राष्ट्र बैंकको नीतिले ७ विकास बैंक र १२ फाइनान्सलाई झट्का, कुनलाई कति घाटा ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत् उद्योगी व्यवसायीलाई राहत हुने उद्देश्यले बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारेको छ भने विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झारेको हो । ब्याजदर अन्तर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत् उद्योगी व्यवसायीलाई राहत हुने उद्देश्यले बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारेको छ भने विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झारेको हो ।

ब्याजदर अन्तर घटाउँदा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन गर्ने बताएको छ । राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरुको ब्याज आम्दानी घटेर नाफा पनि घट्ने देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार विकास बैंकहरुको औषत स्प्रेडदर ४.५७ प्रतिशत रहेको छ । यस्तै, सोही वित्तीय विवरण अनुसार विकास बैंकहरुले ४ खर्ब २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले तोकेको ४.६० प्रतिशतभन्दा बढी स्प्रेड दर भएका ७ वटा विकास बैंक छन् । मुक्तिनाथ विकास बैंकको ४.९९ प्रतिशत, कर्पारेट डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ४.८४ प्रतिशत, सिन्धु विकास बैंकको ४.८२ प्रतिशत, ज्योति विकास बैंकको ४.७४ प्रतिशत, गरिमा विकास बैंकको ४.६९ प्रतिशत र कामना सेवा विकास बैंकको ४.६७ प्रतिशत रहेको छ । जुन राष्ट्र बैंकले तोकेको भन्दा बढी हो ।

अब यी बैंकहरुले स्प्रेडदर घटाएर ४.६० प्रतिशत कायम गर्नु पर्ने छ । ७ वटा बैंकहरुले स्प्रेडदर घटाउँदा कुल ५१ करोड ७९ लाख ४० हजार रुपैयाँ बढी नाफा घट्ने देखिएको छ । कर्जा लगानीका आधारमा यो हिसाव निकालिएको हो ।

नयाँ व्यवस्था अनुसार अब मुक्तिनाथ विकास बैंकले ०.३९ प्रतिशत स्प्रेडदर घटाउनु पर्ने देखिएको छ । जस अनुसार यस बैंकको ३४ करोड ३२ लाख रुपैयाँको हाराहारीमा नाफामा संकुचन आउने देखिएको छ ।

यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकले ०.३५ प्रतिशत घटाउँदा ३३ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ०.२४ प्रतिशत घटाउँदा १ करोड १३ लाख रुपैयाँ, सिन्धु विकास बैंकले ०.२२ प्रतिशत घटाउँदा ८१ लाख रुपैयाँ, ज्योति विकास बैंकले ०.१४ प्रतिशत घटाउँदा ६ करोड ८० लाख रुपैयाँ, गरिमा विकास बैंकले ०.०९ प्रतिशत घटाउँदा ५ करोड ३८ लाख रुपैयाँ र कामना सेवा विकास बैंकले ०.०७ प्रतिशत घटाउँदा २ करोड ९९ लाख रुपैयाँ नाफामा संकुचन आउने देखिन्छ ।

९ वटा विकास बैंकको भने राष्ट्र बैंकले तोकेको व्यवस्था भन्दा कम स्प्रेडदर रहेको छ । महालक्ष्मी विकास बैंकको ४.५६ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.५४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५१ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.४७ प्रतिशत, सांग्रीला र एक्सेल डेभलपमेन्ट बैंकको ४.३४ प्रतिशत स्प्रेडदर रहेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.३० प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ४.०४ प्रतिशत स्प्रेडदर रहेको छ ।

१२ फाइनान्सलाई धक्का 

राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाका कारण १२ वटा फाइनान्स कम्पनीको नाफा घट्ने देखिन्छ । १२ वटा फाइनान्स कम्पनीहरुको स्प्रेडदर ४.६ प्रतिशत भन्दा बढी रहेको छ । जसकारण फाइनान्स कम्पनीको १४ करोड २८ लाख रुपैयाँ बराबरको नाफा घट्ने देखिएको हो ।

सबैभन्दा धेरै आइसिएफसी फाइनान्सको नाफा घट्ने देखिएको छ । यस फाइनान्सको स्प्रेडदर ०.२९ प्रतिशत घट्दा ४ करोड ९ लाख रुपैयाँ घट्ने देखिएको हो ।

श्री इन्भेष्टमेन्ट फाइनान्सको ०.३८ प्रतिशत घट्दा १ करोड ९२ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको ०.३८ प्रतिशत घट्दा २ करोड ६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको ०.२९ प्रतिशत घट्दा १ करोड ४५ लाख रुपैयाँ, मन्जुश्री फाइनान्सको ०.२७ प्रतिशत घट्दा २ करोड ६३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ०.२१ प्रतिशत घट्दा २१ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ०.१९ प्रतिशत घट्दा १ करोड ९ लाख रुपैयाँ, मल्टीपर्पस फाइनान्सको ०.१६ प्रतिशत घट्दा १२ लाख रुपैयाँ, गुडविल फाइनान्सको ०.१३ प्रतिशत घट्दा ७ लाख रुपैयाँ, प्रोग्रेशिभ फाइनान्सको ०.०९ प्रतिशत घट्दा ३४ लाख रुपैयाँ, समृद्धि फाइनान्सको ०.०९ प्रतिशत घट्दा १४ लाख रुपैयाँ र पोखरा फाइनान्सको ०.०१ प्रतिशत घट्दा ९ लाख रुपैयाँ नाफामा संकुचन आउने देखिएको हो ।

तर, रिलायन्स फाइनान्सको ४.४२ प्रतिशत, जानकी फाइनान्सको ४.३४ प्रतिशत र बेस्ट फाइनान्स ४.१२ प्रतिशत स्प्रेडदर रहेको छ । जसका कारण यी तीनवटा फाइनान्सको नाफामा भने राष्ट्र बैंकको उक्त व्यवस्थाले कुनै असर गर्ने छैन ।

Share News