तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश
काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ। कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्धदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ। कुनै पनि उद्योग, व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेका छैनन्। यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्रम बजारले आगामी दिनमा अझै चर्को मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ । सरोकारवालाहरु नेपाली युवाको विदेश मोहलाई मुख्य रुपमा तीन कारण देख्छन् । पहिलो वर्षभरी यहाँ रोजगारीको ग्यारेन्टी छैन । अधिकांश रोजगार विकास निर्माण सम्बन्धी आयोजनाहरुमा पाइने भए पनि यो वर्षभरी चल्दैन । दोस्रो विदेशको तुलनामा स्वदेशको श्रम मूल्य निकै कम छ। स्वदेशमा परिवारसँग बसेर काम गर्न पाइने एउटा फाइदा बाहेक पाउने पारिश्रमिक ज्यादै न्यून छ। दिनभरी काम गरेको ज्यालाले बचत होइन, दुई छाक टार्न पनि पुग्दैन। तर विदेशमा गएर दुःख गरे दैनिक खर्च टरेर केही बचत समेत हुने अवस्था छ। तेस्रो हो विदेश मोह । साथीभाइ र आफन्त विदेश गएको देखेपछि अहिलेका धेरै युवाको गन्तव्य पनि उतै बनेको छ। युवाहरु सके पढ्न जाने नभए काम गर्न भए पनि विदेश जाने मोहमा छन् । समाजशास्त्री एवं श्रमविज्ञ डा। गणेश गुरुङ पनि यसमा सहमत छन् । गुरुङका अनुसार अहिलेका युवामा विदेश मोह देखिएकाले आन्तरिक श्रम बजारमा जनशक्ति अभाव छ। देशमा ठूला परियोजना एकै पटक सञ्चालन गर्नुपर्ने अवस्था भए आन्तरिक श्रमिकको चर्को अभाव हुनेछ। पत्रिकाबाट
नेप्सेमा थप २ कम्पनीको सेयर कारोबार फुकुवा, कति छ सेयर मूल्य ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ कम्पनीको कारोबार फुकुवा भएको छ । नेप्सेले समीट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार फुकुवा गरेको हो । नेप्सेले दुवै कम्पनीको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । आइतबारदेखि दोश्रो बजारमा दुवै कम्पनीको कारोबार सुरू हुनेछ । नेप्सेमा समीट लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९६३.९० रुपैयाँ रहेको छ भने सानिमा लाइफको सेयर मूलय प्रतिकित्ता ३४५.९० रुपैयाँ रहेको छ । सोही मूल्य अनुसार आइतबारदेखि कारोबार हुनेछ ।
मर्जर र लाभांश प्रस्ताव पारित गर्न सेञ्चुरी बैंकले डाक्यो साधारण सभा, १:१ स्वाप रेसियो
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा पुस १४ गते आर्मी क्लब भद्रकाली काठमाडौंमा बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ आषाढ मसान्तको वासलात र नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्सको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागी लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँको ४.७५ प्रतिशत अर्थात् ४५ करोड ३८ लाख १० हजार ६८६ रुपैयाँ बराबरको बोनस सेयर र ०.२५ प्रतिशत अर्थात् २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले बोनस सेयर जारी पश्चात् बैंकको पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रवन्धपत्र र नियमावली संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । प्रभु बैंक र सेञ्चुरी बैंकको सम्पत्ति, दायित्व तथा कारोवारको मुल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गर्ने भएको हो । अर्थात् सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले प्रभु बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन् । यस्तै, एक्विजिसन गर्न सम्पत्ति तथा दायित्वको मुल्यांकनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक सम्पत्ति दायित्व तथा कारोवारको मुल्यांकन प्रतिवेदन, समझदारी पत्र र अन्तिम सम्झौता पत्रलाई अनुमोदन गर्नेछ । बैंकको आठौं वार्षिक साधारण सभाद्वारा निर्वाचित बैंकको सञ्चालक समितिको कार्यकाल बैशाख १ गतेसम्म कायम रहनेछ ।
प्रभु र सेञ्चुरी बैंकबीच प्राप्ति गर्ने अन्तिम सम्झौता, पुसभित्रै एकीकृत कारोबार गर्ने
काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता गरेको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच प्राप्ति गर्न बुधबार २१ मंसिरमा अन्तिम सम्झौता भएको प्रभु बैंकले जनाएको छ । दुवै बैंकबीच पौष मसान्तभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ अन्तिम सम्झौता भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बताए । विभिन्न समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको प्रभु बैंकले सेञ्चुरी कमर्सयिल बैंकलाई प्राप्ति (एक्वजिसिन) गर्न गत साउन १५ गते मर्जर सम्झौता गरेको थियो । सेञ्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट गत भदौ २० मा सैद्धान्तकि सहमति प्राप्त गरेको थियो । ‘दुई बैंकबीच प्राप्तिका लागी बुधबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ, पौष मसान्त भित्र संयुक्त कारोबार गर्नेगरी अन्तिम सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट मर्जर समतिकिा संयोजक रमेश सिंह खड्का र सेञ्चुरी बैंकका मर्जर समिति सदस्य मन बहादुर राईले हस्ताक्षर गरेका हुन्,’ सीईओ शेरचनले भने । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताइएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।
आधुनिकीकरण हुँदै नेपालको नागरिक उड्डयन क्षेत्र, ५ वर्षमा १ खर्ब लगानी
काठमाडौं । पछिल्लो समयमा नेपालको नागरिक उड्डयन क्षेत्र विगतको तुलनामा तिव्र गतिमा विकास भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार, आधुनिककीकरण र सुरक्षाको विषयलाई विकास गर्दै लगेको छ । नेपालको अर्थतन्त्रको विकास गर्नको लागि नागरिक उड्डयनको प्रभावकारी ढंगले विकास गर्नुपर्ने विकल्प नरहेको र सो दिशामा प्राधिकरण लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवराम श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित एक कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले ‘एयर कनेक्टिभिटी जति प्रभावकारी अरु हुन सक्दैन’ भने । मन्त्री श्रेष्ठले नेपालले सिभिल सेक्युरीटी र सेफ्टीमा सम्झौता नगर्ने बताउँदै आइकाओले नेपालले नागरिक उड्डयनको क्षेत्रमा गरेको विकासलाई सकारात्मक रुपमा लिएको बताए । नागरिक उड्डयनको विकास भनेको पर्यटन क्षेत्रको लागि मात्रै नभएर सम्पूर्ण अर्थतन्त्रको विकासको लागि भएको उनको भनाइ छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो ५ वर्षमा प्राधिकरणले विमानस्थलको विस्तार र विकासमा ५ खर्ब लगानी गरेको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीका अनुसार गौतमवुद्ध विमानस्थल, पोखरा विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा पछिल्लो ५ वर्षमा प्राधिकरणले १ खर्ब लगानी गरेको छ । गत वैशाखबाट गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी प्राधिकरणले गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि एकैपटक २ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको प्राधिकरणले जनाएको छ । उपयुक्त हवाई नीति विना हवाई क्षेत्रमा काम भइरहेको ईंगित गर्दै महानिर्देशक अधिकारीले एउटै जिल्लामा ५ वटा सम्म एयरपोर्ट बन्न पुगेको बताए । महानिर्देशक अधिकारीका अनुसार बनेका एयरपोर्ट मध्ये २०/२२ वटा एयरपोर्ट सञ्चालनमा आउन सकेका छैनन् । ‘अहिले निर्माण भएका २०/२२ वटा एयरपोर्ट सञ्चालनमा आउन सकेका छैनन्, किनकी जहाज पनि छैन्, जहाज ल्याउने वातावरण पनि छैन्’, उनले भने । आगामी दिनमा हवाई नीति निर्माण गर्दा वृहत आर्थिक दृष्टिकोणबाट अध्ययन गरेर लेखिनुपर्ने उनको भनाइ छ । हवाई क्षेत्रको विकास भौगोलिक समावेशी मान्यताका आधारमा हुनुपर्ने मन्त्रालयका सचिव शुरेस अधिकारीको भनाइ छ । कतिपय एयरपोर्टमा टेक्स्ट फ्लाइट समेत नभएको विषय राख्दै उनले भने, ‘जियोग्राफी रिजनको आधारमा इन्कुल्सिभ हुन आवश्यक छ ।’ नेपालका एयरपोर्टहरु पछिल्लो समयमा सुधार हुँदै गएको सचिव अधिकारीले बताए । पछिल्लो समयसम्म नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गरेको छ भने एउटा देशसँग मल्टिल्याट्रल सम्झौता गरेको छ । नेपालले हवाई उडान सम्झौता गरेका ४० वटा देशमध्ये १७ वटा देशमा उडान सञ्चालनको अवस्थामा रहेको छ भने २३ वटा देशमा उडान हुन सकेको छैन् । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई मध्येनजर गरेर पछिल्लो समयमा सरकारले कुवेत र युएईमा सम्झौता संशोधन गरेर क्षमता विस्तार गर्ने पहल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अफिसर मुकेश डंगोलले आफ्नो कार्यपत्रमा सो कुरा उल्लेख गरेका थिए । उनको कार्यपत्रअनुसार सरकारले इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डा र अमेरिकामा द्विपक्षीय उडानको सहमति गर्न लागेको छ । जसको लागि पत्रचार लगायत आवश्यक प्रकृया अगाडि बढेको छ । नेपाल आइकाओको सदस्यको रुपमा सन् १९६० देखि रहँदै आएको छ, तर अहिलेसम्म सो सँस्थाको काउन्सिल सदस्य बन्ने पहल प्राधिकरणले कहिल्यै गरेको थिएन् । आगामी दिनमा भने आइकाओको काउन्सिल सदस्य बन्नको लागि प्राधिकरणको व्यवस्थापनको तर्फबाट पहल भएको प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।
जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा शुक्रबार सुनुवाइ
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले दर्ता गराएको रिटको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । महासचिव गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए । उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार रिट दायर गरेको हो ।रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि पेसी तोकिएको हो । रिटमा अन्तरिम आदेशमार्फत महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न माग गरिएको छ ।
टेलिकमको ब्राण्ड एम्बेसडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त
काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड –२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले खड्का र जोशीसँग नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर हस्ताक्षर गरेका छन् । ब्राण्ड एम्बेसडरमध्ये पारस खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनौट हुने अवधिसम्मका लागि सम्झौता सम्पन्न भएको हो । हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत सम्पूर्ण नेपालीहरुका साथै विशेषत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने बताए ।
लाभांश घोषणाको तयारीमा आधा दर्जन जीवन बीमा कम्पनी, बाँकीको अवस्था कस्तो ?
काठमाडौं । सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये आधा दर्जन जीवन बीमा कम्पनीहरु लाभांश घोषणा गर्ने तयारीमा छन् । नेपाल बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेसँगै ६ वटा कम्पनीहरुलाई अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गर्ने तयारीमा रहेका हुन् । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, एशियन लाइफ र प्राइम लाइफले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । त्यस्तै, अन्य ६ वटा कम्पनीले भने लाभांश प्रस्ताव गर्ने तयारी गरिरहेका छन् । मेटलाइफ, गुराँस लाइफ, सूर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स लाभांश प्रस्ताव गर्ने तयारीमा छन् । प्राधिकरणले यी कम्पनीहरुको आर्थिक वर्ष २०७७/७८ को वित्तीय वित्तीय विवरण स्वीकृत गरिसकेको छ । त्यस्तै, वित्तीय विवरण पेश गर्नेमा अन्य २ कम्पनी रहेका छन् । सन नेपाल लाइफ र सिटिजन लाइफले प्राधिकरणमा उक्त आवको वित्तीय विवरण पेश गरिसकेका छन् । तर हालसम्म भने समितिले यी कम्पनीको वित्तीय विववरण्लाई स्वीकृत गरेको छैन । सन नेपालले मंसिर १२ गते र सिटिजन लाइफले कार्त्तिक ६ गते नै प्राधिकरणमा उक्त आवको विवरण पेश गरेका थिए । बाँकी रहेका ७ वटा कम्पनीले भने हालसम्म पनि उक्त आवको वित्तीय विवरण प्राधिकरणमा पेश गरेका छैनन् । प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), युनियन लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आवको वित्तीय विवरण नै पेश गरेका छैनन् । यससँगै प्राधिकरणले वित्तीय विवरण पेश नगर्ने कम्पनीहरुलाई छिटो पठाउन पनि पत्राचार गरिसकेको छ । यता कम्पनीहरुले भने एक्चुरी गर्नको लागि भारत पठाउनु पर्ने भएकोले ढिलाई भएकोले प्राधिकरणमा वित्तीय विवरण पेश गर्न ढिलाई भएको बताएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले एक्चुरीका कारण वित्तीय विवरण समयमै पेश गर्न नसकेको धारणा राखे । उनले एक्चुरी भएलगत्तै प्राधिकरणमा वित्तीय विवरण पेश गर्ने पनि जानकारी दिए । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पनि वित्तीय विवरण भारतमा एक्चुरीको प्रकृयामा रहेकोले प्राधिकरणमा पेश गर्न ढिलाई भइरहेको बताए । कम्पनीहरुले आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र वित्तीय विवरण प्राधिकरणमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । कुनै कारणवश ढिलाई भएमा प्राधिकरणले एक महिना थप गर्न सक्ने प्रावधान छ । चारमध्ये तीन कम्पनीको लाभांश पारित उक्त आर्थिक वर्षको लाभांश घोषणा गरेका ४ कम्पनीमध्ये ३ कम्पनीको लाभांश पारित समेत भइसकेको छ । एशियन लाइफ, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भइसकेको छ भने प्राइम लाइफको हुन बाँकी छ । यी चार कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै, नेशनल लाइफले १५.७८९ (१५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद) लाभांश र एशियन लाइफले १५.२६ प्रतिशत (१४.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश) वितरण गरिसकेको छ । यता प्राइम लाइफले भने १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश पाउने छन् । हालसम्म कम्पनीले वार्षिक साधारण सभामा जानको लागि बुक क्लाजको मिति समेत तय गरिसकेको छैन ।