विकासन्युज

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवद्र्धनमा जोड

कमलामाई । कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको  हो । गौमती  र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन् । यहाँ पनि मन्दिर बनाइएको छ । प्राकृतिक देवीदेवताहरूको शिला छन् । कमलामाई देवीले पानी पोखेको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ । मन्दिर क्षेत्र पहाडले घेरिएको छ । चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीस्थल नजिक छ । ऐ्तिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ । ऐतिहासिक धार्मिकस्थलको संरक्षणमात्र होइन विकास र प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । उनले भने, ‘यहाँसम्म आउने बाटो कालोपत्र हुने प्रक्रियामा छ । निर्माणाधीन धर्मशाला सम्पन्न गरेर वनभोजस्थल अझ व्यवस्थित बनाउँछौँ, नमूना ठाउँ बनाएर यस क्षेत्रमा पर्यटक भित्र्याउने योजना छ ।’ हिन्दू धर्मलम्बीहरूले अतिविश्वास गर्ने धार्मिकस्थलमा पर्दछ, कमलामाई मन्दिर । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा नेपाल र भारतका भक्तजन दर्शनका लागि आउँछन् । तर मन्दिरको उत्पतिस्थल माईशीरमा धेरैजसो पुग्दैनन् । यहाँको सौन्दर्यता, ऐतिहासिकता र धार्मिकताका बारेमा प्रचार–प्रसार कमी भएको उनले सुनाए । नगरप्रमुख पोखरेलका अनुसार माईशीरमा हलुवावेद, जुनार, सुन्तला प्रशस्त पाइन्थ्यो । हलुवावेद लोप भए पनि अमिलो जातका फलफूल अझै पाइन्छ । माईशीर क्षेत्रमा जुनार, सुन्तला, कागतीलाई व्यावसायिक खेतीका रुपमा विस्तार गरी पर्यटकीयस्थलका रूपमा विकास गरिने नगरको लक्ष्य छ । यस क्षेत्रमा खानेपानी र सिँचाइको चरम समस्या भएकाले लिफ्ट खानेपानी योजनाअन्तर्गत समस्या समाधान गरिने र यहाँका नागरिकको जीवनस्तर उकास्ने उनको भनाइ छ । ‘यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गछौँ ।  त्यसपछि फलफूलको नमूना ठाउँका रूपमा विकास गदैँ लैजान्छौँ’, उनले भने, ‘विकासका हिसाबले पिछडिएको तर परिर्वतनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ ।’ इतिहासकारका अनुसार श्री ३ चन्द्रशम्शेरको पालमा विसं १९६४ मा फौदसिंहले माईशीरमा मन्दिर स्थापना गरेका थिए । सन् १९७४ मा फौदसिंहका छोरा कीर्तिमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माईस्थानमा मन्दिर निर्माण गर्न लगाउनुभएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । कमलमाई मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको स्थानीय कुमार मग्रातीले बताउनुभयो । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ । ‘हिउँद मौसममा यस ऐतिहासिक तथा धार्मिकस्थलमा वनभोज खान आउनेको भीड हुन्छ । कहिले त वनभोज खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन्’, उनले भने । कमलामाई मन्दिरमा दर्शन गर्दा मनले चिताएको पूरा हुने, शान्ति छाउने जनविश्वास रहेको पुजारी चन्द्र दासले बताए । उनले कमलामाई देवीको पवित्रस्थल शक्तिशाली भएको धारणा राखे । कमलामाई मन्दिरको उद्गमस्थल माईशीरमा भए पनि त्यसको ऐतिहासिक धार्मिकता माईस्थानमा जोडिएकाले दुवै स्थलमा सत्यता र उत्तिकै महत्व रहेको कमलामाई मन्दिरमा ४३ वर्षदेखि पुजारीका रूपमा रहेका विष्णुप्रसाद कोइरालाले बताए । उहाँका अनुसार प्रत्येक वर्ष माघे सङक्रान्तिका दिन दुवै स्थलमा  ठूलो मेला लाग्दै आएको छ । मेलामा नेपाल र भारतका भक्तजन उपस्थित बढी हुन्छन् । पहिला मन्दिरमा जाने झोलुङ्गे पुल नहुँदा बर्खायाममा भक्तजनको उपस्थित हुँदैन थियो । मन्दिरमा आवातजावत गर्न सजिलो र मन्दिर व्यवस्थित हुँदै गएपछि दर्शनार्थी बाह्रै महिना आउने गर्छन् । एकपटक दर्शन गर्न आएका दर्शनार्थी चिताएको पूरा भयो भनेर पटक–पटक आउने गरेका पनि उनले सुनाए । ‘माघ र फागुनमा कम्तीमा पनि सात–आठ हजार पशुपक्षीको काटमार हुन्थ्यो, रगतको खोलै बग्थ्यो । अहिले एक हजारको पनि काटमार हुँदैन, नरिवल फुटाउने, परेवा उडाउने गर्दछन्’, उनले भने, ‘काट्मार गरेर पशुबलि दिइन विस्तारै बन्दै गर्नुपर्छ ।’ युवापुस्ता मन्दिरमा दिइने बलि प्रथाविरुद्ध भए पनि बूढापाकाले छोड्न नसकेकाले बलिप्रथा अत्य भने भइनसकेको बताए ।

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो। उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उनलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो। कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पर्थ्यो। अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलुखेतीमा लागेकी छन् । ‘खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरैपटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ’, उनले भनिन्, ‘अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ, बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ ।’ उनले यस वर्ष करिब दुई क्विन्टल आलु लगाएकी छन्। उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलुखेती लगाइएको उनले बताइन्। रामपुर–७ बस्ने अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आएका छन् । बर्सेनि गौतमले करिब एक सय क्विन्टल बीउ तथा खाने आलु उत्पादन गर्छन् । धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ। उनले पाँच–सात वर्षदेखि व्यावसायिकरूपमा आलुखेती गरिरहेका छन् । ‘धेरै आलु उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो, समयमा नै रामपुरमा आलु नबिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो, बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपथ्र्यो, अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो’, उनले भने । किसान गौतमले नगरपालिकाको अनुदान सहयोगमा छ रोपनी जग्गामा करिब साढे छ क्विन्टल खायन आलु लगाएका छन् । बजार सहज भएमा आलु उत्पादनलाई अझै बढाउँदै जाने उनी बताउँछन् । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १५ लाख ५० हजार बराबरको रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। ‘आलुको उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातित आलुलाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ’, शाखा प्रमुख पाण्डेयले भने । उनका अनुसार यस कार्यक्रममा करिब तीन सय किसान आबद्ध छन्। साढे तीन सय क्विन्टल खायन आलुको बीउमा ५० प्रतिशत किसानलाई अनुदान रकम उपलब्ध गराउने कार्यक्रमअनुसार किसान आफैँले बीउ खरिद गरेर लगाएका छन् ।  रासस

निष्क्रिय भयाे चोलेन्द्रविरुद्धको महाअभियोग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै उनी आजैबाट अदालतमा हाजिर हुने समेत बताइएकाे छ ।

यी तीन मन्त्रीले भने : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्छ

काठमाडाैं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका हुन् । गृहमन्त्री खाणले यस विषयमा निकास नभए उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा मन्त्रिपरिषद् बैठकमा राखेको जानकारी दिए । मौद्रिक नीति र बैंकको ब्याजदरका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएपछि धेरै उद्योगी व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा उनीहरूले मन्त्रिपरिषद् बैठकमा राखेका हुन् । तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताएका थिए । गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीसम्बद्ध सङ्घसंस्थाले प्रधानमन्त्री देउवा र मन्त्रीहरूको पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन् । रासस

हिउँदको सुख्खा समयमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ । गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा बढेको पानीको बहाव अहिलेसम्म पर्याप्त रहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको हो । विगतका बर्षको यसै समयमा पानीको बहाव घट्दा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो ।यस आयोजनाको तीनवटा युनिटबाट २३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन गरी बितरण हुँदै आएको उनले बताए । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पग्लेर आउने भएकाले नदीमा पानीको बहावमा खासै कमी नहुने सो केन्द्रले जनाएको छ । सहायक नदी र खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेपनि हिउँद महिनमा कम विद्युत उत्पादन हुने गरेको थियो । रासस

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

तानसेन । काठमाडौंका विकाश मर्हजन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए । चौथो पटक पाल्पा घुम्न आएका उनलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो । ‘एतिहासिक तानसेन वजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ’, उनी भन्छन्, ‘चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम बनेछ ।’ ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ संचालित साहसिक जल यात्रा र्याफ्टिङ, प्याराग्लाईडिङ्ग र जीपलाईनले पर्यटकलाई आर्कषित मात्र गरेको छैन्, जिल्लाको पर्यटन प्रर्वद्धनमा थप टेवासमेत पुर्याएको छ । पहिलो पटक रानीमहल घुम्न आएका नेपालगञ्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि र्याफ्टिङ गर्दा आनन्द महसुस भयो’, उनी भन्छन्, ‘प्रकृतिसँग रमाउदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जल यात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँचसयभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमण गर्दछन् । यहाँका एतिहासिक तानसेन वजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुईसय भन्दाबढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमर्ण गर्दछन् भने दैनिक १५ देखी २० जनाले साहसिक जलयात्रा गर्दछन् । स्याङ्गजाको बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरेपनी साहसिक जलयात्रा भने गरेका थिएनन् । उनी भन्छन्, ‘मेरो घर नजिकै भएर पनि यहाँ र्याफ्टिङ सुविधा छ, भन्ने थाहा थिएन् ।’ चौथोपटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले पनि जलयात्रा गर्न साहस गरेको उनी बताउँछन् । तानसेनको बतासेडाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाईडिङ्ग संचालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन वजार, श्रीनगरलगायत मनोरमस्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्काईका संचालक रुपम कक्षपतीले जानकारी दिए । यात्रुहरुको रोजाइअनुसार २० देखी ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उनको भनाइ थियोे । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृङ्खलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङजा, धरान, लतिपुर, काठमाडौँ लगायतक्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटरमाथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ । तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट संचालित जीपलाईन यहाँ आउने पर्यटकहरुको अर्को गन्तव्य बनेको छ । पाँचसय मिटर दूरीको जीपलाईनमा डोरीमा झुण्डिदै साइकिलिङ्ग गर्न दैनिक १५ देखी २० जना पुग्ने गरेको त्यसका संचालक देव पचभैया बताउँछन् । उक्त जीपलाईन पाल्पा दर्शनले संचालनमा ल्याएको हो । दक्षिण एसियाकै ठूलो त्रिशुलबाट परिचय बनाएको भैरव मन्दिरको दर्शनसँगै जीपलाईनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् । नेपालको भूगोलअनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्रयाकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ र स्किइडलगायतलाई साहसिक खेल मान्ने गरिएको छ । नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुलागरेसँगै नेपालमा साहसिक पर्यटन सुरु भएको पाइन्छ । रासस

सिरहामा पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे । समझदारीअनुसार अस्पतालले पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषलाई निःशुल्क शल्यक्र्रिया सेवा, बेड चार्ज, बेहोसी चार्ज, पाठेघरको मुखको क्यान्सरको जाँच, औषधि, बिरामीलाई खानाको सुविधा र शल्यक्र्रिया पश्चात् बिरामीको घरसम्म एम्बुलेन्समार्फत पु¥याइने उल्लेख छ । यो सेवा सो नगरपालिकावासीको निम्ति भएको प्रमुख प्रशासकीय अधिकृत दनुवारले बताए। रासस

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

बागलुङ । धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो । कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत दुई महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । अस्पतालको अक्सिजन प्लान्ट बाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा २५ शय्यालाई पुग्ने प्लान्ट गण्डकी प्रदेश सरकारको ५० लाखको लागतमा स्थापना गरिएको थियो । त्यस लगत्तै कोरोना सङ्क्रमण बढ्दै जानु र अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा अक्सिजन प्लान्ट थप गरि स्थापना गरिएको हो । अस्पतालले अहिले अन्य जिल्ला तथा पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेको धौलागिरि अस्पताल बागलुङका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए । उनले तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अन्य अस्पताल र निजी क्षेत्रलाई अक्सिजन भरेर लैजाने व्यवस्था मिलाएको बताए । उनले बढी उत्पादन भएको अक्सिजन सुलभ मूल्यमा निर्यात गर्दा पनि अक्सिजन प्लान्ट सञ्चालन खर्चकोसमेत जोहो हुने बताए । सडक अवरुद्ध हुँदा झोलुङ्गे पुल तारेर अक्सिजन सिलिन्डर ल्याइ कोरोनाका दोस्रो लहरमा बिरामीको ज्यान बचाइएको अनुभव उनले सुनाए । ‘सरकारले धौलागिरि क्षेत्रलाइनै पुग्नेगरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन ग-यो’, न्यूरेले भने, ‘अहिले पर्वत जिल्ला अस्पतालमा आवश्यक अक्सिजन लैजाने गरिएको र बागलुङका पालिका अस्पताललाई समेत अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्रचार गरिसकेका छौँ ।’ उनले आफुहरुको प्लान्टमा उत्पादित अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुने बताए । धाैलागिरी अस्पतालमा कोरोनाको दोस्रो लहरमा औद्योगिक क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर प्रयोग गरेर बिरामीको उपचार गरिएको र पछिल्लो समय अक्सिजन सिलिन्डरसमेत अस्पताललाई प्रर्याप्त पुग्ने गरी सुरक्षित गरिएको धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अभिषेक वाग्लेले जानकारी दिए । डा वाग्लेले भने, ‘बिरामीको जीवन बचाउनका लागि अत्यावश्यक रहेको अक्सिजन आफ्नै अस्पतालमा उत्पादन हुनु र आवश्यक पर्दा अन्य जिल्लाका अस्पताल र पालिका अस्पतालमा समेत भरेर पठाउन सकिने भएको छ ।’ धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्नेगरी २०० शय्याको बनाउँदा उत्पादित अक्सिजन अस्पतालमै खपत हुनसक्ने अस्पतालको भनाइ छ । रासस