विकासन्युज

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।  विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ’, उनले भने, ‘सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छौँ ।’ त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ ।  विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगत्तै सरकारको सहयोगमा नै स्ववियु निर्वाचन गरिने बताए । ‘स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्दछ भन्नेमा त्रिवि र सबै विद्यार्थी सङ्गठन रहेका छन्’, उनले भने, ‘निर्वाचन गर्नका लागि विद्यार्थी सङ्गठनबीचसमेत हामीले छलफल जारी राखेका छौँ ।’ अठ्ठाईस् वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक विसं २०७३ मा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक-पटक पहल गरे पनि हुनसकेको छैन ।  नेपाल विद्याथी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारीमा आफूहरू रहेको बताए। ‘हामी फागुनमा नै स्ववियु निर्वाचन गर्न तयारीमा रहेका छौँ, हाम्रो सङ्गठन र पार्टीका नेता पनि सकारात्मक छन्’, उनले भने, ‘सबै सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचन गर्न त्रिविलाई आग्रह गर्छौँ ।’ उनले आफ्नो सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचनमा जाने निर्णय गर्ने बताए ।  अध्यक्ष शेर्पाले आफूहरू त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार रहेको बताए। त्रिविले स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद र सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । स्ववियु निर्वाचन नहुँदा अहिले त्रिवि सभामा पनि विद्यार्थीको उपस्थिति रहेको छैन ।  अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले प्रमुख विद्यार्थी सङ्गठनका पदाधिकारीसँग स्ववियु निर्वाचन निर्धारित समयमा गर्नका लागि छलफल गरेको बताए। ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनन्’, उनले भने, ‘मेरो विद्यार्थी सङ्गठनका पदाधिकारीसँग छलफल भएको छ, निर्वाचन  गर्न सबै सङ्गठन तयार रहेका छन्, यो वर्षमा स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ ।’ उनले अब हारजित हुने डरले भन्दा पनि स्ववियु निर्वाचन मुख्य कुरा भएकाले निर्धारित समयमा नै निर्वाचन गराउन सबै लाग्ने बताए । अध्यक्ष सिंहले आफ्नो सङ्गठनको तेस्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरी त्रिविलाई निर्धारित समयमा स्ववियु निर्वाचन गर्न भनेर ज्ञापन पत्र बुझाएको बताए ।  अनेरास्ववियु महासचिव समिक बडालले सबै निर्वाचन सकिएको अवस्थामा अब विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा लाग्ने बताए । उनले स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए । उनले चाँडै नै सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर निर्धारित समयमा नै स्ववियु निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्ने बताए ।  आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्र शाहीले वैचारिक नेतृत्व उत्पादन गर्ने थलोका रुपमा स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए। उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको बताए।  निर्धारित मितिमा निर्वाचन हुन्छ : त्रिवि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए। ‘विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ’, उनले भने, ‘त्यसैले हामी निर्धारित मिति फागुन १४ गते निर्वाचन गर्न आतुर छौँ ।’ निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी  सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताए। उनका अनुसार विसं २०१९ बाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो । विसं २०३६ बाट स्ववियु निर्वाचन व्यवस्थित रुपमा प्रत्येक दुई-दुई वर्षमा हुँदै आएको छ । रासस

चितवनमा सवारी दुर्घटना हुँदा जर्मन नागरिकको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। आज बिहान १०ः१५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। मृत्यु हुनेमा जर्मन नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। नारायणगढबाट काठमाडौं जाँदै गरेको ना.४१प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको  पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एकजना घाइते भएका छन् । मोटरसाइकलचालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ । पिकअप गाडीमा सवार तीनजनामध्ये धादिङको गल्छी गाउँपालिका– ५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअपका चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । रासस

‘नर्भिक आइभिएफ’ले दिएको खुशी : निसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

काठमाडौं । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमति ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए । भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पत्तिले सन्तान पाउन सकेन । झा दम्पत्तिलाई त्यसपछि निसन्तानहरुका लागि वरदान सावित नर्भिकको आइभिएफ सेन्टरको विषयमा नजिकका मान्छेहरुले सुनाए । अन्ततः आइभिएफ सेन्टरमा टेष्टट्यूव बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरुले गरेको प्रयास पहिलोपटकमै सफल भयो । केही दिनअघि नर्भिक आइभिएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छिन् । ‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’ रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआइसियूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतिक्षामा छिन् । ‘डा. गणेश साहले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भनका छन् ।’ उनले भनिन्–‘बच्चाहरु पाएको दिन म झनै खुशी हुन्छु ।’ वरिष्ठ बालरोग विशेषज्ञ डा. साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरुको उपचारमा संलग्न छ । झा दम्पत्ति करिब एकवर्षअघि उपचारका लागि नर्भिकको आइभिएफ सेन्टरमा आएका थिए । उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आइभिएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् । डा. शर्माका अनुसार झा दम्पत्तिले पहिलो प्रयासमै आइभिएफबाट सन्तान प्राप्त गरेका हुन् । नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एकदुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

साढे ५ लाखसम्म पर्ने यूजीबेस्टको विद्युतीय स्कुटर नेपालमा सार्वजनिक

काठमाडौं । यूजीवेष्ट ब्रान्डको आर ३ र आर ३ प्रो विद्युतीय स्कुटर नेपालमा भित्रिएको छ । ग्लोबल सेभेन प्रालिले यूजीबेस्ट इलेक्ट्रीकको उत्पादन नेपाल नेपाल भित्र्याएको हो । कम्पनीले काठमाडौं उत्तरढोकामा आफ्नो पहिलो शोरुमबाट यूजीवेस्टका स्कुटरको विक्री प्रारम्भ गरेको छ । कम्पनीले छिट्टै देशका विभिन्न स्थानमा शोरुम स्थापना गर्ने योजना समेत अघि सारेको छ । यूजीबेस्ट आर ३ मा ४ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ६० भोल्ट ४० एएच क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध छ । यो स्कुटरलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिन्छ । आर ३ प्रोमा भने डबल ब्याट्री अप्सन रहेको छ । यसलाई एकपटक फुलचार्ज गरेर २०० किलोमिटरसम्म गुडाउन सकिन्छ । आर ३ प्रोमा फास्ट चार्जिङ सुविधासमेत रहेको छ जसले गर्दा यसलाई १ घण्टामा फुलचार्ज गर्न सकिन्छ । एकदमै स्पोर्टी डिजाइन भएको यो इलेक्ट्रीक स्कुटको दुवैतर्फ डिस्क ब्रेक उपलब्ध रहेको छ । त्यस्तै यसमा फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलईडी लाइट्स जस्ता फिचर उपलब्ध रहको छ । कम्पनीले आर ३ को मूल्य ३ लाख ८० हजार रुपैयाँ र आर ३ प्रोको मूल्य ५ लाख ३० हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले बिहीबारदेखि नै यी दुवै स्कुटरको बुकिङ खुल्ला गरेको पनि जानकारी दिएको छ । ग्राहकले यूजीवेस्टको शोरुममा सम्पर्क गरेर आर ३ र आर ३ प्रो स्कुटर बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले स्कुटर बुकिङ शुल्क ४ हजार ९९९ रुपैयाँ तोकेको छ । बुकिङ भएको स्कुटर २०२३ को जनवरी अन्तिसम्ममा डेलिभरी हुने कम्पनीले जानकारी दिएको छ ।

व्यवसायीका माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने अटो व्यवसायीहरुको चेतावनी

काठमाडौं । अटो व्यवसायीहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । बिहीवार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए । धर्ना कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताए । उनले गाडी आयात खुला गरेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको बताए । उनले सरकार र राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने, ,५० प्रतिशतमात्रै फाइनान्सिङ मात्रै गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेको बताए । उनले सरकारले गाडी आयात गर्न दिने निर्णय भएपनि प्रतिवन्ध गर्नुभन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने जानकारी दिए । उनले सरकाले गाडीको आयात खुलेपनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने बताए । अध्यक्ष थापाले ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने जानकारी दिए । उनले आयात खुल्ला भएपनि तत्काल गाडी ल्याउनसक्ने अवस्था नभएको बताए । अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाब मुलुक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरुका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । उनले नाडाले अटो व्यवसायीहरुको हकहीतको लागि चरणवद्ध आन्दोलन गरेको बताए । उनले सरकारको अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुमहरुमा हुनुपर्ने व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था आएको बताए । उनले अटो क्षेत्रका लागि राष्ट्र बैंकले बनाएका नीतिहरु व्यवसायीहरुले गरिखान दिन खालको नभएकोमा जोड दिए । उनले बजारमा तरलता अभाव,ब्याजदर वृद्धि जस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको बताए । राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्याएको छ । व्यवसायीले भने पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ । नेपाल राष्ट्र बैँकद्वारा जारी चालु पुँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्न माग गरेको छ । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने माग रहेको छ । अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनुपर्ने, बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरवलोकन गर्नुपर्ने, बैकहरुबाट सवारी साधनको हायर प्रचेज लोन स्वीकृत भएपश्चात जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने माग रहेको छ । त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने माग रहेका छन् । धर्नामा व्यवसायीहरुले जस्ले कर तिर्छ, उसैलाई पेल्छ, बैंकले अपमान गर्छ, सरकार व्याजदर कहिले घट्छ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर व्यवसायी आन्दोलित भएका छन् ।

७ प्रतिशत ब्याजमा निफ्राको उर्जा ऋणपत्र : सर्वसाधारणलाई सस्तो, बैंकलाई महँगो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको छ । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ निष्काशन तथा बिक्री खुला गर्ने तयारी थालेको हो । ५ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने बैंकले जनाएको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस ४ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्वा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् । बैंकले सबै प्रक्रिया पुर्याएर ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो । बैंकले सबै प्रक्रिया पुर्याएपनि ब्यक्तिगत लगानीकर्ताहरुले भने उक्त ऋणपत्र खरिद गर्ने सम्भावना न्यून छ । किनभने बैंकले दिने भनिएको ७ प्रतिशत ब्याजभन्दा दोब्बर ब्याज बैंकका मुद्दती निक्षेपमा प्राप्त गर्न सकिन्छ । यस्तो अवस्थामा बैंकको ऋणपत्र खरिद हुने सम्भावना कम छ । निफ्रा बैंकका सीईओ रामकृष्ण खतिवडा ऋणपत्र बिक्री गरेर संकलन भएको रकम उर्जा क्षेत्रमा नै लगानी गर्ने बताउँछन् । ऋणपत्रबाट सकंलन भएको रकम लगानी गर्न योजना पाइपलाइनमा रहेको उनको भनाई छ ‘ऋणपत्र बिक्रीबाट संकलन रकम उर्जा क्षेत्रमा लगानी गर्ने हो, हामीसँग ३/४ वटा नयाँ आयोजना पाइपलाइनमा छन्, उर्जा क्षेत्रका १४ वटा आयोजनामा लगानी गरिसकेका छौं, ४ वटा फाइल रिभ्यू गरिरहेका छौं, यी ४ वटा आयोजनाको ८/१० अर्ब रकम आवश्यक छ, उक्त आयोजनामा पनि ऋणपत्रबाट संकलन भएको रकम लगानी गर्न सकिन्छ,’ उनले भने । बैंकले गत असार मसान्तसम्म १७ अर्ब रुपैयाँ बराबरको लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । पछिल्लो ३/४ महिनामा उक्त लगानी बढेर २० अर्ब रुपैयाँ पुगेको उनले बताए । अहिले बैंकसँग कर्जा लगानी गर्न रकम थोरै भएकाले स्रोतको जोहो गर्नुपरेको उनको भनाई छ । ‘लगानी बढाउँदै जाँदा स्रोतको जोहो पनि गर्दै जानुपर्छ, उर्जा क्षेत्रमा ३१ अर्ब बढीको कमिटमेन्ट भएको छ, अहिले १७ अर्ब जति उर्जा क्षेत्रमा नै पुगेको छ, लगानीयोग्य रकमको अभाव भएकाले स्रोतको जोहो गर्न नै चुनौती छ, हामीसँग प्रोजेक्टको पाइपलाइनमा चाप छ,’ उनले भने । निफ्रा बैंकलाई वाणिज्य बैंक जस्तै उर्जा क्षेत्रमा लगानी गर्न सीमा निर्धारण नगरेकाले उर्जा क्षेत्रमा अझै लगानी बढाउने सीईओ खतिवडाले बताए । बैंकहरुले प्राथमिक क्षेत्रमा प्रवाह गर्नुपर्ने ऋण आफैं जोखिम मोलेर प्रोजेक्टमा नलगाइ निफ्रा बैंकको ऋणपत्र खरिद गरेर दायित्व पुरा गर्न सक्ने उनको भनाई छ । ‘निफ्रा बैंकलाई उर्जा क्षेत्रमा लगानी गर्न सीमा तोकिएको छैन, हामीसँग उर्जा क्षेत्रको प्रोजेक्टहरु धेरै छन्, निफ्रा बैंकले जोखिम व्यवस्थापन गर्न सक्नेगरी कर्जा प्रवाह गरेको छ, आगामी दिनमा पनि कर्जा बढाउने योजना छ,’ उनले भने । निफ्रा बैंकको ऋणपत्र सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था गरेपनि ब्याजदर कम भएकाले सर्वसाधारण लगानीकर्ताले खरिद नगर्ने सीईओ खतिवडाले बताए । तर, बैंकहरुका लागि भने सहज हुने उनको भनाइ छ । बैंकहरुले प्राथमिकता क्षेत्रमा लगानी गर्नुपर्ने कर्जा निफ्रा बैंकको ऋणपत्रमा लगानी गर्न सक्ने उनले बताए । ‘सर्वसाधारण लगानीकर्ताले लगानी गर्न पाउनु हुन्छ तर, खरिद गर्दा सबैलाई फाइदा नहुन सक्छ, सर्वसाधारणले खरिद गर्नुहुन्छ वा हुँदैन त्यो आफ्नो ठाउँमा छ, ७ प्रतिशत ब्याजदर कम भयो भन्नुहुन्छ,’ उनले भने, ‘बैंकहरुले प्राथमिकता क्षेत्रमा लगानी गर्नुपर्ने कर्जा निफ्रा बैंकको ऋणपत्रमा लगानी गर्न सक्नुहुन्छ, राष्ट्र बैंकले बैंकहरुलाई केही प्रतिशत उर्जा क्षेत्रमा पनि लगानी गर्नुपर्छ भनेको छ, बैंकहरुले प्राथमकि क्षेत्रमा प्रवाह गर्नुपर्ने ऋण आफैं प्रोजेक्टमा नलगाइकन निफ्रा बैंकको ऋणपत्रमार्फत् लगानी गर्न सक्छन् ।’ नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति नियम फ्लो गर्नु पर्ने भएकाले सर्वसाधारणलाई पनि जारी गर्नु परेको उनले बताए । ‘हामीले १०/१५ बैंकसँग आफैं भेटेर स्रोत ल्याउन सक्थ्यौं तर सेबोनको धितोपत्र निष्काशन सम्बन्धि निर्देशिका अनुसार सर्वसाधारणलाई पनि जारी गर्नुपरेको हो, सर्वसाधारणले खरिद नगरेको खण्डमा प्राइभेट प्लेसमेन्ट अनुसार डाइरेक्ट्ली सम्भावित खरिदकतालाई बिक्री गर्छाै,’ उनले भने । अहिले बैंक तथा वित्तीय संस्थाहरुले अन्य कर्जामा १६ प्रतिशत ब्याज लिइरहेको भएपनि उर्जा क्षेत्रको कर्जामा भने ७ प्रतिशतको हाराहारी ब्याजदर रहेको उनले बताए । ‘विगत ४÷५ महिनाको अवधिमा उर्जा क्षेत्रमा लगानी नै भएको छैन, एक्जिस्टिङ लोन मात्रै फ्लो भइहेको छ, रियल स्टेट, उच्च जोखिम भएको कर्जामा १७÷१८ प्रतिशत ब्याज लिएका हुन सक्छन् तर, उर्जा सेक्टरमा यति धेरै ब्याजदर छैन,’ उनले भने । ऋणपत्र निष्काशनका लागि एक वर्ष अघि प्रक्रिया सुरु गर्दा बजारको ब्याजदर पनि कम थियो । अहिलेको बजार ब्याजदर हेर्दा सर्वसाधारण लगानीकर्ताका लागि ७ प्रतिशत ब्याजदर सहज नहुन सक्ने भएपनि ऋणपत्र बिक्री हुनेमा सीईओ खतिवडा ढुक्क रहेका छन् । ब्याजदर घटेर ७ प्रतिशतभन्दा तल झर्याे भने पनि यहि ब्याजदर लगानीकर्तालाई दिन सक्ने क्षमता रहेको उनको दाबी छ । ७ वर्षमा ७ प्रतिशत ब्याजदर दिने क्षमता राखेर ऋणपत्र जारी गरेको उनको भनाइ छ । ‘हामी छलफल गरिरहेका छौं, अहिलेको ७ प्रतिशत ब्याजदर फिजिबल हुनुपर्छ, ट्रेजरी बिलको एभरेज रेट ३/४ प्रतिशत भएपनि १०/११ प्रतिशत पुग्यो, ७ वर्षको सिनारियोलाई हेर्दा यसलाई ट्रेजरी बिल जस्तै लिँदा हुन्छ, सरकारको ट्रेजरीमा योभन्दा कममा लगानी गरिरहेका हुन्छन्,’ उनले भने, ‘राष्ट्र बैंक र सेबोनले निफ्राले ७ प्रतिशत ब्याजदर दिन सक्छ भनेर नै स्वीकृति दिएको हो, यदि ७ प्रतिशत ब्याजदर तिर्न सक्ने क्षमता नभएको भए दुइवटा निमायकले स्वीकृति दिँदैनथ्यो,’ उनले भने । पूर्व बैंकर अनलराज भट्टराई बैंकले प्रदान गर्ने ७ प्रतिशत ब्याजदर पनि उच्च रहेको बताउँछन् । ७ प्रतिशत ब्याजदर अहिलेको अवस्थामा ठिकै भएपनि भविष्यमा बैंकलाई गाह्रो अवस्था आउन सक्ने उनको भनाई छ । ‘निफ्रा बैंकले रिटेल निक्षेप लिन पाउँदैन, होलसेल मात्रै हो, बैंकले स्रोत व्यवस्थापन गर्नका लागि यस्ता साधनहरु बिक्री गर्न सक्छ,’ उनले भने, ‘बैंकले ७ प्रतिशत ब्याज तिरेर रकम संकलन गरेर लगानी कतिमा गर्ने हो ? उसले पनि आफ्नो लागत जोडेर लगानी गर्नुपर्छ, लगानी गर्न कठिन हुन्छ, बैंकले भविष्यमा लगानी गर्नका लागि ७ प्रतिशत ब्याज अझै बढी हो, अहिले संकलन गरेको रकम १०/११ प्रतिशत भन्दा कममा लगानी गर्न सक्दैन ।’ कतिपय बैंकहरुको लगानी क्षेत्र उर्जा नभएको हुनाले निफ्रा बैंकको उर्जा ऋणपत्रमा लगानी गर्न सक्ने उनको भनाइ छ । उनले लगानीका लागि कुनै बैंकलाई विशेष बैंक बनाउनुपर्ने बताए । राष्ट्र बैंकले तोकिएको क्षेत्रमा बैंकहरुले लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरेको उनको बुझाइ छ । बैंकहरुले ल्याएका ऋणपत्रहरु ब्यक्तिगत र संस्थागत भन्दापनि प्रत्यक्ष एक्सपोजर लिन नचाहने बैंकहरुका लागि सकारात्मक हुने उनले बताए । ‘केही बैंकहरुले हाइड्रोपावर लगानीको विशेष क्षेत्र हुन सक्दैन, यो क्षेत्रमा जोखिम लिएर लगानी गर्दैनौं बण्ड खरिद गर्छु भन्नेलाई यो अवसर हो, केही बैंकसँग सेक्टरल विशेषज्ञता हुँदैन,’ उनले भने । प्राथिमक क्षेत्रमा कम्पलायन्स नपुगेर पेनाल्टी तिर्नुपर्ने बाध्यतालाई यस्ता बण्डहरुले सहजता ल्याउने धारणा उनले राखे । निफ्रा बैंकले ऋणपत्र निष्काशनका लागि झण्डै १ वर्ष अघि आवेदन दिएको थियो । तर, नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशीका नै संशोधन गर्नुपर्ने भएकाले ढिलाइ भएको बैंकले बताएको छ । सेबोनले स्रोत संकलन गर्नका लागि भनेर क्यापिटल रिडेम्प्सन रिजर्भको निर्देशीका नै परिवर्तन गरेपछि मात्रै बैंकले ऋणपत्र निष्काशन गर्न स्वीकृति प्राप्त गरेको हो । निफ्रा बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्न राष्ट्र बैंकले २० दिन अघि मात्रै स्वीकृति दिएको हो । स्वीकृति पाएको २ महिनाभित्र बिक्री खुला गर्नु पर्ने व्यवस्था रहेको सीईओ खतिवडाले बताए । ‘ऋणपत्र बिक्री गर्न बैंकहरुसँग छलफल भइरहेको छ, बैंक तथा वित्तीय संस्थाहरुले बिना क्रेडिट रिस्क सेक्टरल काउण्ट हुने इन्स्टुमेन्ट पाएका छन्, कर्जाको जोखिम निफ्राले लिन्छ, एनएमबि बैंक र कृषि विकास बैंकले यस्तै प्रकृतिका ऋणपत्र बिक्री गरिसकेका छन्,’ उनले भने ।

एनसेलको नेटवर्क समस्या पुर्ण रुपमा समाधान हुन अझै केही समय लाग्ने

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा पुनस् सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा केही समय अघि संचालनमा आएको कम्पनीले जानकारी दिएको छ । सडक विस्तारको क्रममा बुटवल बर्दघाट र दमौली(आबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएको कारण कम्पनीको इन्टरनेटदेखि फोनकलमा समस्या देखिएको थियो । तर अझै पनि पुर्ण रुपमा सेवा संचालनमा आउन समय लाग्ने एनसेल आजियाटले जानकारी दिएको छ ।  

नयाँ पुस्तालाई कला, संस्कृति र जात्राहरुमा आकर्षण गर्नुपर्छ : सुनिता डंगोल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन् । बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौं उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने जानकारी दिए । उनले आफूले पर्यटन विकासको कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडी सारेको बताए । उनले नेपाललाई कुनै ऋतु विशेष मात्र नभई बाह्रै महिना पर्यटकको गन्तव्य स्थल बनाउने गरी योजना अगाडी बढाएको उल्लेख गरे । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका प्रकृति र मौसमका कारणले पनि सधैँभरी घुमफिर गर्ने वातावरण रहेको उल्लेख गर्दै यहाँको संस्कृति र सम्पदाहरुलाई जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘हामीले हाम्रो देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना अगाडी सार्दा उपत्यकाको पर्यटन क्षेत्रको विकास, यहाँको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अघि सारेका छौँ । उपत्यका जहाँको प्रकृति, हावापानी र मौसमहरुका हिसाबले मान्छेहरु घुमफिर गर्न सक्ने वातावरण छ । संस्कृति र सम्पदालाई चिनाउन सकिएमा पर्यटकलाई आकर्षक गर्न सक्ने अवस्था छ ।’ उनले सम्पदा तथा संस्कृतिहरुको संरक्षणका लागि जनस्तरबाट पनि काम हुनुपर्ने बताए । सरकारी प्रयास सँगसँगै जनस्तरबाट पनि काम गर्न सके सम्पदाहरुको संरक्षण गर्न सकिने र मौलिकतालाई कायम राख्न सकिने उनको भनाई छ । मन्त्री श्रेष्ठले सभ्यता र संस्कृतिहरुको संरक्षण गर्न सकेमा मात्र देशको पहिचानलाई कामय राख्न सकिने बताए । उनले भने, ‘ज्यापु दिवस मनाउँदै गर्दाखेरी हामीले यो उपत्यकाको संस्कृतिको जगेर्ना गर्ने कुराहरु, यहाँका सम्पदाको संरक्षण गर्ने कुराहरु र हाम्रो इतिहासलाई उजागर गर्ने कुराहरु र हाम्रो सभ्यतालाई चिनाउने कुराहरु यो सँगसँगै भइरहेको छ ।  सरकारले संस्कृतिको विकासको लागि, सम्पदाहरुको संरक्षणको लागि जुन कामहरु अगाडी बढाइरहेको छ, यसलाई जनस्तरबाट पनि हामीले सँगसँगै लैजानसक्यौँ भने हाम्रो देशको संस्कृतिलाई अझ संरक्षण गर्नसक्छौँ ।’ कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नयाँ पुस्तालाई कला, संस्कृति र जात्राहरुमा आकर्षण गर्नुपर्ने बताइन् । उनले हरेक चाडपर्वको वैज्ञानिक महत्व रहेको उल्लेख गर्दै सो महत्वलाई युवा पुस्तामाझ हस्तान्तरण गर्न सके उनीहरुले चाडपर्व तथा कला, संस्कृतिहरुको संरक्षण गर्दै जानेमा जोड दिइन् । उनले भनिन्, ‘नयाँ पुस्तालाई कला, संस्कृति, जात्रा पर्वमा आकर्षण गर्ने हो भने हिजो, अस्ति हाम्रा बाजे आमाबुबाले भनेको भरमा मात्र नयाँ पुस्ताले कुनैपनि रहनसहनलाई अंगालिरहेको हुँदैन । त्यो करकापले मात्र अगाडी बढाइरहेको हुन्छ । यद्यपी हामीले मनाउने हरेक चाडपर्वमा वैज्ञानिक महत्व छन् । जुन कुरालाई महानगरपालिकाले विशेष महत्वको साथमा हेरेको छ ।’ उनले काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका विभिन्न पर्वहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण र संवद्र्धनका लागि महत्व दिइरहेको स्पष्ट पारिन् ।