चोलेन्द्रलाई छिर्न दिन्नौं भन्दै सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीको धर्ना
काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् । तर, बारका पदाधिकारीहरुले उनलाई अवरुद्द गर्ने भन्दै धर्ना सुरु गरेका हुन् ।
हालसम्मकै ठूलो म्युचुअल फण्ड बिक्री गर्न एनआईबिएलले पायो सेबोनबाट अनुमति
काठमाडौं । एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने हालसम्मकै ठूलो म्युचल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ । कम्पनीलाई उक्त फण्ड निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिइसकेको छ । सेबोनले गत मंसिर १८ गते एनआईबिएल ग्रोथ फण्ड निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराकरको फण्ड जारी गर्ने छ । उक्त फण्डको समयावधि १० वर्ष रहेको कम्पनीले बताएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १६ लाख इकाईहरु निष्काशन गर्नेछ । जसमा लगानीकर्ताहरुले न्यूनतम ३२ करोड इकाई र अधिकतम १.६० इकाईसम्म खरिद गर्न सक्नेछन् । कम्पनीले फण्ड जारी भएपछि वार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ । ‘एनआईबिएल ग्रोथ फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि खरिदबिक्री गर्न सकिनेछ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस अघि ३ वटा बन्दमुखी योजना र एउटा खुलामुखी योजना संचालनमा गरिसकेको छ ।
सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ : सञ्चारमन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताए । ‘अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ’, उनले भने । पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले भने, ‘दश वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देशहरुमध्येमा नेपाललाई पनि पुर्याउने हाम्रो दायित्व हो, अबको पुस्ता आगामी १० वर्षभित्रमा धनी पुस्ता बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट इमान्दारिताका प्रतिबद्धता भएर काम गर्नुपर्नेछ, हामीसँग भएको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्नेछ ।’ त्यो दायित्व केवल राजनीतिक तहबाट मात्रै गरेर पूरा हुनसक्ने र त्यसका निमित्त स्थायी सरकार हुनुपर्ने उनको भनाइ थियो । मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको सन्दर्भमा उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । सुनसरी निर्वाचन क्षेत्र नं ४ का जनताले विश्वासका साथ दिएको मत र प्रतिबद्धता पूरा गर्न आजकै दिनदेखि लाग्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चार मन्त्रालयले जनताका निम्ति अहिलेसम्म गरेका कामको समीक्षा गर्दै मन्त्रालयलाई अझ प्रभावकारी रुपमा समाजमा उपस्थित गराउने दायित्व पूरा गर्ने बताए । ‘सञ्चार मन्त्रालयबाट गर्नुपर्ने केही काम उत्साहका साथ गर्नुपर्ने आवश्यकता छ, त्यसतर्फ ध्यान दिन मन्त्रालय मातहतका निकायहरु लाग्नुपर्नेछ’, उनले भने । मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जनताको मत जित्दै सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएकामा बिदाइ तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का लगायतले मन्त्री कार्कीसमक्ष बधाई तथा शुभकामना व्यक्त गरे । रासस
धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग
काठमाडौं । धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्ने लगायत विभिन्न सातबुँदे माग सरकारसँग राखिएको छ । अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घको संयुक्त आयोजनामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग अघि सारिएको छ । मन्त्रिपरिषद्को गत कात्तिक १६ गतेकोे बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । निर्धारित मूल्यअनुसार मोटो धानको मूल्य दुई हजार नौ सय ६२ रुपैयाँ, मध्यम धानको तीन हजार एक सय २८ रुपैयाँ रहेको छ । गत वर्षभन्दा मोटो धानमा प्रतिक्विन्टल दुई सय १५ रुपैयाँ र मध्यम धानमा दुई सय २६ रुपैयाँ वृद्धि गरेको भए पनि लागत मूल्य र मुद्रास्फीतिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले पनि किसानलाई लाभ नपुग्ने जनाइएको छ । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अगाडि बढाउन माग गर्दै हिउँदे खेतीका लागि आवश्यक मलको व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग माग गरे । उनले सरकारले माग पूरा नगरे देशभरका किसान परिचालन गर्न बाध्य हुने चेतावनी दिए । किसान आन्दोलनको दबाबका कारण भए पनि धानको मूल्य निर्धारण गर्नु स्वागतयोग्य विषय भएको र सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेका कारण किसानहरु व्यापारीहरुलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाको भनाइ छ । धान खरिदका लागि आवश्यक बजेट निकासा नगरेका कारण धान खरिद प्रक्रिया अगाडि नबढेको भनाइ धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रहेको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा धानको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने, यदि किसानले समर्थन मूल्यभन्दा कम मूल्यमा बिक्री गर्नु परेमा त्यस्तो फरक मूल्यसमेत शोधभर्ना दिने रहेको छ ।
बाँकेमा गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्
खजुरा । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरुले तलब भत्तासमेत पाउन सकेका छैनन् । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले खान पाएका छैनन् भने अन्य सबै विषयगत सेवाहरुसमेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु, कृषि लगायतका सेवा प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । कर्मचारीले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन नसक्दा समस्या भएको बेतहनी स्वास्थ्य चौकीका प्रमुख हेमन्त शर्माले बताए । उनले भने, “राजनीतिक विवादको मारमा हामी परेका छौँ, हाम्रो काम भनेको सेवा दिने हो, अहिले घरखर्च धान्न समस्या छ, तर जनप्रतिनिधीहरुले यो समस्या बुझ्नु भएको छैन ।” समयमा गाउँसभा नहुँदा सङ्घीय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि ‘फ्रिज’ हुने सम्भावनासमेत बढेको छ । विकास निमार्णसँगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको बोलपत्र प्रक्रिया अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । पालिकाले सञ्चालन गरेको राष्ट्रियस्तरको कार्यक्रमअन्तर्गत घरघरमा पशु सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा नपाएर चालु आर्थिक वर्षको हालसम्म करिब पाँचसय बढी चौपाया मरेको गाउँपालिका पशु शाखाका कर्मचारी रक्षाराम यादवले बताए । उनका अनुसार पशु सेवाअन्तर्गत घरघरमा प्रदान गरिने सेवाका लागि औषधि, ल्याब केमिकल नभएपछि सेवा दिन सकिएको छैन । यसैगरी कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ आव २०७९÷८० को गाउँसभा नबस्दा बजेट पारित नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका छन् । गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीले तत्काल तलब भत्ताको माग गर्दै गत आइतबार गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य कर्मचारीका तर्फबाट स्वास्थ्य शाखाप्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सदस्य–सचिव कृष्णप्रसाद पौडेललाई यही मङ्सिर २२ गतेदेखि चरणबद्ध दबाबका कार्यक्रमसँगै ज्ञापनपत्र बुझाउनुभयो । केही दिनअघि शिक्षकहरुले पनि ध्यानाकर्षण गराएको थियो । नेपाल शिक्षक महासङ्घ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलब भत्ता तथा छात्रवृत्ति, दिवा खाजाजस्ता नियमित बजेट विद्यालयमा श्रावणदेखि नै निकासा नहुँदा शिक्षक तथा विद्यालय कर्मचारीले तलब नपाएको र विद्यालयका दैनिक कामकाजहरुमा कठिनाइ भएकाले सोको पहलका लागि आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको बताए । उनले भने, “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन्, निकास नदिँदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन्, स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन्, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् ।” अध्यक्ष चौधरीले जनताबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको समग्र हित र विकासका लागि मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा व्यक्तिगत र दलीय स्वार्थबाट प्रेरित भएको आरोप लगाए । विपक्षी दलका नेकपा एमालेका डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले गाउँपालिकामा आफूहरुको बहुमत भएकाले हाम्रा एजेन्डालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरे । उनले पालिकामा कार्यरत करार सेवाका कर्मचारीको व्यवस्थापन, केही ऐन र कानुन संशोधनको प्रक्रिया गरेमा मात्र सहमति गर्ने बताए । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका रहेको र कूल छवटा वडामा एक वडामा नेपाली कांग्रेस, तीन वडामा जनता समाजवादी पार्टी जसपा र दुई वडामा नेकपा एमाले विजयी भएको थियो । जसपा र एमालेको बहुमतमा कार्यपालिका गठन गरिएको थियो । रासस
अजिरकोट गाउँपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्यो
गोरखा । अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घरघरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । ‘गाउँपालिकाको चिसाङ्बाट त दिनभरी नै हिँडेर बैंकसम्म आएर भत्ता बुझ्नपर्ने कठिनाइ थियो’, उनले भने, ‘लाभग्राहीलाई भत्ता बुझ्नका लागि सवारीसाधन रिजर्भ गर्दा आउँदा तीन हजार रुपैयाँभन्दा बढी खर्च हुने र कतिपय ठाउँबाट हिँडेर आउँदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था पनि भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको हो ।’ गाउँपालिकाभित्रका सबै लाभग्राहीले घरमै हातहातमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सुरु गरेको अध्यक्ष देवकोटाले बताए । गाउँपालिकाले बैंकसँगको सहकार्यमा बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय, एकल महिला लगायतका सबै लाभग्राहीलाई बैकिङ प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउन थालेको उहाँले जानकारी दिए । घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही खुसी भएका छन् । रासस
बुध्द एयरले अब काठमाडौं-सुर्खेत उडान एटीआर ७२ बाट गर्ने, भाडा कति ?
काठमाडौं । बुध्द एयरले आउँदो डिसेम्बर १६ देखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजबाट गर्न लागेको छ । अहिले बुध्द एयरले यस गन्तव्यमा एटीआर– ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएकोमा अब भने एटीआर–७२ बाट गर्ने भएको हो । यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुध्द एयरले विश्वास लिएको छ । हाल सञ्चालनमा रहेको एटिआर–४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बताइएको छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर–७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् । यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजारबाट शुरु हुने र माग अनुसार दैनिक २ उडान पनि बुध्द एयरले भर्ने बताइएको छ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । १६ तारिखदेखि अब दैनिक बिहान १० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले जारी गरेको छ ।
उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो
काठमाडौं । काठमाडौं उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो । वाटर एटिएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका काठमाडौँमा १२, ललितपुरमा सात र भक्तपुरमा एक गरी जम्मा २० एटिएम सञ्चालनमा रहेका छन् । काठमाडौँमा टेकु, कलङ्की, स्वयम्भू, बाइसधारा, शङ्ख पार्क, शङ्खधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गङ्गालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटिएम सञ्चालनमा छन् । त्यसैगरी ललितपुरमा नेपाल ईञ्जिनियर्स एशोसियशन, बङ्गलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस र मेन्टल अस्पतालमा एटिएम सञ्चालनमा छन् । भक्तपुरमा हाल भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनीयर तेजविनोद पाण्डेले जानकारी दिए । वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ । मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ । काठमाडौँको शङ्खधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटिएमबाट दैनिकजसो पानी पिउँदै आउनुभएका माईक्रो चालक लज श्रेष्ठले वाटर एटिमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताउनुभयो । उनले भने, ‘थोरै प्यास लाग्दा पनि पहिला २५/३० रुपैया तिरेर बोतलको पानी पिउने गरेको थिएँ, हाल यहाँ नजिकै वाटर एटिएम राखेकाले सहज भएको छ ।’ त्यसैगरी काठमाडौँको चक्रपथ नजिकै रहेको शङ्खपार्क परिसरमा रहेको वाटर एटिएमबाट पानी पिउने सर्वसाधारण भवानी कार्कीले नेपालमा नयाँ प्रविधि सञ्चालनमा आउँदा राम्रोे लागेको तर कुनैबेला मेसिनबाट गिलास नआउने र कहिले पैँसा साट्दा सिक्का नआउने समस्या रहेको बताउनुभयो । साट्न राखेको पैसासमेत फिर्ता नआएको हुँदा समय समयमा मेसिन जाँच गर्नुपर्ने उनको भनाइ छ । रासस