लाभांश घोषणाको तयारीमा आधा दर्जन जीवन बीमा कम्पनी, बाँकीको अवस्था कस्तो ?
काठमाडौं । सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये आधा दर्जन जीवन बीमा कम्पनीहरु लाभांश घोषणा गर्ने तयारीमा छन् । नेपाल बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेसँगै ६ वटा कम्पनीहरुलाई अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गर्ने तयारीमा रहेका हुन् । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, एशियन लाइफ र प्राइम लाइफले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । त्यस्तै, अन्य ६ वटा कम्पनीले भने लाभांश प्रस्ताव गर्ने तयारी गरिरहेका छन् । मेटलाइफ, गुराँस लाइफ, सूर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स लाभांश प्रस्ताव गर्ने तयारीमा छन् । प्राधिकरणले यी कम्पनीहरुको आर्थिक वर्ष २०७७/७८ को वित्तीय वित्तीय विवरण स्वीकृत गरिसकेको छ । त्यस्तै, वित्तीय विवरण पेश गर्नेमा अन्य २ कम्पनी रहेका छन् । सन नेपाल लाइफ र सिटिजन लाइफले प्राधिकरणमा उक्त आवको वित्तीय विवरण पेश गरिसकेका छन् । तर हालसम्म भने समितिले यी कम्पनीको वित्तीय विववरण्लाई स्वीकृत गरेको छैन । सन नेपालले मंसिर १२ गते र सिटिजन लाइफले कार्त्तिक ६ गते नै प्राधिकरणमा उक्त आवको विवरण पेश गरेका थिए । बाँकी रहेका ७ वटा कम्पनीले भने हालसम्म पनि उक्त आवको वित्तीय विवरण प्राधिकरणमा पेश गरेका छैनन् । प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), युनियन लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आवको वित्तीय विवरण नै पेश गरेका छैनन् । यससँगै प्राधिकरणले वित्तीय विवरण पेश नगर्ने कम्पनीहरुलाई छिटो पठाउन पनि पत्राचार गरिसकेको छ । यता कम्पनीहरुले भने एक्चुरी गर्नको लागि भारत पठाउनु पर्ने भएकोले ढिलाई भएकोले प्राधिकरणमा वित्तीय विवरण पेश गर्न ढिलाई भएको बताएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले एक्चुरीका कारण वित्तीय विवरण समयमै पेश गर्न नसकेको धारणा राखे । उनले एक्चुरी भएलगत्तै प्राधिकरणमा वित्तीय विवरण पेश गर्ने पनि जानकारी दिए । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पनि वित्तीय विवरण भारतमा एक्चुरीको प्रकृयामा रहेकोले प्राधिकरणमा पेश गर्न ढिलाई भइरहेको बताए । कम्पनीहरुले आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र वित्तीय विवरण प्राधिकरणमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । कुनै कारणवश ढिलाई भएमा प्राधिकरणले एक महिना थप गर्न सक्ने प्रावधान छ । चारमध्ये तीन कम्पनीको लाभांश पारित उक्त आर्थिक वर्षको लाभांश घोषणा गरेका ४ कम्पनीमध्ये ३ कम्पनीको लाभांश पारित समेत भइसकेको छ । एशियन लाइफ, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भइसकेको छ भने प्राइम लाइफको हुन बाँकी छ । यी चार कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै, नेशनल लाइफले १५.७८९ (१५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद) लाभांश र एशियन लाइफले १५.२६ प्रतिशत (१४.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश) वितरण गरिसकेको छ । यता प्राइम लाइफले भने १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश पाउने छन् । हालसम्म कम्पनीले वार्षिक साधारण सभामा जानको लागि बुक क्लाजको मिति समेत तय गरिसकेको छैन ।
कुमारी बैंकको रेमिट बचत खाताबाट वैदेशिक रोजगारमा भएकाले आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सक्नेछन् । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक सेयरमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको जनाएको छ । कुमारी बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ्ग ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।
मलेसियाबाट आइएमईमार्फत १४ हजार पठाउँदा मेखलालले जित १० लाख रुपैयाँ
काठमाडौं । आइएमईले चाडपर्वहरूका अवसरमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा याेजनाकाे विजेता मेखलाल तामाङ्ग बनेका छन् । मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख जितेका हुन् । बुधबार काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए । यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम संचालनमा ल्याइएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कूल ९ हप्ता अर्थात ६३ दिनसम्म संचालनमा ल्याइएको थियो । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था पनि मिलाइएको थियो ।
आइडिया स्टुडियोले नवीन व्यावसायिक विचारको लागि खोल्यो आवेदन
काठमाडौं । गैरनाफामूलक कम्पनीमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्दै आएको आइडिया स्टुडियो नेपालले आफ्नो सातौँ यामका लागि आवेदन खुल्ला गरेको छ । आइडिया स्टुडियोले आफ्नो छैटौँ यामसम्म चार हजार पाँच सयभन्दा बढी नवीन व्यावसायिक विचार प्राप्त गरेको छ । जसमध्ये तीन सय ५० भन्दा बढी व्यावसायिक विचार कार्यान्वयनका क्रममा छन् । पैसठ्ठीभन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको जनाइएको छ । आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न कार्यक्रमबाट सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउन सफल भएको छ । आइडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पु¥याउने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्नेजस्ता सबै क्षेत्रका व्यावसायिक आइडियाले विशेष प्राथमिकता दिनेछ । आइडिया स्टुडियो नेपालमा प्राप्त भएका आइडियामध्ये सिजन सातमा ४० व्यवसायलाई छनोट गरिन्छ । छनोट भएका व्यवसायलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सरसल्लाह, तालिम, व्यावसायिक सञ्जाल साथै वित्तीय पहुँचका लागि सहजीकरण गरिन्छ । ती विचार ‘स्पेस ४ के’ टेलिभिजनमा प्रसारण हुने स्टुडियोका सञ्चार अधिकृत प्रज्ञा घिमिरेले जानकारी दिनुभयो ।
सानिमा एक विश्वसनिय बैंकको रुपमा स्थापित भयो : सीईओ पाण्डे
काठमाडौं । १८ वर्षको अवधिमा सानिमा बैंक सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएको प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताएका छन् । बुधबार काठमाडौंमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरु आभार प्रकट गरे । वार्षिकोत्सवको अवसरमा बैंकले दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरेको थियो । सीईओ पाण्डेले कर्मचारीहरुलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, बैंकले आगामी दिनमा आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने बताएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । बैंकले पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरु मार्फत रक्तदान कार्यक्रम संञ्चालन गर्ने जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृत रुपमा संचालनमा ल्याएको छ । उक्त वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिनेछ । साथै, विदेशमा बस्ने नेपालीहरुले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुबिधा पनि लिन सक्नेछन् । सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।
हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आइपीओ जारी गर्ने, एनआइबिएलसँग गर्यो सम्झौता
काठमाडौं । एनआइबिएल एस क्यापिटल र हिमाल वाटरपार्क एण्ड भिलेज होटल (क्लार्क रिसोर्ट, विरगञ्ज) बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झाैतामा क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा होटल प्राइभेटका तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तगर्त क्यापिटलले होटललाई सर्वसाधारण सेयर निष्काशन पूर्व, निष्काशनको अवधीमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदन गर्नेछ । पहिलो चरणमा कम्पनीले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ । र सेयर निष्काशन पश्चात, क्यापिटलले हिमाल वाटरपार्क एण्ड भिलेज होटलको सेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्नेछ । हिमाल वाटरपार्क एण्ड भिलेज होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिल कुमार खेतानले गरेका हुन् । यस होटलको संरचना १२२,४३०.४८ वर्ग फिटमा फैलिएको छ । सन् २०७३ देखि यस होटलको निमार्ण कार्य सुरु भएको थियो भने अहिले उक्त होटलको निमार्ण कार्य भईसकेको छ । हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट (क्लार्क रिसोर्ट, विरगञ्ज) भारतको एक प्रसिद्ध होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तराष्ट्रिय होटल चेन हो । क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामा पनि विभिन्न होटलहरु संचालन गरिसकेको छ ।
सार्वजनिक हितको लागि आवश्यक सेवामा हडताल गर्न नपाइने
काठमाडौं । सरकारले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिष्दको बैठकले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले उक्त निर्णय राजपत्रमा प्रकाशन गरेपछि लागु हुने बताएका छन् ।
विद्यालय शिक्षाका लागि ५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । नगद लेखाप्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल (गोरखा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइयो । सरकारले किमाथाङ्का अरुण जलविद्युत्, धौवादी–मेघौली १३२ केभी प्रसारण आयोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण आयोजना र मर्स्याङदी जलविद्युत् केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही अघि चलाउने अधिकारी तोक्नेसमेत निर्णय गरेको छ । बैठकले सेती नदी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन, टक्सार पिखुवा खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । यसैगरी दूध पोखरी चेपे, माथिल्लो आँखुखोला, मेवा खोला, सुपर चेपे जलविद्युत् आयोजना तथा जलपादेवी केवलकार आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको छ । सरकारले सिङ्गापुरमा हुने १७औँ एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृत दिएको छ । बैठकले तारागाउँ विकास समितिसम्बन्धी नियमावली बनाउन तथा लुम्बिनी विकास कोषको कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावलीलाई स्वीकृति दिएको छ ।