कोटेश्वरबाट सातदोबाटो जाने-आउने बाटो परिवर्तन, अब कुन रुट प्रयोग गर्ने ?
काठमाडौं । मंसिर २३ गते शुक्रबारदेखि कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुरको ग्वार्को चोकमा फ्लाइ अोभर विथ अप्रोच रोड निर्माण हुन लागेकाले शुक्रबार बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने आउने मुख्य बाटो परिवर्तन हुने जानकारी दिएको हो । शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्र्याकबाट संञ्चालन गरिने बताएको छ । यस्तै, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्रयाकबाट संञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ । कार्यालय सबै चालकहरुलाई तोकिएका बाटोबाट यात्रा गर्नु अनुरोध गरेको छ । सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन भोलीदेखि सुरु गरिँदै छ । जम्मा २० महिनामा सम्पन्न गर्ने गरी यो योजना निर्माणका लागि गत फागुनमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता भएको थियो । यसको बजेट १७ करोड ६८ लाखमा रहेको छ । विसं २०८० सम्ममा निर्माण सकेर ‘फ्लाईओभर’ सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ ।
मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे सम्पन्न
सिन्धुपाल्चोक । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए । त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ समिरले बताए । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेतको पहलमा काम सुरु भएको तामाङले जानकारी दिए । बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताए । पक्की पुल बाढीले बगाएपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आइरहेका थिए । सो पुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् । तत्कालका लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिकरूपमा पक्की पुलको काम पनि अगाडि बढ्ने नगरप्रमुख आइतमान तामाङले बताए । फट्टे हुँदै दुवाचौर र तालामाराङबाट भटार दुवाचौर जोड्ने पुलका लागि आज सर्भे गरिएको छ ।
निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि बढी आक्रमण भयो : अध्यक्ष पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताएका छन् । अनलाइन पत्रकार सङ्घको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तक्र्रियामा उनले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले अनलाइन पत्रकारलाई आक्रमण हुँदै थप चुनौती थपिएको बताए । अध्यक्ष पोखरेलले भने, ‘पछिल्लो समयमा साइबर माध्यमबाट विभिन्न आक्रमण भइरहेको छ, स्वतन्त्र पार्टी र स्वतन्त्र व्यक्तिको उदयसँगै यो चुनौती बढ्दै गएको महासङ्घलाई अनुभूति भएको छ ।’ महासङ्घका महासचिव रोशन पुरीले ठूलो लगानीका साथ अनलाइन पत्रकारितामा प्रवेश गरी पत्रकारलाई सेवासुविधा र तलबको प्रलोभनमा राख्दा दिगोरूपमा व्यावसायिक पेशागत सुरक्षा नहुने हुँदा यसबाट बच्न जरुरी रहेको धारणा राखे । अनलाइन पत्रकार सङ्घका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अनलाइन पत्रकारमा बढ्दै आएका चुनौतीमा विषयको सुरक्षा र पेशागतरूपमा सुरक्षाजस्ता विषयलाई अबका दिनमा कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्नुपर्नेमा जोड दिए । कार्यक्रममा निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालमा प्रसारप्रचार भएको सूचना, परिवर्तित समयसँगै बढ्दै गएको अनलाइनप्रतिको आकर्षण बढ्दै गएको र नयाँ चुनौतीबारे सर्तकता, बनाउनुपर्ने रणनीतिलगायतका विषयमा छलफल भएको थियो । निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालबाट हालको निर्वाचनमा मिथ्या तस्विर प्रयोग, भाषणका अंश काटेर भ्रामक बनाउने, आतङ्कित बनाउने मिथ्या सूचना, मिडिया सामग्रीमा छेडछाड गरी भ्रम फैलाउने, अपुष्ट भनाइ, मिथ्या स्क्रिनसटले फैलाएको भ्रम, मिथ्या स्क्रिनसटको लहर, मतदानअघि फैलाइएका भ्रमका बारेमा जानकारी गराइएको थियो । रासस
तत्काल पिपिए खुला नगरे निजी क्षेत्र विस्थापित हुनसक्छ : चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पीपीए खुला नगरे निजी क्षेत्र बिस्थापित हुने अवस्था आउनसक्ने बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावट सम्मको जलविद्युत आयोजनालाई पीपीए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताए । निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको भन्दै उनले विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत प्रशारण र वितरणका लागि उत्पादित विद्युत प्राधिकरणले लिन नसकेको बताए । ढकालले जलविद्युतमा पीपीए गर्न ढिला भए निजी क्षेत्रको खर्बौंको लगानी अलपत्र पर्ने बताए । जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने उनको चेतावनी थियो । ढकालले बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले मुलुकको अर्थतन्त्रमा थप संकटमा जानसक्ने बताए । उनले अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभइ समग्र मुलुकको नै समस्या भएको बताए । त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारले सरकारले पछिल्लो समय व्यवसायीहरुका समस्या समाधान गर्न ढिला गरेको आरोप लगाए । निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने उनको भनाइ थियो । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
बीवाइडीको विद्युतीय कार किन्नेलाई नबिल बैंकले सजिलै कर्जा दिने
काठमाडौं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि कम्पनीले उक्त सम्झौता गरेको जनाएको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउने छन् । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । सम्झौता अनुसार बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । यस्तै, बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्ने छ । साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ ।
दिनमै ५० हजारसम्मको जुनार बिक्री गर्छन् सिन्धुलीका किसानले
कमलामाई । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका-५ खनियाखर्क बजारमा जुनार बिक्री गर्न किसानको घुँइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन्। उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएकी छिन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भनिन्। विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकैदिनमा ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् । किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरे । उनी जुनार बेचेर वर्षको एक लाख बचत गर्छिन् । खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरूपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि ७० सम्ममा किसानसँग खरिद गरी ८० देखि १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । गोलञ्जर गापाउँपालिका-६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैँचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् । किसानको बगैँचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईँका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनले बताए। रासस
बाइक/स्कुटरलाई पेट्रोल र विद्युतीय दुवैबाट चलाउन सकिने, सस्तो शुल्कमा कसरी बनाउने ?
काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीप्रति मानिसको क्रेज बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्न थालेको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई बिक्री गरी विद्युतीय सवारी साधन खरिद गर्ने परिपाटी पनि बढेको छ । अहिले बजारमा प्रशस्त मात्रामा सानादेखि ठूलासम्म विद्युतीय सवारी साधनहरू उपलब्ध छन् । अहिले विद्युतीय सवारी साधनको माग पनि बढ्दै गएको व्यपारीहरु बताउँछन् । सडकमा पनि विद्युतीय सवारी साधनको संख्या बढ्दै गएको देखिन्छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिहरेको छ । त्यसैले पनि बिक्रेता र खरिदकर्ता दुवैको ध्यान अहिले विद्युतीय सवारीमा गएको छ । विद्युतीय सवारी साधनको आवश्यकतालाई मध्येनजर गरेर प्याङ्कबाइक कम्पनीले आजभन्दा १५ वर्ष अगाडि देखि नै सामान्य साइकललाई विद्युतीय साइकलको रूपमा परिणत गर्न थालेको थियो । उक्त कम्पनीले लिड एसिड ब्याट्रीको प्रयोग गरेर सामान्य मोटरसाइकललाई विद्युतीय साइकल बनाउन सुरु गरेपनि कम्पनीले बिचमै बन्द गरेको कम्पनीका प्रबन्धक निर्देशक टिरेक मानन्धर बताउँछन् । ‘त्यो बेला साइकललाई विद्युतीयको रूपमा परिणत गर्यौं, किटहरू र ब्याट्री दुवै महँगो थियो, अहिले ५० हजार पर्ने ब्याट्री पहिले डेढ लाख रुपैयाँ पथ्र्योे, अपेक्षाअनुसारको बिक्री भएन अनि बनाउन छाड्यौं, अहिले पुनः सुरु गरेका छौं,’ उनले भने । अहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय सवारी साधन चर्चा बढेको छ । चर्चा बढेसँगै प्याङ्कबाइक कम्पनीले बाइक÷स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने र नर्मल साइकलको पनि इभी ‘हाइब्रिड’ बनाउन सुरु गरेको छ । लामो प्रयासपछि कम्पनीले जस्तासुकै मोटरसाइकल तथा स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको छ । ‘विद्युतीय सवारी साधन मात्रै भयो भने प्रयोगकर्ताले त्यो सवारी सहरी क्षेत्रमा मात्र चलाउँछन्, लामो दुरीको यात्रा तय गर्न चाहँदैनन्, किनकी ब्याट्री छिटो सकिन्छ, लामो दुरीको पनि उक्त सवारीलाई चलाउने हो भने ५०/६० एम्पियर ब्याट्री जडान गर्नुपर्छ, राम्रो ब्राण्डको ब्याट्री छ भने ४/५ लाख रुपैयाँसम्म मूल्य पर्छ, ४/५ वर्षमा नै ब्याट्री बिग्रियो भने त्यो मूल्य पेट्रोलको भन्दापनि महँगो पर्छ, त्यसैल ेपेट्रोल र बिजुली दुबैले चल्ने हाइब्रिड नै अहिलेको लागि उपर्युक्त ठानेर यो कामको सुरु गरेका हौं,’ उनले भने । कति लाग्छ खर्च ? प्याङ्कबाइक कम्पनीले अहिले धमाधम मोटरसाइकल तथा स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको छ । मानन्धरका अनुसार पछिल्लो समय सवारी परिवर्तन गर्न कम्पनीलाई भ्याइनभ्याई हुन थालेको छ । ‘पुराना काम नै नगर्ने सवारी साधनलाई समेत हामीले ईभीमा परिवर्तन गछौँ, सस्तो र सुपथ मूल्यमा परिवर्तन गर्न मिल्ने भएपछि अहिले हाम्रा प्राविधिकलाई भ्याइनभ्याई छ’, उनले भने । पेट्रोलियम पदार्थका सवारीलाई हाइब्रिड बनाउँदा किट र ब्याट्रीको मूल्य अनुसार खर्च लाग्ने गर्छ । उनका अनुसार किटको मूल्य ८५ हजार रुपैयाँ पर्छ । कम्पनीले ३ प्रकारका ब्याट्री जडान गरी पेट्रोलियम पदार्थका सवारीलाई हाइब्रिड बनाउँदै आएको छ । जसको मूल्य फरक–फरक छ । लेडरसिपको ३० हजार, ग्राफिनको ५० हजार र लिथियम आयन ब्याट्रीको ९० हजार रुपैयाँ पर्ने गरेको कम्पनी भनाइ छ । ‘कस्तो ब्याट्री जडान गरेर बनाउने हो, त्यो ग्राहकमा भर पर्छ, सामान्य ब्याट्री प्रयोग गर्ने हो भने एक लाख १५ हजार र अधिकतम एक लाख ७५ हजार रुपैयाँसम्ममा हाइब्रिड स्कुटर बनाउन सकिन्छ,’ उनले भने । यस्तै, पेट्रोलियम पदार्थ चल्ने बाइकलाई ईभीको रुपमा परिर्वतन गर्दा स्कुटरको भन्दा अलि बढी खर्च लाग्ने गर्छ । मानन्धरका अनुसार स्कुटरको भन्दा २० हजार रुपैयाँ बढी बाइकलाई इभी बनाउँदा खर्च लाग्ने गरेको छ । पेट्रोलबाट चल्ने बाइकलाई ईभीमा रुपान्तरण गर्दा किट र ब्याट्री राख्दा सामान्य एक लाख ३० हजारदेखि एक लाख ९० हजार रुपैयाँसम्म शुल्क लाग्ने उनको भनाइ छ । ब्याट्री र मोटरको वारेन्टी तीन वर्ष हुने कम्पनीले बताएको छ । कुनै समस्या आयो भने कम्पनीले घरमै पुगेर समेत सेवा दिने गरेको छ । ४५ हजारमा इभी साइकल प्याङ्कबाइक कम्पनी साइकलको खरिद बिक्रीको लागि लोकप्रिय छ । उक्त कम्पनीले इभी साइकल बेच्नुका साथै सामान्य साइकललाई इभीको रूपमा पनि परिवर्तन गर्दै आएको छ । सामान्य एउटा साइकल किनेर इभीमा रुपान्तरण गर्न सकिन्छ । ‘साइकल पनि विभिन्न लेबलका हुन्छन्, सामान्य साइकल ८ देखि १५ हजार रुपैयाँ सम्को आउँछ, त्यसलाई इभीको रूपमा परिणत गर्न ४० देखि ४५ हजार रुपैयाँसम्म बनाउन सकिन्छ,’ उनले भने । माउन्टेन बाइकलाई इभीको रूपमा परिणत गर्नुपर्याे भने अनुमानित ६५ हजार रुपैयाँ खर्च हुने पनि मानन्धरले बताए । प्याङ्कबाइक कम्पनीमा ४५ हजार देखि ५ लाख रुपैयाँसम्मका इभीका साइकलहरु उपलब्ध छन् । यस्तै, उक्त कम्पनीले बच्दै आएको सेफवे ब्राण्डको साइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ पर्छ । यसको मोटर ३ सय ५० वाटको छ भने ब्याट्री १३.५ एम्पीयरको छ ।
इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा, वुलिङ्गको विद्युतीय कार बिक्री गर्ने
काठमाडौं । नक्शालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन गरी संचालनमा ल्याएको छ । दुई पाङग्रे विद्युतीय सवारी बेचिरहेको यस कम्पनीले अब यस शोरुममार्फत चार पाङग्रे सवारी बिक्री गर्ने जनाएको छ । कम्पनीले यस मार्फत ईन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको अमेरिकन जि मोटर्सको पनि लगानी रहेको उलिङ एयर इभी कार पनि लन्च गरेको छ । यो इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । २००/३०० किलाेमिटर माइलेज रहेको यस गाडीमा ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले बताएकाे छ । नक्शालमा रहेको उक्त शोरुम बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म खुल्ला रहने बताइएकाे छ ।