विकासन्युज

११औँ अन्तर्राष्ट्रिय ब्राह्मण सम्मेलन काठमाडौंमा हुने, अमेरिकासहित ९ देशबाट सहभागी हुने

काठमाडौं । जन्म र कर्म दुवै आधारमा ब्राह्मण भएकाहरूको ११औँ अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर १२, १३ र १४ गते काठमाडौंमा हुने भएको छ । ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रस्ट नेपाल शाखाको आयोजनामा तीन दिने सम्मेलन गर्न लागिएको संयोजक धर्मराज बरालले जानकारी दिए । सम्मेलनमा ९ वटा देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको पनि उनले सुनाए । अन्य देशबाट आउने प्रतिनिधिको नाम पनि केही दिनमा प्राप्त हुने भएको छ । भारत, पाकिस्तान, बङ्गलादेश, अमेरिका, हल्याण्ड, जर्मनी, अस्ट्रेलिया, सुरीनाम, बेलायत लगायत देशबाट आउने प्रतिनिधिको नामावली प्राप्त भइसकेको सङ्गठनका मुख्य संरक्षक गर्गाचार्य गुरु अर्जुनप्रसाद बास्तोलाले बताए । सम्मेलनमा विदेशबाट १५० जना प्रतिनिधि आउने छन् । नेपालका ५० जना ब्राम्हणको सम्मेलनमा सहभागिता रहने जनाइएको छ । तीन दिन चल्ने सम्मेलनमा २०० जना सहभागी हुनेछन् । कर्मले सनातनी ब्राम्हणको व्यवहार गर्नेहरूले यस सङ्गठनको सदस्यता लिनसक्ने सम्मेलनको सचिवालय संयोजक रहेका पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । सम्मेलन पशुपति क्षेत्रमै आयोजना गरिने जनाइएको छ । सम्मेलनको अन्तिम दिन मङ्सिर १४ गते काठमाडौं घोषणापत्र पनि जारी गर्ने तयारी भएको छ । भारतमा दर्ता भएको सङ्गठनको हालको अन्तर्राष्ट्रिय अध्यक्ष डा सुरेशचन्द्र कौशिक रहेका छन् । 

अनुमतिबिना ड्रोन उडानमा रोक, कानुनविपरीत उडाएमा अनुमति खारेज

काठमाडौं । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया पूरा नगरी मानवरहित हवाई उपकरण (ड्रोन) उडान नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा नियमविपरीत ड्रोन उडान भइरहेको गुनासो बढेपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जारी गरेको सूचनामा नागरिकको गोपनीयता, व्यक्तिगत सुरक्षा तथा सामरिक संवेदनशीलतालाई ध्यानमा राख्दै कानुनअनुसारका सबै प्रक्रिया पूरा नगरी ड्रोन उडान गर्न नपाइने स्पष्ट पारिएको छ । यस्तै अनुमतिबिना जबर्जस्ती ड्रोन उडान गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ । प्रशासनका अनुसार ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ ले तोकेअनुसार ड्रोन अनिवार्य रूपमा दर्ता गर्नु तथा उडान अनुमति लिनु अनिवार्य छ । ड्रोनको बनोट तथा तौलका आधारमा वर्गीकरण, अधिकतम उचाइ र उडान समय, उडान क्षेत्र निर्धारणलगायतका सबै प्रावधान पालना गरेपछि मात्र ड्रोन उडान गर्न पाइने प्रशासनले स्पष्ट गरेको छ । कानुनविपरीत ड्रोन उडान भएमा उडान अनुमति खारेज, उपकरण जफतलगायत आवश्यक कानुनी कारबाही हुने भन्दै प्रचलित नियमविपरीत ड्रोन उडान नगर्न प्रशासनले सर्वसाधारण, सङ्घसंस्था तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति ३ दिनभित्र पेस गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको  ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’को प्रगति तीन दिनभित्र पेस गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निर्देशन दिएका छन् । बिहीबार विभागीय प्रमुख र कार्यक्रमका फोकल पर्सनहरूसँगको संयुक्त बैठकमा उनले आन्तरिक सञ्चार र समन्वयमा जोड दिँदै प्रक्रियामा भएका योजना कहिले टुङ्गिने हो ? अपेक्षित अवधि, समस्या भए समाधानका उपायसहितको विवरण पेस गर्न भनेका हुन् ।  यी विवरण सहरी योजना आयोग, योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ र प्रमुख प्रकाशकीय अधिकृतको सचिवालयमा बुझाउनुपर्ने छ । चालु आर्थिक वर्षका लागि स्वीकृत भएका र सार्वजनिक खरिद प्रक्रियामा जानुपर्ने कार्यक्रमको अवस्थाका बारेमा जानकारी लिँदै उहाँले कात्तिक मसान्तसम्ममा सूचनामा गइ सक्नुपर्ने योजना त्यसअनुरूप कार्यान्वयनमा नगएको भए आउँदो १५ दिनभित्र पठाइसक्न प्रमुख गुरागाईँले निर्देशन दिए ।  बैठकमा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले आन्तरिक सञ्चारको अभावमा प्राप्त उपलब्धिलाई अभिलेखन गर्न नसकिएको जानकारी दिए । नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्द्धन, वातावरण सुधार गौरवको योजना हुन् । त्यसैगरी, आमनागरिकको प्रत्यक्ष चासोका रूपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रूपमा राखिएको छ । गौरवका योजना ११ र स्वर्णिम योजना ३० वटा छन् । यी योजना पहिलोपटक १३औँ नगरसभाको अधिवेशनमा विनियोजन वियेधकमार्फत पेस भएका हुन् ।  गौरव योजना अन्तर्गत ‘उज्यालो सहर, मेरो महानगर’, ‘धुलोरहित सडक’ र ‘ढलरहित खोलानाला’ गरी तीनवटा योजना सार्वजनिक निर्माण विभाग अन्तर्गतका छन् । ‘महानगरले देख्छ’ र ‘सुशासनका लागि अनलाइन सेवा’ गरी दुई वटा योजना सूचना प्रविधि विभाग अन्तर्गत कार्यान्वयनमा छन् । हिटी र पोखरीको पुनःस्थापना’ र ‘संस्कृति, सम्पदा र पर्यटन’, महानगरको धन’ गरी दुई वटा योजना सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्छ ।  ३० वटा स्वर्णिम योजनामध्ये ‘सम्पदा मर्मत तथा संरक्षण’, ‘सांस्कृतिक महानगर’, ‘पर्यटकीय सहर’ र ‘ढुङ्गेधारा हिटी र पोखरी’ गरी चारवटा कार्यक्रम सम्पदा तथा पर्यटन विभाग अन्तर्गत कार्यान्वयनमा छन् । ‘साथी महानगर’, ‘सबैको योजना, सबैको विकास’, ‘स्वरोजगार नगरवासी’ र ‘क्लोथ बैंक’ गरी चारवटा कार्यक्रम सामाजिक विकास विभाग अन्तर्गत कार्यान्वयनमा छन् ।

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ ।’ यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएको थियो । तर जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो । फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदनहरू सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ ।

कात्तिकमा ३५ हजार बढी पर्यटकले घुमे ‘एक्याप’

काठमाडौं । गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज-कात्तिकलाई मुख्य पर्यटकीययामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए ।  आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा कडरियाले बताए। कात्तिकमा पर्यटकीययामसँगै मुख्य चाडपर्व र बिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो । यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ । मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । ७ हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

सन्तोष गौतम काठमाडौं । घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए । ‘हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मङ्गलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन् । आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ,’ उनले भने । तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मङ्गला गाउँपालिका-२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए ।  तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए ।  ‘चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ । शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो,’ उनले भने । विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् । पूर्वाधार तयार  गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए । स्थानीयवासीले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो । तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब ३ लाख रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिका-५ देउरालीदेखि तीनचुले जोड्ने ७ किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । कसरी पुग्ने ? तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हुँदै २ घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ । टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ ।  दुई जिल्लाको सम्बन्धको सेतु  तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् ।  ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल) ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए । अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनको भनाइ छ । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए । ‘तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ । पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ,’ उनले भने ।  रासस

अन्तर्देशीय प्रसारण लाइन निर्माणमा ३ अर्ब लगानी गर्दै नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब रुपैयाँ र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा २ अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी हुनेछ ।   इनरुवा-पूर्णिया र दोदोधारा-बेरेली ४/४ केभी क्षमताका अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति २ देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तर्देशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् ।  प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ । नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ ।

बन्चरेडाँडामा स्थानीयको अवरोध हटाउने सहमति

काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हट्ने भएको छ ।सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बिहीबार भएको वार्ताले ११ बुँदे सहमति जुटाएको हो ।  बैठकमा सहरी विकास मन्त्रालय, प्रभावित क्षेत्र धादिङको धुनिबेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिकाका पदाधिकारी र स्थानीय बासिन्दा सहभागी थिए ।  सहमति जुटेसँगै फोहोरमैला विसर्जनमा भएको अवरोध शुक्रबारबाट खुल्ने भएको हो । साथै सरकारले स्थानीयलाई विगतमा चलाइएका मुद्दा फिर्ता लिने भएको छ ।  आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार जग्गा अधिग्रहणका लागि आवश्यक बजेट विनियोजन गर्ने काम अगाडि बढाउने सहमति समेत जुटेको छ । बन्चरेडाँडाका स्थानीयका लागि तत्काल चालु आव २०८२/८३ को घरटहरा तथा बालीको मुआब्जा दिन काठमाडौं महागरपालिकालाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।  साथै महानगरले एक महिनाभित्र बन्चरेडाँडा क्षेत्रका अतिप्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई दिइएको आधारमा बन्चरेका हकमा समेत सोहीलाई आधार मानेर क्षतिपूर्ति दिने सहमति जुटेको छ ।