काठमाडौं । बुध्द एयरले आउँदो डिसेम्बर १६ देखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजबाट गर्न लागेको छ । अहिले बुध्द एयरले यस गन्तव्यमा एटीआर– ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएकोमा अब भने एटीआर–७२ बाट गर्ने भएको हो ।
यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुध्द एयरले विश्वास लिएको छ ।
हाल सञ्चालनमा रहेको एटिआर–४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बताइएको छ ।
सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर–७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् । यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजारबाट शुरु हुने र माग अनुसार दैनिक २ उडान पनि बुध्द एयरले भर्ने बताइएको छ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
१६ तारिखदेखि अब दैनिक बिहान १० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले जारी गरेको छ ।