विकासन्युज

औद्योगिक क्षेत्रले मनोमानी रुपमा भाडा बढाएपछि उद्योगी असन्तुष्ट, आन्दोलनको चेतावनी

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनले नियम विपरित भाडादर वृद्धि गरेको विरोध गर्दै भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । निर्यात प्रवद्र्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायनै जिम्मेवारीबाट पन्छिदै उद्योगीमाथी भार थोपर्ने कार्य गरेको भन्दै महासंघले विरोध जनाएको छ । औद्योगिक प्रवद्र्धनको रुपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन उद्योगनै चल्न नसक्ने गरी भाडावृद्धि गरेको ठहर महासंघले गरेको छ । महासंघको सहमति विपरित २०७५ सालमै सञ्चालक समितिले ७ सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ मा भाडावृद्धिको लाखौको विल उद्योगहरुमा पठाएको भन्दै महासंघले विरोध गरेको छ । यस प्रति महासंघ औद्योगिक क्षेत्र स्थित उद्योग संघ/समितिहरु तथा समग्र उद्योगीहरुको घोर आपत्ति रहेको दाबी समेत सो संस्थाका अध्यक्ष रामहिरा पाठकले बताएका छन् । २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडावृद्धि गर्नुपर्नेमा नियम विपरित २०७२/२०७४ सालमा १५/१५ प्रतिशतका दरले भाडावृद्धि गर्ने र २०७५ सालमा एकै पटक ७ सय प्रतिशतले वृद्धि गर्ने कार्य नियमसम्मत नभएको र कार्यान्वयन हुन पनि नसक्ने भन्दै सो तत्काल खारेज गर्न माग गएिको छ । २०७५ साल देखि स्थगित रही आएको हो तर हालको सञ्चालक समितिले यो निर्णयलाई जवरजस्ती कार्यान्वयन गराउन खोजेकाले महासंघ लगायत अन्य सस्थाहरु समेतलाई मन्जुर नभएको समेत जनाएको छ । राज्यले उद्योगलाई बचाई राख्न छुट, सुविधा र सहुलियत दिनुपर्नेमा उल्टै ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने असुलउपर गर्ने भन्ने निर्णय राज्य सञ्चालनको मुलभूत सिद्धान्त विपरित रहेकाले सो निर्णय तत्काल फिर्ता लिन समेत माग गरिएको छ । सो मागमाथी सरकारले कुनै सम्बोधन नगरेको खण्डमा पहिलो चरणमा मंसिर २५ गते देखि महाप्रवन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा ताला लगाउनेलाई कुनैपनि शुल्क तथा रकम भुक्तानी नगर्ने र भाडावृद्धि फिर्ता गर्न माग सहितको कालो व्यानर तथा कालोझण्डा प्रदर्शन गर्दै आन्दोलनमा उत्रने समेत चेतावनी महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको हो ।

विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौँ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको जानकारी दिए । उनले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए । घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको जोड दिए । उनले विद्युत प्रशारण, वितरण र सव स्टेशनको विकास नभइ विद्युत खपत बढाउन नसक्ने बताए । उनले प्राधिकरण गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको जानकारी दिए । उनले भने, ‘अहिले नेपालमा नै विद्युत खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ । चार्जिङ स्टेशनहरु बढेको छ । प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौं । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौं । प्राधिकरण निरन्तर,गुणस्तरिय विद्युत र चाहेजति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं । गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा पुग्दैछौं । यसले विद्युतीय उपकरणको खपत बढ्ने विश्वास लागेको छ । केही वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था आउँदैन । वर्षाको समयमा विद्युत निर्यात गरिरहेका छौं । विद्युत निर्यात गर्नु सरकारको सफलता होइन तर खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात नै गर्नुपर्छ । विद्युत खपत बढाउने हो । विद्युत खपतमार्फत नै समृद्धि हुन्छ । एक युनिक विद्युत पनि खेर फाल्नु हुँदैन ।’ उनले अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताए । उनले वर्षाको समयमा विद्युत निर्यात गरिरहेको भन्दै विद्युत निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको बताए । उनले विद्युत खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिक विद्युत पनि खेर फाल्नु नहुने जानकारी दिए ।

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समिति गठन भएको छ । संघको मंसिर २२ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । उक्त सभा क्लब हिमालय, नगरकोटमा सम्पन्न भएको हो । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । यस्तो छ नयाँ कार्य समिति विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल अध्यक्ष, पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल उपाध्यक्ष, रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल महासचिव, मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग कोषाध्यक्ष, नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य दिनेश थकाली, प्रभु क्यापिटल सदस्य, नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल सदस्य, मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल मानार्थ सदस्य

गण्डकी बहुप्राविधिकमा स्वागत एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा नवआगन्तुक विद्यार्थीका लागि स्वागत एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शिक्षा आर्जन गर्नु र सिप आर्जन गर्नु बिलकुल फरक रहेकाले प्राविधिक शिक्षालाई अगाडि बढाउने कार्यमा महानगरपालिका निरन्तर लागिपरेको कुरा उल्लेख गरिन् । सिङ्गो महानगर एवम् देशमा नै प्राविधिक जनशक्ति आवश्यक रहेका कारणले प्राविधिक शिक्षालाई प्राथमिकता दिएर पोखरा महानगरपालिकाले यस शिक्षालयमार्फत विभिन्न विषयमा अध्यापन गराउँदै आएको समेत उल्लेख गरिन् । पोखरालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यमा महानगरपालिका दृढ रहेको र सोही अनुपातमा बजेटसमेत विनियोजन गरिँदै आएको समेत जानकारी दिइन् । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले प्राविधिक शिक्षामार्फत् राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनमा शिक्षालयले विशिष्ट योगदान दिने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा सम्झौता नगरी शिक्षालय अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षालय यस वडाको गहना भएका कारण आगामी दिनमा शिक्षालयलाई आफ्नै भवनमा अध्यापन गर्न मिल्ने गरी व्यवस्थापन गर्ने कार्यमा वडा कार्यालय प्रतिबद्ध रहेको कुरामा जोड दिए । शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले महानगरपालिकाले जुन उद्देश्यले शिक्षालय स्थापना गरेको थियो । सो उद्देश्यमा केही कदम अगाडि बढिसकिएको र आगामी दिनमा सिटिइभिटीसँगको समन्वयमा विभिन्न कार्यक्रम थप गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । शिक्षाको विकासमा सामूहिक सक्रियता आवश्यक पर्ने भएकाले सबैको साथ र सहयोग लिएर शिक्षालयलाई नेपालकै प्राविधिक शिक्षाको गहनाका रूपमा विकास गर्नेतर्फ शिक्षालयको सिङ्गो समूह अगाडि बढेको समेत बताए । कार्यक्रममा पोखरा इन्जिनियरिङ कलेजका सञ्चालक अम्बर गुरुङ, संयोजक जयश चालिसे, गण्डकी प्रदेश खेलकुद महासंघका अध्यक्ष विष्णु पुन, पोखरा महानगरपालिकाका लेखा अधिकृत रविन्द्र अधिकारी, लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा देशका विभिन्न ठाउँबाट प्राविधिक शिक्षा अध्ययन गर्नका लागि डिप्लोमा तहको प्रथम सेमेस्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । सो अवसरमा गण्डकी बहुप्राविधिक शिक्षालय र महानगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा सम्पन्न भएको ‘डिप्लोमा कप भलिबल प्रतियोगिता–२०७९’ को विजेता समूह पोखरा इन्जिनियरिङ कलेज र उपविजेता गण्डकी बहुप्राविधिक शिक्षालयका खेलाडीलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । साथै कलेजले आयोजना गरेका विभिन्न खेलकुद एवम् सहक्रियाकलापमा भाग लिई विजयी भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले गायन, नृत्य एवम् विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेको शिक्षालयका प्रशिक्षक कृष्णप्रसाद धितालले जानकारी दिए । गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए ।

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै

काठमाडौं । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ। यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, यःमरी पुन्हि। हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई थिंला पुन्हि पनि भनिन्छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन्। मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ। यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन्। त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ । नेपाल भाषामा यः भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन्। यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ। नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी मुतुमारी बनाई पूजा गरी चढाउने गरिन्छ। धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ। यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो। यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई त्यसिंत्य भन्ने गरिन्छ।

बर्दिया पुल नहुँदा स्थानीयलाई सास्तीमा

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए । तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पुर्याउने पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन् । तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो । त्यहाँ जाने बाटो छैन । भनेको बेला डुङ्गा पाइदैन । काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्लबहादुर सत्गौलाले बताए । १६ करोड ६८ लाख चार हजार रुपैयाँमा बनेको पुल विसं २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मङ्सिरभित्रै बोलपत्र खोलिने बर्दिया क्षेत्र नं १ का नवनिर्वाचित सांसद सञ्जयकुमार गौतमले बताए । रासस

करिब ३ करोड खर्च भइसकेको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको निर्माण अलपत्र

रेसुङ्गा । गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जीनियर शाहीले बताए । पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । ‘राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो’, ६६ वर्षीय ओमबहादुर भन्छन्, ‘रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ’, उनले भने । सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा छन् । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताए । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउँछन् । राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए । ‘सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो’, उनी भन्छन्, ‘बेवारिसे अवस्थामा रङ्गशाला हुँदा भएको संरचना पनि भत्किन थाले’, उनले भने । रङ्गशाला निर्माण सम्पन्न भइसक्दा रु एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । पन्ध्र हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो । रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय–समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए । रासस

पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक भएको बताएका छन् । सरकार र निर्माण व्यवसायीहरू मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न सक्ने धारणा मन्त्री चौधरीले राखे । १५ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले विहिवार राजधानीमा गरेको प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको स्विकार गरे । भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै मन्त्री चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीहरूलाई सुझाव दिए । ‘व्यवसायीहरूले पाउनु पर्ने रकम निकासा भएको छैन, कानून नै संशोधन गरेर भएपनि यस्तो समस्या समाधान गर्नुपर्छ’ मन्त्री चौधरीले भने । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू नै समृद्धिका सारथी भएको बताए । मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायीहरू अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको अध्यक्ष सिंहले बताए । ‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन’ अध्यक्ष सिंहले भने । विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील नभएको उनले बताए । अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीहरूले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको उनको भनाइ थियो । महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राखे । सोही अवसरमा मन्त्री चौधरीले महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरेका थिए भने महासंघ अध्यक्ष सिंहले मन्त्री चौधरीलाई मायाको चिनो प्रदान गरे । मन्त्री चौधरी समेत सहभागी हुनु भएको बाजागाजा सहितको प्रभात फेरि दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा आई टुङगिएको थियो । १५ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल लगायतले प्रमाणपत्र वितरण गरे । यसैबीच प्रदेश महासंघहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले पनि विविध कार्यक्रम गरी १५ औं निर्माण दिवस मनाएको महासंघका प्रवक्त समेत रहनु भएका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले जानकारी दिए ।