बाजुरामा प्रसूति केन्द्र निर्माणमा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई २६ लाख १५ हजार २०६ रुपैयाँको लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो । निर्मित संरचना हाल प्रयोगविहीन भई भग्नावशेषमा परिणत भएको र यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग भएको आयोगले आयोगले जनाएको छ । आयोगले प्रतिवादीहरूमाथि जनही १५ लाख आठ हजार ५५७ बिगो कायम गरेको छ ।
आइएमई खल्तीले सार्वजनिक गर्यो ‘खल्ती ट्रान्स्फर लिग’ अफर
काठमाडौं । आइएमई खल्ती लिमिटेडले नयाँ अफर ‘खल्ती ट्रान्स्फर लिग’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उत्साह थप्दै कम्पनीले मङ्सिर २ गतेदेखि २९ गतेसम्म चल्ने १ महिनाको अवधिको यस अफरलाई क्रिकेट खेल जस्तै रमाइलो बनाएको कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत खल्तीका सेवाग्राहीहरूले विभिन्न फन्ड ट्रान्स्फर कारोबार मार्फत ‘रन’ कमाउन सक्नेछन् । खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन, खल्ती एस्क्रो प्रयोग गर्दा २ रन, खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन, र विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुने व्यवस्था गरिएको छ । कमाएको रनहरू जम्मा गरेर सहभागीहरूले दैनिक, साप्ताहिक र बम्पर पुरष्कार जित्ने अवसर पाउनेछन् । ६ रनमा दैनिक एनपिएलको टिकट, ५० रनमा हरेक हप्ता सि एम एफ फोन १, र १०० रनमा बम्पर पुरष्कार स्वरूप बजाज पल्सर एन१६० डुअल एबिएस जित्न सकिने व्यवस्था गरिएको छ । कम्पनीले यस अफर मार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय कारोबारमा सहभागी हुने रमाइलो र आकर्षक अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।
शून्य प्रिमियममा ५० करोड रुपैयाँसम्म सेयर कर्जा, बजारमा नयाँ तरङ्ग पैदा
काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सेयर लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा 'सेयर लोन' योजना सार्वजनिक गरेको हो । सेयर धितो राखेर कर्जा प्रवाह गरिने यो योजनामार्फत बैंकले लगानीकर्तालाई सहज, किफायती र लचिलो कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । ग्राहकहरूको आवश्यकता, बजारको चाल तथा समयको मागलाई ध्यानमा राख्दै बैंकले अर्थतन्त्रको महत्वपूर्ण पिलर मानिने सेयर बजारलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कर्जा योजना ल्याएको जनाएको छ । यस अन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी ब्याजदर, छिटो तथा पारदर्शी सेवा र लचिलो भुक्तानी योजनासहितको सुविधाले सुसज्जित यो कर्जालाई अझ प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीमा आधारित ‘कर्जा सहायता केन्द्र’ स्थापना गरी ग्राहकका सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै समाधान गर्ने व्यवस्था मिलाएको छ । बैंकले यो योजनाले सेयर बजारमा सक्रिय लगानीकर्तालाई थप सहजता प्रदान गर्ने र वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न
काठमाडौं । क्रिप्टो बजारमा पछिल्लो केही दिनयता गिरावट जारी छ । बिटकोइनसहित धेरै ठूला क्रिप्टोकरन्सीहरू धराशायी भइसकेका छन् । तर एक क्रिप्टोकरन्सी भने यस्तो छ जसमा यो गिरावटको प्रभाव परिरहेको छैन । त्यसको नाम जीक्यास हो । पछिल्ला २४ घण्टामा धेरै क्रिप्टोकरन्सीमा ठूलो गिरावट देखिए पनि जीक्यासको मूल्य करिब १२ प्रतिशत बढेको छ । दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा धेरै भएको छ । बिहीबार दिउँसो करिब २:३० बजे जीक्यास क्रिप्टोको मूल्य ६७३ डलर (करिब ९६ हजार रुपैयाँ) थियो । यो क्रिप्टोले मात्र २० दिनमा लगानी दोब्बर गरिसकेको छ । अक्टोबर ३१ मा यसको मूल्य करिब ३३० डलर थियो, अहिले ६७० डलरभन्दा माथि पुगेको छ । यसरी हेर्दा २० दिनमै यसले लगानीकर्तालाई १०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । त्यस्तै एक महिनामा यसको रिटर्न १६० प्रतिशतभन्दा बढी भइसकेको छ । जीक्यास क्रिप्टो दुई महिनामा लगानीकर्तालाई असाधारण रिटर्न दिइसकेको छ । दुई महिना अघि यसको मूल्य करिब ५० डलर थियो, अहिले ६७० डलर पार गरेको हो । यसरी हेर्दा मात्र दुई महिनामा यसको रिटर्न १२०० प्रतिशतभन्दा बढी छ । हाल क्रिप्टोकरन्सी बजारमा आएको गिरावटले रोकिने नाम लिएको छैन । पछिल्ला २४ घण्टामा धेरै ठूला क्रिप्टोमा २ प्रतिशतसम्म गिरावट आएको छ । यद्यपि बिटकोइनमा केही सुधार देखिएको छ । कोइनमार्केटक्यापका अनुसार २४ घण्टामा बिटकोइन ०.७७ प्रतिशत बढेको छ । त्यस्तै, इथेरियम १.२० प्रतिशत गिरेको छ । यीबाहेक रिपल करिब १ प्रतिशत र बाइनान्स करिब २ प्रतिशत घटिसकेका छन् । सोलानामा भने २ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ । क्रिप्टो करेन्सीमा किन गिरावट ? बिटकोइन, इथेरियमलगायत प्रमुख डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ । बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् । यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् । लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ । ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ । प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ । इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल सुन भाडामा दिएर लाखौं कमाउँदै धनी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ । बैठकमा मुलुकको समग्र सुरक्षा स्थिति, सीमावर्ती क्षेत्रका चुनौती, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सुरक्षा व्यवस्थापन र आन्तरिक सुरक्षामा देखिएका नयाँ जोखिमबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रका प्रतिवेदन प्रस्तुत गर्दै हालको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । सम्भावित सुरक्षा चुनौतीहरू पहिचान गर्ने र तिनको प्रतिकार रणनीति तयार गर्ने लक्ष्यसहित बैठकले आगामी दिनमा सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशहरू जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा सबै निकायबीच समन्वय र तयारी अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सुरक्षा नीतिहरूलाई अद्यावधिक गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी छन् ।
झिनो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ । बजारमा दिनभर उतारचढाव जस्तो देखिन्दा कारोबार रकममा भने वृद्धि भएको छ । आज दिनभरमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर कारोबार भएको छ । बजार बन्द हुँदा ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक सेयर किनबेच भएको छ । बजार घट्दा पनि ५ वटा कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ६ समूह बढेको छ भने बाँकी ७ समूह घटेको छ । आज लगानीकर्ताले बढी होटल तथा पर्यटन समूहमा कमाएका छन् भने सबैभन्दा बढी फाइनान्स समूहमा गुमाएका छन् ।
भारतको राहत सहयोग जारी, नेपालले पायो थप १० बेलीब्रिज
हेटौंडा । भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलीब्रिज अनुदानमा उपलब्ध गराएको हो । गत वर्ष भारतले १० वटा बेलीब्रिज नेपाललाई दिएको थियो । भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेलीब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गरे । भारतले उपलब्ध गराएको बेलीब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ । पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनःस्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैं तयार रहेको बताए । बाँकी नौवटा बेलीब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने जनाइएको छ ।
प्रभु म्यानेजमेण्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ
काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्व सेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–८ का स्थायी बासिन्दा रहेका ५१ वर्षीय महाजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रभु म्यानेजमेण्ट प्रालिको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट १० लाख रुपैयाँ ननाघ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँका दरले बारम्बार शंकास्पद रकम जम्मा भएको पाइएको छ । रेमिट कारोबारको क्रममा कम्पनीले रकम भुक्तानी मात्र गर्नुपर्ने भए पनि सोही खातामा एकै दिनमा पटक–पटक अस्वाभाविक रूपमा रकम जम्मा भएको उल्लेख गरिएको छ । उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा हुण्डीमार्फत नेपालमा पठाइएको अवैध विप्रेषण रकम प्राप्त गरी हिसाब मिलान गरिएको प्रमाण अनुसन्धानबाट भेटिएको प्रहरीको दाबी छ । सोही कार्यमा संलग्न खाता सञ्चालकमध्येका एकका रूपमा महाजुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।