विकासन्युज

विद्यालय शिक्षाका लागि ५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय 

काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । नगद लेखाप्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल (गोरखा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइयो । सरकारले किमाथाङ्का अरुण जलविद्युत्, धौवादी–मेघौली १३२ केभी प्रसारण आयोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण आयोजना र मर्स्याङदी जलविद्युत् केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही अघि चलाउने अधिकारी तोक्नेसमेत निर्णय गरेको छ । बैठकले सेती नदी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन, टक्सार पिखुवा खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । यसैगरी दूध पोखरी चेपे, माथिल्लो आँखुखोला, मेवा खोला, सुपर चेपे जलविद्युत् आयोजना तथा जलपादेवी केवलकार आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको छ । सरकारले सिङ्गापुरमा हुने १७औँ एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृत दिएको छ । बैठकले तारागाउँ विकास समितिसम्बन्धी नियमावली बनाउन तथा लुम्बिनी विकास कोषको कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावलीलाई स्वीकृति दिएको छ ।

चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन नेता पौडेलेको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडी बढाउन निर्देशन दिएका छन् । बुधबार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ बिस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिएका हुन् । उनले चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडी बढाउन निर्देशन दिएका हुन् । उनले विष्णुमति र सामाखुशी खोलामा वर्षातको समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक बिस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गरे । उनले चक्रपथ बिस्तार गर्दा ढल निकासको समस्यालाई पनि समाधान हुनेगरी गर्नुपर्ने बताए । उनले भने, ‘रिङरोड वरिपरि पचास मिटरभित्र सामानहरु हटाउनु, सफा गर्न १५ दिने सूचना जारी गरेको छ यो कार्यालयले । तोकिएको समयभित्र उनीहरुले सफा गर्ने भनका छन् । विष्णुमति खोला, सामाखुशी खोला लगायत थुप्रै खोलाहरु वर्षातमा पानी बढेर बस्ती नै डुबानमा पर्ने स्थिति छ । ढल निकासको समस्यालाई रिङ रोड बिस्तारको क्रममा ध्यान दिएर समाधान गरियोस् भनेर हामीले कुरा गर्यौँ ।’ उनले स्थानीय समस्याहरुको समाधान गर्दै दोस्रो चरणको कलंकीदेखि वसुन्धरासम्मको सडक बिस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चावहिलसम्मको कामलाई पनि तत्काल शुरु गर्न आग्रह गरे । उनले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग पनि आफूहरुले कुरा गर्ने भन्दै चक्रपथ बिस्तारलाई छिटो अगाडी बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताए । उनले भने, ‘कलंकीदेखि वसुन्धरासम्म रिङरोड विस्तारको दोस्रो चरण भनेर भनिएको छ । वसुन्धरादेखि चाबहिल धोबिखोलासम्मको तेस्रो चरण छ । त्यहाँ पनि विभिन्न खाले समस्याहरु छन् । त्यसैले त्यो तेस्रो चरणको कार्यक्रम पनि तत्काल शुरु गरियोस् भनेर अर्को कुरा राखेको । रिङ रोड बिस्तारको कामलाई छिटो, प्रभावकारी र समस्यारहित हुनेगरी अगाडी बढाइयोस् भन्नका लागि हामी यहाँ आएका हौँ ।’ नेता पौडेसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको काम अन्तर्गत कलंकी वसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको बताए । उनले उपभोक्ताहरुले ढल निर्माणको माग राखेकाे र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गरे । उनले आयोजना सम्पन्न गर्नका लागि आवश्यक अन्य कामहरु पनि भइरहेको उल्लेख गरे ।

मेगा बैंकको सेयर मूल्य समायोजन, आइतबार कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । मेगा बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ४ प्रतिशत बोनसको लागि बैंकको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २०४.६२ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको मंसिर २१ गतेको अन्तिम कारोबार मूल्य अर्थात प्रतिकित्ता २१२.८० रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो । यससँगै आइतबारको सेयर बजारमा बैंकको पहिलो सेयर कारोबार समायोजित मूल्य (प्रतिकित्ता २०४.६२ रूपैयाँ) लाई नै आधार मानेर हुने छ ।

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

भरतपुर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ । ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उनको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम दुई अर्ब रुपैयाँँको हाराहारी रहेको भन्दै उनले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताए । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिने छ । अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो । नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ । नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए । उनले भने ‘विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।’ हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन् । धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन् । भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताइन् । नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ । छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ । हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन् । सन् २०२१ मा यहाँबाट आवतजावत गर्नेको सङ्ख्या ११ लाख ७६ हजार थियो । रासस

कोका-कोलाको सहयोगमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौं । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाई, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोकाकोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको हो । एक पटकमा ५० जनासम्म विरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ । अक्सिजन प्लान्ट स्थापनाको लागि क्रिएसन र कोका(कोला फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईं भनिन्, ‘कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघसंस्थाहरूको सहयोग पाउँदा हामी निकै खुसी छौं ।’ त्यस्तै, स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोकाकोला फाउन्डेसनले जनाएको छ ।  

रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका अभिकर्ताहरु रिलायन्स साथीहरुलाई सम्मान गरिएको थियो ।

आर्थिक अवस्था कमजोर छ भने सामुदायिक विद्यालयमा निः शुल्क पढाई दिन्छु – प्रमुख रिसाल

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दिपक कुमार रिसाल गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा निर्वाचित भए । निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि निरन्तर सक्रियताका साथ लाग्ने प्रयत्न रिसालले गरिरहेका छन् । रिसाल शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई व्यवस्थित गरी गोकर्णेश्वरलाई व्यवस्थित सहर बनाउने योजनामा होमिएका छन् । लामो समय गोकर्णेश्वर नगरपालिकामा नै प्रमुख सल्लाहकार बनेर काम गरेका रिसाल नगर भित्र कसरी काम गर्ने ? कुन योजनालाई बढी प्राथमिकता दिने ? नागरिकहरूका समस्या के कस्ता छन् ? लगायतका विषहरुसँग आफु राम्रोससँग जानकार भएको बताउँछन् । उनै मेयर रिसालसँग नगरको विकास, प्राथमिकताका विषय, व्यवसायिक क्षेत्रको विकासमा पालिकाको योजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी गरेका छन् ।

कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त

काठमाडाैं । कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले धिताललाई कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । धिताल हाल कोष मै निमित्त प्रशासकको जिम्मेवारीमा छन् । खुला प्रतिस्पर्धाबाट कोषको प्रशासक नियुक्त गर्न अर्थ मन्त्रालयले छनौट तह सिफारिस समिति बनाएको थियो । धिताल कोषको निमित्त प्रशासकमा २०७८ भदौमा नियुक्त भएका थिए । तत्कालीन प्रशासक तुलसी गौतमलाई सरकारले हटाएपछि धितालले निमित्तको जिम्मेबारी पाएका थिए । एक वर्षको अवधिमा उनी प्रशासकमा नियुक्त भएका हुन् ।