बुध्द एयरले अब काठमाडौं-सुर्खेत उडान एटीआर ७२ बाट गर्ने, भाडा कति ?
काठमाडौं । बुध्द एयरले आउँदो डिसेम्बर १६ देखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजबाट गर्न लागेको छ । अहिले बुध्द एयरले यस गन्तव्यमा एटीआर– ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएकोमा अब भने एटीआर–७२ बाट गर्ने भएको हो । यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुध्द एयरले विश्वास लिएको छ । हाल सञ्चालनमा रहेको एटिआर–४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बताइएको छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर–७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् । यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजारबाट शुरु हुने र माग अनुसार दैनिक २ उडान पनि बुध्द एयरले भर्ने बताइएको छ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । १६ तारिखदेखि अब दैनिक बिहान १० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले जारी गरेको छ ।
उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो
काठमाडौं । काठमाडौं उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो । वाटर एटिएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका काठमाडौँमा १२, ललितपुरमा सात र भक्तपुरमा एक गरी जम्मा २० एटिएम सञ्चालनमा रहेका छन् । काठमाडौँमा टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटिएम सञ्चालनमा छन् । त्यसैगरी ललितपुरमा नेपाल ईञ्जिनियर्स एशोसियशन, बङ्गलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस र मेन्टल अस्पतालमा एटिएम सञ्चालनमा छन् । भक्तपुरमा हाल भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनीयर तेजविनोद पाण्डेले जानकारी दिए । वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ । मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ । काठमाडौँको शङ्खधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटिएमबाट दैनिकजसो पानी पिउँदै आउनुभएका माईक्रो चालक लज श्रेष्ठले वाटर एटिमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताउनुभयो । उनले भने, ‘थोरै प्यास लाग्दा पनि पहिला २५/३० रुपैया तिरेर बोतलको पानी पिउने गरेको थिएँ, हाल यहाँ नजिकै वाटर एटिएम राखेकाले सहज भएको छ ।’ त्यसैगरी काठमाडौँको चक्रपथ नजिकै रहेको शङ्खपार्क परिसरमा रहेको वाटर एटिएमबाट पानी पिउने सर्वसाधारण भवानी कार्कीले नेपालमा नयाँ प्रविधि सञ्चालनमा आउँदा राम्रोे लागेको तर कुनैबेला मेसिनबाट गिलास नआउने र कहिले पैँसा साट्दा सिक्का नआउने समस्या रहेको बताउनुभयो । साट्न राखेको पैसासमेत फिर्ता नआएको हुँदा समय समयमा मेसिन जाँच गर्नुपर्ने उनको भनाइ छ । रासस
खाद्य संस्थानले बर्दियामा शुक्रबारदेखि किसानको धान खरिद गर्ने
बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो । बजेटसँगै निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको उक्त केन्द्रको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताए। यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मसिनो धान तीन हजार एक सय २८ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । बर्दियाको गुलरियास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो । रासस
भुजुङ होमस्टे र हनीहन्टिङ यात्रामा राजेश हमालसहित २०० जना सहभागी हुने
काठमाडौं। स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ सहित आयोजना गरेको ‘स्पार्क एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २०० जना सहभागी हुने भएका छन् । मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा,रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २०० जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए । गायक रामकृष्ण ढकाल सहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाल लगायतको सहभागीता रहने भट्टराईले जानकारी दिए । असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ । मंसिर २२ गते विहान काठमाडाैंमा उद्घाटन गरेर भुजुङकाे यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँकाे हाेमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीकाे मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।
भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो
काठमाडौं । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ । राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ । भृकुटीमण्डपमा निम्न वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले बताए । ‘दुई वर्षयता कोरोना महामारीले ठप्प भएको बजारमा यसपटक भने व्यापार राम्रो भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यसपटक बजारको १० प्रतिशतले व्यापार वृद्धि भएको छ ।’ बजारमा विशेषगरी निम्नस्तर र मध्यम वर्गका ग्राहकलाई लक्षित गरेर सामान ल्याइने उनले स्पष्ट पारे । ग्राहकले खोजेजस्तो सामान पाइनुलाई पनि व्यापार बढ्नुको कारण उनी मान्छन् । जाडो बढेपछि बजारमा न्यानो कपडाको व्यापार बढ्न थालेको व्यवसायी सुशीला धमलाले बताइन्। १६ वर्षदेखि सोही स्थानमा व्यापार गदै आएकी उनले भनिन्,’गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ, दैनिक २० हजारमाथि व्यापार हुन्छ ।’ दुईवर्ष कोरोना महामारीको कारण खस्केको बजारको व्यापार अहिले बढेको उनको भनाइ छ । विगतका जाडो महिनाको तुलनामा यो वर्ष कपडा बिक्री बढी भएको २० वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका रोशन रौनियारले बताए। ग्राहकको भीड नबढेपनि व्यापार राम्रो भएको उनले बताए। दैनिक रुपमा एकदेखि पाँचवटासम्म व्याल्याङकेट बिक्री हुने बताउँदै उनले विवाहको महिना सुरु भएकाले सारीको पनि व्यापार बढेको सुनाए। उनले पछिल्लो समयमा कपडाका मूल्य बढेर आएकोले ग्राहक मूल्य सुनेर मात्रै पनि फर्किने गरेको भन्दै गुनासो गरे । दुई/तीन वर्ष कोरोना महामारी र डेंगीले व्यापार मन्द भए पनि यो वर्ष व्यापारले गति लिएको कपडाको व्यवसाय गर्दै आउनुभएका ज्ञानबहादुर कार्कीले बताए। गर्मी मौसममा भन्दा जाडोमा कपडाको व्यापार बढी हुने गरेको उनको अनुभव छ । पसलमा राम्रो सामान राख्न नसक्दा व्यापार पनि राम्रो नभएको बजारमा व्यापार गर्दै आएकी निशा श्रेष्ठले बताइन् । ‘सामानको मूल्य महँगिएको छ, सामान हाल्न सकेका छैनौँ, ग्राहक फेन्सी टाइपको कपडा खोज्न आउँछन्,’ श्रेष्ठले भनिन्, ‘ग्राहकले खोजेजस्तो सामान राख्न सकेका छैनौंँ ।’ पछिल्लो समयमा चाइनिज र नेपालमा उत्पादन भएका कपडा छुट्टाउनै नसक्ने उनको भनाइ छ । कपडा व्यवसायी रोहित धमलाले गत वर्षको तुलनामा यसवर्ष भृकुटीमण्डप बजारमा कपडाको व्यापार १५ प्रतिशतले बढेको जिकिर गरे । यो वर्ष नयाँ डिजाइनका कपडा बजारमा आएकाले पनि बिक्री बढी भएको उनको भनाइ थियो । भन्सारमा जस्तो कपडा हुन्छन् त्यस्तो कपडा ल्याउनुपर्ने व्यापारीको बाध्यता रहेको व्यापारी जनक थापाले बताए। सस्तो र राम्रो सामान पाउने भएकोले सधैँ भृकुटीमण्डपमा सामान किन्न आउने २१ वर्षीया विनिता थापाले बताए। कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने भृकुटीमण्डप बजारमा एक हजार दुई सय ६५ वटा स्टल रहेका छन् । बजारभित्र आठ सय ४४ वटा पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित रहेको उपाध्यक्ष पौडेलले जानकारी दिए ।
त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मंसिर २३) गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए । उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदैछन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुने छन् । स्नातकतर्फ रु तीन हजार सात सय, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु चार हजार दुई सय तथा विद्यावारीधिमा रु चार हजार सात सय शुल्क लाग्ने छ । समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ । समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए । एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अङ्क ल्याउनेलाई पदक वितरण गरिने छ । त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मङ्सिर १५ देखि २२ गतेसम्म गाउन/स्कार्फ वितरण गरिरहेको छ । समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी लगाउनुपर्ने हुन्छ । त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ ।
नयाँ सरकार गठनका लागि ठूला दलहरु मिलेर अघि बढौं : सांसद थापा
काठमाडौं । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरुले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतीको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाई थियो । सांसद थापाले ठूला राजनीतिक दलहरुले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरुको विकल्पको खोजी गर्न पुगेको जिकीर समेत गरे । उनले जनादेश विपरितका गतिविधि नगर्न पनि दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो । सांसद थापाले भने, ‘जनादेश विपरित जाने दलहरु समाप्त हुनेछन । हामीले गल्ती गरेकाले जनताले दलहरुको विकल्प खोजेका हुन । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौं मुलुकको संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । तर, संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिवद्धता जाहेर गर्नु पर्दछ जस्तो मलाई लाग्दछ ।’ त्यस अवसरमा काँग्रेस सांसद थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गरे । उनले भक्तपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढता समेत व्यक्त गरे ।
राष्ट्र बैंकको नीतिले ७ विकास बैंक र १२ फाइनान्सलाई झट्का, कुनलाई कति घाटा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत् उद्योगी व्यवसायीलाई राहत हुने उद्देश्यले बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारेको छ भने विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झारेको हो । ब्याजदर अन्तर घटाउँदा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन गर्ने बताएको छ । राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरुको ब्याज आम्दानी घटेर नाफा पनि घट्ने देखिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार विकास बैंकहरुको औषत स्प्रेडदर ४.५७ प्रतिशत रहेको छ । यस्तै, सोही वित्तीय विवरण अनुसार विकास बैंकहरुले ४ खर्ब २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले तोकेको ४.६० प्रतिशतभन्दा बढी स्प्रेड दर भएका ७ वटा विकास बैंक छन् । मुक्तिनाथ विकास बैंकको ४.९९ प्रतिशत, कर्पारेट डेभलपमेन्ट बैंकको ४.९५ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ४.८४ प्रतिशत, सिन्धु विकास बैंकको ४.८२ प्रतिशत, ज्योति विकास बैंकको ४.७४ प्रतिशत, गरिमा विकास बैंकको ४.६९ प्रतिशत र कामना सेवा विकास बैंकको ४.६७ प्रतिशत रहेको छ । जुन राष्ट्र बैंकले तोकेको भन्दा बढी हो । अब यी बैंकहरुले स्प्रेडदर घटाएर ४.६० प्रतिशत कायम गर्नु पर्ने छ । ७ वटा बैंकहरुले स्प्रेडदर घटाउँदा कुल ५१ करोड ७९ लाख ४० हजार रुपैयाँ बढी नाफा घट्ने देखिएको छ । कर्जा लगानीका आधारमा यो हिसाव निकालिएको हो । नयाँ व्यवस्था अनुसार अब मुक्तिनाथ विकास बैंकले ०.३९ प्रतिशत स्प्रेडदर घटाउनु पर्ने देखिएको छ । जस अनुसार यस बैंकको ३४ करोड ३२ लाख रुपैयाँको हाराहारीमा नाफामा संकुचन आउने देखिएको छ । यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकले ०.३५ प्रतिशत घटाउँदा ३३ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ०.२४ प्रतिशत घटाउँदा १ करोड १३ लाख रुपैयाँ, सिन्धु विकास बैंकले ०.२२ प्रतिशत घटाउँदा ८१ लाख रुपैयाँ, ज्योति विकास बैंकले ०.१४ प्रतिशत घटाउँदा ६ करोड ८० लाख रुपैयाँ, गरिमा विकास बैंकले ०.०९ प्रतिशत घटाउँदा ५ करोड ३८ लाख रुपैयाँ र कामना सेवा विकास बैंकले ०.०७ प्रतिशत घटाउँदा २ करोड ९९ लाख रुपैयाँ नाफामा संकुचन आउने देखिन्छ । ९ वटा विकास बैंकको भने राष्ट्र बैंकले तोकेको व्यवस्था भन्दा कम स्प्रेडदर रहेको छ । महालक्ष्मी विकास बैंकको ४.५६ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ४.५४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५१ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.४७ प्रतिशत, सांग्रीला र एक्सेल डेभलपमेन्ट बैंकको ४.३४ प्रतिशत स्प्रेडदर रहेको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ४.३२ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.३० प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ४.०४ प्रतिशत स्प्रेडदर रहेको छ । १२ फाइनान्सलाई धक्का राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाका कारण १२ वटा फाइनान्स कम्पनीको नाफा घट्ने देखिन्छ । १२ वटा फाइनान्स कम्पनीहरुको स्प्रेडदर ४.६ प्रतिशत भन्दा बढी रहेको छ । जसकारण फाइनान्स कम्पनीको १४ करोड २८ लाख रुपैयाँ बराबरको नाफा घट्ने देखिएको हो । सबैभन्दा धेरै आइसिएफसी फाइनान्सको नाफा घट्ने देखिएको छ । यस फाइनान्सको स्प्रेडदर ०.२९ प्रतिशत घट्दा ४ करोड ९ लाख रुपैयाँ घट्ने देखिएको हो । श्री इन्भेष्टमेन्ट फाइनान्सको ०.३८ प्रतिशत घट्दा १ करोड ९२ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको ०.३८ प्रतिशत घट्दा २ करोड ६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको ०.२९ प्रतिशत घट्दा १ करोड ४५ लाख रुपैयाँ, मन्जुश्री फाइनान्सको ०.२७ प्रतिशत घट्दा २ करोड ६३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ०.२१ प्रतिशत घट्दा २१ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ०.१९ प्रतिशत घट्दा १ करोड ९ लाख रुपैयाँ, मल्टीपर्पस फाइनान्सको ०.१६ प्रतिशत घट्दा १२ लाख रुपैयाँ, गुडविल फाइनान्सको ०.१३ प्रतिशत घट्दा ७ लाख रुपैयाँ, प्रोग्रेशिभ फाइनान्सको ०.०९ प्रतिशत घट्दा ३४ लाख रुपैयाँ, समृद्धि फाइनान्सको ०.०९ प्रतिशत घट्दा १४ लाख रुपैयाँ र पोखरा फाइनान्सको ०.०१ प्रतिशत घट्दा ९ लाख रुपैयाँ नाफामा संकुचन आउने देखिएको हो । तर, रिलायन्स फाइनान्सको ४.४२ प्रतिशत, जानकी फाइनान्सको ४.३४ प्रतिशत र बेस्ट फाइनान्स ४.१२ प्रतिशत स्प्रेडदर रहेको छ । जसका कारण यी तीनवटा फाइनान्सको नाफामा भने राष्ट्र बैंकको उक्त व्यवस्थाले कुनै असर गर्ने छैन ।