विकासन्युज

कालोसूचीमा राख्न सिफारिस भएका आठ निर्माण कम्पनीलाई स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–११ मकवानपुरको गुण निर्माण सेवा, काठमाडौँको सिरुवा–कविर–सुनकोसी जेभी, पर्सा जानकीटोल–४ को मुस्कान सप्लायर्स, बानेश्वर–१० को अनुष्ठान कन्स्ट्रक्सन, तीनकुनेको सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, वीरगञ्जको दिल्ली ट्रेडिङ र चितवनको जयगढी माई निर्माण कन्स्ट्रक्सनलाई स्पष्टीकरण पेस गर्न भनिएको छ । यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्नका लागि विभिन्न निकायबाट खरिद अनुगमन कार्यालयलाई पत्राचार गरिएको थियो । सोही पत्रका आधारमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार–प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनी यसअघि नै सूचना जारी गरेको थियो । तर यी कम्पनीले हालसम्म पनि लिखित स्पष्टीकरण पेस नगरेकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको जनाइएको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने यी कम्पनीसित सात दिनभित्र लिखित स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नआएमा कालोसूचीमा राखिने कार्यालयले जनाएको छ । रासस

सिटी एक्सप्रेसको दशैं तिहार योजनाको बिजेतालाई दियो ७ तोला सुन र १० तोला चाँदी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले  ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई ‘५ तोला सुन’, यु के बाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन , कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन , मलेशिया बाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चांदी , जापान बाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो । जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/ १ तोला सुन ) जित्न सफल भएका छन् । उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो ।

सेयर बजार १६.५१ अंकले घट्दा दुई कम्पनीमा लाग्यो सर्किट, सानिमा बैंकको उच्च कारोबार

काठमाडौं । बुधबार सेयर बजार १६.५१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घट्दा नेप्से परिसुचक १९१७.२८ विन्दुमा पुगेको छ । घटेको बजारमा दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्नेमा नाडेप लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमई बैंकको रहेको छ । यस्तै, आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएको छ । आज १८ औं वार्षिकोत्सवको मनाउँदै गरेको सानिमा बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

‘हाम्रो लक्ष्य गोकर्णेश्वरलाई व्यवस्थित नगर बनाउने हो, ‘कन्भिन्स’ गरेर काम गर्छौं’

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दिपक कुमार रिसाल गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा निर्वाचित भए । निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि निरन्तर सक्रियताका साथ लाग्ने प्रयत्न रिसालले गरिरहेका छन् । रिसाल शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई व्यवस्थित गरी गोकर्णेश्वरलाई व्यवस्थित सहर बनाउने योजनामा होमिएका छन् । लामो समय गोकर्णेश्वर नगरपालिकामा नै प्रमुख सल्लाहकार बनेर काम गरेका रिसाल नगर भित्र कसरी काम गर्ने ? कुन योजनालाई बढी प्राथमिकता दिने ? नागरिकहरूका समस्या के कस्ता छन् ? लगायतका विषहरुसँग आफु राम्रोससँग जानकार भएको बताउँछन् । उनै मेयर रिसालसँग नगरको विकास, प्राथमिकताका विषय, व्यवसायिक क्षेत्रको विकासमा पालिकाको योजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी गरेका छन् । तपाईं निर्वाचित भएर आएको ६/७ महिना जति भयो, यो अवधिमा के–के काम गर्नुभयो ? सर्वसाधारणले अनुभूति गर्ने खालका काम चए वा भएनन् ? निर्वाचित भए पश्चात् नगरपालिका भित्र धेरै कामको सुरुवात भएको छ । निर्वाचित भएँ भने यी–यी काम गर्छु भनेर घोषणापत्रमा महत्वपूर्ण २० वटा भिजन तयार गरेको थिएँ । नगरपालिका भित्र बसोबास गर्ने नागरिकहरूको समस्या सम्बोधन गर्दै अगाडि बढेको छु । निर्वाचित हुनभन्दा अगाडि यस पालिकाको प्रमुख सल्लाकार पनि थिए । गोकर्णेश्वर नगरपालिकामा ९ वटा वडा छन् । उक्त वडाका वडा भवनहरू पूर्व मेयरको कार्यकालमा नै तयार भएको थियो । तर, नगरपालिकाको आफ्नै नगर भवन भने तयार भएको छैन । अहिले नगर भवन बनाउने तयारीमा पनि लागिरहेका छौं । जोरपाटी चोकमा नगरको ४ रोपनी जग्गा छ । उक्त जग्गामा २६ वर्षदेखि सानो बजार सञ्चालनमा छ । यसभन्दा अगाडि सो बजारलाई हटाउन सकिएन । सार्वजनिक जग्गामा बसेको तर सम्झौता चाहिँ गाविस हुँदै नगरपालिकाले नै गरेको थियो । एक सय ५८ वटा सटरमा त्यहाँ पसलहरू सञ्चालनमा छन् । निर्वाचित भएको केही महिना पश्चात् म पनि त्यी सटरलाई भत्काइदिन्छु भनेर डोजर लिएर गएको थिएँ । एउटा सटरमा २० देखि २५ लाख रुपैयाँ बराबरको सामान छ । त्यसलाई भत्काएँ पनि पूर्ण क्षति हुन्छ, हामीले लाखौं रुपैयाँको घाटामा बेहोर्नु पर्छ भनेर व्यापारीहरुले मलाई भन्नु भयो । उहाँहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिनुभएको छ । मैले त्यो सटर भत्काएपछि उनीहरूको रोजीरोटी गुम्छ, ठुलो क्षति पनि हुने कुराको महसुस गरेँ । त्यसपछि मैले सटर भत्काउन सकिन डोजर फर्काएँ । त्यस पश्चात् मैले नगर भवन पनि बन्ने उनीहरूलाई पनि व्यवस्थापन गर्न सकिने वैकल्पिक उपायको खोजेँ । सोही ठाउँमा चामुण्डा सहकारीको साढे ३ रोपनी जग्गा छ । नगर र सहकारी सहकार्य गरी त्यो जग्गामा सटर बनाउने र व्यापारीलाई त्यहाँ सार्ने निर्णयमा पुग्यौं । सटरमा उहाँहरूलाई व्यवस्थापन गर्ने, त्यहाँ सारेर भाडा नगरपालिकालाई तिर्ने, उठेको भाडा सहकारीलाई दिने भन्ने कुरा भयो । त्यसबापत् नगरपालिकालाई कर पनि आउने भयो । व्यवस्थापन नगरले गरिदिने भएपछि उहाँहरूले पनि सहमति जनाउनु भयो । अहिले सहकारीको जग्गामा सटर तयार भएको छ । व्यापारीहरू नयाँ सटरका सार्ने काम जारी छ । मलाई लाग्छ अहिले ७० प्रतिशत नयाँ सटरको निमार्णको काम सम्पन्न भइसकेको छ । सटरका व्यापारीहरुको व्यवस्थापन भएसँगै नगर भवनको काम सुरु गर्ने तयारीमा छौं । नगर भवन कम्प्लेक्सको डिजाइनको हुने छ । नगर भवन बनी सकेपछि माथिल्ला दुई तलामा नगरको कार्यालय हुने छ । तल सटर हुन्छन् । उक्त सटर व्यवसायिक प्रयोजनको लागि दिन मिल्छ । नगर भवन २५ करोड रुपैयाँको लगानीमा तयार हुनेछ । यस्तै, हामीले नगर भित्र विकास निर्माणको काम क्रमिक रूपमा गर्दै जाने सोच बनाएका छौं । नगर क्षेत्रको शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्याउन कस्तो योजना बनाउनुभएको छ, कसरी काम हुँदैछ ? हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रा कामहरूको सुरुवात गरेका छौं । मैले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर घोषणा पत्रमा पनि धेरै विषयको समावेश गरेको छु । नगरपालिका भित्र नगर अस्पताल तयार भई सञ्चालनमा आइसकेको छ । उक्त अस्पतालको पछाडि सामुदायिक वनको जग्गा छ । धेरै प्रयत्न पश्चात् सामुदायिक वनको नगरले १५ रोपनी जग्गा प्राप्ति गर्यो । हामीले त्यो जग्गामा एक सय बेडको अस्पताल निर्माण गर्ने तयारी गरिरहेका छौं । सो अस्पताल निर्माण गर्नको लागि स्वास्थ्य मन्त्रालय २० करोड र नगरबाट १० करोड गरी जम्मा ३० करोड रुपैयाँको बजेट छुट्याएका छौं । अस्पतालको डीपीआर तयार भइसकेको छ । यसमा पुनः एक चोटि छलफल गरी ठेक्काको आव्हान गर्ने तयारीमा छौं । नगर अस्पतालबाट पनि अहिले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ । निति तथा कार्यक्रममा स्वास्थ्य बीमा गर्नको लागि डेढ करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याएका छौं । ६८ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्ग भएका ‘क’ र ‘ख’ वर्ग र कृषि कार्ड भएकालाई स्वास्थ्य बीमा गर्नको लागि सो रकम राखेका हौं । नगर भित्र लगभग ५ सय भन्दा बढीसँग कृषि कार्ड उपलब्ध छ । हामीले हालसम्म ३ हजार भन्दा बढीको स्वास्थ्य बीमा गरिसकेका छौं । बीमा गर्ने काम जारी छ । स्वास्थ्य बीमा कार्यक्रमबाट पनि धेरैले लाभ लिनु भएको छ । नगरपालिका भित्र नेपाल मेडिकल कलेज पनि पर्छ । सो कलेजमा उपचार गर्दा यहाँका स्थानीय नागरिकले पैसा तिर्न सकेनौं, शुल्क कम गर्नको लागि भनिदिनु पर्याे भन्दै मलाई फोन आउँन थाल्यो । सबै बिरामीको उपचारमा खर्च कम गरिदिनु पर्याे भनेर मैले भन्ने कुरा आएन । कसरी हुन्छ त्यो कलेजसँग सहकार्य गर्नु पर्याे भन्ने सोच बनाए । र, यस विषयमा कलेजसँग पनि छलफल गरे । हामीले कलेजको डाटा हेर्दा ९० प्रतिशत बिरामीको उपचार खर्च एक लाख रुपैयाँसम्म भएको पायौं । र, नगरपालिका भित्र बसोबास गर्ने स्थानीय तथा भोटर लिस्टमा नाम भएकाहरूलाई सो कलेजमा उपचार गराउँदा छुट हुने व्यवस्था मिलाएका छौं । सो कलेजमा एक लाख रुपैयाँसम्मको उपचार गर्दा ७० प्रतिशत रकम नगर र अस्पतालले बेहोर्ने ३० प्रतिशत उहाँहरूले तिर्नुपर्ने व्यवस्था मिलाएका छौं । जुनसुकै बिरामीको उपचार गर्दा पनि ७० प्रतिशत रकम नगरले बेहोर्ने व्यवस्था मिलाएको हो । नगर भित्र यो सेवा केही दिन अघिदेखि सुरु भएको छ । यो सेवाको लाभ १/२ जानाले लिइसक्नु भएको छ । यो सेवा भएपछि स्थानीयहरू पनि निकै खुसी भएको पाएको छु । यो हाम्रो स्वास्थ्य क्षेत्रमा गरिएको पहिलो काम हो । यस्ता काम हामी गर्दै जाने छौं । नगरवासीलाई गुणस्तर स्वास्थ्य सेवा दिने हाम्रो प्रयत्न जारी छ । स्वास्थ्यको भवन निर्माण भई सञ्चालनमा आइसकेपछि उक्त सेवा नगरपालिका भित्र बसोबास गर्ने सबैलाई निःशुल्क गरी स्वास्थ्य बीमा पनि गरिदिने सोच बनाएको छु । महिलाहरूमा पछिल्लो समय आङ्ग खस्ने समस्या धेरै भएको पाइन्छ । यस कुरालाई मध्यनजर गर्दै नगरपालिकाले मेडिकल कलेजमा नै निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ । यस्तै, मोती र जल बिन्दु कसैलाई भयो भने पनि उपचार गरी दिन्छौं । आम्दा अस्पताल र नगरपालिका बीच स्तन र पाठेघर क्यान्सरको निःशुल्क परीक्षण गर्ने भनेर सम्झौता भएको छ । हामीले लगभग ६ हजार भन्दा बढीलाई यो सेवा दिइसकेका छौं । हामी शिक्षाको स्तरोन्नति हुनुपर्छ भन्ने तर्फ लागेका छौं । विद्यालयका प्राविधिक विषयको पढाई जरुरी ठानेका छौं । प्रत्येक सामुदायिक विद्यालयका एक–एक वटा प्राविधिक विषयको पढाइ हुने व्यवस्था मिलाउने सोचमा छौं । शिक्षाको स्तरवृद्धिका लागि छुटै दरबन्दी गरेर २६ जना शिक्षक राखेका छौं । सरकारी विद्यालयमा यहाँका स्थानीयले आफ्नो छोराछोरी पढाएको म देख्दिन । अब सरकारी विद्यालय पनि सबैको रोजाइको केन्द्र बनाउनको लागि छुटै अवधारणको अवलम्बन गरी काम गर्ने सोचमा छौं । स्थानीयले सरकारी विद्यालयकामा छोराछोरीलाई नपढाए पनि विद्यालयमा विद्यार्थीको चाप बढ्दो नै छ । नगर भित्रका प्रत्यके विद्यालयमा लगभग एक हजार भन्दा बढी विद्यार्थीको संख्या छ । तर, यहाँका स्थानीय चाहिँ पढ्दैनन् । विद्यालयमा बाहिरी जिल्लाका विद्यार्थीहरू आएर पढ्नुहुन्छ । यो पनि एउटा राम्रो पक्ष हो । हामीले शिक्षामा राजनीति गर्दैनौं भनेका छौं । जो आए पनि विद्यालयका विद्यार्थी पढ्नु पर्याे । गोकर्णेश्वर नगरपालिकालाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन के–के योजना बनाउनुभएको छ ? गोकर्णेश्वरलाई सफा नगरको रूपमा देखाउनको लागि जोरपाटी चोकदेखि यता फुटपाथ बनाउने लगायतका आवश्यक पूर्वाधारको काम भइरहेको छ । ट्राफिक समस्याको समाधानको गर्नको लागि बस व्यवस्थापन भनेर ५० लाख रुपैयाँ बजेट राखेका छौं । अहिले डिभाइडर, लाइट राख्ने काम भइ रहेको छ । स–साना पूर्वाधार तयार गर्दै फोहोरलाई पनि व्यवस्थापन गरी नगरलाई सफा बनाउँदै जाने हो । हाम्रो नगरपालिका धार्मिक क्षेत्र पनि हो । यहाँ प्रसिद्ध गोकर्णेश्वर मन्दिर छ । धार्मिक पर्यटनको लागि एकदमै सम्भावना भएको ठाउँ गोकर्णेश्वर हो । नगर नजिकै बौद्धनाथ मन्दिर छ । पर्यटनको लागि सुन्दर ठाउँ भनेको सुन्दरी जल छ । त्यहाँ आन्तरिक वा विदेशी पर्यटनको लागि लक्षित गर्दै होमस्टेहरू पनि सञ्चालनमा आएका छन् । अहिले सबैको रोजाइको केन्द्रमा सुन्दरी जल र तारे भिर पर्छ । काठमाडौंवासीहरू सो ठाउँको उत्पादित खानेकुराहरू खानको लागि रुचाउनु हुन्छ । त्यहाँको स्थानीय उत्पादनसँगै लोकल कुखुरा खान, डाँडाबाट देखिने दृश्यहरूको अवलोकन गर्नको लागि तारे भिर पुग्नु हुन्छ । तारे भिर आन्तरिक र पर्यटनको लागि सम्भावना बोकेको ठाउँ भएकाले आर्थिक उन्नतिको लागि त्यहाँसम्म सहज रूपमा पुग्न सक्ने सडकको निर्माण गर्दैछौं । बर्खा लागेसँगै नगरपालिका भित्र ढलको समस्या, डुबान, बाढी पहिराको समस्या हुने गरेको छ, यी समस्याको दिगो व्यवस्थापनको लागि कस्ता योजनाहरू अगाडि सार्नु भएको छ ? नगरपालिकाले प्राकृतिक प्रकोपका समस्याहरूलाई न्यूनीकरण गर्नको लागि बजेट पनि छुट्याएको छ । नगरभित्र बाढी तथा डुबानको समस्या चुनौतिको रूपमा देखिएको छ । यसको जोखिम न्यूनीकरण तथा दिगो समस्या समाधानको लागि नगरपालिका लागि रहेको छ । पहिला ढल निकास गर्ने पाइप साना साइजका थिए । ती पाइप घरबाट नै निस्किएको पानीले भरिन्छ । ढल पाइप सानो भएको कारणले बर्खा वा पानी परेको समयमा सहज रूपमा पानी निकास हुन सक्दैन । बाटोबाट खोला बगे जस्तो पानी बग्छ । वडा नं. ८ को प्रगति चोक र तरकारी बजारमा पानी पर्दा डुङ्गा चलाउन मिल्ने जस्तो हुन्छ । ढल व्यवस्थापन गरी बागमतीको पाइपलाइनमा जोड्नको लागि २ करोड रुपैयाँ बजेट छुट्टाएका छौं । यो कामको सुरुवात केही समयपछि हुनेछ । नगरको पर्ति जग्गा भवन निर्माण लगायतका अन्य प्रयोजनको लागि माग्नु हुन्छ । म चाहिँ त्यस्ता जग्गा दिने पक्षमा छैन । बरु त्यहाँ बिरुवा रोप्ने योजना बनाएका छौं । केही समय अगाडि नगरले ३ सय रोपनी जग्गामा ५ सय वटा लालिगुराँसका बिरुवा रोपेको थियो । बाढी पहिरो नियन्त्रणको लागि पनि बिरुवा रोप्दै जाने छौं । नगरपालिकाको तथ्याङक अनुसार नगर भित्र ४० वटा घर बाढी पहिरोका कारण जोखिममा छन् । सो ठाउँमा अहिले हामीले टेन्डर आव्हान गरेर जोखिम न्यूनीकरणको काम गरिरहेका छौं । यस्ता समस्याको समाधान छिट्टै गर्नेछौं । नगर क्षेत्र भित्र अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्री पनि भइरहेको देखिन्छ । यसलाई व्यवस्थित बनाउन नगरपालिकाले कसरी काम गरिरहेको छ ? अहिले नगर जग्गा वर्गीकरण गर्नतर्फ लागेको छ । कृषि क्षेत्र र गैरकृषि क्षेत्र जग्गा वर्गीकरण गर्नतर्फ लागेको हो । यस विषयको जिम्मा नगर प्रमुखलाई दिएको छ । तर, मैले यसको जिम्मा वडा कार्यालयलाई दिएको छु । नगर क्षेत्र भित्र अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्रीको नियन्त्रणको निमित्त एउटा समिति नै बनाएर काम भइरहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाउने भनिएको नयाँ सहरको आयोजना काम सुरु भयो भने व्यवस्थित शहरको विकासमा अझै सहयोग पुग्नेछ । यो आयोजनामा समावेश भएका नयाँ शहरहरू हाम्रो नगर भित्र पनि पर्छ । नयाँ शहर बनाउनको लागि प्राधिकरणले नगर भित्रका धेरै जग्गाको कित्ता काट रोकेर राखेको छ । सो स्मार्ट सिटीको काम अगाडि बढ्यो भने पनि धेरै राम्रो हुन्छ । यसले गर्दा व्यवस्थित शहरको विकासमा ठूलो सहयोग पुग्ने छ । नयाँ सहरको काम हुनुपर्छ भन्ने पक्षमा म छु । किन भने ३/४ आना जग्गाको कित्ता काट रोकिन्थ्यो । अहिले पालिकाहरूमा फोहोर व्यवस्थापनको विषयलाई ठूलो चुनौतीको रूपमा लिएको पाइन्छ । तपाईंहरुले नगर भित्रको फोहोरलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ? हामी पूर्व मेयरको कार्यकालमा नै फोहोरको व्यवस्थापन गर्नुपर्छ भनेर लागेका थियौं । कसरी व्यवस्थापन गर्ने चुनौति छदै थियो । आधुनिक प्रविधिको मेसिन नभई फोहोर व्यवस्थापन गर्न सकिँदैन भन्ने लाग्यो । त्यही शिलशिलामा जापान पनि गयौं । जापान गएर मेशिन ल्यायौं । उक्त मेसिनले फोहोर जलाउने काम गर्छ । फोहोर पनि जलाउँन सुरु गर्यौं । तर, मेसिन राखेको ठाउँका बासिन्दाले विरोध गरे । काम रोकियो । उपयुक्त ठाउँ रोज्न सकस पर्याे । फोहोर सिसिडोल नै गयो । अहिले हामीले मेसिन राख्ने ठाउँको व्यवस्थापन गरिसकेका छौं । केही समयपछि सञ्चालनमा ल्याउने नगरको तयारी छ । त्यो मेसिन सारिसकेपछि सिसिडोल जाने फोहोर जलाएर नष्ट गर्ने योजनामा छौं । कुहीने फोहोर भने आफैले व्यवस्थापन गर्नुपर्ने हुन्छ । सर्वसाधारण भएर यो काम भएन भन्नु र आफै पदमा पुगेर काम गर्नुमा के कस्तो फरक पाउनु भयो ? पहिला म नगरको सल्लाहकार थिएँ । दिएको सल्लाह अनुसार काम नभएको पनि हुन सक्थ्यो । अहिले नगर प्रमुख छु । निर्णय गरेर कार्यान्वयनमा योजनाहरू लान सक्छु । पदमा भएपछि तुरुन्तै डिसिजन गर्न सकेँ । सल्लाह दिनुमा र आफै काम गर्नुमा धेरै फरक छ । कतिपय कुरामा सल्लाह दिन सजिलो होला काम गर्नको भने समस्या पर्ला । जस्तो मैले नगर भवन बनाउने ठाउँ डोजर लगाएर खाली गरेको भए पनि हुन्थ्यो । अहिले अन्य पालिकामा मारामार छ । मलाई मारामार गर्नु छैन । सबैलाई व्यवस्थित र व्यवस्थापन गरी अगाडि बढ्नु छ । फुटपाथका ठेला–गाडा राखेर व्यापार व्यवसाय सञ्चालन गर्नेहरूको नगर क्षेत्र भित्र पनि बाक्लो नै थियो । मैले ठेला–गाडा हटाइन । तर, हटाउनको लागि समय दिएँ । अहिले नगर क्षेत्र भित्र ठेला–गाडा राख्ने समयको निर्धारण गरेका छौं । बिहान ७ बजे सम्म र बेलुका ७ बजेदेखि ठेला–गाडा राख्ने समय तालिका बनाएका छौं । समय तालिकाको पालना नगरे नगर प्रहरी उठाएर ल्याउनु हुन्छ । यसको पनि हामी बिस्तारै व्यवस्थापन गर्दै जानेछौं । व्यवस्थापन गर्दै जाने, धेरै बल प्रयोग नगर्ने पक्षमा छु । ठेला–गाडा सञ्चालन गर्न नपाउँदा उहाँहरूको बालबालिकालाई पढाउन पाएनौं भनेर मलाई फोन गर्नु हुन्छ । म भन्छु–अन्य ठाउँमा सक्दिन सामुदायिक विद्यालयमा म निः शुल्क पढाई दिन्छु । आर्थिक अवस्था कमजोर छ भने बालबालिकाको किताब कापी किन्दे भने पनि म किन्दिन तयार छु । तर, ठेला–गाडा तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्न पाइँदैन । एक जनाले गर्दा १० हजारलाई अवरोध गर्न पाइँदैन भनेर भनेको छु । अन्त्यमा, तपाईंको कार्यकालपछि अर्थात् अबको ५ वर्षपछि गोकर्णेश्वर नगरपालिका कस्तो बन्ला ? यहाँका नागरिकहरूको आर्थिक स्थिति बलियो बनाउने हो । यस नगरपालिका सुन्दर र सफा सहरको रूपमा विकास हुनेछ । खानेपानीको सुविधा सम्पूर्ण घरमा पुर्याउने हाम्रो लक्ष्य हो । मेलम्ची र सुन्दरी जलको पानी यही नगर भएर आउँछ । सुन्दरी जलको पानी नगरको सबै ठाउँमा पुग्छ । जसले त्यो पानी खान पाउनु भएको छैन । त्यसको पनि हामी व्यवस्थापन गर्छौं । एक वर्ष सम्पूर्ण नागरिकहरूको घरमा खानेपानीको व्यवस्थापन गर्ने नगरको लक्ष्य हो । खेलकुदको लागि पनि नगरपालिकाले उतिकै चासो दिएको छ । एउटा स्टेडियम निर्माण गर्न ३ सय रोपनी जग्गा छ । त्यसका लागि एक करोड रुपैयाँ छुट्ट्याएका छौं । ३ वटा कभर्ड हल निर्माण गर्ने सोचमा छौं । जस मध्ये सुन्दरी जलमा निर्माण हुने भनिएको कभर्ड हल टेन्डरमा गइसकेको छ । उक्त हल ६ करोडको लगानीमा निर्माण हुने छ । हामी सुविधायुक्त नगर बनाउँछौं ।

जगदुल्ला जलविद्युतले त्रिवेणी देखि इल सम्माको सडक निर्माण गर्न सुरु

त्रिवेणी । भेरी करिडोरभित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माणको प्रक्रिया सुरु भएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ । जगदुल्ला जलविद्युत् आयोजनाकै अग्रसरतामा उक्त सडक निर्माणका लागि पहल थालिएको हो । यो सडक भालुलेक हुँदै जुम्ला जोड्नका लागि पनि उपयुक्त मार्ग छ । डोल्पाको त्रिवेणी–नर्कु–सर्मी हुँदै भालुलेकसम्मको १६ किलोमिटर सडक निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशले प्रारम्भिक वातावरणीय परीक्षण आइई स्वीकृत भएसँगै सडक निर्माणका लागि जगदुल्ला जलविद्युत् कम्पनीले आज बोलपत्र आह्वान गरी कामको प्रक्रिया सुरु गरेको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिए । भेरी करिडोरले जिल्लाको सिमानालाई छोएर जाने भए पनि मुड्केचुला गाउँपालिकाका विभिन्न ठाउँमा सडक निर्माणमा समस्या हुँदै आएको थियो । अब जलविद्युत् आयोजनाले नै काममा सक्रियता देखाएपछि यहाँका सर्वसाधारणहरु खुसी भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । जुम्लाबाट मुड्केचुलातिरका केही गाउँबस्तीमा सडकले गति लिएको भए पनि तल्लो क्षेत्रमा रोकिएको सडक निर्माणले अब तीव्रता पाउने भएको छ । त्रिवेणी जुम्ला सडक निर्माणपछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभई जगदुल्ला हाइड्रोपावर निर्माणमा सहयोग पुग्ने जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर सापकोटाले जानकारी दिए । यता भेरी नदीमाथि निर्माण हुन लागेको तल्लुस्थित पुल निर्माण छिटो भएमा यहाँ निर्माणका लागि सामग्री आयातमा सहज हुने आयोजनाले बताएको छ । रासस

सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो । यस सँगै अब बिहीबारदेखि यी कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

पत्रकार र उनका परिवारलाई प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकमा छुट

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे । एक वर्षका लागि भएको सम्झौता २० मङ्सिर २०७९ देखि लागू भइसकेको छ । सम्झौताअनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखामा आबद्ध एक हजार चार ६७ पत्रकारलाई परिचयपत्रका आधारमा बहिरङ्ग सेवामा ५०, प्रयोगशाला परीक्षणमा ४० र औषधि खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । पत्रकारको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउनेछ । प्रतिष्ठान आबद्ध पत्रकारका आश्रित परिवारका तीन जनासम्म सदस्यलाई सूची उपलब्ध भएपछि सोही छुट उपलब्ध हुनेछ । क्लिनिकमा प्रजनन् स्वास्थ्य, कलेजो प्रत्यारोपण, स्त्री तथा प्रसूति, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु, शल्यक्रिया, दन्त उपचार, मनोपरामर्श तथा उपचार, मिर्गौलासम्बन्धी उपचार, नाक, कान, घाँटी, बालरोग, स्नायु, टेस्टयुब बेबी, छालासम्बन्धी सेवा, फिजियोथेरापी, स्तन क्यान्सरको उपचार र सम्पूर्ण ल्याबसम्बन्धी सेवा उपलब्ध रहेको डा रानाभाटले बताए । महासङ्घका केन्द्रीय सदस्य मणि दाहालले समझदारीले खासगरी श्रमजीवी पत्रकारलाई गम्भीर स्वास्थ्य समस्या आउँदा उपचार र आर्थिक रुपमा राहत हुने विश्वास व्यक्त गरे । रासस

एफपीओ जारी गर्दै विन नेपाल लघुवित्त, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्तले एफपीओ जारी गर्ने एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने भएको छ । लघुवित्त र मुक्तिनाथबीच निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीका लागि बुधबार सम्झौता भएको हो । लघुवित्तले ५१ हजार २९३ कित्ता एफपीओ बिक्री गर्न जनाएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा धितोपत्र बोर्डले स्वीकृति दिने प्रिमियम मूल्य थप गरी एफपीओ बिक्री गर्न लागेको हो । यद्दपि, विन नेपाल लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग्न भने बाँकी नै रहेको छ ।