कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् । बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको जानकारी दिए । उनले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए । उनले सम्पदा र संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताए । उनले भने, ‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको बिकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ । यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो । राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्याउँदै आएको योगदानलाई सबै समक्ष उजागर गर्दै मुलुकको संस्कृति, परम्परा, रहनसहनलाई संवद्र्धन र प्रवद्र्धन गर्न मद्दत पुर्याउने विश्वास लिएको छु ।’ उनले उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रशंशा गरे । उनले सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मेहनती र इमान्दार समुदायको रुपमा परिचित रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भुमिका रहेको बताए ।
बैंकहरुको विरोधमा गाडी व्यापारीको आन्दोलन (फोटोफिचर)
काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारको विरुद्धमा आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नाडाले सरकार तथा राष्ट्रिय बैंकबाट जारी नीतिका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन आज एकै साथ ७ वटै प्रदेशमा भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । आयतको प्रतिबन्ध खुलाए पनि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरूमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरू ल्याएको विरोधमा नाडाले आन्दोलन गरेको उनले बताए । ‘पुँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ, सयौं अटोमोवाइल शोरुमहरु बन्द भइसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन्, यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौं कर्मचारीहरू समेत बेरोजगार बन्न पुगेका छन्,’ उनले भने । नाडाले विभिन्न १० बुँदे माग राख्दै आन्दोलन गरेको हो । माग पुरा नभए अझै कडा रूपमा प्रस्तुति हुने अध्यक्ष थापाले बताए ।
अस्पतालको भवन निर्माण अलपत्र
सुर्खेत । पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनीले ठेक्का लिएको थियो । आव २०७३/७४ मा २८ करोड लागत अनुमान गरिए पनि २१ करोड १६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । हालसम्म भवनको ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माणकार्य भने अलपत्र अवस्थामै छ । आव २०७६/७७ मा भवन निर्माण सक्ने लक्ष्य लिइएको भए पनि अझै काम बाँकी नै छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनमा पाँच ब्लक छन् । समयमै निर्माणकार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ । समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए । उनले पटक–पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माणकार्य अलपत्र परेको बताए । सदस्य नेपालीले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदूर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको छ, करोडौँको योजनामा झारा टार्ने शैलीमा काम गरेका छन् ।’ पचास शय्या क्षमता भए पनि २२ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ २०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो । लामो समयदेखि निर्माण हुन नसकेको अस्पताल भवनको यसै आर्थिक वर्षमा निर्माणकार्य सम्पन्न नभएमा ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताए । तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए । रासस
जडीबुटीको व्यापारबाट चलेको जीविका
कालीकोट । कालीकोटको थिप्पु गाउँपालिका –१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडछन् । झोला बोकेर हिँडनु उनका लागि रहर नभएर बाध्यता हो । पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनी जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन् । ‘हिमाली जिल्लाबाट जडीबुटी खरिद गरी ल्याएर पहिला भारतमा बेच्थे’,उनले भने, ‘कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमाजस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु ।’ भारतमा हुँदा उनले दैनिक दुई हजार भारतीय रुपियाँ जतिको कमाइ गरेको बताए । भारतमा कोरोना महामारी फैलिएपछि घर फर्केपछि उनको कमाइ घटेको छ । अहिले दैनिक रु पाँच सयदेखि रु एक हजारसम्म मात्रै कमाइ भएको उनको भनाइ छ । ‘व्यापारमा कमाइको कुनै ग्यारेण्टी हुँदैन’, उनले भने, ‘व्यापार भनेको जुवाजस्तै हो, नसिव भए कमाइ हुन्छ, नभए हुँदैन । कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन ।’ आज कमाइ भएन भनेर मन मार्न भने नहुने उनले बताए । ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन सकेमा मन जित्न सकेमा व्यापार नहुने कुरै छैन, त्यसका लागि धैर्य गरिरहेको उनले सुनाए । जुम्लाबाट उनले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर बेच्छन् । जडीबुटीकै व्यापारबाट पाँच छोरा, दुई छोरीको घरको पूरै खर्च व्यहोर्दै आएको उनले सुनाए । ‘जडीबुटीकै व्यापारबाट दुई जना छोराललाई पढाउँदै छु’ उनले भने, ‘दुई जना प्रहरीमा भर्ती भएर जागीरमा लागेका छन्, एक जनाले कपडाको व्यापार गर्छन्, छोरीको पढाइ खर्च जडीबुटीकै कमाइबाट पूर्ति भइरहेको छ ।’ ‘बूढेसकालले छोप्नै लागे पनि घर बसेर हुँदैन, परिवार पाल्न व्यापारमा संलग्न भएको छु, दैनिक कैलाली र कञ्चनपुरका गाउँ र सहरमा डुलेर जडीबुटी बेच्छु, यसबाटै गुजारा चलेको छ’ उनले थपे, ‘पहाडमा रहेको घर, जमिन भल पहिराले लियो, भारतमा कमाएको केही पैसा जोडेको थिएँ, त्यसबाट कैलालीको घोडाघोडी नगरपालिकाको गाउँमा घरबासका लागि जग्गा किनेर परिवार राख्नेसम्मको व्यवस्था मिलाएको छु ।’ घर खर्चका लागि प्रहरीमा रहेका र व्यापारमा संलग्न छोराहरूले सहयोग गर्दैआएको उनको भनाइ छ । जितना लुगुरा उतना जाडो, नहि लुगुरा नहि जाडो अर्थात् जति पैसा भए पनि पुग्दैन, थोरै पैसा भए पनि त्यसमै सन्तोष छ, उनले भने । भारत अर्काको देश हो, त्यहाँ डराएर व्यापार गर्नु पथ्र्यो उनले भने, ‘यहाँ व्यापार गर्न डराउनु पर्दैन, भाषाको समस्या छैन, सबैले भनेको कुरा बुझ्छन्, कोही कोही जडीबुटी बेच्छौं लाइसेन्स छ भनेर हप्काउने पनि भेटिन्छन, तर त्यस्ताको वास्ता गर्दैन, आफ्नै तरिकाले व्यापार गर्छु ।’ राजबहादुर जस्तै बाजुरा स्वामिकार्ति गाउँका मनविरे लुहार पनि जडीबुटीको व्यापारमा संलग्न छन् । पहिला मनविरे भारतमा काम गर्थे । भारतमा कोरोनाको सङ्क्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्के । त्यसपछि भारततर्फ जान सकेका छैनन् । उनले रोकायाजस्तै गनानो, कटुको, चिराइतो, मालिस तेल, सिलाजित, हिमाली घोडामाच्यो, जम्बु, यार्सागुम्बा बेच्दै आएका छन् । ‘केही जडीबुटी हिमाली जिल्लामा आफैँ गएर खोजेर ल्याउँछु’ उनले भने, ‘केही जडीबुटी घरेलु उद्योगबाट किनेर बेच्छु, यसबाटै परिवारको खर्च चलेको छ ।’ भारतमा जडीबुटी यसैगरी बेच्दा रु तीस हजार जति महिनाको कमाइ हुनेगरेको उनले सम्झिए । यहाँ जडीबुटीको व्यापारबाट मासिक रुपमा २५ हजार जति कमाइ हुनेगरेको उनले बताए । दुई छोरा, दुई बुहारी, तीन नातिनातिना, तीन छोरी र बूढाबूढीको लत्ताकपडा, खाना खर्च यसै व्यापारबाट चलेको उनले सुनाए । उनले भने, ‘पहाडमा जीवन चलाउन निकै कठिन छ, सहज जीवनयापनको खोजीमा व्यापारमा संलग्न भएका छौँ, घडेरी जोडेर झोपडी बनाई परिवार यहाँ ल्याएर राखेका छौँ ।’ तीन दशकदेखि जडीबुटीकै व्यापारमा संलग्न कालीकोटको पलाँटा गाउँपालिका –३ लार्पाका हरिबहादुर रोकायाले महिनाको रु २५ हजार कमाइ गर्छन् । यसबाटै उनको परिवारको खर्च चलेको छ । ‘उमेर ढल्कदै जान थाले पनि यस व्यापारबाटै जीविका चल्दै आएकाले छोड्न सकेको छैन’, उनले बताए । पहाडी जिल्लाबाट जडीबुटी बोकेर तराईका जिल्ला पुगेर व्यापार गर्नेको सङ्ख्या निकै धेरै रहेको उनको भनाइ छ । हिउँदका बेला पहाडी क्षेत्रबाट आउने व्यापारीमध्ये केहीले जडीबुटी र केहीले कम्बल, राडी, पाखी, स्वेटरलगायतका न्यानो कपडाको व्यापार गर्नेगरेको उनले बताए । हिउँदको कात्तिक महिना तराई पुग्ने व्यापारीले वैशाख महिना शुरु हुनैलाग्दा आम्दानी गरेको पैसा बोकेर पहाडतर्फ फर्कनेगरेका छन् । गतिलो कमाइ गर्नेले तराईमै घरघडेरी जोडेर तराईमै बस्नसमेत थालेका छन् । पहाडबाट तराई झरेर व्यापार गर्ने कार्य दशकौँदेखि चल्दैआएको छ । बूढापाकाले परम्परागत रुपमा गर्दैआएको व्यापारलाई थाति राखे पनि युवाले पिठ्युमा भारी बोकेर गाउँ शहर चहार्दै व्यापार गर्न रुचाउँदैनन् । युवा अरु व्यापार र सरकारी नोकरीमा आकर्षित भएका छन् । रासस
‘विद्युत बेच्ने जमाना गयो, अब हाईड्रोजन बनाउने हो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बेच्न जमाना गएको बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको फिन इलेक्ट्रो टेक मेलामा उनले विद्युत बेच्न जमान गएर हाइड्रोजन बनाउने समय आएको बताएका हुन् । उनले पिपिए गर्ने कुरालाई ढिलाई नगरी सम्बन्धित निकायले छिटो गर्नुपर्ने बताए । ‘नेपालको समृद्धिको आधार भनेको उर्जा क्षेत्र हो, नेपालको अर्थतन्त्रलाई समृद्धिको दिशातिर अगाडि बढाउने पर्याप्त सम्भावना छ, सोही अनुसारको बजेट छ निति छ, हामी सबै मिलेर कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । यस्तै, उनले ब्याजदरको विषय समाधान गर्ने क्रममा सरकार रहेको बताए । उनले व्यवसायीले सडक रोज्नुभन्दा पनि सरकारसँग छलफलमा आउनुपर्ने बताए । ‘व्यवसायीले सडक रोज्ने होइन, तपाईंको सरकार हो आउनुस, निजी क्षेत्र बिना सरकार चल्ने अवस्था छैन, तर केही दवाब र चाप छ,’ उनले भने । उनले अर्थतन्त्रलाई समस्या पर्न नदिनेगरी व्यवसायीहरुसँग छलफल गर्न सरकार तयार रहेको बताए ।
सुधारिँदै रुपन्देहीको भीम अस्पतालको स्वास्थ्य सेवा
बेलहिया । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्ड (एमएसएस) को लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचाङ्कको आधारमा गरिएको मूल्याङ्कनबाट अस्पतालको सेवा प्रवाहको गुणस्तरीयतामा उल्लेखनीय सुधार देखिएको हो । एमएसएसले सरकारी अस्पतालको गुणस्तरीयता मापन गर्ने गर्दछ । भैरहवामा सार्वजनिक गरिएको तथ्याङ्कमा भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अब्बल देखाइएको हो । स्वास्थ्य मन्त्रालयले ५० शय्या क्षमता भएका अस्पताललाई क वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राख्ने गरेको छ । सोहीअनुसार क वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्याङ्कनमा दोस्रो नम्बरमा परेको हो । एमएसएस मूल्याङ्कन समितिका संयोजकसमेत रहेका स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा विनोद गिरीले भने, ‘भीम अस्पतालले विगत एक वर्षको तुलनामा आफूलाई अत्यन्तै सुधारेको एमएसएसबाट देखिएको छ ।’ एमएसएस लुम्बिनी प्रदेशका फोकल पर्सन कौशल भन्डारीका अनुसार लुम्बिनी प्रदेशमा एमएसएस मूल्याङ्कनको सय अङ्कमा ९५ अङ्क प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ८८ अंक प्राप्त गरी भीम अस्पताल दोस्रो भएका हुन् । यसैगरी नेपालभरीका क वर्गका अस्पतालको मूल्याङ्कनमा भीम अस्पताल पाँचौँ भएको छ । एक वर्ष अगाडिसम्म एमएसएसमा ५६ अंक प्राप्त गरेको यस अस्पतालले एक वर्षमा आफूलाई सुधारेर ८८ अङ्कमा पु¥याउनुमा सबै पक्षीय सहयोग र सहकार्यले सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । विसं १९९० मा स्थापना भएको भीम अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल हो । दक्ष जनशक्तिको अभावबीच पनि अस्पतालको सेवामा उल्लेख्य सुधार हुनु सकारात्मक रहेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले बताए । उनले भने, ‘दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक, कर्मचारी नहुँदा पनि अस्पतालले सेवाको गुणस्तरीयता र अन्य क्षेत्रमा गरेको प्रगतिले राम्रो सन्देश दिएको छ ।’ अस्पतालको सेवामा अझै पनि क्लिनिकल सेवामा अल्ट्रासाउन्ड र रेडियोलोजी सेवा प्रवाहमा कमजोरी देखिएको छ भने अन्य सेवामा राम्रो सेवा देखिएको छ । वर्षमा एक लाख सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेको यस अस्पतालले सात वटा ओपिडी सेवासहित २४ घन्टा चिकित्सकीय सेवा प्रदान गरिरहेको अस्पतालको मेडिकल सुपरिटेन्डेट डा सकुन्तला गुप्ताले बताए । भीम अस्पताललाई आगामी वर्ष एमएसएसको मूल्याङ्कनमा एक नम्बर श्रेणीमा पुर्याउन आवश्यक सबै किसिमको सहयोग गर्ने सिद्धार्थनगरका प्रमुख ईस्तियाक अहमद खानले बताए । ‘हाम्रो नगरका लागि यो अस्पताल सबैभन्दा भरपर्दो स्वास्थ्य सेवा प्रदायक संस्था बनाउन जे सहयोग गर्न पर्छ हामी तयार छौँ’, उनले भने, ‘विस्तृत योजना हामीलाई दिनुहोस् आवश्यक बजेटको व्यवस्थापन हामी गर्छौं । अहिले जुन गतिमा प्रगति भइरहेको छ त्यो राम्रो छ ।’ लुम्बिनी प्रदेशका अस्पतालको मूल्याङ्कन गर्दा भीमले गरेको कार्य प्रशंसनीय नै रहेको स्वास्थ्य निर्देशनालयको इम्प्लिमेन्टेशन अफीसर विनिता काफ्लेले बताए । पर्याप्त दक्ष जनशक्ति अभाव हुँदा पनि यस अस्पतालको सेवा प्रवाह राम्रो देखिएको न्यूनतम मापदण्ड मूल्याङ्कन समितिको प्रतिवेदनमा उल्लेख छ । हाल अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि दुई जना मात्रै कार्यरत रहेको अस्पतालको मेसु डा गुप्ताले बताए । उनका अनुसार नौ जना नेपाल सरकारको छात्रावृत्तिबाट आएका र एकजना विकास समितिमार्फत काम गरिरहेका छन् । स्वीकृत दरवन्दीअनुसारको दक्ष चिकित्सक र कर्मचारीको लागि बारम्बार पहल गरिएको डा गुप्ताले बताए । ‘भन्न पर्ने सबै ठाउँमा भनेका छौँ, तर जनशक्ति पठाइएको छैन’, उनले भने, ‘हामी जति जना छौँ त्यतिले सकेको समय दिएर सेवा पुर्याएका छौँ ।’ उक्त अस्पतालमा यसैगरी १४ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा चार जना नेपाल सरकारबाट प्राप्त भएको छ । आठ जना छात्रावृत्तिका मेडिकल अफिसरले सेवा दिइरहेका छन् । यसैगरी नर्सिंङ स्टाफमा पनि ४६ जनाको दरबन्दी रहेकोमा सात जना मात्रै नेपाल सरकारबाट खटाइएको छ । बाँकी २१ जना छात्रावृत्तिमा र छ जना विकास समितिबाट राखिएको छ । यसैगरी पारामेडिक्समा १३ जनाको दरबन्दी रहेकोमा तीन जना मात्रै खटाइएको भने चार जना विकास समितीबाट कार्यरत रहेका छन् । जिल्लाको धकधई, मर्चवार, लुम्बिनी, कपिलवस्तु, परासी, सिद्धार्थनगर, मायादेवि, सियारीलगायत ग्रामीण क्षेत्रका जनता स्वास्थय सेवा लिन आउने गर्दछन् ।
मोको वालेटबाट चियर्श अनलाइन स्टाेरमा खरिद गर्दा १५ प्रतिशत छुट
काठमाडौं । मोको डिजिटल वालेट र चियर्श अनलाइन स्टोर नेपालले वर्ल्ड कप २०२२ को लागि क्यासब्याक अफर लिएर आएको छ । यस अफर अन्तर्गत मोको एपबाट चियर्श अनलाइन स्टोरमा खरिद गर्दा मोको क्युआर कोड स्क्यान गरी १५ प्रतिशत क्यासब्याक (३०० रुपैयाँसम्म) पाउनेछन् । हिमालयन बैंक, एनआईबिएल बैंक, माछापुच्छ्रे बैकं र एनआईसि एशिया बैंकका ग्राहकहरुले डिसेम्बर १८ सम्म यो अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले cheers.com.np मा गएर सामाग्री खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा पुजा चन्द ठाकुरको पुनःवहाली
काठमाडौं । श्रम अदालतले मकरीगाड हाइड्रोपावरमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले यही मङ्सिर १४ गते पुनःवहाली गर्ने फैसला गरेको हो । हाइड्रोपावरले बर्खास्त गरेपछि पुनःवहालीको माग गरी श्रम अदालतमा चलेको मुद्दामा चार वर्षपछि ठाकुरलाई सेवाबाट हटाएको मितिदेखि पारिश्रमिक तथा सम्पूर्ण सेवा सुविधासहित पुनःवहाली गर्न भनिएको छ । विसं २०७५ मङ्सिर ७ गते ठाकुरलाई हटाउने निर्णय गरिएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै ठाकुरले जिल्ला अदालत काठमाडौँ, श्रम तथा रोजगार कार्यालय काठमाडौं तथा श्रम अदालत लगायतका निकायमा लामो समयदेखि मुद्दा खेप्दै आएकी थिइन् । व्यवस्थापन पक्षले पदमा समेत सम्झौता नगरी काममा लगाएको र सेवाबाट हटाउँदा सूचना नदिइ हटाएकाले व्यवस्थापनको निर्णय गैरकानुनी भएको हुँदा उक्त निर्णय बदर भएको जनाइएको छ । अदालतको फैसला बमोजिम ठाकुरको सेवामा पुनःवहाली नभएसम्मको पारिश्रमिक, सेवा, सुविधासमेत गरी करिब एक करोड रुपैयाँ दिन र सेवामा पुनःवहाली गर्न आदेश भएको छ । श्रम ऐन, २०७४ को कानुनी व्यवस्था विपरीत सेवाबाट हटाएको अवस्थामा उक्त ऐनको दफा १७२(१) बमोजिम सेवामा पुनःवहाली भई सेवा सुविधा पाउने कानुनी व्यवस्था रहेको छ । रासस