एक महिनामै ५४ करोडले खुम्चियो निर्जीवन व्यवसाय, अधिकांशको घट्दा तीन कम्पनीको बढ्यो
काठमाडौं । पछिल्लो एक महिनामा निर्जीवन बीमा व्यवसाय ५४ करोड २२ लाख रुपैयाँले घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत असोजको तुलनामा कार्त्तिकमा निर्जीवन बीमा व्यवसाय सो मात्रा अर्थात १७.७३ प्रतिशतले घटेको हो । असोजमा ३ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका कम्पनीहरुले कार्त्तिकमा २ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ बराबरको मात्रै व्यवसाय गरेका छन् । यो अवधिमा तीन कम्पनीले मात्रै आफ्नो व्यवसाय बढाउन सफल भएका छन् । बाँकी कम्पनीको भने व्यवसाय घटेको देखिन्छ । सञ्चालनमा रहेका कम्पनीमध्ये दी ओरियन्टल, हिमालयन एभरेष्ट र सानिमा जीआईसीको बिजनेस बढेको छ । जसमा दी ओरियन्टलको सर्वाधिक अर्थात २९.८१ प्रतिशत, सानिमा जीआईसीको १८.९८ प्रतिशत र हिमालयन एभरेष्टको ३.३६ प्रतिशतले बिजनेस बढेको छ । रकमका आधारमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्सको अगाडि छ । कार्त्तिमा मात्रै इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन असोजको तुलनामा २८ प्रतिशतले घटी हो । बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रोमा सगरमाथा र तेश्रोमा नेको इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले कार्त्तिक महिनामा क्रमशः २१ करोड ६६ लाख र २१ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन असोजको तुलनामा क्रमशः १८.१९ र २५.८१ प्रतिशतले घटी हो । हालै मर्जरमा गई एकीकृत कारोबार गरिसकेका साविकका सानिमा जनरल र जनरल इन्स्योरेन्सको पनि बीमाशुल्कलाई समावेश गरिएको छ । कार्त्तिकको ७ गतेबाट एकीकृत कारोबार भएकोले सो भन्दा अगाडिको बीमाशुल्क आर्जनलाई छुट्टा छुट्टै देखाइएको छ । त्यसैले पनि प्रतिशतको आधारमा सबैभन्दा बढी बिजनेस घट्नेमा यी दुई कम्पनी रहेका छन् । यी बाहेक नेशनल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन ३६.७३ प्रतिशतले घटेको छ । असोजमा ६ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको कम्पनीले कार्तिकमा ४ करोड ३३ लाख रुपैयाँ मात्रै छ । त्यससँगै प्रभुको पनि व्यवसाय ३३.२८ प्रतिशतले घटेर कार्तिकमा ७ करोड ६३ रुपैयाँमा सीमित छ । गत साउनदेखि कार्त्तिकसम्ममा निर्जीवन बीमा कम्पनीले १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमा पोलिसी बिक्री गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । पछिल्लो समय देशको आर्थिक अवस्था खस्कँदै गइरहेकोले त्यसको असर बीमा क्षेत्रमा पनि परेको हो । त्यसमाथि पनि कार्त्तिकमा प्राय एक साताभर निरन्तर सार्वजनिक बिदा परेकोले पनि बीमा व्यवसायमा संकुचन देखिएको जानकारहरु बताउँछन् । कुनको कतिले घट्यो बढ्यो ?
दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन गर्दै सुनिल र अनिता स्याङ्ता दम्पती
काठमाडौंं । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले । दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नती हाम्रो बङ्गुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट अछुतो रहेन । अफ्रिकन स्वाइन फ्लुले स्याङ्तानको फार्ममा ३८ वटा माउ बङ्गुर मार्यो । माउ बङ्गुर नै नरहेपछि तीन सय ८० भन्दाबढी बच्चा दूध खान नपाएर मरे । यसले स्याङ्तान दम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो । ‘जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बङ्गुर फार्ममा गरेको डेढ करोड लगानी उठिसकेको हुन्थ्यो’,सुनिलले भने, ‘अफ्रिकन स्वाइन फ्लु सङ्क्रमणको जोखिम अझै पनि छ ।’ बङ्गुरपालनको पहिलो वर्षमा प्रतिफल लिने समयमा स्वाइन फ्लुका कारण व्यवसायमा नराम्रो धक्का लागे पनि स्याङ्तान दम्पतीले भने हरेस खाएको छैन । मलेसियामा छ वर्ष नौ महिना सेक्युरिटी गार्डको काम गरेपछि सुनिल २०७१ सालमा नेपाल फर्किए । त्यो बेलामा दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको तयारी चलिरहेको थियो । उनले पनि बागबजारको इन्स्टिच्युटमा भाषा परीक्षा पढ्न थाले । काभ्रेपलाञ्चोक खानिखोला(६ का स्याङ्तानले दुई महिनाको तयारीमा भाषा परीक्षा उत्तीर्ण गरे र अर्को छ महिनामा इपिएसमार्फत् दक्षिण कोरियामा कृषि क्षेत्रमा कामका लागि छनोट भए । उनलाई दक्षिण कोरियामा बङ्गुर फार्ममा काम मिल्यो । पैसा राम्रो भए पनि दुःख असाध्यै थियो । स्याङ्तानले त्यसलाई दुःखका रुपमा नलिई सिक्ने अवसरका रुपमा लिए । कोरियामा काम गर्दा बङ्गुरलाई कृत्रिम गर्भाधारण गर्नेदेखि हुर्काउने र बजार पठाउनेसम्मको कामको जिम्मेवारी उनकै काँधमा आइपर्यो । त्यसो त कोरिया जानुअघि सुनिल र अनिता लामाको विहे भएको थिएन । कोरिया जाँदा पहिलो वर्ष सुनिल बङ्गुर फार्ममा र अनिता स्ट्रबेरी फार्ममा काम गरे । त्यसको दुई वर्षपछि २०७४ मा नेपाल फर्किएर विवाह गरे । ‘विहेपछि दुवै कोरिया फर्कियौँ र एउटै बङ्गुर फार्ममा काम गर्न थाल्यौँ’, उनले भने, ‘दुवै जनासँगै भएकाले काम गर्न सजिलो पनि भयो भने बङ्गुरपालनबारे धेरै सिक्ने मौका पनि पायौँ ।’ कोरियामा श्रमिकका रुपमा पाँच वर्ष बिताएपछि सम्झौताबमोजिम उनीहरुको नेपाल फर्कने समय आयो । उनीहरुले नेपाल फर्केर के गर्ने भन्ने योजना बनाउँदै गर्दा कोरियामा सिकेको सीप, दक्षता र रकम खर्चेर स्वदेशमै बङ्गुरपालन गर्ने निर्णय लिए । ‘हामी कोरियामै छँदा नै नेपाल फर्केपछि बङ्गुरपालन नै गर्ने सोच बनाइसकेका थियौँ’, उनले भने, ‘दुवैको सोच मिलेपछि नेपाल फर्कन सहज भयो ।’ उनीहरु २०७६ फागुनमा नेपाल फर्किए तर चैतदेखि नै कोरोना महामारीले छोयो, राज्यले बन्दाबन्दीको घोषणा गरेकाले बङ्गुरपालनको योजना केही समय पर धकेलियो । कोरोना महामारीको जोखिम केही कम भएपछि २०७७ असोजमा घरेलु कार्यालयमा फार्म दर्ता गरी कात्तिकदेखि खोर निर्माणको काम सुरु भयो । फार्म निर्माण र कोरियाबाट प्राविधिक सामग्री मगाएर जडान गर्दा २०७८ जेठदेखि मात्रै बङ्गुरपालन व्यवसाय सुरु भयो । स्याङ्तान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक ७५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएर बङ्गुर फार्म सुरु गरेका छन । यसमा दक्षिण कोरियामा यो दम्पतीले कमाएको डेढ करोड रुपैयाँ लगानी भएको छ । फार्म निर्माणमा मात्रै ७५ लाख रुपैयाँँ खर्च भएको छ । ‘सुरुमा पाँचखालमा फार्म सुरु गर्ने योजना थियो तर ठाउँ खोज्दै जाँदा पनौतीमा फेला पर्यो’, उनले भने, ‘फार्मबाट वार्षिक नौ सयभन्दा बढी बङ्गुर उत्पादन र बिक्री गर्ने योजना बनाएका छौँ ।’ स्याङ्तानले बङ्गुरपालन सुरु गर्दा दोलखाको जिरीबाट २६ वटा ल्यान्डरस जातिको बङ्गुरको बच्चा ल्याए । केही समयपछि त्यो सङ्ख्यालाई ५० पुर्याए । ल्याण्डरस जातिको बङ्गुरलाई कम दाना खुवाउँदा पनि मासु बढ्ने र माउको दूध पनि धेरै आउने उनको भनाइ छ । फार्ममा बङ्गुरलाई कृत्रिम गर्भाधारणदेखि हुर्काउनेसम्मका चरणका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ । फार्ममै बङ्गुरलाई कृत्रिम गर्भाधारण गराइन्छ । माउ र बच्चालाई राख्ने छुट्टै कक्ष छ । बच्चा जन्मिएपछि करिब ३० देखि ३२ दिनसम्म बच्चालाई माउसँग राखेपछि अगल्लै राखिन्छ । बङ्गुरको बच्चालाई विभिन्न चरणमा गरी छ महिना हुर्काएपछि मासु बिक्रीका लागि योग्य हुन्छ । यस फार्मबाट माउ, बच्चा, हुर्कँदै गरेको बङ्गुरदेखि वयस्क बङ्गुर मात्र होइन, बङ्गुरको बिर्य पनि बिक्री हुन्छ । बङ्गुर पालनमा धेरै माउका लागि धेरै भाले बङ्गुर पाल्न सम्भव हुँदैन । एउटै भालेको बिर्यबाट धेरैलाई गर्भधारण गराउनका लागि ‘सिमन एक्सटेन्डर’ प्रयोग गर्ने उनको भनाइ छ । ‘सामान्यतयाः एउटा भाले बङ्गुरबाट निकालेको बढीमा एक सय एमएल बिर्यमा सिमन एक्सटेन्डर मिसाएर एक लिटरसम्म बनाउँछौँ’, उनले भने, ‘यसो गर्दा एउटा भालेको बिर्यले १८ वटासम्म पोथी बङ्गुरलाई पुग्छ भने २० घण्टासम्म राख्न सकिने अवधिलाई बढाएर १२ दिनसम्म काम लाग्ने बनाउँछौँ ।’ यस्तो बिर्यलाई १७ डिग्री तापक्रममा राख्नुपर्छ । यसका लागि पनि फार्ममा विशेष व्यवस्था गरिएको उनको भनाइ छ । पछिल्लो समय स्याङ्तानले काभ्रेका अन्य बङ्गुर फार्ममा पनि कृतिम गर्भधारणका लागि सेवा दिँदै आएका छन् । कृत्रिम गर्भधारणको सेवा सहज हुँदा अन्य फार्मलाई भाले बङ्गुर पाल्नुपर्ने झन्झट पनि हटेको छ । फार्ममा करिब ५० वटा माउ राख्न सक्ने क्षमता छ । बङ्गुरहरुले गर्ने दिसापिसाबलाई सिधै ‘सेप्टिक ट्याङ्की’मा जाने व्यवस्था मिलाइएको छ । फार्ममा बच्चा राख्नका लागि २६ डिग्रीको तापक्रम भएको कक्षको पनि व्यवस्था छ । फार्म पूर्णरुपमा सञ्चालन आएपछि मासिक एक सय वटा बङ्गुरका बच्चा जन्मनेछन् भने प्रत्येक छ महिनापछि ती सबै बिक्रीका लागि योग्य हुनेछन् । उनले औसतमा वार्षिक नौ सयभन्दा बढी बङ्गुर बिक्री गर्ने योजना बताएका छन् । हाल फार्ममा ३० वटा माउ र २० वटा अहिले साना बङ्गुर छन् । यी बङ्गुरका लागि उहाँको कम्पनीले चितवन, हेटौँडा र पाटन औद्योगिक क्षेत्रबाट दाना आपूर्ति गर्दै आएको छ । बङ्गुरपालनमा सामान्यतयाः ४० प्रतिशत खुद नाफा हुनसक्ने उनको भनाइ छ । उनले बजारीकरणका लागि काठमाडौंमा डिलरमार्फत् बिक्री गर्नुका साथै मासु खपतका लागि आफ्नै सेकुवा कर्नर खोल्ने योजना बनाएका छन् । हाल उहाँसँग दुई वटा मासु पसल पनि छ । स्याङ्तानले हालै व्यवसाय विस्तारका लागि नबिल बैंकबाट सहुलियत ब्याजदरमा २९ लाख रुपैयाँ कर्जाका लागि आवेदन दिएका छन् । उनका अनुसार स्वाइन फ्लु नभएको भए यो वर्षसम्म उनले दुई करोड रुपैयाँँ आम्दानी गरिसक्थे र अहिले कर्जा लिनुपर्ने अवस्था हुन्नथ्यो । अफ्रिकन स्वाइन फ्लुका कारण डेढ करोड लगानी उठ्न सकेन । यद्यपि स्याङ्तान दम्पती भने आगामी दिनमा बङ्गुरपालनबाट राम्रो आम्दानी हुनेमा भने ढुक्क देखिन्छन् । रासस
महिला स्वस्थ्य स्वयंसेवकको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म
कैलाली। कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन । तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो । स्वयंसेवकलाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनको छ । ‘बत्तीस वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो । कतिले गाली गरे । कतिपयले घर भाँड्न आएकी भनेर आरोप लगाए’, उनले भनिन् ‘कहिले घाम कहिले पानी गर्दै तीन दशक बितेको थाहै भएन । यो तीन दशकमा कति राम्रा कति नराम्रा काम भए होलान् । म मैले गरेको कर्मबाट निकै सन्तुष्ट छु ।’ चन्द्रावती शर्माले पनि २७ वर्ष महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गरिन्। विसं २०५२ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा समुदायका प्रत्येक घर–घरमा पुगेकी उनी कुष्ठरोग निवारणका लागि समुदायमा सञ्चालन भएको अभियानका क्रममा समुदायबाट लखेटिएको तितो अनुभव सुनाउँछिन्। हुन त त्यसबेला अभियान सञ्चालन हुँदा कुष्ठरोगको नामबाट अभियान सञ्चालन गरिएको थिएन । सुदूरपश्चिममा तत्कालीन समयमा कुष्ठरोगलाई गलत तरिकाले व्याख्या गर्ने गरिन्थ्यो । ‘कुष्ठरोग निवारणका लागि अभियान चलाउँदा स्थानीयले हामीलाई लखेटेको मलाई अहिलेजस्तै लाग्छ’, उनले भनिन्, ‘कैयौँ त्यस्ता दिन थिए जहाँ समाजले हाम्रोबारेमा राम्रोभन्दा नराम्रो व्याख्या गर्ने गरेका थिए ।’ आज आफूले गएको कामबाट उनी गर्व गर्दछिन् । आज सानो समस्या पर्दा पनि उनलाई खोज्दै आउने धेरै छन् । ‘कुनै महिलालाई समस्या हुँदा कैयौँपटक सल्लाह लिन आउँछन् । स्वस्थ्यका गतिविधि सञ्चालन हुँदा समुदायका नागरिकलाई सूचना पुर्याउने माध्यम महिला स्वस्थ्य स्वयंसेवक हुनुभएको छ’, उनले भनिन्, ‘हिजो यो कार्यमा लागेको सम्झिँदामात्रै पनि निकै पीडा हुन्थ्यो, आज गर्व लाग्छ ।’ नगरपालिकाको वडा नं ६ की सरस्वती चौधरी दुई दशकदेखि महिला स्वस्थ्य स्वयंसेवकको भूमिकामा छिन् । गाउँमा कोही बिरामी हुँदा उपचारका लागि स्थानीय घरमा पुग्ने गरेको अनुभव उनीसँग छ । ‘सामान्य रुघाखोकी, झाडापखालाजस्ता समस्या हुँदा पहिला–पहिला स्थानीय मसँग उपचार र औषधिका लागि आउनुहुन्थ्यो । उहाँहरूलाई उपचारको पहुँचमा लिएर समस्या समाधान गरिन्थ्यो’, उनले भनिन्, ‘अझै पनि हामीले आफ्नो जिम्मेवारी बिर्सेका छैनौँ । गर्भवती महिला, बालबालिकाको भरणपोषण, खोपलगायतका महत्वपूर्ण कुरामा हामीले निगरानी गर्दै आएका छौँ ।’ महिला स्वास्थ्य स्वयंसेवक बबी रावललाई पुरानो अनुभव छैन । विसं २०७४ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्दै आएकी रावलले पुराना महिला स्वस्थ्य स्वयंसेवकको जस्तो अनुभव लिन पाइनन् । त्यो बेलासम्म नागरिक सचेत भइसकेका थिए । बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मानसिकताको विकास भइसकेको थियो । ‘स्वस्थ्य संस्थाबाट प्रवाह हुने सूचनाका बारेमा बुझ्न महिला घरमै पुग्ने गर्नुहुन्छ । त्यस्तो कुनै सूचना प्रवाह गर्नुपर्ने भए हाम्रो सक्रियता बढ्छ’, उनले भनिन्, ‘समुदायमा स्वयंसेवकको भूमिका अझै महत्वपूर्ण छ तर जुन भूमिका हिजो थियो त्यति गाह्रो भने छैन ।’ अहिले पहिलेको जस्तो अवस्था भने छैन । स्थानीय सरकारले पनि महिला स्वस्थ्य स्वयंसेवकलाई सहयोग गर्दै पनि आइरहेको छ । टीकापुर नगरपालिकाले ६० वर्ष पूरा भएका महिला स्वस्थ्य स्वयंसेवकलाई सम्मानसहित बिदाइ गरेको छ । यस वर्ष पनि दिव्यश्वरी र चन्द्रावती दुवैलाई जनही ८० हजार रुपैयाँ नगदसहित सम्मानपत्रसहित बिदाइ गरेको छ । नगरपालिकाले ६० वर्ष पुगेका महिला स्वस्थ्य स्वयंसेवकलाई ८० हजार रुपैयाँ नगद र सम्मानसहित बिदाइ गर्ने गरी कार्यविधि नै बनाएको नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले बताए। उनले स्वस्थ्य क्षेत्रको सफलतामा महिला स्वस्थ्य स्वयंसेवकको भूमिका महत्वपूर्ण रहेको बताए । ‘समाजको निर्णायक भूमिकामा महिला स्वस्थ्य स्वयंसेवक छन् । उनीहरूको कामको जति प्रशंसा गरे पनि कम हुन्छ’, उनले भने, ‘कुनै सेवा सुविधाबिना पनि समाजका लागि गरेको योगदानलाई स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेको र आगामी दिनमा त्यसलाई अझै बढाएर लैजाने छ ।’ नगरपालिकाले यसभन्दा पहिला नगरपालिकाभित्रका एक सय २० महिला स्वस्थ्य स्वयंसेवकलाई मोबाइल सहयोग गरेको थियो भने अहिले महिनामा एक सयको रिचार्ज कार्ड र मासिक पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । साथै सङ्घीय सरकारले एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । उनीहरूले वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउने गरेको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए।
१० करोडको आईपीओ जारी गर्दै शिखर पावर, बिक्री प्रबन्धकमा आइएमई क्यापिटल
काठमाडौं । शिखर पावर डेभलपमेन्टले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि प्रति कित्ता १०० रुपैयाँ अंकित ९ लाख ९२ हजार ५८० कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले यसको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । वि.सं.२०७२ सालमा स्थापना भई वि।सं। २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको शिखर पावर डेभलपमेन्टको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ । यस कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत सेयर रहेको यस कम्पनीमा १० जना संस्थापक सेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको सेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको यस कम्पनीद्वारा निर्माणाधिन बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित “भिमखोला साना जलविद्युत आयोजना (४.९६ मे.वा.)” आयोजना निर्माणको चरणमा रहेको र झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ । यस कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना “लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.)” पनि प्रबद्र्धन भईरहेको तथा भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्य बताउँछन् । शिखर पावर डेभलपमेन्ट लि.मा मुख्य लगानिकर्ताका रुपमा शिक्षा, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा काम गरेका ख्याती प्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।
स्प्रेडदर घटाउनु राष्ट्र बैंकको ‘पपुलिष्ट एप्रोच’ मात्रै हो, ब्याज घटाएर घट्दैन : रोहित गुप्ता
रमेश कर्पका उपाध्यक्ष हुन् रोहित गुप्ता । नयाँ जोश, जाँगर र भिजनसहित नेपाली उद्योग व्यवसायी युवाहरुको अग्रणी सूचीमा पर्छन् रोहित । बेलायतको एक्जिटर युनिभर्सिटीबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी सन् २००७ देखि व्यवसायमा संलग्न छन् । युवा उद्यमीका रुपमा परिचित रोहितका दाजुभाइकै नेतृत्वमा रमेश कर्प अन्तर्गत बैंकिङ, सिमेन्ट, तार तथा केबल, मोबाइल, जलविद्युत, बैंकिङ, ई–कमर्श र इन्स्योरेन्स, रियल स्टेटदेखि खेलकुद र सूचना प्रविधि लगायतका करिब डेढ दर्जन उद्योग–व्यापार सञ्चालनमा छन् । उनी नेपाल उद्योग परिसंघ (सिएनआई) को उपाध्यक्ष समेत हुन् । उनले सिएनआईमा बैंक तथा वित्तीय संस्था विभागको नेतृत्व गरिरहेका छन् । उनै गुप्तासँग नेपाली उद्योग व्यवसायको वर्तमान अवस्था, तरलताको संकटमा उद्योगी व्यवसायीले भोग्नु परेका समस्या र सम्हालेका अनुभव र नियामकको नीतिप्रति उद्योगीहरुको दृष्टिकोण लगायतको विषयमा कुराकानी गरेका छौं । अहिले नेपालको अर्थतन्त्र एक किसिमको मन्दीमा छ, यो मन्दीबाट कहिले बाहिर आउला ? विश्वको अर्थतन्त्र नै अहिले मन्दीमा छ । कोरोना भाइरसले अर्थतन्त्रमा एक किसिमको संकट ल्यायो । त्यसको असर अहिले देखिएको हो । हाम्रो अर्थतन्त्रको आकार सानो छ । उद्योगी व्यवसायीहरुका लागि पनि अहिले एकदमै सकस महसुस भइरहेको छ । यो मन्दीबाट कहिले बाहिर आउँछौं भन्ने विषय कसैले पनि भन्न सक्दैन । नेपालको अर्थतन्त्र बढी जस्तो आयातमुखी छ । नेपाल राष्ट्र बैंकले जुन किसिमको नीति ल्यायो, राष्ट्र बैंकको सोच माग कम गर्नु पर्ने थियो । विदेशी सञ्चितिमा कमि आउन नदिनका लागि त्यस्तो नीति बनाएको हो । अहिले विदेशी सञ्चिति ८ महिनाका लागि मात्रै छ । राष्ट्र बैंक र सरकारको नीतिले राजश्व घट्यो । धेरैले रोजगारी गुमाए । अब अलिकति उहाँहरुले महसुस गर्नु भएको छ कि अब धेरै प्रतिबन्ध गर्नु हुँदैन । जुन वस्तुमा प्रतिबन्ध लगाएको छ, त्यसलाई खुकुलो पार्दै जाने नीति लिन थालिएको छ । मेरो व्यक्तिगत विचार भन्ने हो भने चालू आर्थिक वर्षको अन्त्यसम्म केही सहज होला भन्ने हो । अब नयाँ सरकार पनि बन्छ । त्यो सरकारले पनि सहज नीति बनाउँला भन्ने अपेक्षा हाम्रो छ । तपाईंले अब यो संकट विस्तारै सहज होला भन्नु भयो । नयाँ लगानी थप्ने, व्यवसाय विस्तार गर्ने विषयमा उद्योगी व्यवसायीले के भन्नहुन्छ ? व्यापार विस्तार गर्ने यो उपर्युक्त समय हो वा अझै केही समय कुर्नु पर्छ ? नेपाल उद्योग परिसंघले पनि आफैले आन्तरिक सर्वेक्षण गरेको छ । हामीसँग ४ हजार उद्योग व्यवसायहरु संलग्न छन् । जसमा हामीले नमुना लिएर सर्वेक्षण गरेका थियौं । उहाँहरु नयाँ लगानी थप्ने, व्यवसाय विस्तार गर्ने के कस्तो योजना छ भनेर सर्वेक्षण गरेका थियौं । ८० प्रतिशतले अहिले होल्ड गर्ने योजना रहेको सुनाएका छन् । सबै पर्ख र हेरको अवस्थामा छन् । ४/५ महिनापछि बैंक तथा वित्तीय संस्थामा तरलता बढ्यो भने अहिलकोे परिस्थिति परिवर्तन भयो भने नयाँ लगानी गर्न सकिन्छ । तर, अहिलेकै अवस्थामा व्यवसाय विस्तार गर्ने योजना उद्योगी व्यवसायीहरुको छैन । राजनीतिक माहोलले पनि देशमा व्यवसायिक वातावरणको निर्क्रयौल गर्छ, एउटा युवा उद्यमीको नजरबाट अबको ५ वर्ष कस्तो होला ? अझै एक/दुई दशकसम्म नेपालमा गठबन्धनकै सरकार हुने अवस्था देखिन्छ । मिलिजुली सरकार आएपनि आर्थिक एजेण्डा ल्याउन सक्नु पर्छ । यसअघि पनि बहुमत प्राप्त सरकार आएको थियो । तर, पनि हामीले खासै परिवर्तन देखेनौं । सरकार जे जस्तो र जसको आएपनि आर्थिक एजेण्डासहितको र उद्योग व्यवसायमैत्री हुनु पर्छ । अबको ५ वर्षमा राजनीतिक स्थीरता हुने सम्भावना देखिँदैन । नीतिगत स्थीरता भने हुनु पर्छ । कुन–कुन क्षेत्रबाट जीडीपीमा कति योगदान हुन सक्छ भनेर सरकारले आर्थिक भिजन तयार पार्नु पर्छ । २०७४ सालमा बहुमतसहितको सरकार बन्यो, त्यसपछिका ३ वर्ष व्यवसायीमा खासै उत्साह देखिएन, देशको अर्थतन्त्रमा पनि खासै परिवर्तन देखिएन । निजी क्षेत्रका लागि बलियो सरकारभन्दा कमजोर सरकार बन्यो भने राम्रो हो ? हामीलाई कमजोर र बलियो सरकार जुनसुकै भएपनि निजी क्षेत्रमैत्री हुनु पर्छ । उहाँहरुले हामीलाई सकारात्मक रुपमा लियो भने पनि नेपाल सरकारलाई धेरै सहयोग हुन्छ । हामीलाई औपचारिकता मात्रै भन्दा पनि एउटा महत्वपूर्ण पाटोको रुपमा लिनु भयो भने सबैको भलो हुन्छ । घोषणापत्रमा मात्रै आर्थिक एजेण्डा सीमित गरेर हुँदैन । कागजमा मात्रै एजेण्डा राखेर हुँदैन । कार्यान्वयन हुनु पर्छ । नेपाल उद्योग परिसंघले अहिले बजेट वाच संवादको सुरु गरेको छ । सरकारले बजेट ल्याउने तर त्यसको कार्यान्वयन नहुने भएपछि हामीले यसको सुरुवात गरेका हौं । अहिले हामी इच्छाशक्ति र कार्यान्वयनमा चुकिरहेका छौं । अहिले धेरै उद्योगी व्यवसायीहरु राजनीतिमा जानु भएको छ । कतिपय सासंद पनि हुनु भयो । यो हाम्रा लागि सकारात्मक र स्वागतयोग्य विषय हो । उहाँहरुले अब संसदमा गएर आर्थिक एजेण्डा कार्यान्वयनमा दबाब दिन सक्नु पर्छ । धेरैले लिने नाम हो विनोद चौधरी, उहाँ यस पटक प्रत्यक्षबाट जितेर सासंद बन्नु भएको छ, उहाँलाई अबको अर्थमन्त्रीका रुपमा धेरैले हेरेका छन्, यसमा तपाईंको बुझाइ के हो ? उहाँ अर्थमन्त्री बन्नुभयो भने उद्योग व्यवसायमा के कस्तो परिवर्तन आउला ? उहाँका धेरै ‘फलोअर’ हुनुहुन्छ । हामीले स्टार्टअप फेष्ट गरेका थियौं । त्यहाँ आउने अधिकांश विद्यार्थी विनोद चौधरीलाई भेट्न आउनु भएको थियो । नेपाललाई चिनाउन उहाँको धेरै भूमिका छ । उहाँले पनि अब कार्यान्वयनमा ध्यान दिनु हुन्छ भन्ने आशा छ । एउटा उद्योगी व्यवसायीले पनि राजनीति गरेर देश परिवर्तन गर्न सक्छ भन्ने उदाहरण उहाँले देखाउन सक्नु पर्छ । व्यक्तिगत फाइदा लिनका लागि हामीलाई एउटा सांसद पद आवश्यक नै पर्दैन । उद्योगी व्यवसायीहरु जति सांसद बन्नु भएको छ, उहाँहरु व्यक्तिगत स्वार्थका लागि संसदमा जानु भएको होइन भन्नेमा म विश्वस्त छु । उहाँहरुको एउटै एजेण्डा भनेको नेपालको विकास र आर्थिक एजेण्डा हो । विनोद चौधरी अर्थमन्त्री बन्नु भयो भने नेपालको जीडीपी १ सय खर्बको बनाउन लाग्नु पर्छ । उहाँले एउटा रोडम्याप बनाएर अगाडि बढ्नु पर्छ । नेपालमा विदेशी लगानी कसरी भित्र्याउने, नेपालबाट विदेशमा पनि कसरी लगानी गर्न सकिने भन्ने लगायतका विषयमा पहल गर्नु पर्छ । नेपालका व्यवसायीहरु विदेशमा लगानी गर्न नपाएर गुम्सिएर बसेका छन्, नेपालमा व्यवसाय विस्तारको सम्भावना कम छ, विदेशमा गएर लगानी गर्न चाहे पनि पाइरहेका छैनन्, यस विषयमा नेपाल उद्योग परिसंघको धारणा के हो ? एक्कासी सबै क्षेत्रमा खोल्ने भन्दा पनि क्षेत्रगत सम्भावनाको हिसाबले विदेशमा पनि लगानी गर्न सकिने वातावरण सिर्जना गर्नु पर्छ । उदाहरणका लागि मेरो नेपालमा सिमेन्ट उद्योग छ । मैले उत्पादनको एउटा क्षमता पुर्याइसकेको छु । भोलि विदेशमा त्यसको माग भयो भने विदेशमा पनि युनिट राख्ने नीति हुनु पर्छ । नेपाली उद्योग व्यवसायलाई पनि विदेशमा लैजान सक्ने वातावरण सिर्जना गर्नु पर्छ । लगानीलाई ब्लक गरेर राख्नु हुँदैन । विदेशमा बस्ने नेपालीहरुलाई पनि हामी त्यसमा जोड्न सक्छौं । यस विषयमा पनि उद्योग व्यवसाय क्षेत्रबाट सांसद भएका व्यक्तिहरुले सोच्नु पर्छ । अहिले विदेशी मुद्राको सञ्चितिमा कमि आएको छ, हामीले विदेशी लगानी भित्र्याइरहेका छौं । यसरी विदेशी मुद्राको सञ्चिति कम हुँदै जाने हो भने विदेशी लगानीकर्तालाई डलर दिन नसक्ने अवस्थाको कल्पना गर्न सकिन्छ ? भविष्यमा त जेसुकै पनि हुन सक्छ । तर, हामीले सकारात्मक विषयलाई आत्मसात गरेर काम गर्ने हो । विदेशी लगानी आएर सञ्चिति घट्छ भन्ने होइन । हाम्रो व्यापार घाटा कम गर्दै जानु पर्छ । हाम्रो जस्तो देशमा विदेशी लगानी नआएर हुँदैन । सरकारले ऋण उठाउने मात्रै काम गर्नु हुँदैन । बरु विदेशी लगानी ल्याएर नेपालमा लगानीको वातावरण सिर्जना गर्नु पर्छ । नेपालमा जुन किसिमका लजहरु निर्माण भएका छन् यसले पनि धेरै सहयोग गरेको छ । जलविद्युत क्षेत्रलाई हामीले धेरै सम्भावना छ भन्यौं । तर, अझै पनि प्रयाप्त मात्रामा उत्पादन भएको छैन । दुई/तीन वटा क्षेत्रलाई राम्रोसँग प्राथमिकता दिएर काम गर्न सकियो भने धेरै सहयोग पुग्छ । पुँजी संकलनको विषयमा तपाईंहरुले भोगेको चुनौति के हो ? उद्योगी व्यवसायीहरुले क्यापिटल मार्केटलाई पुँजी संकलनको सकारात्मक स्रोत किन बनाउन नसकेको ? अहिले मेरै पनि धेरै कम्पनी दोस्रो बजारमा सूचीकृत छन् । अहिले क्यापिटल संकलनको मुख्य क्षेत्र पुँजी बजार हो । त्यहाँ धेरै विषयहरु ‘रेष्ट्रिक्ट’ छ । अहिले मेरो धेरै पुँजी सेयर मार्केटमा बन्धक छ । जसलाई मैले न बिक्री गर्न पाएको छु नत बैंकबाट ऋण लिन नै पाएकोे छु । व्यापार राम्रो भएर नाफा जेनरेट भयो भने त्यही नाफालाई रि–जेनरेट गरेर व्यापार विस्तार गर्न सकिन्छ । सबै खालको ब्यापारलाई स्टक मार्केटमा लिनु पर्छ । नीति निर्माणको विषयले पनि फरक पर्छ । विभिन्न निकायहरुले पनि अहिले विस्तारै खुकुलो नीति ल्याइरहेका छन् । पहिले यस्तो थिएन । अब मैले आफ्नो कम्पनीलाई पुँजी बजारमा सूचिकृत गर्नु पर्छ भन्ने सोचाइ उद्योगी व्यवसायीहरुमा आइसकेको छ । अबको केही वर्षपछि धेरै परिवर्तन देखिन्छ । तपाईंले नेतृत्व गरेका कम्पनीहरुलाई पुँजी बजारमा सूचिकृत गराउने केही योजना बनाउनु भएको छ ? विद्युतीय तथा केबल तार बनाउने लिटमस कम्पनीलाई दोस्रो बजारमा लैजाने तयारी छ । अर्को भेन्चर कम्पनी पनि सुरु गर्ने योजना छ । त्यसलाई पनि सूचिकृत गराउने हो । कम्पनीहरुलाई पुँजी बजारमा सूचिकृत गराएपछि के कस्ता अवसरहरु देख्नु भएको छ ? यसमा धेरै अवसरहरु छन् । पब्लिक कम्पनी भएपछि मेरो निजी कम्पनीहरु होइन भन्ने हुन्छ । एउटा सिंगोे टिम हुन्छ । त्यसमा धेरैको स्वामित्व हुन्छ, धेरैको दिमाखले काम गर्छ । धेरैले रोजगारी पाउँछन् । धेरैले आफ्नै बिजनेस गरिरहेको छु भन्ने महसुस छ । अहिले ब्याजदरको विषयलाई लिएर उद्योगी व्यवसायीहरु आन्दोलित छन्, बैंकको ब्याजदर घटाउने दबाबका लागि यसरी आन्दोलन गर्नु उचित हो ? नेपालमा आन्दोलन नगर्दासम्म परिवर्तन हुँदैन भन्ने मानसिकता सबैमा बसिसकेको छ । । निजी क्षेत्र अर्थात् उद्योग व्यवसायले जीडीपीमा गरेको योगदान पनि हामीले बुझ्नु पर्ने हुन्छ । नाडाले आन्दोलन गर्ने तयारी गरेको छ । अटो मोबाइल्स क्षेत्रले पनि धेरै योगदान गरेको छ । सरकारले पनि एउटा क्षेत्रलाई यसरी निरुत्साहित गर्नु हुँदैन । यो क्षेत्रमा धेरैले रोजगारी पाएका छन् । भएकाहरुलाई पनि तलब दिन सक्ने अवस्था छैन । हामीले बैंकलाई पनि सावाँ किस्ता तिर्नु पर्छ । अहिले कर्जाको किस्ता तिर्न पनि गाह्रो भइरहेको छ । यो आन्दोलन भनेको उद्योगीहरुमा भएको ‘फ्रस्ट्रेशन’ हो । पछिल्लो समय को बैंकर र को उद्योगी/व्यवसायी भन्ने विषयले पनि बहस सिर्जना गरेको छ, एक किसिमको दुविधा पनि उत्पन्न गराएको छ, बैंककै सञ्चालक पनि ब्याज घटाउनु पर्छ भन्दै सडकमा देखिएका छन्, यस विषयमा तपाईंको धारणा के हो ? योे सबैको पर्सन च्वाइस हो । हुन त यस्तो नहुनु पर्ने हो । यसमा व्यापारिक समुदायले पनि सोच्नु पर्छ । मेरो व्यक्तिगत र संस्थागत भूमीमा के हुनु पर्छ भनेर व्यवसायीहरुले मनन गर्नु पर्छ । यो विषय छुट्याउन सक्यो भने समस्याको समाधान आफै हुन्छ । त्यो नै नेपालका लागि राम्रो हुन्छ । हुन त हामी खुला अर्थतन्त्रमा छौं भन्छौं । तर, केही नीतिगत विषयहरुले त्यो कुरा झल्किँदैन, बैंकको ब्याजदर, लाइसेन्स राज, वस्तुको मूल्य निर्धारण लगायतका विषयमा अझैं पनि हस्तक्षेप छ, यसमा तपाईंको बुझाइ के हो ? हामी ‘फ्रि इकोनोमी’मा नै छौं । तर, केही विषयहरुमा अझैँ पनि बन्धक छ । जस्तै विदेशमा लगानी गर्न पाइएको छैन । नेपालले सम्भावनाहरुको उजागर गरेर सबै खोल्यो भने राम्रो हुन्छ । फ्रि इकोनोमी भएपनि हामी एउटा बन्धन छौं । नेपालको बैंकिङ, आयातमा गरिएको प्रतिबन्ध लगायतका विषयहरुले फ्रि इकोनोमीमा प्रश्न उब्जाएको छ । ब्याज बढ्यो भनेर विषय आयो । तर, अहिले तरलताको संकट छ । तरलताको समस्या रहेन भनै ब्याज आफै घट्छ । अहिले ब्याज बढ्यो भनेर न्यारेटिभ गरिएको छ । ब्याज घटेर घट्ने विषय होइन । अहिले राष्ट्र बैंकले स्प्रेडदर घटाएको छ, मलाई लाग्छ यसले ब्याज घट्नमा सघाउ पुग्दैन । राष्ट्र बैंकले रिफाइनान्स र तरलताका विषय सहज गर्नु पर्थ्यो । स्प्रेडदर घटाउनु भनेको पपुलिष्ट एप्रोच मात्रै हो । अहिले पनि धेरै क्षेत्रमा लाइसेन्स राज छ । यस विषयमा उद्योगी व्यवसायीहरुका छाता संस्थाहरु बोल्दैनन्, लाइसेन्स खुल्ला गर्यो भने के बिग्रन्छ ? यो प्रश्नको सही उत्तर छैन । अहिले मैले बैंक खोल्न चाह्यो भने लाइन्सेनस पाउँदैन । कुनै पनि देशमा पनि फ्रि इकोनोमी भनेपनि लाइसेन्स खुला हुँदैन । सरकारले पनि यस विषयमा केही सोचेको होला । यो बन्द गर्नुलाई मैले नराम्रो हो भन्दिन ।
बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै
बाँके । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । यसले जिल्लाका ग्रामिण क्षेत्रका धार्मिक केन्द्र र नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर लगायतका केन्द्रलाई जोडेर पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने योजना छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य ढकालले अबको पाँच वर्षभित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुवरभवानी, नेपालगञ्जको बागेश्वरी मन्दिर र नरैनापुरको सन्तानेश्वर र बाबाबर्फानी मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरिने जानकारी दिए। ‘धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ तर त्यसका लागि नीति र योजना चाहिन्छ’ उनले भने । समानुपातिकतर्फका प्रदेशसभा सदस्य वसन्ती अधिकारीले सबैका आस्थाका रुपमा रहेका सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एवं पर्यटकीय गन्तब्य बन्दै गएको बताए। उनले यस क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनको कार्यक्रम अघि बढाइने जानकारी दिए । तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर ६ कोहलाबाट उत्तरपूर्व जङ्गलको अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चढेर पुग्न सकिन्छ । यस क्षेत्रबाट तराईको रमणीय दृश्वावलोकन समेत गर्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभइ अन्य विभिन्न जिल्लाबाटसमेत दर्शन गर्न आउने स्थानीय सोहनलाल यादवले बताए । करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधिसभा सदस्य ढकालसहित ५० भन्दा बढीको टोली दर्शनका लागि त्यहाँ पुगेको थियो । सन्तानेश्वर मदिरको दर्शनपछि ढकालले त्यहाँका पूजारी योगानन्द गिरीसङ्ग कुरा गर्दै आफूले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि उल्लेख्य काम गर्ने र पर्यटकीय सम्भावना बोकेको मन्दिरमा जाने बाटो सहज बनाउन पहल थाल्ने बताए । उनले त्यस क्षेत्रको विकासका लागि होमस्टेको अवधारणा ल्याउने योजना बनाउने जानकारी दिए। नेपालगञ्जबाट करिब ३७ किलोमिटर पूर्वदक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा सो मन्दिर रहेको छ । यस मन्दिरमा सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भएपछि त्यहाँ पुगेर आफ्नो सन्तानको लागि गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए ।
म्याग्दीमा धान र कोदो उत्पादन घट्यो
म्याग्दी । म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जङ्गलको ओसले पनि धान र कोदोको उत्पादन घट्नुको थप कारण भएको उनले बताए। गत वर्ष म्याग्दीमा १३ हजार चार सय ८० मेट्रिक टन धान र तीन हजार चार सय ९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । यसपालि तीन हजार दुई सय ५० मेट्रिक टन कोदो र ११ हजार नौ सय २९.३३ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले बताइन् । ‘जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ’, उनले भनिन् ‘धान प्रतिहेक्टर ३.४ मेट्रिक टनबाट घटेर ३.१ मेट्रिक टन प्रतिहेक्टर भएको छ । कोदोको उत्पादकत्व प्रतिहेक्टर १.२८ बाट घटेर १.२७ मेट्रिक टन भएको छ ।’ कृषि प्राविधिकहरूले जिल्लाका विभिन्न स्थानमा धान र कोदोको क्रप कटिङ गरेर उत्पादकत्व पहिचान गरेका थिए । म्याग्दीमा दुई हजार सा सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान खेती हुन्छ । गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुने गर्छ । रासस
सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता सुरु, विजेताले एक लाख १६ हजार रुपैयाँ पाउने
काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । नेपाल गल्फर एसोसियनले आयोजना गरेको उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय लामा, धन थापा, रामे थापा लगायतले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रोले ६३ हजार पाउनेछन् । यस्तै, शीर्ष २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।