साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
तानसेन । काठमाडौंका विकाश मर्हजन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए । चौथो पटक पाल्पा घुम्न आएका उनलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो । ‘एतिहासिक तानसेन वजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ’, उनी भन्छन्, ‘चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम बनेछ ।’ ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ संचालित साहसिक जल यात्रा र्याफ्टिङ, प्याराग्लाईडिङ्ग र जीपलाईनले पर्यटकलाई आर्कषित मात्र गरेको छैन्, जिल्लाको पर्यटन प्रर्वद्धनमा थप टेवासमेत पुर्याएको छ । पहिलो पटक रानीमहल घुम्न आएका नेपालगञ्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि र्याफ्टिङ गर्दा आनन्द महसुस भयो’, उनी भन्छन्, ‘प्रकृतिसँग रमाउदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जल यात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँचसयभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमण गर्दछन् । यहाँका एतिहासिक तानसेन वजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुईसय भन्दाबढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमर्ण गर्दछन् भने दैनिक १५ देखी २० जनाले साहसिक जलयात्रा गर्दछन् । स्याङ्गजाको बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरेपनी साहसिक जलयात्रा भने गरेका थिएनन् । उनी भन्छन्, ‘मेरो घर नजिकै भएर पनि यहाँ र्याफ्टिङ सुविधा छ, भन्ने थाहा थिएन् ।’ चौथोपटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले पनि जलयात्रा गर्न साहस गरेको उनी बताउँछन् । तानसेनको बतासेडाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाईडिङ्ग संचालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन वजार, श्रीनगरलगायत मनोरमस्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्काईका संचालक रुपम कक्षपतीले जानकारी दिए । यात्रुहरुको रोजाइअनुसार २० देखी ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उनको भनाइ थियोे । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृङ्खलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङजा, धरान, लतिपुर, काठमाडौँ लगायतक्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटरमाथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ । तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट संचालित जीपलाईन यहाँ आउने पर्यटकहरुको अर्को गन्तव्य बनेको छ । पाँचसय मिटर दूरीको जीपलाईनमा डोरीमा झुण्डिदै साइकिलिङ्ग गर्न दैनिक १५ देखी २० जना पुग्ने गरेको त्यसका संचालक देव पचभैया बताउँछन् । उक्त जीपलाईन पाल्पा दर्शनले संचालनमा ल्याएको हो । दक्षिण एसियाकै ठूलो त्रिशुलबाट परिचय बनाएको भैरव मन्दिरको दर्शनसँगै जीपलाईनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् । नेपालको भूगोलअनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ र स्किइडलगायतलाई साहसिक खेल मान्ने गरिएको छ । नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुलागरेसँगै नेपालमा साहसिक पर्यटन सुरु भएको पाइन्छ । रासस
सिरहामा पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने
सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे । समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्र्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्र्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पु¥याइने उल्लेख छ । यो सेवा सो नगरपालिकावासीको निम्ति भएको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताए। रासस
धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर
बागलुङ । धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा २५ शय्यालाई पुग्ने प्लान्ट गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा स्थापना गरिएको थियो । त्यस लगत्तै कोरोना सङ्क्रमण बढ्दै जानु र अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा अक्सिजन प्लान्ट थप गरि स्थापना गरिएको हो । अस्पतालले अहिले अन्य जिल्ला तथा पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेको धौलागिरि अस्पताल बागलुङका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए । उनले तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अन्य अस्पताल र निजी क्षेत्रलाई अक्सिजन भरेर लैजाने व्यवस्था मिलाएको बताए । उनले बढी उत्पादन भएको अक्सिजन सुलभ मूल्यमा निर्यात गर्दा पनि अक्सिजन प्लान्ट सञ्चालन खर्चकोसमेत जोहो हुने बताए । सडक अवरुद्ध हुँदा झोलुङ्गे पुल तारेर अक्सिजन सिलिन्डर ल्याइ कोरोनाका दोस्रो लहरमा बिरामीको ज्यान बचाइएको अनुभव उनले सुनाए । ‘सरकारले धौलागिरि क्षेत्रलाइनै पुग्नेगरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन ग-यो’, न्यूरेले भने, ‘अहिले पर्वत जिल्ला अस्पतालमा आवश्यक अक्सिजन लैजाने गरिएको र बागलुङका पालिका अस्पताललाई समेत अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्रचार गरिसकेका छौँ ।’ उनले आफुहरुको प्लान्टमा उत्पादित अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुने बताए । धाैलागिरी अस्पतालमा कोरोनाको दोस्रो लहरमा औद्योगिक क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर प्रयोग गरेर बिरामीको उपचार गरिएको र पछिल्लो समय अक्सिजन सिलिन्डरसमेत अस्पताललाई प्रर्याप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अभिषेक वाग्लेले जानकारी दिए । डा वाग्लेले भने, ‘बिरामीको जीवन बचाउनका लागि अत्यावश्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन हुनु र आवश्यक पर्दा अन्य जिल्लाका अस्पताल र पालिका अस्पतालमा समेत भरेर पठाउन सकिने भएको छ ।’ धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्नेगरी २०० शय्याको बनाउँदा उत्पादित अक्सिजन अस्पतालमै खपत हुनसक्ने अस्पतालको भनाइ छ । रासस
गण्डकी क्षेत्रीय अस्पताललाई बतास फाउन्डेसनले दियो अक्सिजन प्लान्ट
काठमाडौं । बतास अर्गनाईजेसन अन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरीएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने फाउन्डेसनले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरीनेछ। अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई मध्यनजर गर्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन महाअभियान सुरु गरेको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘ १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको थियो । निर्धारित समय भन्दा ढिलो प्लान्ट हस्तान्तरण गरिएको भन्दै फाउन्डेसनले क्षमा याचना गरेको छ । वि.सं २०७८ जेठ ६ गते नै फ्रान्समा प्लान्ट खरिद गरिसकेको भए पनि अघिल्लो सरकार, कार्गो कम्पनी र आयातकर्ताबीचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको फाउन्डेसनको भनाई छ । पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप समस्या भएको थियो । अन्ततः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि त्यो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गरिएको फाउन्डेसनका प्रवक्ता नारायणप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । अक्सिजन प्लान्ट हस्तान्तरण समेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्याय विवरण भने छिट्टै नै सार्वजनिक गर्ने फाउन्डेसनले प्रतिबद्धता व्यक्त गरेको छ। उक्त अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी रहेका थिए । त्यस्तै, संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेजका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका प्रबन्ध सञ्चालक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशील मान प्रधानाङ्ग रहेका थिए ।
बिहीबार सार्वजनिक विदा
काठमाडौं । सरकारले भोली अर्थात मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउँदैछन् ।
पोर्चुगल पठाइदिने भन्दै २७ लाख ठगी गर्ने भक्तपुरका सञ्जिव आचार्य पक्राउ
काठमाडौं । विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीबाट चार व्यक्ति ठगिएका छन् । झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिषामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । आचायले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेकोे खुलेको छ । यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलेको खुलेको छ । आचार्यलाई थप कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ । प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौंको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ । उनीमाथि चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ । रासस
पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी
झापा । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि बाहुनडाँगीवासी खुसी भएका हुन् । यो नहरको पानीले मेचीनगर १, २, ३ र ४ को एक हजार सात सय हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । बाहुनडाँगीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थानमा मुहान थापेर ल्याउनुपर्दा पहिराको उच्च जोखिममा सो नहर सधैँ रहेको सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए। गत वर्ष कात्तिकमा परेको बेमौसी वर्षाका कारण आएको पहिराले नहरको मुहानलगायत विभिन्न ठाउँ भत्किएको थियो । सिँचाइ डिभिजन कार्यालय र सिद्धिनहर सिँचाइ जल उपभोक्ता समितिको पहलमा मर्मत भएपछि नहरमा पानी आउन थालेको छ । नेपाल सरकारका तत्कालीन मुख्यसचिव डा भोजराज घिमिरेको पहलमा विसं २०७२ मा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए । सरकारले सो नहर स्थापनामा ४४ करोड लगानी गरेको अध्यक्ष तिवारीले बताए। बाहुनडाँगीका किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारी, तोरी, फापरलगायतको वैकल्पिक नगदे बालीको खेती गर्दै आएका छन् । पानीको अर्को वैकल्पिक व्यवस्था नहुँदा सिद्धिनहरबाट आउने पानीबाट नै सबै किसिमका बालीमा सिँचाइ हुने गरेको छ । उनले सो स्थानमा नियमित सिँचाइको विकल्पका रूपमा मेचीनगर– १ को निन्दा सिरानबाट करिब एक हजार तीन सय मिटरको सुरुङ निर्माण गरी सिद्धिनहरसम्म पानी पुर्याउन आवश्यक रहेको बताए । विगतमा पटक–पटक यस विषयमा छलफल भए पनि राजनीतिक खिचातानीका कारण सो कार्य सफल हुन नसकेको उनको आरोप छ । उनले निन्दा खोलाको पानी सुरुङमार्फत नहरमा पुर्याउने हो भने त्यसैबाट पिउने पानी, बिजुलीसमेत निकाल्न सकिने बताए।
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, अर्को हप्तादेखि वितरण गरिने
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए । सुरुको पानी वाग्मतीमा पठाएपछि मंगलबारदेखि सुरुङको गेट बन्द गरिएको छ । केही दिन सुरुङ भर्नलाई पानी बन्द गरिने उनले बताए । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो । असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल एक हप्तामा आइपुगेको हो । अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुनाए । मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको छ । सुरुङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने छ । पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो । मेलम्चीको मुहानस्थलमा हेडवक्र्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गतेदेखि वितरण गरिने सार्वजनिक घोषणा गरिसकेका छन् । राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो । रासस