलाई कमजोर बनाउने काम गरिरहेको भन्दै सचेत रहन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले भने छापामारा शैलीमा मन्त्रालयहरु दाङमा सार्ने कामको सुरुवात गरिएको भन्दै आपत्ति जनाए । उनले राजनीतिक दल र सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी सेवाग्राहीलाई असर पर्ने गरी मन्त्रालयहरु दाङमा सार्ने काम गरिएको भन्दै तत्काल फिर्ता गर्न पनि प्रदेश सरकारसँग माग गरे । सांसद श्रेष्ठले भने, ‘दलहरुसँग सहमती समेत नगरी जनताको सेवामा काममा असर पार्ने गरी प्रदेशको राजधानी सार्ने काम प्रदेश सरकारले गरेको छ । दाङमा प्रदेश सरकारको राजधानी सार्ने काममा मुलुकमा थप आर्थिक भार समेत पर्ने भएकाले त्यसलाई तत्काल फिर्ता गर्न म प्रदेश सरकार र त्यसका मुख्यमन्त्रीलाई हार्दिक अनुरोध गर्दछु ।’ प्रदेश सांसद श्रेष्ठले पूर्वाधारको अभावमा जनताले सेवा पाउने काम सहज नहुने भएकाले पनि प्रदेश राजधानी लुम्विनीबाट अन्यत्र सार्न नमिल्ने जिकीर गरे । लुम्बिनी प्रदेशको मख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको फर्निचर गएराति दाङको देउखुरीमा सार्ने काम गरिएपछि रुपन्देही एमालेका सांसदहरु त्यसको विरोधमा उत्रिएका छन् ।

सेयर बजार सामान्य अंकले गिरावट, लाभांश घोषणा गरेको एनएमबि बैंकको सेयर मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ अकंमा बन्द भएको हो । लाभांश वितरण गर्ने सिजन भएपनि नेप्से सामान्य अंकले घटेको हो । पछिल्लो समय निर्वाचन सम्पन्न भएपनि कुन पार्टीको सरकार बन्छ भन्ने अन्यौलता सेयर लगानीकर्ताहरुमा रहेकाले कारण बजार सामान्य घटेको लगानीकर्ताहरु बताउँछन् । मंगलबारबार दिनभरिमा २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर १९ हजार पटक किनबेच हुँदा ९६ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.१७ प्रतिशतले बढेको छ । लघुवित्तको सेयर मूल्य ३४८.१० रुपैयाँ पुगेको छ । यस्तै, आज शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एनएमबि बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । बैंकले मंगलबार लाभांश घोषणा गरेपनि ६.०७ प्रतिशतले सेयर मूल्य घटेको हो । बैंकको १५.३० रुपैयाँ घटेर २३६.७० रुपैयाँमा सिमित भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सुकुम्वासी बस्ती भत्काउनेबारे काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाउँदै प्रदर्शन

काठमाडौं । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ । मंगलवार समितिले सुकुम्वासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्वासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो । समितिले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ । काठमाडौं महानगरसँग ऐक्यवद्धता जाहेर गरेपछि मंगलवार महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्वासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएको छ । प्रदर्शनपछि बोल्दै आन्दोलित महेशलाल बज्राचार्यले सुकुम्वासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको जानकारी दिए । उनले सुकुम्वासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा भइरहेका गतिविधिहरुको अन्त्य हुन जरुरी रहेको बताए । उनले सुकुम्वासीहरुले नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई सुकुम्वासी व्यवस्थापन गर्ने चाहना नै नभएको आरोप लगाए । उनले सुकुम्वासी आयोग, भूमि आयोग लगायतका सम्बन्धित निकायहरुले सुकुम्वासीको समस्या समाधान भएपछि आफ्नो सेवासुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताए । उनले भने, ‘सुकुम्वासीको नाममा जसरी दादागिरी भएको छ,यो गलत छ, सुकुम्वासीको तथ्यांक संकलन गरी सही सुकुम्वासीको व्यवस्थापन हुनुपर्छ,भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन हुनुपर्छ । तर यसरी खोला किनारमा लथालिङ्ग तरिकाले होइन । खोला किनारमा बसेर दादागिरी देखएर, नगरप्रहरीसमक्ष हिंसात्मक गतिविधि गरेर यसले शहरको शान्ति सुरक्षामा नै खलल पुगेको छ ।  सुकुम्वासी, भूमि आयोगहरुको यो काम छ ।’ त्यस्तै अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरुले नै सुकुम्वासीहरुलाई काखी च्यापेको आरोप लगाए । उनले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरुको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरुले हस्तक्षेप गरिरहेको बताए । उनले सुकुम्वासीको नाममा काठमाडौं उपत्यकाको जमिन हडप्न नपाइने बताए । उनले भने, ‘लालपूर्जा भएको घर भत्काउँदा कुनैपनि राजनीतिक दलहरु नबोल्ने, अहिले सुकुम्वासी बस्ती भत्काउँदा किन यति धेरै । राजनीतिक दलहरुले किन संरक्षण गरिरहेको छ, सुकुम्वासीलाई सक्कली सुकुम्वासी छनोट गरेर व्यवस्थापन हुनुपर्छ । काठमाडौैंको जमिन किन अतिक्रमण ।’ त्यस्तै अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुम्वासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुम्वासीहरुलाई हटाउन आवश्यक रहेको बताए । उनले राम्रा कामका लागि उपत्यकाका जनताले सधैँ समर्थन गर्ने भन्दै सरकार र राजनीतिक दलहरुको हस्तक्षेप भइरहे आन्दोलन थप चर्काउने चेतावनी दिए । उनले भने, ‘सुकुम्वासीलाई प्राथमिकता दिऔं, हुकुम्वासीलाई हटाऔँ । राम्रा कामको लागि उपत्यकावासी सबैले साथ समर्थन दिन्छ । यो आन्दोलन भइरहनेछ । तीन पुस्ते नागरिकता हेरेर सही सुकुम्वासीको पहिचान हुनुपर्छ ।’ प्रदर्शनकारीले उपत्यकाको भूमिलाई सुकुम्वासी भूमि बनाउन पाइँदैन, सुकुम्वासीको नाममा राजनीति गर्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

म्याग्दीमा छतमा लटरम्म फलफूल र तरकारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको हुलाकचोकको दायाँतर्फ शान्ति टोल नपुग्दै बेनी नगरपालिका– ७ का पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको तीन तले घरको छत सिमी, गाजर, मुला, साग, खुर्सानी, बन्दा, काउलीलगायत तरकारी र अन्य एकदर्जन भन्दाबढी फूलले भरिभराउ छ । श्रेष्ठको घरको छत, व्यावसायिक किसानको करेसाबारीभन्दा कम छैन । छतमै तरकारी र फलफूल फल्न र फूल्न थालेपछि श्रेष्ठ दम्पतीलाई बाहिरबाट तरकारी किन्ने झण्झट छैन । म्याग्दी जिल्ला हुलाक कार्यालयको प्रमुखसमेत रहेकी साधना कुमारीले घरको छतलाई नै करेसाबारी र फूलबारी बताएका हुन्। त्यसैगरी वीरेन्द्रचोककी सिर्जना भट्टचनको घरको छतमा मौसमी तथा बेमौसमी तरकारी फलिरहेका छन् । उनलाई तरकारी किन्न पर्दैन । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीबजारमा एक हजार दुई सयभन्दा बढी घर छन् । तीमध्ये अधिकांश घरमा कौसीखेती गरिएको छ । प्राङ्गारिक र विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमै बसेर तरकारीको स्याहार गर्दा आनन्द हुने भएकोले कौसीखेती उपयोगी भएको साधनाकुमारीले बताए । उनीजस्तै बजारका ५० महिला र पुरुषले कौसी खेतीसम्बन्धी तालिम लिएर यो खेती गरेका हुन् । आफ्नो वडामा कौसी खेतीतर्फ गृहिणीको आकर्षण देखेर वडा कार्यालयले अघिल्लो वर्ष कौसीखेतीसम्बन्धी तालिम सञ्चालन गरेको थियो । समय कटाउन सजिलो र आफैले घरकै छतमा फलाएका ताजा तरकारी खान पाइने, पैसाको बचत हुने, घरको सुन्दरता बढ्ने र बाहिर निस्कन नपर्दा सङ्क्रमणबाट जोगिने भएकाले यहाँका गृहिणी कौसी खेतीतर्फ आकर्षित भएका हुन् । भान्छाबाट उत्पन्न फोहर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तसँग साझेदारीमा तालिम तथा आवश्यक साम्रगी खरिद गरी कौसीखेतीलाई व्यवस्थित गरेको पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । ‘बेनी बजारमा कौसी खेती निकै प्रभावकारी देखिएको छ,यसलाई चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने छ’ अर्का पूर्ववडाध्यक्ष रमेशकुमार श्रेष्ठले भने । उनले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केटलगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीको सानो क्षेत्रमा घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने जानकारी दिए । भान्साबाट निस्कने फोहरलाई व्यवस्थापन गरी मल बनाउने विधि र कौसी खेतीसम्बन्धी तालिम प्राप्त गरेपछि काम गर्न सहज भएको बेनी बजारकी अर्की गृहिणी सोभिता श्रेष्ठले बताइन् । रासस

रविविरुद्ध उजुरी हाल्नेले भने : मलाई मार्ने धम्की आयो, सुरक्षा चाहियो सरकार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा उजुरी हाल्ने युवराज सफलले जिउ ज्यानकाे सुरक्षा चाहिएकाे बताएका छन् । समाजवादी केन्द्र नेपालका नेता बताउने उनले मंगलबार गृह मन्त्रालयमा चिठी लेख्दै सुरक्षा चाहिएकाे बताएका हुन् । उनले आवश्यकीय कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतिका कारण समस्या भएकाे बताउँदै मुद्धा फैसला नहुन्जेलसम्म सुरक्षा व्यवस्था गराई दिनु आग्रह गरेका छन् । ‘रवि लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै ममाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको महसुस मैले गरेको छु, सामाजिक संजाल फेसबुक, मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ, विशेषत रवि लामिछानेका समर्थक, शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ, आवश्यकीय कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतिका कारण समस्या भएकोले सो मुद्धा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेश गरेको छु,’ चिठीमा लेखिएकाे छ । साेमबार वैद्य नेपाली नागरिकता नभएको व्यक्तिले राजनितिक दल सो दलको साधारण सदस्य हुन र अध्यक्ष र सभापति हुन नमिल्ने बताउँदै उनले लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै आयोगमा उजुरी दिएका थिए । यस्ताे छ चिठी : श्रीमान् गृह सचिव ज्यु गृह मन्त्रालय ,सिंहदरबार । बिषय – जिउ ज्यानको सुरक्षा गरी पाउँ । महोदय , उपरोक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि – मिति २०७९।०८।०६ गतेका दिन रवि लामिछानेको नागरिकता विषयमा म निवेदक युवराज सफलले सो मन्त्रालयमा उजुरी दिएको र अहिले सो उजुरी उपर जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँले तदारुकताका साथ कार्य गरिरहेको कुरा यहाँलाई अवगत नै छ । रवि लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै ममाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको महसुस मैले गरेको छु । सामाजिक संजाल फेसबुक ,मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ । विशेषत रवि लामिछानेका समर्थक ,शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ । आवश्यकीय कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतिका कारण समस्या भएकोले सो मुद्धा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेश गरेको छु । नेपाली नागरिकको हैसियतमा कानुनसम्म कुरा उठाउँदा जिउ ज्यान नै जोखिममा पार्न पर्दा मैले निकै दुख महसुस गरेको छु । मेरो जिउ ज्यानमा केही भएको खण्डमा त्यसको जिम्मेवारी रवि लामिछाने ,उनका समर्थक र शुभचिन्तकले नै लिन पर्ने कुरा पनि यसै निवेदन मार्फत जानकारी गराउन चाहन्छु । नेपाल सरकारका निकायले अनुसन्धान गरी रहेको विषयमा एउटा व्यक्तिलाई मुख्य टार्गेट गरी कानुन हातमा लिन खोज्नु नेपालको संविधान विरोधी गतिविधि हो भन्ने कुरामा म विश्वस्त छु । मैले पेश गरेको निवेदनका आधारमा तत्काल आवश्यक सुरक्षा व्यबस्था मिलाई दिनुहुन सम्मानित गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । निवेदक युवराज सफल सर्वोच्च नेता समाजवादी केन्द्र नेपाल  

सस्तो डिलमा एनआईबीएल एस क्यापिटलले लगानी गर्ने, आइपीओ जारी गर्ने बाटो खुल्दै

काठमाडाैं । एनआईबिएल एस क्यापिटल र इकमर्स कम्पनी सस्तोडिलका लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् । यस लगानी सम्झाैताले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक निष्काशनमा जाने बाटो खोल्नेछ उनीहरुले बताइएकाे छ । सम्झाैतापश्चात एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले इकमर्शले मूलककाे अर्थतन्त्रमा परिवर्तन ल्याउन सक्छ भनेर सस्ताेडिलकाे १० वर्षकाे इतिहासले पुष्टि गरेकाे बताए । ‘ईकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेको सस्तोडिलले विभिन्न बाधा अड्चनको बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरको छ, उक्त कम्पनीले विभिन्न अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुसंग सम्झौता गरि अगाडि बढ्दा, सस्तोडिल प्ल्याटफर्ममा प्रोडक्टहरुको सूची र व्यापार बढ्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने । यस्तै, सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापाले एनआईबिएल एस क्यापिटलसँगकाे सहकार्यले सस्तोडिललाई निकै प्रतिस्पर्धी बनाउने बताए । ‘हाम्रा अन्य मुख्य लगानीकर्ताहरू डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्पोरेशन, आईसीटीसी समूह र आईएमई समूहसँगै अब एनआईबीएल एस समेतको सहकार्यमा सस्तोडिल नेपाल भित्र र विदेशमा समेत परिचित ब्रान्डको रुपमा स्थापित हुने लक्ष्यमा छौं,’ उनले भने । सस्तोडिलको प्ल्याटफर्महरुका १ करोड भन्दा बढी प्रयोगकर्ताहरूका साथै फिल्प कार्ट तथा मिन्त्रा जस्ता अर्न्तराष्ट्रिय ख्याति प्राप्त रणनीतिक साझेदारहरू रहेका छन् । साथै लाखौं ग्राहकहरू, सयौं ब्रान्डहरू र विक्रेताहरू समेत आवद्ध छन् । कम्पनीले युएनसिडिए सँगको सहकार्यमा नेपालभरका ३५०० अति साना र साना तथा मझौला उद्योगहरु लाई सुचना मैत्री बनाउन साझेदारी गरेको छ । कोभिड-१९ पछि, सस्तोडिलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समेत सहकार्य गर्दै आएको छ