विकासन्युज

मोको वालेटबाट चियर्श अनलाइन स्टाेरमा खरिद गर्दा १५ प्रतिशत छुट 

काठमाडौं । मोको डिजिटल वालेट र चियर्श अनलाइन स्टोर नेपालले वर्ल्ड कप २०२२ को लागि क्यासब्याक अफर लिएर आएको छ । यस अफर अन्तर्गत मोको एपबाट चियर्श अनलाइन स्टोरमा खरिद गर्दा मोको क्युआर कोड स्क्यान गरी १५ प्रतिशत क्यासब्याक (३०० रुपैयाँसम्म) पाउनेछन् । हिमालयन बैंक, एनआईबिएल बैंक, माछापुच्छ्रे बैकं र एनआईसि एशिया बैंकका ग्राहकहरुले डिसेम्बर १८ सम्म यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले cheers.com.np मा गएर सामाग्री खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा पुजा चन्द ठाकुरको पुनःवहाली

काठमाडौं । श्रम अदालतले मकरीगाड हाइड्रोपावरमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले यही मङ्सिर १४ गते पुनःवहाली गर्ने फैसला गरेको हो । हाइड्रोपावरले बर्खास्त गरेपछि पुनःवहालीको माग गरी श्रम अदालतमा चलेको मुद्दामा चार वर्षपछि ठाकुरलाई सेवाबाट हटाएको मितिदेखि पारिश्रमिक तथा सम्पूर्ण सेवा सुविधासहित पुनःवहाली गर्न भनिएको छ । विसं २०७५ मङ्सिर ७ गते ठाकुरलाई हटाउने निर्णय गरिएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै ठाकुरले जिल्ला अदालत काठमाडौँ, श्रम तथा रोजगार कार्यालय काठमाडौं तथा श्रम अदालत लगायतका निकायमा लामो समयदेखि मुद्दा खेप्दै आएकी थिइन् । व्यवस्थापन पक्षले पदमा समेत सम्झौता नगरी काममा लगाएको र सेवाबाट हटाउँदा सूचना नदिइ हटाएकाले व्यवस्थापनको निर्णय गैरकानुनी भएको हुँदा उक्त निर्णय बदर भएको जनाइएको छ । अदालतको फैसला बमोजिम ठाकुरको सेवामा पुनःवहाली नभएसम्मको पारिश्रमिक, सेवा, सुविधासमेत गरी करिब एक करोड रुपैयाँ दिन र सेवामा पुनःवहाली गर्न आदेश भएको छ । श्रम ऐन, २०७४ को कानुनी व्यवस्था विपरीत सेवाबाट हटाएको अवस्थामा उक्त ऐनको दफा १७२(१) बमोजिम सेवामा पुनःवहाली भई सेवा सुविधा पाउने कानुनी व्यवस्था रहेको छ । रासस

दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

काठमाडौं । बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन गर्ने व्यवस्था छ । नेपालमा २००७ सालयताको प्रजातान्त्रिक इतिहासमा भएका आवधिक आमनिर्वाचन हेर्दा एउटै दलले त्यो पनि केही निर्वाचनमा मात्र दुई तिहाई र बहुमत प्राप्त गरेको तथ्याङ्क छ । अझ पछिल्लो समयमा मुलुकले अपनाएको राजनीतिक व्यवस्थाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा त कुनै एक दललाई एकल बहुमत प्राप्त गर्न सहज छैन् । विसं २०१५ देखि हालसम्म मुलुकमा आठ आमनिर्वाचन सम्पन्न भएका छन् । ती सबै निर्वाचनमा नेपाली कांग्रेस बाहेक अन्य दलले दुई तिहाइ र बहुमत प्राप्त गर्न सकेका छैनन् । कांग्रेसले २०१५ सालको निर्वाचनमा दुई तिहाई बहुमत तथा २०४८ र २०५६ सालमा बहुमत प्राप्त गरेको निर्वाचन आयोगको इतिहासमा उल्लेख छ । पहिलो आमनिर्वाचनमा कांग्रेसको दुई तिहाइ नेपालमा निर्वाचनको इतिहास हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको स्थापनापछि बालिग मताधिकारका आधारमा सर्वप्रथम २०१५ साल फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो । कूल एक सय नौ निर्वाचन क्षेत्रमा भएको मतदानमा कांग्रेस ७४ स्थानमा विजयी भई दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । त्यस्तै नेपाल राष्ट्रवादी गोर्खा परिषद् १९, संयुक्त प्रजातन्त्र पार्टी नेपाल पाँच, नेपाल कम्युनिष्ट पार्टी चार, नेपाल प्रजापरिषद् घन कोदालो दुई, नेपाल प्रजा परिषद् ९हलो० एक र स्वतन्त्र उम्मेदवार चार स्थानमा विजय भएका थिए । त्यसपछि २०४६ चैत २६ गते प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ सालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । कूल दुई सय पाँच सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले एकसय १० स्थानमा विजय हासिल गरी बहुमत प्राप्त गरेको थियो । यस निर्वाचनमा एमाले ६९, संयुक्त जनमोर्चा नेपाल नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द तीन, नेपाल मजदूर किसान पार्टी दुई, नेकपा प्रजातन्त्रवादी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी थापा एक र स्वतन्त्र उम्मेदवार तीन स्थानमा विजयी भएका थिए । कांग्रेसको बहुमतको सरकारले २०५१ मा मध्यावधि निर्वाचनको घोषणा ग¥यो । कूल दुई सय पाँच सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । यस निर्वाचनमा एमाले ८८ स्थानमा जितेर संसद्मा सबैभन्दा ठूलो दल बन्यो । यस्तै कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदूर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र स्वतन्त्र उम्मेदवार सात स्थानमा विजयी भएका थिए । कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि मुलुकमा राजनीतिक अस्थिरता र अल्पायुमै सरकार परिवर्तन गर्ने प्रवृत्ति मौलाउँदै गएको थियो । विसं २०५६ मा भएको प्रतिनिधिसभाको चौथो निर्वाचनमा कांग्रेसले एक सय ११ स्थानमा विजयी हासिल गरी पुनः बहुमत हासिल ग¥यो । सो निर्वाचनमा एमाले ७१, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा नेपाल एक र नेपाल मजदूर किसान पार्टी एक स्थानमा विजयी भएका थिए । समानुपातिक प्रणालीपछि बहुमत आउन कठिन विसं २०६२/६३ को जनआन्दोलनको सफलतासँगै मुलुकमा पहिलो पटक २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भयो । यसै निर्वाचनदेखि नेपालमा प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणाली पनि अपनाइएको हो । दशवर्षे सशस्त्र सङ्घर्ष गरेर शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन माओवादी पार्टीले निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै बहुमत ल्याएको थियो । तर समानुपातिकतर्फको मत परिणामपछि भने कुनै पनि दलको बहुमत पुगेन । कूल ६०१ सदस्यीय संविधानसभामा दुई सय ३८ स्थानमा विजय हासिल गरेर माओवादी सबैभन्दा ठूलो दल बनेको थियोे भने कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो ठूलो पार्टी बनेका थिए । पहिलो संविधानसभा संविधान जारी गर्न नसकी विघटन हुन पुग्यो । त्यसपछि २०७० साल मङ्सिर ४ गते दोस्रोपटक संविधानसभाको निर्वाचन सम्पन्न भयो । छ सय एक सदस्यीय संविधानसभामा कांग्रेसले २०७ स्थान हासिल गरी सबैभन्दा ठूलो दल बन्यो । तर, यस निर्वाचनमा पनि कसैले बहुमत ल्याउन सकेनन् । एमाले दोस्रो र माओवादी तेस्रो ठूलो पार्टी बनेका थिए । अन्य धेरै दलले थोरै मात्र सिट ल्याएका थिए । विसं २०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भयो । सो संविधान कार्यान्वयनका सन्दर्भमा २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा मुलुकमा पहिलो पटक सङ्घीय संरचनासहितको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भयो । कूल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले ८०, नेकपा माओवादी केन्द्र ३६, कांग्रेस २३, राष्ट्रिय जनता पार्टी नेपाल ११ र सङ्घीय समाजवादी फोरम नेपाल १०, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक तथा स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका थिए । समानुपातिक तर्फको एक सय १० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले ६–६ सिट प्राप्त गरेका थिए । दुवै निर्वाचन प्रणालीतर्फका मतपरिणामअनुसार प्रतिनिधिसभामा एमाले एक सय २१ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो भने कांग्रेस ६३ सिटसहित दोस्रो ठूलो दल बन्यो । त्यस्तै माओवादी केन्द्रले ५३, राजपा नेपालले १७ र सङ्घीय समाजवादी फोरमले १६ सिट प्राप्त गरेका थिए । संविधानअनुसार कूल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ सदस्य सङ्ख्या आवश्यक पर्छ । सरकार गठन गर्न दुई वा बढी दलको समर्थन अपरिहार्य त्यस्तै यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन् । निर्वाचन अयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये कांग्रेस सबैभन्दा बढी ५७, त्यसपछि बढी एमाले ४४, माओवादी केन्द्र १८, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र जनमत पार्टीले एक/एक तथा स्वतन्त्र पाँच उम्मेदवार विजयी भएका छन् । यसैगरी समानुपातिकतर्फको एक सय १० सिटमध्ये एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले पाँच/पाँच स्थान हासिल गरेका छन् । प्रत्यक्षतर्फ संसद्मा प्रतिनिधित्व गरेका अन्य दलले समानुपातिकतर्फ भने एक सिट पनि हासिल गर्न सकेनन् । यस निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कूल दुई सय ७५ सिटमध्ये सबैभन्दा बढी कांग्रेसले ८९, त्यसपछि एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टी नेपालले १२ र जनमत पार्टीले छ स्थान प्राप्त गरेका छन् । अन्य दलको भने प्रत्यक्ष सिट मात्र कायम छ । कूल दुई सय ७५ सिटको बहुमत अर्थात् एक सय ३८ सिट कुनै पनि दलले प्राप्त गर्न नसकेका कारण संविधानअनुसार नयाँ सरकार गठनका लागि दुई वा सोभन्दा बढी दलले बहुमत पु¥याउनुपर्नेछ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपनाइएको समानुपातिक निर्वाचन प्रणालीका कारण निर्वाचनमा कुनै एक दललाई दुई तिहाइ र बहुमत प्राप्त गर्न गाह्रो हुने राजनीतिक विश्लेषकको भनाइ छ । रासस

गलकोट दरबारमा दैनिक दुई सय बढी पर्यटक आउने

ढोरपाटन । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर  घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनैबेला राजाले राजगरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । वि.सं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार जीर्ण बन्दैगएको छ । पछिल्लो समय दरबारको वरपर तस्बिर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दैगएको छ । सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट आन्तरिक पर्यटक घुम्न आउन थालेका छन् दरबारसम्मै गाडीमा पुग्न सक्ने भएपछि दिनप्रति दिन आन्तरिक पर्यटक दरबारमा आउनेगरेको स्थानीयको भनाइ छ । भरतपुर चितवनबाट ढोरपाटन घुम्न आएका आकाश परियारले गलकोट दरबारको पनि अवलोकन गरे । शान्त वातावरणमा रहेको दरबारले यहाँ आउने जोकोहीलाई आकर्षित गर्ने उनले बताए । परियारले भने, ‘सयौँ वर्ष पुराना सम्पदा अहिले पनि देख्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो, यस्ता एतिहासिक महत्व बोकेका सम्पत्ति अहिले पनि छन् हाम्रो देशमा, यो ठाउँ पनि धेरैलाई आकर्षित गर्नेखालको रैछ, त्यसमाथि यति सुन्दर दरबारले मलाई अझै केही दिन यतै बसेर घुमौँघुमौँ गरायो ।’ बागलुङ आउँदा ढोरपाटन, कालिका मन्दिर, पञ्चकोट, टेउवाको मूर्तिकला र गलकोट दरबार घुमेर जाने योजना बनाएको परियारले बताए । यहाँका संरचनाको मर्मतसम्भार गरी व्यवस्थित बनाउन सके देशी तथा विदेशी पर्यटकलाई तान्न सकिने उनको सुझाव छ । ‘यो दरबारको बारेमा मैले युट्युबमा एउटा भिडियो देखेको थिएँ, भिडियो देख्दा यहाँ आउने रहर जागेको थियो, विदेशमा भएको हुँदा पहिले चाहेर पनि आउन पाइएन’, जापान बस्दै आएका परियारले भने, ‘बागलुङ आएको बेला यहाँ भएका धार्मिक तथा पर्यटकीय ठाउँ घुमेर जाने हो ।’ ‘पहिले त यहाँसम्म आउने सडक राम्रो थिएन, अहिले त सडक पनि राम्रो छ, दरबार हटिया बजार नजिकै भएर पनि होला, यहाँ धेरै मान्छेको चहलपहल हुँदो रैछ, हामी सानो हुँदादेखि नै मान्छेहरु गलकोट दरबार घुम्न जाने भन्दै आउँथे, अहिले पनि घुमफिर गर्न आउने धेरै हुने रहेछन्’, गिरीले भने, ‘म पाँच पटकसम्म यहाँ घुम्न आएँ, फेरि पनि मेसो मिले आउँछु, सडक राम्रो छ, यहाँ आउन धेरै समय पनि लाग्दैन ।’ स्थानीयका अनुसार यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक आउने गरेका छन् । बिदाको दिन अझ बढी आउने गरेको उनीहरुको भनाइ छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलकोट दरबारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको बताए । दरबारले एउटा बिरासत बोकेको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको उनको भनाइ छ । प्रवक्ता भण्डारीले भने, ‘यो दरबार अहिले पनि व्यक्तिगत स्वामित्वमा रहेको छ, व्यक्तिगत स्वामित्वमा रहेको संरचनालाई हामीहरूले पनि मर्मतसम्भार गर्ने गरी छलफल गरेका थियौँ, अहिले केही जीर्ण बनेको छ, अहिले त्यसलाई मर्मत गर्न लागेका छन् ।’ दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरत बम मल्ल तत्कालीन राजा थिए । यहीबाट गलकोटको राजकाज चल्थ्यो । त्यो बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने गलकोटकै राजा भरत बम मल्ल थिए । उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भए । तत्कालीन राजा भरत बम मल्लका पनाती मञ्जेशबम मल्लले अहिले दरबारको संरक्षणमा जुटेका छन् । उक्त दरबार मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरत बमको निधन भयो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधवबममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो । राजा भरत बमका पनाती मञ्जेश बमले अहिले दरबारको मर्मतसम्भार गर्न थालेका छन् । उनले पछिल्लो समय दरबारमा पर्यटक आउन थालेको भन्दै जीर्ण बनेको दरबार पुरानै शैलीबाट मर्मतसम्भार गर्न लागेको बताए । मल्लले भने, ‘दरबारलाई हामीहरूले पुरानै शैलीमा मर्मत गर्न थालेका छौँ, दरबारको तल्लो तलालाई सङ्ग्रहालयका रुपमा विकास गर्ने र माथिल्लो तलालाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरी पुनःनिर्माण हुँदैछ, यहाँ थप अरु संरचना पनि व्यवस्थित रुपमा निर्माण गर्नेगरी लागेका छौँ ।’ रासस

चिसोका कारण बढ्न थाले बिरामी

जलेश्वर । विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ। जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए। उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। सामान्य अवस्थामा औसतमा ४०/५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए। लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन्। साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन्। बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा साहले बताए। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्ने गरेको देखिन्छ। यसैबीच ग्रामीण भेगमा वस्तुभाउसहित कृषिबालीमा पनि चिसोका कारण समस्या भइरहेको छ। रासस

चितवनको दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । ‘फोन सम्पर्क नहुँदा मन आत्तिन्छ,’ उनले भनिन्, ‘यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।’ भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट वञ्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउँछिन् । ‘सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ,’ उनले भनिन्, ‘गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन ।’ इच्छाकामना गाउँपालिका–१ को चौकी डाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै, हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए । ‘मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन,’ उनले भने, ‘भएको ठाउँमा पनि नेटवर्क समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।’ वडाध्यक्ष मगरले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ । नेटवर्कको समस्या समाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे। भने, ‘यसै त भौगोलिकरुपमा पछि परेको ठाउँ हो हाम्रो । विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।’ इच्छाकामना–१ चौकी डाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाउँबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताइन् । उनले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गरिन् । रायमाझीले इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रूपमा फोन गर्न पाए पनि खुसी हुने बताइन् । ‘अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पु¥याउन पाइँदैन,’ उनले भनिन्, ‘लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।’ आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । भने, ‘मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।’ नेटवर्कको समस्याका कारण स्कुलमा वाई फाई जडान गर्न नसकिएको भन्दै गुरुङले गाउँबाट चार सय बढीको हस्ताक्षर सङ्कलन गरेर समेत टेलिकममा बुझाइएको बताए । भने, ‘गाउँपालिकाले वाई फाई जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुर्यो ।’ दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाउँपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । उनले कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिए । उनले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । उनले वडा नम्बर २ को हुस्ती, माझ खर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए । यस्तै, वडा नम्बर ७ को गर्दा, सुन्दर बस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको छ । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताए । रासस

प्रतितोला ९९ हजार सात सय रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले बढेर तोलाको ९९ हजार सात सय पुगेको हो । बुधबार सुन तोलाको ९९ हजार तिन सय रुपैयाँमा कारोबार भएको थियो । साथै, आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् । प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन् । यजसअनुसार नेकपा (एमाले) ले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९ दशमलव २९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले कूल सदर मतको १२ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ दशमलव १९ प्रतिशत मत प्राप्त गरी १३ सिट पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दशमलव ३५ मत प्राप्त गरी सात सिट, जनता समाजवादी पार्टीले ४ दशमलव ५४ मत प्राप्त गरी पाँच सिट र जनमत पार्टीले ४ दशमलव २६ मत प्राप्त गरी पाँच सिट प्राप्त गरेको छ । सातै प्रदेशको मतपरिणामअनुसार निर्वाचनमा सहभागी दललाई आयोगले सिट बाँडफाँट गरेको छ । प्रदेश नम्बर १ नेकपा (एमाले) ले प्राप्त गरेको ३८ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी १५ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२ दशमलव ६१ प्रतिशत मत प्राप्त गरी १२ सिट प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ दशमलव ५ प्रतिशत मतले ४, नेकपा ( माओवादी केन्द्र) ले १० दशमलव ५ प्रतिशतले ४ सिट, जनता समाजवादी पार्टी, नेपालले ३ दशमलव ५ प्रतिशतले एक, नेकपा (एस)ले ३ दशमलव २४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ । यस प्रदेशमा छ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ कटाएका छन् । मधेस प्रदेश यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेपाली कांग्रेसले २० दशमलव ४९ प्रतिशत मत प्राप्त गरी नौ सिट पाउँदा नेकपा(एमाले) ले १८ दशमलव मतले आठ सिट प्राप्त गरेको छ । जनमत पार्टीले १६ दशमलव ८६ मत प्राप्त गरी सात सिट प्राप्त गरेको छ भने जनता समाजवादीले १५ दशमलव ३ प्रतिशत मतले सात सिट प्राप्त गरेको छ । त्यसैगरी नेकपा(माओवादी केन्द्र) ले नौ दशमलव २६ प्रतिशत मत प्राप्त गरी चार सिट, नेकपा(एस)ले ५ दशमलव ८३ प्रतिशत मत प्राप्त गरी तीन सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५ दशमलव ८ प्रतिशत मत प्राप्त गरी दुई सिट प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ३३ प्रतिशत मतले एक, नेपाल सङ्घीय समाजवादी पार्टीले २ दशमलव ५७ मतले एक र नागरिक उन्मुक्ति पार्टीले दुई प्रतिशत ५५ दशमलव मतले एक सिट प्राप्त गरेको छ । बागमती प्रदेश यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा(एमालले) ३२ दशमलव ३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७ दशमलव २४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ । त्यस्तै नेकपा(माओवादी केन्द्र)ले १५ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ दशमलव ८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेको छ । यता, नेकपा(एस)ले ३ दशमलव ७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी समान दुई सिट प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीले २ दशमलव ५७ प्रतिशत मतले एक सिट संङ्ख्या प्राप्त गरेको छ । गण्डकी प्रदेश गण्डकी प्रदेशमा चार राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर प्रदेशसभा सदस्य प्राप्त गरेका छन् । नेकपा (एमाले)ले ३९ दशमलव ०३ प्रतिशत मतले १० र नेपाली कांग्रेसले ३७ दशमलव ०८ प्रतिशत मतले नौ सिट प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र)ले १२ दशमलव ४ प्रतिशत मतले तीन सिट र हाम्रो नेपाली पार्टीले ६ दशमलव ३१ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ । लुम्बिनी प्रदेश यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा (एमालले) ले ३२ दशमलव १२ प्रतिशत मतले ११ सिट र नेपाली कांग्रेसले २८ दशमलव १३ प्रतिशत मतले १० सिट सङ्ख्या प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र)ले ११ दशमलव १६ प्रतिशत मतले चार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ दशमलव १७ प्रतिशत मतले दुई, नागरिक उन्मुक्ति पार्टीले ७ दशमलव ०६ प्रतिशत मतले दुई र जनमत पार्टीले ४ दशमलव ५९ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ । त्यसैगरी जसपा नेपालले ३ दशमलव ४२ प्रतिशत मतले एक, नेकपा(एस)ले २ दशमलव ४ प्रतिशत मतले एक, लोसपा नेपालले २ दशमलव १२ प्रतिशत मतले एक र राष्ट्रिय जनमोर्चाले १ दशमलव ८४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ । कर्णाली प्रदेश कर्णाली प्रदेशमा छ राजनीतिक दलमध्ये पाँच दलले सिट प्राप्त गरेका छन् । नेकपा (एमाले)ले ३२ दशमलव ७१ प्रतिशत र नेपाली कांग्रेसले ३० दशमलव ३६ प्रतिशत मतले समान पाँच सिट सङ्ख्या प्राप्त गरेका छन् । नेकपा(माओवादी केन्द्र)ले २४ दशमलव ४७ प्रतिशत मतले चार सिट प्राप्त गरेको छ । यस्तै नेकपा(एस)ले ६ दशमलव ३७ प्रतिशत मत र राप्रपाले ४ दशमलव ४७ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेश यस प्रदेशमा छ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा(एमाले)ले ३२ दशमलव २३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ३१ दशमलव ६३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ । नेकपा(माओवादी केन्द्र) ले १४ दशमलव २५ प्रतिशत मतले तीन सिट र नागरिक उन्मुक्ति पार्टीले ११ दशमलव ५६ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ । यता नेकपा (एस)ले ५ दशमलव १४ प्रतिशत मत र राप्रपाले ५ दशमलव १९ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेको छ ।